कला

धत्तेरी , त्यति साह्रै त नगर्नुपर्ने नि !

संस्मरण

विनोद नेपाल

विगत सम्झँदा गजब लाग्छ । जानाजान पछुतो लाग्ने र पश्चाताप हुने काम त गरिएन तर कतिपय घटना सम्झँदा ‘धत्तेरी , त्यति साह्रै त नगर्नुपर्ने थियो’ जस्तो चाहिँ लाग्छ ।  

कुरा साढे तीन दशकअघि अर्थात् २०४२ सालको हो ।  

त्यसताका ‘नेपाल युवक संगठन’को आयोजनामा तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवको अवसर पारेर हरेक वर्ष पुस १४ लाई बिचमा पारी‘राष्ट्रिय युवा महोत्सव’ मनाइन्थ्यो । त्यतिखेरको युवक संगठनका नेतृत्वकर्ता कमल थापा, चन्द्रबहादुर गुरुङ लगायतको सक्रियतामा कार्यक्रमहरु हुन्थे । विभिन्न कार्यक्रम समावेश हुने महोत्सवमा क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिता पनि हुन्थ्यो । देशभरका क्याम्पस सहभागी हुने सो प्रतियोगितामा त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाबाट छानिएर प्रतियोगितामा सहभागी हुनका लागि अघिल्लो वर्षजस्तै त्यस वर्ष पनि आयौं । 

बसाई थियो महेन्द्र युवालय जाउलाखेलमा । सामान्य ज्ञान पढ्ने र कण्ठस्थ पार्ने काम हुन्थ्यो हाम्रो । एक –अर्कालाई सोध्ने जवाफ दिने यस्तै गथ्र्याैं, सँगसँगै घुमफिर पनि गथ्र्यौं । क्याम्पसबाट छानिएर काठमाडौ आउन पाएकोमा गदगद हामीलाई ठूलै अवसर पाएको महसुस हुन्थ्यो । 

त्यस वर्ष त्यसरी आई युवालयमा वसेकामा हाजिरी जवाफ प्रतियोगिताको दुई दिनअघि एकजना दृष्टिविहीन पोखरा पृथ्वीनारायण क्याम्पसबाट सहभागी हुने गरी आइपुगेछन् । साँझ अलि ढिलो गरी आइपुगेका रहेछन् । कोठा दिने समयमा उनलाई दोहोरी गीत प्रतियोगितामा भाग लिन आएका टोली बसे नजिक राखिएछ । कहाँको पढ्नुपर्ने मान्छे, कहाँको गीत । तालमेल मिल्ने कुरै भएन । उनी दिक्क भए्छन् । जसोतसो रात बिताएपछि भोलिपल्ट विहान उनी हाजिरी जवाफवाला टोली बसेको कोठा खोज्दै हामीकहाँ आइपुगे ।

परिचयपश्चात ‘अरू साथीहरू खोई त ’ भन्ने हाम्रो प्रश्नमा उनले भने ‘ साथीहरू आउँदै हुनुहुन्छ मलाई तपाई पहिले जानुस् भनेकाले पहिले आएँ ।’ ‘तर कोठामा एक्लो भएँ, दोहोरी गीतको हल्ला भयो, यहाँहरुले सहयोग गर्नुपरयो’ आफ्नो समस्या सुनाउँदै उनले भने ‘साथीहरुले चिच्याएर पढ्नुस् है, म सुन्छु,मेरो त तयारी नै यही हो ।’

हामीले पनि उनलाई माया गरेर सुनिने गरी पढ्ने,प्रश्न सोध्ने,उत्तर दिने गर्दै गयौं । उनी हामीसँग नजिकिए ।  

दिउँसो समूह छुट्याएर प्रतिस्पर्धीहरुको सूची निकालिएछ । थाहा भयो, उनी त हाम्रै समूहमा परेछन् अर्थात् हाम्रा प्रतिस्पर्धीमध्ये उनको क्याम्पस पनि एक हुने भयो । 

कार्यक्रम जमलस्थित नाचघरमा कार्यक्रम हुनेवाला थियो । भोलिपल्ट तोकिएको समयमा हामी उनलाई साथै लिएर जमल पुग्यौं । ‘टोलीका अरु साथीहरु आउँदै हुनुहुन्छ  भनेर साथी आउनेमा ढुक्क उनका साथी भने त्यहाँ पनि आइपुगेनन् । हलभित्र पसियो । कार्यक्रम सुरु हुने समय भयो । ६ क्याम्पसमध्येको एउटा समूहमा उनी एकजना मात्र भए । एकजना मात्र भएको अधुरो टिमलाई सहभागी गराउने कि नगराउने भन्नेमा वहस भयो । कसैले सहभागी गराउनुपर्छ भन्ने, कसैले हुँदैन भन्ने, मत बाझियो । हामी र प्रतियोगितामा सहभागी सबैले सहभागी गराउनुपर्छ भन्ने पक्षमा मत जाहेर गरयौं । अन्ततः कार्यक्रम आयोजकले उनलाई सहभागी गराउने निर्णय लिए । वास्तवमा उनको जुन साहस थियो त्यो प्रशंसायोग्य थियो यसैले पनि सहभागी गराउनै पर्ने थियो ।

कार्यक्रम शुरु भयो । प्रश्नहरु सोधिन थाले । सरस्वती क्याम्पसको समूह जस्तो लाग्छ,  हामीभन्दा अगाडिअगाडि भयो, हामी दोस्रोमा र ती एक्ला दृष्टिविहीन हाम्रा पछिपछि थिए । पहिलो र दोस्रो भएमा मात्र अर्को चरणमा जान पाइने भएकाले हामी पहिलो नभए पनि दोस्रो पक्का हुन्छौ र दोस्रो राउण्डमा पुग्छौं भन्नेमा ढुक्क थियौ,‘एक्लो छ, यसलाई त जितिहालिन्छ नि’ भन्दै थियौं किनकि समूह तीन जनाको हुन्थ्यो र हामी तीन जना थियौं । हुँदाहुँदै त्यतिखेर उनको र हाम्रो अंक बराबर भयो, जतिखेर एउटा प्रश्न मात्र बाँकी थियो ।

अन्तिम प्रश्न पहिलोपटक तिनै दृष्टिविहीनलाई सोधिने पालो थियो । हामी तिनले नमिलाउन् भन्नेमा थियौं ।

प्रश्न सोधियो  ‘एकैपटक धेरै फुल पार्ने चरा कुन हो ?’

उनी बसिरहेको कुर्सीबाट जुरुक्क उठेर चर्को स्वरमा जवाफ दिए‘तित्रो’ ।

हामी हेरेको हेरयै भयौं ।

हामीलाई लाज लाग्यो । लज्जा महसुस भएपछि छिटोछिटो हिंड्न पाए हुन्थ्यो भन्ने लाग्यो । यसलाई सँगै राखेर,पढेर सुनाएर यहाँसम्म डोरयाएर ल्याइयो, यहाँ आएपछि त यसले हामीलाई नै पो पछारयो है भन्दै हामी तिनको वास्ता नगरी फटाफट हलबाट निस्कियौं र आफ्नो बाटो लाग्यौं । त्यस साँझ उनीकहाँ बसे ? महेन्द्र युवालयकोसँग, कसरी, कतिखेर पुगे हामीलाई कुनै जानकारी भएन। पराजित हामीचाहिँ महेन्द्र युवालय पुगी आआफ्ना झोला बोकी त्यसै साँझ आश्रयका लागि आफन्तका डेराको खोजीमा लाग्यौं ।

ती साहसी साथी कहाँ होलान् ? अचेल बेलाबेलामा मनले खोज्छ।

प्रकाशित: २४ मंसिर २०७७ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App