एका बिहानै आउँछन् सागका भारीहरू
के भारी भन्नु
बाँधिएका छन् परिबन्धमा
हाम्रै जीवनका परिधिझैं ।
सोलीमा बदाम बेच्छन्
या आफ्नो दुखलाई साँघुरो पार्छन्
कागजको सोलीजस्तै
तर, दुख सोलीको मुखजस्तै बढ्दै जान्छ ।
मीठो बदाम
झुरुमझुरुम, कान्छी बदाम
व्यापारीको नाद छ
सोलीमा रातो माटो पोतेको बदामभन्दा
डालोमा रहेको हातको डामबाट थाहा हुन्छ
व्यापारको आम्दानी ।
लहरै उभिएका छन्
काफल, बदाम र सागका भारीहरू
देख्दा थोरै छ सामान
तर, ती मनभन्दा हजारै गुणा गहु्रँगा छन्
छोरीको जामा, छोराको चप्पल
आफ्नै फरिया
बाउको जाँघे
सबै यसैले किन्नु छ ।
बिहानको सूर्योदयदेखि
सन्ध्याको लालिमासम्म
घोटेर पैतालाहरू
माटोसरिको हातले पुछेर निधारको पसिना
नाप्नु छ जीवनको गति
बिहान बिउँझिएर लाएको भोटो
हरेक साँझ फुकाल्नुपर्छ बिछ्यौनाका लागि
डुंग गन्हाउँछ, मेरो जीवनको उत्तराद्र्धजस्तै
तर पनि किस्ताकिस्तामा
कटाउनु छ दुख
पर्खनु छ मृत्यु
आवेगमा गर्न मन लाग्छ
सोलीको अन्त्य
बन्धनको मुक्ति
एउटा समाधिका लागि
यस्तो लाग्छ
जहाँ जीवन नहोस्
दुख नहोस ।
खोटाङ ।
प्रकाशित: २७ माघ २०७७ ०६:३४ मंगलबार