लक्ष्मण अर्याल
एक दिन अचानक एउटा कुइनेटामा उनीसित भेट भएथ्यो । उनले मलाई आश्चर्यमा पार्दै भनेकी थिइन् – घर निर्माण गरौं ।
मैले हुन्छ भन्न पनि सकिन र हुन्न भन्न पनि सकिन । हुन्न भन्दा उनको चित्त दुख्थ्यो भने हुन्छ भन्दा घर निर्माणको परिस्थिति बनिसकेको थिएन । हुन्न भनेर म उनको चित्त दुखाउन चाहन्नथें । मौनता परिस्थिति बन्यो।
मान्छेको मौन चाहानाले नदी रोकिंदैन । नदी त अनवरत प्रवाह हो । सायद उनी नदी थिइन् । उनी अचानक नै हराइन् जसरी हठात् विजुली चम्कन्छ र आकाशको निलिमामा विलीन बन्छ ।
मैले उनीबिना नै घर बनाएँ र सजाएँ पनि । भव्य फूलवारी बनाएँ र फूल पनि फुलाएँ।
कताकताबाट सुकर्मा आई मेरो फूलबारीमा । फूल हेरी र सन्तुष्ट बनी । मैले सुकर्मालाई देखाउँदै भनें – मेरो घर ।
सुकर्माले भनी – त्यतिबेला यस्तै भव्य घर निर्माण मेरो पनि सोख थियो जतिबेला म यौवनारूढ थिएँ । घर त बनाएँ तर ।... ।
सुकर्मा बाटो लागी । म आज पनि लाटो बनेको छु । घुर्मैलो चस्माको सिसाबाट म अतीत र उसका पाकेका केश पालैपालो हेर्दै छु । लाग्छ – एउटा फरक डिजाइनरको डिजाइनमा यो घरको नक्साको हुलिया पक्कै फेरिन्थ्यो होला ।
प्रकाशित: ५ माघ २०७७ ०७:३४ सोमबार