सासू ससुरा सँगै हुँदा व्यावहारिक कुराहरू उहाँहरूकै टाउकोमा हुन्थ्यो । छुट्टिएर सदरमुकाममा बसाइ सरेपछि सम्पूर्ण जिम्मेवारी दीलाशामा आएको थियो । दुई सन्तानका बाबु भएर पनि प्रेमदेव यन्त्रवत थिए । उनी बिहान खाना खाएर काममा जान्थे । बेलुका नशामा चुर्लुम्म डुबेर घर आउँथे । घरसल्लाह त असम्भव कुरा, कलह नभएको दिन हुँदैन थियो । दीलाशाका अगाडि हुर्कंदै गरेका छोराछोरी, समाजले प्रेमदेवलाई हेर्ने दृष्टि बोझिलो हुन्थ्यो । प्रेमदेवलाई उनका आमाबुवा र श्रीमती सबै भएर सम्झाए । अनेक उपाय अपनाए । बीसको उन्नाइस भएन । दीलाशाले प्रेमदेवले खाने पिउने नशाका पदार्थ कोठामा नै व्यवस्था मिलाउने विचार गरिन् ।
– हजुरलाई जे खानपिउन मन लाग्छ कोठामा नै राख्ने गर्नोस् । कामबाट समयमा घर आउनु, खाइपिइ घुप्लुक्क सुत्नु ।
– यो हो नि त कुरा । ल ठिक छ । आजबाट म तिमीले भनेजस्तै गर्छु । तिमीले पनि मेरो खानपिनमा सहयोग गर्छ्यौ त ।
बेलुका प्रेमदेवले पेयपदार्थका बोतल र केही सितन बोकेर आए । म खाना थोरै खाउँला है भन्दै आफ्नै सामल निकाल्न थाले ।
खाना तयार पारेपछि दीलाशा कोठामा आइन् । प्रेमदेवलाई नशा लागिसकेको थियो ।
– सुनन प्रिय, मलाई त कस्तो खल्लो भयो । औषधि खाएजस्तो एक्लै बसेर के मजा भएन नि ।
– भोलिदेखि तिमी मलाई साथी बस ल । दीलाशाले टाउको हल्लाइन् ।
भोलिपल्ट प्रेमदेवले अझै नौला बोतल ल्याए। दीलाशालाई सँगै राखेर कर गरीगरी थोरै पिउन लगाए ।
दिनहरू बित्दै गए । दीलाशाको घरको रौनक बदलिएको थियो । कलह थिएन । दम्पतिमा प्रेमका मिठामिठा कुरा हुन्थे । साँझैमा रात सुरु हुन्थ्यो । थोरैथोरै थप्दाथप्दै दीलाशा पनि प्रेमदेव बराबर पिउन थालेकी थिइन् । छोराछोरी रातभरि बाहिर हुँदा बाबु आमालाई पत्तो थिएन । स्वतन्त्र थिए सबै ।
केही समय यता कामको कारणले प्रेमदेव अर्को जिल्लामा गएका थिए । उनलाई राम्रो आचरणका हाकिमसँगै बस्नुपरेको थियो । प्रेमदेवको आदत बदलियो । उनी हिजोआज जवान छोराछोरीप्रति ध्यान नपुगेको सोच्थे । जिम्मेवारी बोधले निद्रा लाग्दैनथ्यो । उनले चिन्तित भएर बेलुका घरमा फोन गरे ।
दीलाशा लठ्ठिएको स्वरमा बोलिन् – ओहो बल्ल सम्झनुभयो हजुर !
– फोन नलाग्ने भएर हो । तिम्रो के छ ? छोराछोरी कता छन् ?
– छोराछोरीको चिन्तै नगर्नु मेरो राजा । भोलि फोन गर्नु ल । म त रममा रमाउँदैछु । डिस्टर्ब नगर्नु ल ।
– मलाई साथ दिन आज हजुरको साथी कृष्णजीसँगै हो क्या ।
प्रकाशित: २८ माघ २०७७ ११:२८ बुधबार