कला

स्वदेशी फल

लघुकथा

 लक्ष्मी पोखरेल  

 

सुजाले गैरसरकारी संस्थामा स्वयंसेवक भएर काम गरेको छ वर्ष जति भयो । उनको विगत र अगतले भिन्नार्थ बोल्छ र खोल्छ । उनको उतिबेलाको दिनचर्या, बोलीवचन, लवाई आदि फेरिएको पनि लगभग त्यति नै भयो होला ।

संस्थामा अनेकन विषयमा सशुल्क अभिमुखीकरण समेत गराइन्छ मैले जानेको त्यति हो।

कुनै विहान बार्दलीमा बसेर साग केलाउँदै थिएँ, मूल ढोकाबाट सुजा छिरिन् । कुशलक्षमा सोधपुछपछि सुजाले भनिन्,–भाउजू, हाम्रो संस्थाको आजीवन सदस्यलाई बन्ने र योग्य भए त्यस्ता इच्छुकलाई रोजगार तुल्याउने कुरा हाम्रो विधानमा छ, हजुर शिक्षित हुनुहुन्छ, छोराछोरी हुर्किइहाले यसै घरमा बस्नुभन्दा केही बाहिरफेर नोकरी गरे भैगयो।

उनको कुरा असंगत लागेन । भोलिपल्ट मोरू एघार हजार तिरेर आजीवन सदस्य बनें । पर्सिपल्ट रोजगारका लागि आफ्ना चाहिंदा विवरण राखी उनकै संस्थाको फारम भरें । त्यसका लागि शुल्क एक हजार तिरें । निकोर्सी अन्तवार्ताका लागि हाजिर भएँ । लिखित र मौखिक गरी दुवैका प्रश्नहरू जतिका सजिला आजसम्म, मेरा अनुभवमा कुनै परीक्षाका थिएनन् । मलाई मात्रै होइन अरूलाई पनि उस्तै लागेको रहेछ, पछि चाल पाएँ । 

त्यतिञ्जेल रहँदा सुजासँग भेट हुन पाएको थिएन र भेटेरै जाऊँ भनेर उनको कक्षा पत्ता लाएर पुगें । उनी निर्देशकका कक्षामा गएकी रहिछिन्, त्यता लम्किएँ । कक्षा पुगी नसक्तै बाहिरैबाट ठूलो हाँसो सुनियो । मेरा कान स्वतचालित भए ।

सुजा भन्दै थिइन्– अर्को खेप प्रश्नहरू सजिला राखेर नहुने भयो सर ! अघिल्लो महिना सबै उत्तर मिलाएकै हो, खै त जागिर पाइएन भनेर हैरान पारे फोनमा । मसान्त पनि हो, गत महिना र यो महिना आजसम्म चार सय चालिसले फारम भरे । आजीवन सदस्य बनाएबापत र रोजगार फारम भर्नेहरूको बाट मेरो कमिसनको हरहिसाब गरौँ ।

कुनै पुरुषको धोद्रे स्वर सुनियो – होहो यसरी नै बेपार बढाउनुस् । हाताहाती हिसाब गरिदिन्छुु ।

व्यापार नबढ्ने कुरै छैन सर, हाम्रो देशले फलाउने भनेकै बेरोजगार हो ।

प्रकाशित: २२ मंसिर २०७७ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App