कला

आखिर किन ?

कथा

 ममता मृदुल 

 

 देवघाटतिरबाट बहने शीतल हावासँगै आँगनको डिलका फूल नाचिरहेका छन् । गोदावरी, सयपत्री ढकमक्क फुलेका छन् । फुसको छानो भएको  तीनकोठे चिटिक्क परेको भुईँ घरभित्रैसम्म सुगन्ध फैलिएको छ । आँगन खुला छ, गोबरले लिपेर सफा छ । यही परिवेशले रमिताको शील, स्वभाव र योग्यता झल्काइरहेको छ ।

अगाडि तीनतले पक्की घर छ । घर ठूलो र आधुनिक छ तर यतातिरबाट हिँड्नेको मन रमिताकै घरले तान्छ । बाटो हिँड्ने र पक्की घरका पाहुनाले यतातिर नियालेको रमितालाई मन पर्छ । कतिले हेर्छन्, कतिले मन पराउँछन् यसको हेक्का छैन रमितालाई । रमितालाई पल्लो घरमा कति मान्छे छन् भन्ने वास्ता छैन । पक्की घरको अगाडि एउटा नीलो कार रोकिएको हुन्छ, घरवाला मान्छेको कार होइन यो । तर, प्रायः सधैँ आउँछ । कारबाट निस्कने मान्छे केहीबेर यतैतिर टोलाउँछ, रमिताले देखे पनि वास्ता गरेकी छैनन् ।

पल्लो घरको भित्ते घडीको आवाज रामै्रसँग सुनिन्छ । ‘बिहानको सात बजे छ’, रमिताले मनमनै सोचिन् ।

अटोरिक्साको घ्यारघ्यार आवाजले शान्त वातावरण खल्बल्यायो । अटो गोबरले पोतेको आँगन भत्काउँदै सडकमा निस्कियो र बिस्तारै आवाज मधुरो हुँदै हरायो । फूलसँग खेल्दै गरेकी रमिताले न त अटोरिक्सालाई हेरिन्, न त अटो हाँक्ने आफ्नो पति गोकर्णलाई नै । हेरिन् त खालि टायरका डोबलाई । रमिताको नियमित काम नै हो आँगनमा टायरले बनाएका डोबलाई मेटाउने तर आफ्नो जिन्दगीमा नियतिले बनाएका डोबलाई कहिल्यै    मेटाउन सकिनन् । एउटा घाउ पुरिन लाग्दा नलाग्दै अर्काे घाउ लाग्छ भने त्यो घाउलाई किन मलमपट्टी लगाउन  परयो र ?

बाबुआमाको मृत्युपछि रमिताका दिन कष्टपूर्ण बने । न त घरमा भाउजूको माया नै पाइन्, न अध्ययन नै पूरा गर्न । जे भए पनि भाग्यले जताजता डो¥याउँछ, त्यतैत्यतै लाग्नुको विकल्प उनीमा थिएन । श्रीमतीका अगाडि दाजु विवश देखिन्थे । एकातिर श्रीमतीको कचकच अर्काेतिर आफ्नी बहिनी । बिहे गरेर दिन पाए खुसी हुन्थी कि भन्ने नलागेको पनि होइन दाजुलाई । खोजेकै बेला मन खाने केटो पनि कहाँ पाइन्थ्यो र ! श्रीमतीकी दिदीले गोकर्णसँग बिहे गरिदिँदा राम्रै हुन्छ भनेर प्रस्ताव ल्याइन् । रमिताका दाजुले जे भए पनि आफ्नो भाग्य आफैँ खान्छे भनेर गोकर्णसँग बिहे गरिदिए । विएड पढ्दापढ्दै टुहुरी रमिताको बिहे छोराको बाबु विधुर गोकर्णसँग गरिदिए ।

गोकर्णको घर व्यवहार जसोतसो चलेकै थियो । दिनभरि अटो–रिक्सा चलाएर साँझ घर फर्कने रुटिन नै थियो । कक्षा नौमा पढ्दै गरेको छोरो दिउँसोभरि स्कुल, बिहानबेलुका साथीभाइसँग । दिउँसोभरि रमिता घरमै । परिवार थियो, घर थियो तर सबै एक्लाएक्लै जस्तो । आत्मीयता कसैमा भएन । घरलाई घर र परिवारलाई परिवार बनाउन रमिताले नखोजेको होइन । एक हातले मात्रै ताली बजेन, अर्काे हात अर्कैतिर मोडियो । जीवन मेसिन जस्तो भावविहीन बन्यो ।

आँखामा सुन्दर सपना रमिताले पनि नसजाएकी होइनन् । आफूले माया गर्ने मान्छे होस् आफूलाई पनि माया गर्ने मान्छे होस् । यो मेरो हो भन्ने लाग्ने केही होस् अनि कसैले यो तेरो हो भनोस् । अनि न मन अडिन्छ । यी सबै रमिताको भाग्यमै रहेन छ । लोग्नेप्रति न त लोग्नेको भाव आयो न त संरक्षण र भरोसाको विश्वास नै । न लोग्नेको घर नै आफ्नो हो भन्ने भयो । जब सन्तान पनि आफ्नो भन्न नपाउने भएपछि जीवनको के नै सार्थकता रह्यो र ?

 ‘तिमीले सन्तान जन्माउने आशा नराख्नू’ बिहे गरेर आएकै दिन गोकर्णले भनेको कुरा रमिताको कानमा अहिले पनि गुन्जिन्छ ।

  ‘म यो छोरालाई टुहुरो पार्न सक्दिन । मैले पार्वतीलाई मर्नुभन्दा अगाडि वचन दिएको छु । दोस्रो बिहे गर्दिन, गरे पनि सन्तान जन्माउँदिन’ ।  त्यसबेला रमिता निरुत्तर थिइन् । सपनाको घर गल्र्यामगुर्लुम्म ढल्यो ।

 गोकर्ण र रमिताको विवाह मात्र एक मूल्यहीन, उद्देश्यविहीन सम्झौता थियो । गोकर्णले रमितालाई कहिल्यै प्रेम गरेनन् । नाम मात्रकी श्रीमती चाहिएको थियो । समाजका आँखा छलेर ऊ सधैँ अन्य स्वास्नी मानिससँग रमाउँथ्यो । रमितासँग विवाह गरे पनि उसलाई छोएकै थिएन । सधैँ रक्सी पिएर आउने गोकर्ण रमिताको लागि निर्दयी पुरुष थियो । तर रमिताको जाने ठाउँ पनि त कहीँ थिएन । दुःख बिसाउने मान्छे भएन । कहिलेकाहीं लाग्थ्यो – ‘आखिर किन ? भगवानले मेरा बाबुआमालाई लगे अनि यस्तो निर्दयी र कुरूप लोग्ने दिलाए । कुन जन्मको गल्तीको सजाय भोग्दै छु ।’ यसको उत्तर दिने कोही थिएनन् ।

समय हो रोकिँदैन । कसैका लागि समय अडियोस् भन्ने लाग्ला, तर रमितालाई यसको वास्ता छैन, आउने समय राम्रो हुने अपेक्षा नै छैन । जे भए पनि समय अगाडि बढ्दै जान्छ । बिहे भएर आएको ६ महिना बितिसकेको छ । 

साँझ झमक्क परेपछि गोकर्ण घर आए, छोरा आएकै थिएन । रमिता खाना बनाउदै थिइन् । गोकर्णको फोनको घण्टी बज्न थाल्यो । फोन उठाए फोनमा चर्कोचर्को आवाजमा कुरा गरेको सुनेर रमिता बाहिर आइन् ।

 ‘के भयो ? किन रिसाउनुभएको ? कसको फोन  हो ?’– रमिताले जिज्ञासा प्रकट गरिन, रमिताको उद्देश्य पतिलाई शान्त बनाउन थियो ।

 त्यसो त सामान्य कुरामा कसैले कसैको वास्ता गर्दैनन् । आज अवस्था अलिक फरक जस्तो भएपछि रमिता अगाडि सरेकी हुन् ।

‘तँलाई के मतलब, बढी चासो लिन्छेस् । आफ्नो काम गर्’ रमिता आफ्नो काममा लागिन् । गोकर्ण मानसिक मात्रै होइन, शारीरिक पीडा दिन पनि पछाडि पर्दैनन् भन्ने रमितिलाई राम्रोसँग थाहा थियो ।

पाँच मिनेटपछि फेरि फोन आयो । गोकर्णले फोन उठाए । मैले तेरो घर कसरी बिगारे भन्दै चर्कंदै बोलेको रमिताले सुनिन् । केही बेर फोनमा झगडाझंै भएको थियो । गोकर्णले फोन काटिदिए । खाना पाकिसकेको थियो । रमिताले गोकर्णलाई खाना पस्किऊँ भनिन् । गोकर्णको रिस शान्त भइसकेको थिएन ।

‘खाली खान मात्र छ ! कति कराउँदि’रैछे तैं खा !’ भान्छाको खाना पकाएको भाडा हुत्याइदिए गोकर्णले । भात भुर्इँभरि छरियो । तरकारीको कराही फयाँकेको रमिताको टाउकोमा बजारियो ।

रमिताले चिच्याइन्– ‘के गरेको यस्तो ? खानाले तपाईँलाई के गरेको छ र ?’ पहिलोपटक रमिताले गोकर्णको प्रतिवाद गरिन् ।

गोकर्ण आवेशमा थियो । रमिताको कपाल समातेर हात र खुट्टाले हिर्काउन थाल्यो । रमिता भुईँमा ढलिन् । गोकर्णको रिस मरिसकेको थिएन, बाहिरतिर गयो । केहीबेर बाहिर टहलिएर आउँदा पनि रमिता भुईँमा लडिरहेको देखेर, फेरि करायो, रमिता बोलिनन् । गोकर्णले झक्झक्यायो, अनि थाहा पायो रमिता बेहोस भएकी रहिछन् । बित्यास पर्ने भो भन्ने ठानेर गोकर्णले रमितालाई अटो–रिक्सामा हाल्यो र नारायणी अञ्चल अस्पतालतर्फ हुँइकियो ।

रमिताले कताकता दुखेको अनुभव गरिन्, बिस्तारै आँखा खोलिन् । नयाँ ठाउँ थियो, केही मान्छे थिए तर खोजेको मान्छे थिएन । सुतेको ठाउँ फरक  थियो, छेउमै स्लाइनको बोतल झुन्ड्याएको पाइन् । भित्ताको घडीमा हेरिन् साढे ९ बजेको रहेछ । आफू अस्पतालको शय्यामा रहेको अनुभव भयो । सम्झिने प्रयास गरिन्, बिस्तारै घटनााका दृष्य आँखा अगाडि आए ।

 रमिताको होस आएको देखेर नर्सले डाक्टर बोलाएर ल्याइन् ।

‘अहिले कस्तो छ ?’ रमिता झस्किइन् । छेउमा डाक्टर र नर्स रहेछन् । मुख सुकेको थियो, बोली फुटेन, डाक्टरतिर हेरिन् मात्रै । डाक्टरले पनि उत्तरको प्रतीक्षा नगरी नाडी छामे, छातीमा स्टेथेस्कोप लगाए ।

‘तपाईँको घर आँपटारी भित्रपट्टि हैन ?’– अरूले सोधेको भए रमिता सुनेको नसुनेझैं गर्थिन् होला । अगाडि डाक्टर नै भएकाले टाउकोसम्म हल्लाएर सहमति जनाइन् । 

‘तपाईँलाई के भएको हो थाहा छ ?’

रमिताको बोल्ने शक्ति अझैं आइसकेको थिएन । मुन्टो हल्लाएर स्वीकृति दिइन् । 

‘सबै कुरा ठीकै छ, ठूलो चोट छैन । म नदुख्ने औषधि दिन्छु । छिट्टै निको हुनुहुन्छ । भोलि नै घर जान सक्नुहुन्छ होला ।’ 

डाक्टरले नर्सलाई भने – ‘उहाँलाई इमर्जेन्सीबाट जनरल वार्डमा सारिदिनुस् । बिरामीको मान्छे मकहाँपठाइदिनुहोस् ।’  

‘छैन । भर्ना गरेर अघि नै गइसक्नुभयो । फेरि आउनुभएको छैन ।’  

त्यसो भए, औषधि दिनुहोस्, किन्नुपर्ने भए पनि किनेर दिनुहोस् । बिल राख्नुहोला ।’

अस्पतालमा रमितालाई छाडेर गएको गोकर्ण रातभरि आएनन् । बिहान नौ बजेतिर डाक्टर आए । रमितालाई केही सोधे । रमिताले केही नबोली आँसु झारिरहिन् । 

तीन दिनसम्म पनि भर्ना गरेर गएको गोकर्ण रमितालाई हेर्न आएनन्, न छोरो नै आयो । दाजुभाउजूले थाहा पाए पाएनन् रमितालाई थाहा भएन ।

अस्पतालको ओछ्यानमा रमितालाई वास्ता गर्ने तिनै नर्स र डाक्टर मात्रै थिए । डाक्टरले रमितालाई चिन्दा रहेछन् । उनले भनेका थिए – ‘मेरो नाम आभाष हो । तपाईँको घर अगाडिको घरमा जाने गर्छु ।”

‘म तपाईँको घरमा झगडा हुँदा अगाडिको घरमा थिएँ । तपाईँलाई पिट्ने को हो ?’– रमिता छक्क परेकी थिइन् । आँसु झार्नुबाहेक रमिताले केही बोलिनन् ।

रमिता निको भइसकेकी थिइनन् तर पनि मनमा डरले घेरेको छ । निको भयो भन्ने कि बिरामी नै छु भन्ने दोधार भयो रमितालाई । बिरामी छु भनौँ कसरी ढाट्नु । निको भए भनौँ अस्पतालबाट निस्केर पतिको घर जाने कि दाजुभाउजूको घर । अरुतिर जाने ठाउँ नै छैन । सोचिन्– ‘आखिर किन ?’

तेस्रो दिन मध्याह्नतिर नर्सले आएर रमितालाई उठाइन् । डाक्टरको कोठमा लिएर आइन् । रमितालाई डाक्टरको कोठामा एक्लै छोडेर नर्स फर्किन् ।

‘अहिले तपार्इँलाई कस्तो छ ?’

‘म ठीक छु, डाक्टर सा’ब ।’ 

‘अब तपाईँ घर जान सक्नुहुन्छ, आफ्नो मान्छे बोलाउनुस्’ । 

रमिताले डाक्टरलाई धन्यवाद पनि भन्न सकिनन् । चूपचाप उठेर ढोकातिर पाइला बढाइन् ।  

‘रमिताजी’ – डा. आभासको आवाज सुनेर रमिता अचम्ममा परिन् ।

‘तपाईँ कहाँ जानुहुन्छ ? कोसँग जानुहुन्छ ?’ रमिताले केही उत्तर दिन सकिनन् ।

‘लौ मेरो मोबाइलबाट फोन गर्नुहोस् र मान्छे बोलाउनुहोस्’ । 

‘मेरो बोलाउने मान्छे छैन, जाने घर छैन’– यति बोल्न रमिता बाध्य भइन् । दुवै जना चुप रहे ।

केही समयपछिको शून्यता भङ्ग गर्दै आभासले भने – ‘मलाई अन्यथा नसोच्नुहोला, मेरो घरमा जाऔँ, केही समय त्यही आराम गर्नुहोस् अनि पछि जान मन लागे जानुहोस् । बस्न मन लागेसम्म बस्नुहोस् ।’  

रमिताका लागि स्वीकार वा अस्वीकारको विकल्प थिएन । चूपचाप डा. आभासको गाडीमा चढिन् । 

गाडी हुइकिँदै गयो, रमिता चूपचाप बसिरहिन् । ‘मेरो घर भोजाडमा छ । म एक्लै बस्छु । मैले एमबीबीएस पढ्दै गर्दा बुबा बित्नुभयो, अनि त्यसको एक वर्षपछि आमा पनि । तपाईँको घरको अगाडिको घर मेरो काकाको छोरा, दाइको हो । तपाईँलाई थाहा छ कि छैन तपाईँको घरमा चाबी लागेको तीन दिन भयो । कहाँ गए।

रमितालाई घरमा छाडेर आभास फर्के । साढे दुई तल्लाको सुन्दर घरमा एउटा पनि फूलको बिरुवा छैन । उराठलाग्दो घर रहेछ । तल्लो तल्ला भाडामा दिएको र बाँकीमा आभास बस्ने रहेछन् । लथालिङ्ग केही नमिलेको कोठामा सामान छरपष्ट छ । भान्छा कोठा त झन् दिक्कलाग्दो । चारवटा कोठा भान्छाकोठा सबै बढारिन् । पुछपाछ पारिन् । मैला कपडा छुट्याइन् । सफा पार्दापार्दै झमक्क साँझ प¥यो । भान्छामा भएका सामान मिलाएर खाना बनाउन थालिन् । आठ बज्यो । सुत्ने कोठामा आइन् । साढे आठ बजे फोनको घण्टी बज्न थाल्यो । उठाऊँ   कि नउठाऊँ भन्ने सोच्दासोच्दै फोन कट्यो । फेरि बज्न थाल्यो । गएर उठाइन् । हेल्लो भन्न नपाउँदै उताबाट बोलेको सुनिन्, 

‘फोन किन नउठाएको ? म घर आउन लागेको तपाईंलाई केही खानेकुरा ल्याइदिऊँ कि भनेर फोन गरेको ।’  

‘मैले खाना बनाइसके । हजुर पनि खाने होला नि ! नत्र फालिन्छ’ ।

‘तरकारी त थिएन नि । 

‘आलु प्याज रहेछ । त्यही पकाएँ’ । 

फोन राखेको दश मिनेटपछि गाडी कम्पाउण्डभित्र पस्यो । रमिता उठेर मूल ढोका खोलिन् । सरासर दुबै जना भान्छामा गए । सफा भान्छामा भात, दाल, आलुको तरकारी मीठो भयो । खाना खाएर आभास आफ्नो कोठामा आए । रमिता जुठो भाँडा माझ्न थालिन् । सबै सामान मिलाएर राखिएको छ । सफा तन्ना फेरिएको सुन्दर कोठा देख्दा थाकेको शरीरमा ऊर्जा आयो, फरक अनुभूति भयो आभाषलाई । 

एउटी नारीको सामीप्य मात्रले डा. आभासको जीवन रेखा भरिएको छ । रमिताले उजाडजस्तो जीवनमा हरियाली भरिदिएकी छिन् । समयले लामो फड्को मार्यो ।

समय निकै बितेछ त्यो पनि हाँसीखुसीमै । रमिताले विए पढिसकिन्, कलेज जानुपर्दैन, दिनभरि घरमा नै बस्छिन् । गोकर्णसँग कहिल्यै भेट भएन र कहाँ छन् भन्ने पनि थाहा पाइनन् । घर बेचेर गए भन्नेसम्म सुनिन् । डा. आभासले एमडी सके । दुवै जनामा विश्वास बढेको छ, भरोसा बढेको छ । बिहे गर्नु भनिरहन्छिन्, तर हाँसेर टारिदिन्छन् ।

डा. आभासको आँगनमा धेरै थरीका फूल फुलेका छन् । भ¥याङमा लामबद्ध गमलामा फूल रोपिएका छन् । बाहिरबाट हेर्दा रमाइरहेका फूलले रमितालाई गिज्याएझैं लाग्छ । 

‘हामी फक्रेका छौं । रमिता तेरो जवानी कहिल्यै फक्रदैन । कहालीलाग्दो जीवन छ । माया गरेर बोलाउने कोही छैन । बैंसको बेलामा राम्री भएर देखाउने पुरुष छैन । सहारा दिने डाक्टर आभास सधैं व्यस्त छ । उसले कहिल्यै नराम्रो भनेको छैन । आवश्यकता परेभन्दा बढी पैसा दिएको छ । अब अरू केही रहर छैन, साथीहरूले  प्रेमका कुरा गर्दा ईष्र्या लाग्छ । 

कहिलेकाहीं लाग्छ जीवन अन्तरा नभएको गीत हो । कहिल्यै साथमा नबस्ने प्रेमीको अगाडि निन्द्रामा गरेको प्रीत हो । वर्षमा एकपल्ट मात्र फुल्ने सुनाखरी पनि हुन सकिनँ । सधैंभरि रहनुपर्ने पिँध फुटेको गाग्री हो जसको कुनै मोल छैन । जे जस्तो भए पनि जीवनप्रतिको मोह छ अहिले ।

 सम्मान गर्ने, सहयोग गर्ने मानिस छ । जे गर्छ, जे भन्छ प्रेम र सम्मानका साथ भन्छ, गर्छ । बास पाएकी छु । रमाउने साथी नभए पनि एक्ली छैन । भान्छाकोठामा खानेकुरा खाने साथी पाएकी छु । अपमान कहिल्यै गरेनन् । मलाई यिनको मायाको आभास छैन । कहिलेकाहीं रक्सीले मात्तिएर आउँदा पनि मेरो हात समाए हुन्थ्यो भन्ने कल्पना गर्छु । तर, कति भद्र छन् । मान्छे नै होइन कि जस्तो गर्छन् । मनमनै डा. आभासलाई माया गर्छु तर उनले मलाई कहिल्यै भनेनन् । म पग्लन्छु, हिँउ पग्लेसरी तर उनी पग्लिएको मैले देखेको छैन । यति कठोर पुरुष हुन्छन् भन्ने विश्वास लाग्दैन । रूप र मन सुन्दर छ । यही सुन्दरतामा रस चाहिएको छ मलाई । आखिर किन छैन । जेहोस्, जति पाएकी छु , धेरै पाएकी छु । पाउन खोजेर पाएको पनि गुमाउन म चाहन्न ।’ मैले के सोचेको होला रमिता मुसुक्क मुस्कुराउँछे र भान्छाकोठामा पस्छिन् ।

केही दिनदेखि डा. आभासको अनुहार उज्यालो देखिँदैन । कति सोध्दा पनि केही भएको छैन मात्र भन्छन् । खान मन गर्दैनन्, यताउता टहलिरहन्छन् ।

आज डा. आभास सन्चो छैन भनेर अस्पताल गएनन् । अस्पताल नगएको दिन रमितालाई याद छैन । आफ्नो कोठामा सुतिरहेका थिए । रमिताले कफी बनाएर ल्याइन् । उठाएर कफी खान दिइन् । निधार छामिन् । ज्वरो आएको थिएन ।

‘हजुरलाई के भयो ! यसरी कहिले नसुत्ने मान्छे । के खानुहुन्छ !’ डा. आभासले रमिताको अनुहारमा हेरिरहे केही बोलेनन् ।

आभासले एकनास हेरेको देखेर रमिता छक्क परिन् । असजिलो महसुस गरिन् ।  केही नबोली उठिन्, भान्छाकोठातिर लागिन् ।  

ढोकामा पुग्न नपाउँदै आभासले भने– ‘रमिता पर्ख । मेरो कुरा सुन । म आज बिरामी भएर बसेको होइन । तिमीसँग केही काम छ । आऊ, यहाँ मेरा छेउमा बस ।’ 

रमिता फर्किन् । आभासको पलङको छेउमा बसेर आभासको अनुहार पढ्ने कोसिस गरिन् । आभासले आफ्ना दुवै हातले रमिताको हात आफूतिर तानी छातीमा टाँस्दै भने– ‘भो अब कति गरछ्यौ  मेरो सेवा । अब छाडिदेऊ ।’ 

छक्क परिन् । डा. आभास किन बहुलठ्ठी कुरा गरिरहेछन् अनुमान पनि लगाउन सकिनन् । हात छुटाएर पर सरिन् । ‘रमिता तिमी किन डराएकी, नडराऊ ।  तिमी मेरो मालिक्नी बन । मलाई गाली गर, हकअधिकार माग, म थाकिसकें । एक्लै हिँड्दाहिँड्दा, अब म तिम्रो हात समातेर हिँडन चाहन्छु । मलाई तिम्रो साथ चाहियो । तिम्रो काख चाहियो ।’ आभासले रमितालाई आफूतिर झन् ताने । नजिक बसाए । रमिता बोलिनन् ।

‘तिमी मेरो मालिक्नी बन्छ्यौ, रमिता भनन’ अनुनयविनय गरे । 

रमिता झन् अतालिइन् । सपना हो कि विपना छुट्याउन सकिनन् । आभास हो कि अरू नै हो ? तर वर्षाैँदेखि चाहेको कुरा डा. आभासले आज ओकल्दा पनि कुनै प्रतिक्रिया जनाउन सकिनन् । नसामा रगतको प्रवाह बढ्यो, अनुहार नै रातो भयो, जीउ तातियो । बल क्षीण भयो । उफ्रिन मन थियो तर सकिनन् । चिच्याउन पनि खोजिन् तर आवाज निस्किएन । हावामा कावा खान मन भयो तर सकिनन् । सोचिन् ‘आखिर किन ?’  

डा. आभासले हात समातेर ताने, रमिताले जीउ थाम्न सकिनन्, डा. आभासमाथि नै जीउ छोडिन् ।  

प्रकाशित: २४ मंसिर २०७७ ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App