धर्मात्मा जनता छ किन्तु उसको नेता अधर्मी किन
सत्कर्मी जनता छ किन्तु उसको नेता कुकर्मी किन
नेपाली जन भावना बुझिदिने बन्दैन नेता किन
मैले ईश्वर मान्छु, पुज्दछु भनी भन्दैन नेता किन ।।
जो निर्लज्ज र वस्त्रहीन छ उही यो देशको चालक
जो पुज्छन् नि विदेशका प्रभुहरू हुन्छन् तिनै पालक
वैरीको मतियार दास गतिलो यो देशको ऊ रथी
सच्चा पुत्र र देशभक्त छविको जन्मेन खै सारथि ।।
आस्था ईश्वरमा हुने मन छुने व्यक्तित्व खै देशमा
नेपाली मन भावना सुनिदिने नेतृत्व खै देशमा
साक्षी ईश्वर छन् भनी शपथ ऊ खाँदैन यो देशमा
शुद्धात्मा हुन देवमन्दिर कहीँ जाँदैन ऊ देशमा ।।
आफ्नो संस्कृति, धर्म मान्छ जनता मान्दैन नेतृत्वले
ऊ हो लेनिनभक्त वैदिक कुरा जान्दैन नेतृत्वले
निष्ठा, ईश्वरमाथि राख्छ जनता राख्दैन नेतृत्वले
आफ्नो अन्तरभित्र झाँक्छ जनता झाँक्दैन नेतृत्वले ।।
नेता ऊ कसरी भयो हृदयमा बस्दैन हाम्रो भने
नेता ऊ कसरी भयो मुलुकमा गर्दैन राम्रो भने
बोक्नै पर्दछ धर्मभाव उसले छाडी पराधीनता
हाँक्नै पर्दछ देश आज उसले बोकेर स्वाधीनता ।।
प्रकाशित: २९ माघ २०७७ ०४:०४ बिहीबार