१) साहित्यको पनि दिन
सभाकक्षमा बृहत् साहित्यगोष्ठी हुँदै थियो । निम्त्याइएका ननिम्त्याइएका साहित्यकारको जमघट थियो । दर्शक श्रोता पनि निकै थिए । चियाचमेनाको पनि राम्रै व्यवस्था थियो । कार्यक्रम विधिवत चलेको थियो । सुन्दर थियो । कविता उर्लीउर्ली वाचन गरिएका थिए । समीक्षा पनि हुँदै थियो । कथाका सारहरू सुनाइँदै थिए । देशभरिबाट गन्यमान्य भनिएका साहित्यकार भेला भएका थिए।
कार्यक्रम समापन हुने तयारीमा थियो । साहित्य बुझेका भनिएका घुस्याहा मन्त्री प्रमुख अतिथिको ठाउँबाट भन्दै थिए –
‘साहित्य जनताका समस्या समाधान गर्न सक्ने खालको हुनुपर्छ । प्रोडक्टिभ हुनुपर्छ ।’
उपस्थित सबैले परर ताली बजाएका थिए ।
कार्यक्रम सकिएको थियो । खाजा खाएर सबै हिँडिसकेका थिए । तर, सभाहलको पछाडिपट्टि दुई जना बसेर रोइरहेका थिए ।
उमेरले पाका देखिने कार्यालय सहयोगी हातमा चाबी हल्लाएर कराउँदै थिए – ‘कार्यक्रमअघि नै सकियो । ताला लाउने बेला भयो । हजुरहरू बाहिर निस्कनुहोस् ।’
उनीहरू रोएको देखेर कार्यालय सहयोगीले सोधे – ‘किन रुनुभएको महाशय ?’
‘.................’ घुँक्कघुँक्क गरेर रोएर उत्तर दिएको भए पनि सायद कार्यालय सहयोगीले बुझे क्यार । उनले पनि दुःखी हुँदै भने ‘दुःखी नहुनुस् महाशयहरू, धैर्य गर्नुस्, मेरो तजरुवाले भन्छ कि कुनै दिन त सही साहित्य र साहित्यकारको पनि आउला नि त !’
२) परागका रागहरू
ऊ गुलावझैँ राम्री थिई । पराग छचल्किएको थियो । परिवेशले कलिलैमा पोइ दियो । पोइले चुुसेर कच्याककुचुक पारेर फ्यालिदियो । छोडेर भाग्यो ।
उसले लोग्नेका कृत्यलाई घृणा गर्न थाली ।
मन भुलाउन सप्तरङ्गी गुलाब रोपी । सेवा गरी । हर्लक्क बढ्यो ।
हेर्दाहेर्दै गुलाबका तिघ्रा पहेँलिए । पत्रमा सुनौलो स्तन आकारको पत्र देखियो । कोपिला फक्रँदै गयो । अस्पर्शी योनीझैँ सुन्दर देखियो । गुलावको डाँठमा काँडा देखेर ठानी – ‘गुलाव सुरक्षित छे ।’
तर गुलावको परागका रागहरू परपरसम्म सुगन्धित भएर फैलिए । भमराहरू भुनभुनाउन थाले । भमरालाई देखेर गुलाब मुस्कुराई ।
तर उसले असुरक्षित देखेर डाँठदेखि नै छोपिने गरी तारको जाली बनाएर गुलावलाई छोपी । मस्त तरुनी गुलाव देखेर भमरा जालि वरिपरि नै घुम्न थाले ।
एकदिन उसले थाहा पाई कि गुलाव मुर्झाएकी छे । तर खुसी छे । उसले गुलावलाई सोधी – ‘के भयो ? किन मुर्झाएकी ?’
गुलावले भनी – ‘हिजोसाँझ म हल्लिँदै जाली नजिक पुगेँ । त्यही बेला भमराले ममा स्वर्गीय आनन्दको डिम्ब फ्याँकेर गयो । गर्भवती भएकी छु ।’
ऊ चिच्याई – ‘विध्वंस भयो । अब तँलाई पनि उसले कच्याककुचुक पारेर फालिदिन्छ ।’
गुलावले भारिजिउ भावमा भनी – ‘हुन दिनोस् । सनातन सृष्टिको कुरा पनि रोकेर रोकिन्छ र ?’
३) अचानोको चोट
ऊ स्वास्नी मानिस हो र म लोग्ने मान्छे । उसको र मेरो पनि नाम दिएको छ समाजले । तर नाममा के राखेको छ र ? यत्ति हो मान्छे ‘नाम’का लागि मरिरहेको वर्तमानमा बेनामे हामी अलमस्त छौँ । ऊ स्वतन्त्र छे । अराजक छे र त यथार्थ बोल्छे । हाम्रा सम्वादहरु यस्ता थिए –
म – ‘हिन्दूका भगवान् कृष्ण प्रेमका देवता हुन् ?’
ऊ – ‘होइनन् । अहिले भए फुँडो भन्थे ।’
म – ‘शिवको नग्न रूप देखेकी छौ ?’
ऊ ‘छु, त्यसको प्रताडन पनि खेपेकी छु ।’
म –‘संसारका धर्म जानेकी छौ ?’
ऊ – ‘जानेकी छु । ढोँग हो । यसैद्वारा पछारिएकी छु ।’
म – ‘तिमीलाई सभ्यता थाहा छ ?’
ऊ – ‘छ । सम्भ्यताद्वारा नै मारिएकी छु ।’
म – ‘कुन सभ्यता ?’
ऊ– ‘नाम मात्र फरक हो । जुन भए पनि सभ्यता एकै त हो नि ।’
म – ‘आदर्शलाई चिनेकी छ्यौ ?’
ऊ – ‘छु । त्यसैले त जिन्दगी पोलेको छ ।’
म – ‘अधिकारलाई चिनेकी छ्यौ ?’
ऊ – ‘छु । राजनीतिक नारा हो ।’
म – ‘कर्तव्यलाई नि ?’
ऊ – ‘चिनेकी छु । तर, कोही पालन गर्दैनन् ।’
म – ‘चोर र साधुलाई नि ?’
ऊ –‘मैले नचिनेको कोही छैन । केही छैन । भूत, वर्तमान र भविष्य सबै चिनेकी छु । अब त कुरो बुझ्यौ तिमीले ?’
म – ‘बुझेँ । तर चिन्यौ कसरी ?’
ऊ – ‘अरे बाबा तिमीलाई थाहै छ नि, मसँग तिमीले भोग्ने गरेकै एकथान योनि छ नि । कृष्ण, शिव, धर्म, सभ्यता, अधिकार, कर्तव्य, चोर, साधु, भूत, वर्तमान, भविष्य सबैले सामुहिक र बेग्लाबेग्लै मेरो त्यही योनिलाई भोगेका छन् । ‘रेप’ गरेका छन् अनन्तसम्म अनि अचानोले चिन्दैन त ?’
४) भ्यालेन्टाइन डे
छोरा, बुहारी र नातिनीले धेरै कर गरे । सन्तानका ढिपीका अगाडि म नतमस्तक भएँ । पेरिन बेइटल रोडको पारिपट्टि रहेको भ्यालेन्टाइन पार्कमा पुर्याए । एउटा गुलावको बुके लिएर म उभिएँ । बुढीलाई उभ्याए र मलाई घुँडा टेकाएर त्यो बुके दिन लगाए । फोटो खिचे । भिडियो बनाए । हेरे । हाँसे ।
मैले घर आएपछि भनेँ –
‘यो हाम्रो चाड होइन, किन तिमीहरूले यो भाँडिम गरेका ?’
छोराले जवाफ दियो – ‘जहाँ बस्यो त्यहीँको चाड मान्नु परिहाल्छ नि बाबा । कुइरेहरुले पनि त नेपालमा गएर दशैँमा टीको लगाएर रमाइलो गर्छन् त । के फरक पर्छ र ?’
मैले यसो सोचेँ, कुरा त हो ।
घरमा आएँ । ओछ्यान लठिबज्र थियो । मेरा लुगा धोइएका थिएनन् । नेपालकै झ्वाँक देखाएर बूढीलाई बेस्सरी कराएँ । हकारेँ ।
नातिनीले भनी – ‘हब्बा, आज त भ्यालेन्टाइन हो, एकैछिन पहिले गुलाब दिने, अनि एकैछिनमा यस्तो गाली गर्ने ?’
बूढीलाई पनि अमेरिकाले धेरै सिकाएछ, भनी – ‘ख्याल गर्नुस्, भ्यालेन्टाइन भनेर एकदिन फोटो खिचेर मान्छेलाई देखाउन घुँडा टेकेर हुन्छ र ? नेपालको जस्तो धेरै कहर दिनु भो भने त ९११ म फोन गरिदिन्छु, जाकियौला बूढा ।’
५ ) डलरे
मितज्यू र म एउटै टोलका । एउटै कुवाका पानी खाएका । मेरी छोरी जन्मी । मितज्यूले मलाई बधाई दिए । उनको छोरो जन्म्यो । बधाई दिएँ ।
मेरी छोरीले एसएलसीमा डिस्टिङसन ल्याई । ठूला मनका मितज्यू औधी खुसी भए । बधाई मात्र होइन, पार्टी नै दिए । जीवन बाँच्नु कहर थियो । हामी दुवैले तीन त्रिलोक चौध भुवन देख्यौँ ।
मेरी छोरीले एमविविएसमा नाम निकाली । सारा समाजले छोरीलाई बधाई दिए । सौहार्द देखाए ।
पछि डाक्टर बनी । झन् धेरै बधाई आयो ।
मितज्यूले मेरी छोरीलाई भने – ‘छोरी, ल डाक्टर भयौ । यहाँ त के पाइएला र ? विदेशै जानू, धेरै पढ्नू, धेरै कमाउनू ।’
छोरीले उत्तर दिइथी – ‘बुवा, म त विदेश जान्न । यहीँ देशको सेवा गर्छु ।’
मितज्यूले उकासे । ऊ उक्सिई । विदेश हिँडी ।
म दुखी भएँ । एउटा मात्र सन्तान विदेशिएको मेरा लागि शुभसङ्केत थिएन । तर, मितज्यू अति खुसी हुनुभयो । आफन्त खुसी भए । सारा समाज खुसी भयो ।
मितज्यूले त फुर्किएर भन्न थाले – ‘कति अर्काका मात्र अम्रिका गाको कुरा सुन्नु ए, आज त हाम्री छोरीले पनि सारा समाजका अगाडि देखाइदिई ।’
समयक्रममा छोरीले बोलाई । गएँ । छोरो पाई । हेर्नुपर्यो । हेरेँ । बसेँ । आफ्नो काम केही थिएन । नेपाली साहित्य पढ्यो । लेख्यो । छाप्यो । बस यत्ति ।
अमेरिका बस्दा बस्तै मेरा २ थान उपन्यास प्रकाशित भए । विषय डायस्पोरिक थियो ।
एकदिन आफ्नै कानले सुने । मितज्यू अरूसँग मेरो बारेमा भन्दै थिए – ‘डलरे साहित्यकार ।’
( ‘ईश्वरको मृत्यु’ लघुकथा संग्रहबाट !)
प्रकाशित: २४ फाल्गुन २०७७ ११:२८ सोमबार