कला

नाइल र कायरो

कविता

प्रेम राई परीक्षित

 

बुर्काको पीडाहरू

गर्भभित्र लुकाएर  

अवैधानिक खुसीहरू

जन्माइरहन्छे नाइल

 

दिनभरि कुदाइरहन्छे रङ्गीन फेरिहरू  

बुढ्यौली अवयवहरूमाथि रगटेर

रातभरि  छिल्लिरहन्छे

क्रुजका स्फटिक गिलासहरूमा

र बिर्सन्छे दिनका उष्ण बाफहरू

 

कायरो लुटिरहन्छ अस्मिता

चूपचाप सहिरहन्छे ऊ  

कायरो असुलिरहन्छ उनको यौवन

र बुर्का ओडेर बगिरहन्छे ऊ  

दैनिकी स्विकारिरहन्छे ऊ

 

कायरो  

न ऊबिना बाँच्न सक्छ

न ऊबिना आफ्नो अस्तित्व बनाउन सक्छ

जो नाइलको रुन्चे सुस्केरासँगै  

हरदम हरपल बाँचिरहन्छ  

तर कायरो अनुभूत गर्न सक्तैन

नाइलको अनन्त दमित पीडाहरू

जो युगौंदेखि छल्किदै विद्रोह गरिरहेछ ।

प्रकाशित: २२ पुस २०७७ ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App