कृष्णजी शर्मा
मेरो एउटा प्रिय साथी थियो । मेरो घरमा ऊ आउँथ्यो । हामी सँगै बसेर पढ्थ्यौँ । सँगै घुम्न जान्थ्यौँ ।
ऊ घरबाट कलेज जाँदा एकतर्फी भाडा बोक्थ्यो फर्किँदाको भाडा मैले तिरिदिनु पर्थ्यो । क्यान्टिनमा खाजाको पैसा उसले कहिल्यै तिरेन । मैले नै तिर्छ भन्नेमा ऊ विश्वस्त थियो ।
एक दिन उसलाई पोखरा घुम्न जान मन लाग्यो । बाआमाले उसलाई पैसा दिएन ।
१९ वर्षकै उमेरमा म शिक्षक जागिरे भएको थिएँ । मैले एक महिनाको पूरै तलब १, २५० रुपैयाँ खल्तीमा बोकेको थिएँ । दुई रात पोखरा घुमेपछि हामी घर फर्कियौँ । मैले एक महिनाको तलब दुई दिनमा सकेर फर्केकोमा मेरी आमा बेखुशी हुनुभयो।
त्यसको केही समयपछि, मेरो प्रिय साथी, मेरो घरमा आइपुग्यो र भन्यो – मलाई काठमाडौं लैजा न यार। म मर्ने भएँ ।
मैले सोधेँ –के भयो ?
मेरो पेट बेसरी पोल्छ । खाने कुरा निल्दा असाध्यै दुख्छ । बाआमाले अस्पताल जान पैसा छैन, भन्नुहुन्छ ।
मैले आमासँग छलफल गरेँ । आमाले भन्नुभयो– तिनीहरू सम्पत्ति भएका मान्छे हुन् । राजमार्गको छेउमै त्यत्रा जमिन छ । उसलाई घर पठाइदे । तँ खुरुक्क पढाउन जा।
– प्रिय साथी, म जान सक्दिनँ । तँ कसैको सहयोगमा काठमाडौं जा ।
मैले यति भन्नासाथ ऊ मलाई अँगालो मारेर रुन थाल्यो र भन्यो– मेरो जीवन बँचा यार । म तेरो गुन कहिल्यै बिर्सने छैन।
मैले आमालाई झुक्याएर उसलाई काठमाडौं लिएर गएँ । दिदीभिनाजु बस्ने भाडाको कोठामा एक हप्ता बसेर उपचार गरेर फर्कियौँ ।
केही वर्षपछि राजमार्ग छेउको एक कट्ठा जमिन बाह्र लाखमा बेचेर ऊ बेलायत गयो । ४,५ वर्षमा नेपाल फर्कियो । कसैबाट मेरो फोन लियो, मलाई फोन गर्यो र भन्यो – मलाई भेट्ने भए आइज । म अब एक हप्तापछि बेलायत फर्कँदैछु ।
म त्यस बेला बिमारी परेको थिएँ । सकीनसकी फोनमा भनेँ –तँ आइज न यार, म भाइरल ज्वरोले थलिएको छु । आज चार दिन भयो, ओछ्यान परेको छु ।
उसले जवाफमा भन्यो – मलाई भेट्न मन भए आइज । त्यता आउन मलाई फुर्सद छैन ।
यति भनेर उसले फोन काट्यो ।
प्रकाशित: २२ पुस २०७७ ०३:५५ बुधबार