विदुर चालिसे
१) सुल्पोको धुवाँ
–“तान्न पाइँ भनेर धेरै नतान है !”
––“कस्तो अनौठो हल्ला गर्छ यार यो राजा त । ”
टाकुराका सानुराजा र ठूलोराजा पहाडी साँझको चिसो बताससँग बतास्सिरहेका थिए । सुल्पोको धुवाँ फुस्स – फुस्स उडिरहेथ्यो । अर्कोतिर हातमा सुल्पो मोलिरहेको भाम कराउँथ्यो ।
–“तिबेतको च्याङ्ग्रा स्वाट्टै जुम्लामा, जुम्लादेखि नेपालगञ्ज मात्रै आठदिन !”
जुम्ली व्यापारी भाम आफ्नो व्यावसायी तन्मयतामा सुल्पोको धुवाँ खूब तानेर उडाउँथ्यो । हिसाबी नाफासँग क्यालकुलेटर बरोबर चलाउँथ्यो ।
––“सानुराजा , जाने होइन नेपालगञ्ज !”
सुल्पोको धुवाँमा लठ्ठिएका सानुराजाका लागि यो ठूलै प्रस्ताव थियो ।
––“जाने, किन नजाने नि तर खर्चबर्च तिम्ले नि फेरि !”
सानुराजाको दमदार प्रस्तावप्रति भाम चूप लाग्यो । अनि “हुन्छ ” भनिदियो । ठूलो राजा पहाडी गाँजाका कुरा झिकिरहेका थिए । सिस्नो अनि यार्सागुम्बाका लागि व्यापारीहरूसँगको पहुँच सोधिरहेका थिए । भाम मुन्टो हल्लाइरहेथ्यो । ती गाउँका राजाहरू धुवाँजस्तै बाहिर सुकिला भएर उडिरहेका थिए । तर , तिनीहरूका सारगर्भित प्रथाहरू सुल्पोको धुवाँजस्तै हल्का र ‘प्वाइजनस’ थिए ।
––“एकदिन महादेव सुल्पोको धुवाँ उडाउँदै पार्वती खोज्न पहाडतिर झरेका थिए, अनि छ नि सानुराजा, बुटी यतै छोडे रे ।” धुवाँले बङ्बँगिएका बङ्बगिएका तिनै जना थपडी बजाउन थाले । फेरि सुल्पोको धुवाँ फुफु गर्दै फुकिरहे ।
––“पार्वतीको चक्करले अनि त्यसपछि महादेव कता पुगे त !”
ठूलो राजाको प्रश्नको उत्तरमा भामले एक सर्को फेरि मार्यो ।
––“सुल्पो गोड्न गए ।”
सबै जना हाँसिरह अनि अगाडिको धुनीमा बलेको दाउरा हेरिरहे । कतै तातो कतै चिसोले सेकिइरहेका यी सुल्पो भोगीहरूको जीवन दिनरात उडिरहेका धुवाँहरू जस्तै उडिरहेको थियो ।
एकदिन तिनीहरू आफ्नो व्यापार गर्न राजधानी आएका थिए । जब शहरभित्र पसे हरेक चोक, गल्ली र फुटपाथहरूमा उनीहरूले सुल्पोको धुवाँ उडेको देखे । ठूलो राजा त्यसै कराए ।
––“अचम्म , राजधानीमा त सुल्पोको धुवाँ पनि फरकफरक रहेछ भाइ ! सब नन अरगानिक !”
––“हो है, हाम्रो पहाडको सुल्पोको धुवाँ त क्या अरगानिक !”
अचेल पहाडको अरगानिक सुल्पोको धुवाँ अस्पतालतिर बेडमा मर्फिन भएर सुतिरहेको थियो । शहरमा नयाँ माफियाहरू सुल्पो बेचिरहेका थिए, नयाँ राजाहरूलाई । शहरका नयाँ राजाहरू जमीनको धूलो र धूवाँ बुङबुङ उडाइरहेका थिए । मानिसहरू त्यही धूवाँमा शहरमा निस्सासिरहेका थिए ।
२) तातो ढुङ्गा
आदर्शले बाँच्न चाहनु कसैको दोष होइन । जब आदर्शहरू सत्यानास हुने गरी मानिसका जीवन छियाछिया हुन्छ । तब यथार्थ जीवनको आशा परमात्माको शरणमा पुग्न अन्तरआत्माको लवज अनायास निस्कन्छन् । परमात्मा भन्ने कुरा पनि आत्मा तुष्टिको अतिसयोक्ति हाउगुजी मात्रै हुनेरहेछ दुखी मानिसहरूका लागि ।
––“लौन ! परमात्मा तिमी सार्है कठोर रहेछौ ।”
लर्बरिएका गोडा र प्यासका धुन उसँग एकैसाथ धुन्मुनिरहेथ्यो ।
––“हे धोकेवाज ! म छुटकारा कहिले पाउँछु । यो कलिको समाजबाट !”
विरक्तिएको आशा अनि अप्ठेरो महसुस भएको भ्रम आफ्नै शरीरसँग न उठ्थ्यो जुरूक्क न बस्न नै सक्थ्यो खुसुक्क । चमेली छटपटिरहेकी थिई आफ्नै मौसमी पीडासँग । निकै गर्मीको समय थियो । घाम तथा वायुको तातोले सबैतिर मानिसहरू पनि असिन पसिन थिए ।
––“यस्तो अलल्ले ज्यान लिएर कति हिंडेको आराम गरेर बस्नु नि !”
––“नाई ! नाई !!”
मनमा जमेको उसको पीडाको तातोले रन्केको ढुङ्गा कम रापिलो थिएन ।
––“कहिलेकाँही हास्दा पनि पीडा हुन्छ । कहिले भने रूँदा पनि आनन्द आउँछ ।”
समाजमा चमेलीको भाउ जतिबेला थियो, उस्का नजिक सबै आउँथे । झिंगाजस्ता मानिसहरू झुम्मिन्थे । तर अप्ठेरो बेला खास स्वभावका लालायितहरू पनि पर भागिसकेका थिए । जता हेर्याे उतै धुप थियो । चमेली प्यासले खहरिएकी थिई, कराई रही ।
––“हात लाग्यो !”
वरिपरि कोही थिएन । खानेपानीको धाराबाट पानी तुर्तुर झरिरहेको थियो । थोपा थोपा खसिरहेको पानीबाट प्यास मेट्न उसले धाराको टुटीमा मुख जोडी । पानी सुक्दै गइरहेको थियो । उ गर्भिणी थिई । उठन नसकेर थचक्क बसी । उसलाई जीवनको तातो ढुङ्गाले पोलिरहेथ्यो । बसेको ठाउँमा यति पोलेको थियो कि नयाँवर्षको शुभकामनामा बेहद विरक्तहरू बोलिरहेका थिए । तातोको स्पर्श कहिले प्यास त कहिले शीतल पानीको तिर्खामा लज्जापूर्वक उभिरहेको थियो ।
––“हात लाग्यो ! हात लाग्यो !!”
पुलिसहरू छेवैमा कराइरहेथे । चमेलीको मनको तातो ढुङ्गा अहिले सेलाइसकेको थियो, नयाँ विद्रोहमा ।
३) लिभिङ ट्रयाक
बस्ती विकासका क्रममा दलिन घरे काठमाडौंमा बसाइ सरे । उनी गाउँमा छँदा पञ्चायत कालमा निकै चल्तापुर्जा कार्यकर्ता थिए । चुनावको बेला त्यतिबेला खुबै सघाए । त्यस वापत केही बक्सिस पनि पाए । अलिअलि उनको जीवन शैलीमा फेरबदल पनि भयो । उनको परिवारमा उच्च आदरको चलन बस्यो । गाउँदेखि शहरसम्म रवाफ थपिँदै गयो । माथिदेखि तलसम्म अब्बली सम्पर्क सूत्रका रूपमा उनको भाउ अत्यन्त चक्र्यो । केही समयपछि समयले कोल्टे फेर्यो । प्रजातन्त्र नामको व्यवस्था स्थापित हुन गयो । तब सट्टा बजारमा उनको भाउ घट्यो । उनलाई बाँच्नका लागि त्रासले घर गर्दै गयो । केही समय उनी पुरानो व्यवस्थाको अनुयायी भएकाले डरले गाउँ, घर र शहरमा केही बोलेनन्, बरु लुकीछिपी हिँड्दै रहे । समयको लर्कोसँगै हिजोको जस्तो भाउ थिएन उनको । एकदिन ढुंग्यान साइलोले बाटोमा देख्नेबित्तिकै सोध्यो ––“ए दलानारे दाइ , आजकल कतातिर छौ !”
साइलोको कुरा फुस्कन नपाउँदै दलान घरेले भनिहाल्यो ।
––“म त खाँटी छु नि पुरानैको !”
साइलोले पत्याएर लरक्क आफ्नो उकालो लाग्यो । एकदिन बजारतिर साइलो भारी खेप्न आएको थियो । दलान घरेलाई रातो झण्डा लिएर नारा लगाउँदै जिन्दावाद ! मूर्दावाद ! गर्दै थियो । यतिबेला साइलो अकमक्क पर्यो । केही दिनपछि साइलोले दलान घरेलाई गाउँतिर लम्कँदै गरेको देख्यो । उसका हातमा यतिबेला पुरानो विरासतको नयाँ पार्टीको झण्डा थियो । साइलो आफ्नो आँखाका केही दिन अगाडिका दृश्यहरू सम्झन्थ्यो र अगाडिको दृश्यबीच रहेको एकरूपताले नियाल्न खोज्थ्यो । तर, ऊ सक्दैनथ्यो । आफ्ना भ्रमहरूलाई निश्चित गर्न दलान घरेतर्फ लम्केर सोध्यो ।
––“अस्तिका दिन हातमा रातो झण्डा थियो । आज पुरानो विरासतको पार्टीको अर्कै झण्डा छ, किन !”
उसले सरल सहज जवाफ दियो ––“तिमीहरू बुझ्दैनौ, यसलाई लिभिङ ट्रयाक भन्छन् अंग्रेजीमा ।”
साइलोले बुझेझैं गरी मुन्टो हल्लायो । अप्सरियाहरूको द्वैध मानसिकताबारे पढेको कथाको आभास लागेर आफ्नो गन्तव्यतिर हिंड्यो ।
४) भ्रम पथ
सन्तहरू मठमा बस्नुको कारण बारे आफ्ना अनुयायीहरू लाई चंगेज खाँले सोधे । उनका अनुयायीहरू अत्यन्त धूर्त थिए । उनीहरू को चलाखीले चंगेज खाँले जवाफ पाइहाले ।
––“हजुरले पनि किन यस्तो प्रश्न गरिबक्सन्छ ?”
चंगेज खाँले उनीहरू को नियत बुझेपछि उनले तुरुन्त आफ्नो मैदानमा रहेका दलालहरू लाई समातेर ल्याउने आदेश दिए । तर उनीहरू लाई अप्ठेरो पर्यो अनि उनीहरू जब एकदिन दलाल चोरलाई कुर्र्दै िथए । त्यतिबेला तिनलाई एक मानिस आएर सोध्यो ।
––“के तपाईले चोर कुर्ने मान्छेलाई देख्नु भो ?”
चंगेज खाँका मानिसहरू लाई मन मनै झसक्क जिज्ञाशा उफ्र्यो ।
––”यो मान्छेले कसरी चोरको बारेमा थाहा पायो !! कतै, यही त चोर हैन ?”
उसमा अर्काे प्रश्न जन्म्यो र त्यतिकैमा त्यो मान्छे अलप भयो । अर्काे दिनको कुरा थ्यो । साधुहरू मठमा बस्नुको कारण गाउँमा कचहरी चलेको थियो । उनीहरू का गेरुवा बस्त्र थिएनन् । माग्नेका जस्ता च्यातिएका कपडा र भोजनका लागि भात पात्र मात्रै थियो । त्यतिबेला साँच्चिकै साधुको भेषमा एउटी बुढी आइमाई आएर उसलाई सोधी ।
––“के तपाईले चोरलाई भेट्नु भो ? उ अक्क न बक्क पर्याे । उसलाई मनमा लाग्यो ।
––“मैले चोर कुरेको कुरा यो बुढीलाई कसरी थाहा भो !!”
फेरि अर्काे केही दिनपछि अर्काे एकजना कुटनीतिज्ञले उसलाई सोधे ।
––तपाईको चोर भेटियो ?
उ हैरान थियो । उनीहरू का अनेकन प्रश्नमा केही न केही दम थियो, तर उसले बुझेन । बरू ! उसले चोर समाउने नाममा राजनीति गर्न छोडेन । जब बुढेस कालको अन्तिम प्रहरसम्म हार खाएर उ भगवानको नाम लिंदै थियो । तब उसले त्यो चोरलाई भेट्यो । आँशु टिलपिल पार्दै आँखा यताउता नचायो ।
––“त्यो चोर नाचिरहेको देख्यो ।”
तब चंगेज खाँले उसलाई नै धूर्त देखे झैं लाग्यो ।
––“इदम् मित्थ्या, यो भ्रम पथ ! सन्त र मठको महसुस चंगेजलाई कसरी भयो ?”
––“बस, चक्रवर्ती बादशाहको साम्राज्य बनाउने धोको !”
५) नयाँ आइडिया
––“अब उत्साहित भएर जीवन छेड्नुपर्छ !”
––“तालीको गड्गडाहटमा टर्ररर आवाज !”
एकदिनको कुरा उसको उत्साहले बजेको हातको ताली रोकिनै मानेको थिएन तर मैले जीवनको सबैभन्दा त्यही दुखी मानिसलाई भेटें । ऊ भावुकतापूर्वक आँखाभरि आँसु बर्बराउँदै घोप्टिएको थियो । ऊ भन्थ्यो ।
––“मनभरिका पीडा भक्कानिएर मुख खोल्न खोज्छु तर खै आउँदैन ।”
ऊ भनिरहेको थियो । परिस्थितिले उसलाई खै कसरी समातेको थियो । थाहा हुन सकेन । ऊ गम्भीर थियो तर सन्तापमा रुमलिएको पनि थियो । उसले आफन्तलाई गुहार्यो । छिमेकीलाई भन्यो । नातेदारलाई सुनायो । निजी मित्रहरूलाई खुसामत गर्यो र अन्त्यमा भगवानलाई पनि पुकार्यो । घरपरिवार छोराछोरी सबैलाई मुर्छायो । उसले कसैलाई बुझाउन सकेन, आफ्नो परिस्थितिको पीडा । जस्ले शब्द सुने तिनले अनेक थरी अर्ति, उपदेश, विचार र बुध्दि दिए । ऊ आँखाबाट झन् आँसु खसालेर रुन थाल्यो । वातावरणमा देखिएको उदारो सत्य र नियमित असत्य बीचमा उसले आफुलाई सल्ट्याउन सकेन । उसले अब आवाज ननिकाल्ने गरी छुट्टै तर चूपचाप बाटोको यात्रा गर्ने कुरा एकदिन सोच्यो । जब बेआवाजको बाटोमा हिंड्दै थियो । ऊ कुरा बुझेझैं गरी खूब हाँस्थ्यो । उपदेश, विचार र अर्ति दिने दार्शनिकहरू आत्मपीडाले ओइलाउँथे । किनभने मानिस व्यवहारभन्दा उडन्ते आवेगमा निजत्व साट्थे । पछिल्लो समयमा जब उसलाई कुनै घटनाले ठेस पुग्यो । ऊ झल्याँस्स भयो । आफ्ना असल मित्रहरूको आवाज कानमा गुन्जाउन थाल्यो । जब फेरि नयाँ आवश्यकताले समय अगाडि बढेर जादाँ उसले सोच्यो ।
––“नयाँ आइडिया ।”
ऊ फत्फताउँदै अल्लारेको जीवनका भाकामा नयाँ गीतको धुनका साथ निराश नयाँ आइडियाले अगाडि बढ्यो । अर्को योजना बनाउन बुङ्बुङ्ती चुरोटको धुँवा छोड्दै स्वैरकल्पनामा तरङ्गित थियो । लैबरी लै, लैबरी लैको नृत्यमा, दर्शकहरू खूब जुर्मुराएका थिए । पागलहरू कराइरहेका थिए ।
––“धन्दा नमान तिमीहरू , यसपालि यस्तै भो, अर्को पटक तिमीहरू सबका राजा हुन्छौ ।”
फेरि अर्को पागल चुनावमा नयाँ आइडियाको पोको बाँडिरहेको थियो । मञ्च थियो, ताली बजाउनेहरू थिएनन् । देखिएका मानिसहरू पनि फुटपाथमा व्यापार गरिरहेका थिए । यसपालिको तालीमा हातहरू खाली –खाली थिए ।
प्रकाशित: २५ मंसिर २०७७ ०६:५३ बिहीबार