कला

झुट्टै होस् तर पनि सय पटक भन्दा सत्य हुन सक्छ

मुक्तक

        १)

झुट्टै होस् तर पनि सय पटक भन्दा सत्य हुन सक्छ,

सांचो होस् तर भनिएन यदि भने असत्य हुन सक्छ ।

यहाँ झुटो र सांचो छुट्याउन कसैले पनि खोज्दैनन् ,

कराउ ठग हो कराउ, तिम्रै भनाइ ध्रुवसत्य हुन सक्छ ।

 

           २)

सत्यतथ्यलाई नै कतै बङ्ग्यायौ कि,  

आफ्नै सखालाई कतै नङ्ग्यायौ कि ।  

तिम्रा ओठ र गालामा लाली चढेछ त,  

कतै तिनकै रगतले पो रङ्ग्यायौ कि।

          ३) 

नेपालमा अचम्मको धारा त संविधानको धारा,

त्यही धारामा टेकेर दैनिक हॅुदैछ जुलुस र नारा ।

कहिले पानी आउँछ त्यसमा कहिले आउँछ आगो,

धारामा पानी हैन न्याय खोज्ने यस्तै छ हाम्रो पारा ।

         ४)  

रुकुम रोल्पामा यस्तो विकास होस्, काठमाडौंको जस्तै सवारी जाम होस् ,

प्रचण्ड, बादल,पासांग जस्ता जो नामी छन् अहिले, हो त्यस्तै सबैको नाम होस् ।

दलित, जनजाति, महिला, मुस्लिम, आदिवासी गरीब सबैलाई के सपना देखाए,  

हे जनता हो अब त बिउँझ  न हो  ती सपनाहरू केके पूरा भए त्यति सोध्ने काम होस् । 

       ५) 

मान्छे तिनै हुन्, तर गर्छन् कुरा नानाथरी,

सम्झना आउँछ यस्तै मान्छेको घरीघरी ।

संविधान, ऐन, नियम, कानून सबै बनाउॅछन्,

तर कुरा गर्छन् आफ्नै स्वार्थको वरिपरि।

प्रकाशित: ७ फाल्गुन २०७७ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App