कला

प्रेम दिवसको प्रेमपत्र

कथा

धेरै समय बितेछ, अफिस जाँदा बोक्ने झोलामा आँखा नगएको पनि । नियमित रूपमा अफिस जाँदाआउँदा टाँस्सिएर आएका काठमाडौँका अनगिन्ती प्रदूषणका कणहरू हरेक दिन पुछपाछ पारेर हेर्दा सफा देखिएपछि मात्र भिरेर हिँड्ने मेरो बानी थियोे । तर, जबदेखि  कोरोना भाइरसको आतंकले संसार बन्दभयो, शहर चकमन्न भयो, अदृश्य कोरोनाको निस्फिक्री एकछत्र शासन चल्यो तबदेखि  सधैँ घरमा बस्दा लगाउने कपडाहरूबाहेक राखेका र राम्रा भनिएका प्रायः कपडाहरू  कतै धुलो टाँस्सिएको त कतै ढुसीले सेतै भएको पाएँ । लगभग एकान्तवासजस्तो समयलाई अलि सहज भएर उपयोग गर्नुपर्यो भनेर एकदिन ती कपडा र झोलामा आँखा पुरयाएँ । तब थाहा भयो, कोरोनाको प्रकोप त तिनीहरूमा पो प्रत्यक्ष  परेको रहेछ । त्यसपछि ती कपडाहरू केही धोएँ, केही घाममा सुकाएँ । टक्टक्याएँ । बेफुर्सदिलो रहँदा कुनै दिन समय पाएँ भने  घरका यी सामान, कोठा, कपडा सबै व्यवस्थित पारेर राख्थेँ  होलाजस्तो  लाग्थ्यो ।  यति लामो समय यी सामान वरिपरि नै रहियो तर जाँगर सबै कोरोनाकै चाकरी गरेर  सकियो । सायद कपडाहरू आज धेरै खुशी भए होलान् , आफूमा भएको संक्रमण सबै गयो भनेर, मनमा सन्तोष मिल्यो । अर्को दिन कोठामा यसो हेरेँ, अफिस जाँदा बोक्ने ती झोलाहरूले मलाई आँखा पल्टाएर हेरेजस्तो लाग्यो। सबै बाहिर लगेर हेरेँ, ढुसीले अर्कै रङको भइसकेछ्न्। पुछ्पाछ पारेर ढुसी फालेँ, घाममा सुकाएँ र दुरुस्त पारेर ल्याएँ। पछिल्लोपटक बोक्ने झोलामा केही चिज खस्र्याकखुस्रुक हल्लियो। अफिसका फाइल होलान् कि भन्दै झोला खोलेर हेरेँ। कागजको पन्नाको सोलीजस्तो चेप्टिएर बसेको रहेछ। हत हालेर छाम्दा सोलीभित्र र बाहिर एक मुठी जति दानाहरू भेटेँ र त्यो झिकेँ सँगै त्यो सोली पनि आयो। यसो हेरेँ त्यो भुटेको चना र त्यो हालिएको कागजको सोली रहेछ ।चना छामेर हेर्दा सबै ओसिएका थिए, मलाई एक्लै हाँस उठ्यो, हाँसे पनि।

खासमा लकडाउन हुनुभन्दा अघिल्लो दिन अफिस गएर फर्केपछि म र मेरो एकजना साथी कीर्तिपुरको विश्वविद्यालय परिसरमा एकछिन घुमेर जाने सल्लाह भयो। बसाइ पनि त्यतै भएकाले हामीलाई त्यहाँ जान कठिनाइ भएन। कहिल्यै नसुनेको कोरोना महामारीको अदृश्य आतङ्क वास्तवमा कस्तो रोग होला भन्दै कुराकानी गर्दै हामी केही बेर बस्यौँ। फुर्सदको समयमा त्यो शान्त, सफा र प्राकृतिक वातावरणमा अरू बेलामा पनि मलाई बस्न औधी मन लाग्छ । एकछिनमा एउटा डालोमा चना बेच्दै एउटी दिदी आइन् ।“चना खाऊँ चना”भन्दै डालो बिसाइन्। हामीले पनि तीस तीस रुपैयाँको चना कागजको सोलीमा लिएर बोक्रा फाल्दै कुटुकुटु टोकेर गफ गर्दै खायौँ। चहलपहल ज्यादै कम   थियो। परबाट पुलिसको गाडी घरमै बस्न भन्दै माइकबाट  फुक्दै आइरहेको थियो। त्यसपछि हामी पनि त्यो चना पूरा खान नपाई उठेर त्यहाँबाट निस्कियौँ। मैले बाँकी चना झोलामा हालेँ र बेलाबेलामा झिकेर खाँदै हिँड्दा कोठा आइपुग्यो। आखिर त्यही चना र त्यसको सोली रहेछ यो,त्यसैले हाँसेको थिएँ म।

ती ओसिएका चनालाई त्यही सोलीमा पोको पारेर फाल्न खोज्दै थिएँ एक्कासि मेरा आँखा त्यो सोलीको कागजभित्र  गाढा गरी परयो । हतारहतार चन निकालेर त्यो पन्ना फुकाएर सग्लो पारेँ। त्यहाँ दुईवटा पन्ना थिए। त्यो पन्ना अलि लामो पनि थियोे जसको तीन पृष्ठजति लेखेर पूरा भरिएको थियो। पन्ना अलि पुरानो थियो तर अक्षर सफा, सुन्दर र स्पष्ट थिए । वासतवमा त्यो एउटा चिठी रहेछ । ममा एक प्रकारको खुलदुली बढ्दै थियोे । खुम्चिएका पन्नालाई हातले सम्याउँदै आँखा झिमिक्क नगरी चिठी पढ्न सुरु गरेँ । ‘‘...प्रियमाया, के भनूँ र धेरै , अनेक स्नेह, सामीप्य, मुस्कान, समर्पण, अनुभूति, विश्वास र सत्यता तिमीले चाह्यौ भने प्रष्ट रूपमा यिनै शब्द बिम्बबाट मेरो अनुपस्थितिमा पनि प्राप्त गर्न सक्छ्यौ। आखिर विश्वास नै त हो, हृदयका सबै तरङ्गहरूलाई जोडेर राख्ने कसी! तर, तिम्रो चेष्टा कस्तो रहन्छ त्यसमै निर्भर रहलान् यी मेरा आवाजहरू वा भनौँ शब्दहरूको अर्थ । आखिर अविश्वास भएसँगै भएर पनि त व्याकुल भइन्छ नि!  थाहा छ, म त अनेक व्यवधान सहेर साटिएका समयहरू हुन् अथवा वर्तमानको घामछाया, हरपल तिम्रै प्रेमको स्वप्निल सुवासले सजीव भएर चल्दै छु। थाहा छैन तिम्रो ढुकढुकी कुन सरगमको, कुन रागको, अनि कुन तालको खोजीमा भाग्दै छ तर आशा छ मेरो आह्वानले, मेरो विनयले तिम्रो लय भेट्ने छ..........। यस्तैयस्तै भावनाहरू। चिठी पढेर सकेँ। अझै चित्त बुझेन, फेरि पढेँ। शब्दशब्द , हरेक भाव र वेदना महसुस गर्दै पढेँ। लगभग पाँचछ पटक पढेँ, ओल्टाइपल्टाइ हेरेँ। आठ महिना पहिले चना बेच्ने दिदीलाई सम्झेँ, पाँच सातवर्ष पहिले स्नातकोत्तर तह अध्ययनको समयहरू पनि सम्झिएँ। आखिर मिठास र आनन्द त्यही यादहरूमा त हुने रहेछन् । हुन त चना,चटपटे धेरै खाइयो। कागजका सोलीहरू पनि खाएपिच्छे आउँथे, फालिन्थे, कता हराउँथे, कुनै हेक्का हुँदैनथ्यो। ऋाज यति समयपछि यी पन्ना र चिठीसँग म एक्लै अझै हराइरहेको थिएँ। कलेज पढ्दाका उल्लासमय समयहरू, निर्बाध यात्राहरू, रहरहरू अनि आजका उल्झन र जीवनको भागदौड मनमनै जोख्दै थिएँ। लामो समयसम्म यो चिट्ठी लुकाएर राख्ने त्यो झोला बारम्बार हेरिरहेँ। तिनताका कलेजमा भर्खर भर्खर यो भ्यालेन्टाइन डे को चहलपहल सुरु भएको थियो। युवा मनमा त्यसै पनि प्रेमका जागरणहरू चलि नै रहन्छन्। झन् प्रेमदिवस भनेपछि सबै उत्साहित हुन्थे। प्रेमपत्र लेखन प्रतियोगिता पनि हुन्थ्यो। साहित्यको विद्यार्थी भएको नाताले लहैलहैमा लागेर लेखिन्थ्यो पनि। तर,ती रमाइला अनुभूति मात्रै हुन्थे ।  

अचानक सम्झेँ, एकपटक त्यही प्रेम दिवसको दिन कलेजमा प्रेमपत्र लेखन प्रतियोगितामा पत्र लेखियो।  साँझमा कोठामा फर्केपछि त्यही दिनको प्रेमिल क्षणहरू सम्झनामा आए। साथीहरू भन्थे, “आजकै दिन हो, कोही मनमा छ भने निर्धक्क भन्न पाइन्छ, मनको कुरा !” 

खुब हाँसो चल्थ्यो। आखिर भावना त हो पोखिहेरौँ न त भन्दै बेलुकी खाना खाइसकेपछि एउटा चिठी लेख्न बसेँ। लेख्दालेख्दै रातको दुई बजेछ।  शब्दशब्द, अक्षरअक्षर ख्याल गरेर लेखिसकेपछि एक्लै मक्ख परेँ, कापी सिरानी हालेर सुतेँ। भोलिपल्ट कलेज गएँ । त्यहाँ प्रेमदिवसको चहलपहल र चर्चा कम देखियो । चिठीबारे बोल्न मन लगेन। कक्षामा त्यही कापीमा केही नोटहरू लेखेँ । बरु उल्टै साथीहरूले झोलाबाट त्यो चिठी झिकेर मजाक बनाउँछन् कि भनेर दिनभर त्यो झोला बोकेरै बसेँ। केही दिनपछि त्यो चिठीप्रति आफैलाई अप्ठ्यारो लाग्यो, हाँसो लाग्यो । अनि त तो कापी कोठामै राखेँ र त्यसमा लेख्न पनि छोडेँ। अब समय बगिरह्यो,   हामी बढिरह्यौँ आफ्नै सपना र जीवनका तानाबाना बुनेर । आज अचानक त्यही चनाको सोली बनेको पन्नाको चिठीले त्यो विगत ताजा गराइदियो। खासमा त्यो मैले आफैँ लेखेको प्रेम दिवसको दिनको प्रेमपत्र थियो, जुन मेरो हातमा थियो।

प्रकाशित: ५ फाल्गुन २०७७ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App