कला

हेडसरको आँखामा धनराज गिरीको ‘साथी’

समीक्षा

खेमराज पोखरेल

 

संयोग –  

तिनताका धनराज गिरी र म चिनिएका थिएनौँ । म लघुकथा कुनोको एडमिन भएपछि लघुकथा कुनोमा पोस्ट भएका उनका लघुकथामाथि मेरो छिद्रान्वेषी प्रतिक्रियाले हामीलाई परिचय गराइदियो । मैले मोलुङ लघुकथा सङ्ग्रह सम्पादन गर्दा उनको लघुकथा समेटेको थिएँ र उनको बायोडाटा मागेको थिएँ । यो कुरो २०७२ सालको हुनुपर्दछ । उनको बायोडाटा हेर्दा त म फ्ल्याट खाएको थिएँ । उनले पाएका साहित्यिक पुरस्कार, मान आदि नै पैत्तीस वटा नाघेका थिए। हाम्रो दोस्ती मेसेन्जर हुँदै मौलायो । मौलाउँदै गयो । यो उनको सरलताको कारणले मौलायो । 

पछि म दुईपल्ट चितवन पुगेर मेजमानी पनि खाएँ । र संयोग यस्तो भयो दिनगन्तीमा म दाजु भएँ । लघुकथा कुनोमा मेरा तिखा प्रतिक्रिया, खबरदारी तथा सल्लाह आदि गर्नुपर्ने एडमिनीय दायित्व निर्वाह गर्नुपरेकाले मैले भाइबाट सहृदयले कठोर हेडसरको उपाधि पनि पाइहालेको छु । यो उपाधि पाउन त सजिलो नै भयो । किनकि कठोरताको प्रतीक भए पनि आत्मीय थियो । विम्ब थियो त्यो । तर,  हेडसरको उपाधिको जगेर्ना गर्न भने मलाई धौधौ भएको छ ।किनकि यो छडी युग होइन । यसो भएकाले बहुत जोगिएर नानीबाबु सिद्धान्तमा आधारित भएर लघुकथाकार धनराज गिरीको ‘साथी’ माथि आँखा लाउँदै छु ।  

किन आँखा लाउनुपर्यो भने २०७६ साल भदौ ३ गते लघुकथाका १८ वटा पुस्तक एकैपल्ट काठमाडौँमा विमोचित भएका थिए र त्यो बेला लघुकथाकार अष्ट्रलियामा चक्कर काटिरहेको अवस्था थियो । र पनि हाम्रो सौहाद्र्र यस्तो थियो कि मेरो वचन पनि रहेथ्यो र ‘साथी’ पनि हाम्रा लघुकथाकृति सँगै विमोचित भएथ्यो । यो एउटा अभूतपूर्व संयोग थियो ।  

साथी

 

कलेवर –

एउटा कुकुर र एकजोडीका दुई बच्चाको रमाइलो छायाचित्र छ कभरमा । सायद त्यो संसार साथीको प्रतीक होला । वाल्मिकी साहित्य सदन चितवनले प्रकाशन गरेको छ । उनकै छोरी अनिता गिरीले ‘मेरो साथी’ शीर्षकमा भूमिका लेखेको देखिन्छ । जसमा छोरीले आफ्ना बा याने कि लघुकथाकार गिरीलाई ‘साथी’ सम्बोधन गरेकाले शीर्षक ‘साथी’ले सायद बाउछोरीको सम्बन्ध बोकेको हुनुपर्दछ । पारिवारिक सदस्यहरू साथी हुन् भन्ने सन्देश हुनपर्छ । ‘साथीसित मनका कुरा’ शीर्षक लेखकको लेखक्यौली छ । लेखक्यौलीमा संस्मरण र धन्यवाद प्रयुक्त छ । आफ्नो लेखन–प्रयोजन खुलाएका छन् लघुकथाकारले । जसमा म पनि अटाएको छु । त्यसपछि ७९ सङ्ख्याको लघुकथा क्रम छ । कभरको पश्चभागमा लघुकथाकार गिरीको आकर्षक तस्वीर छ । त्यसको मुनि लघुकथा मिमांसक लक्ष्मण अर्यालको रूपमा छोटो तर सारमा गजधम्मे भनाइ छ ।

सीमा –  

‘साथी’माथि केही बोलिहाल्न केही जब्बर सीमाहरू छन् । उमेरको गणनाका हिसाबमा लघुकथाकार गिरी मभन्दा केही कान्छो भएकाले दाइ हुन पाएको छु । तर, साहित्य सिर्जनामा गिरी हर्कुलसीय उच्चता बोक्छन्, भने म लिलिपुटियन साम्राज्यभित्र लुटपुटिएको छु । मेरो साहित्य रचना आख्यान त्यसमा पनि लघुकथा रहेको छ भने लघुकथाकार गिरी भर्सटायल छन् । काव्य, आख्यान दुवै विधाका सबै अङ्गमा उनको कलम वायुवेगले  कुदेको छ । गजल, गीत, मुक्तक, कविता, उपन्यास, कथा, लघुकथा आदिमा स्थापित छन् । यसकारण उनको लघुकथासङ्ग्रहका बारेमा केही बोल्दा म अलमलिएको छु । कम्प्युटरका किबोर्डमा औँला चलाऊ कि नचलाऊँ भएको छु । पक्का कुरा के भने एक बित्ताको इन्ची टेपले सगरमाथा त नापिन्न नि । मेरो हैसियत एक बित्ताको छ र ‘साथी’ सगरमाथा भएर उभिएको छ । तर पनि म उनको लघुकथा विशेष व्यक्तित्व र ‘साथी’को अपनत्वलाई आँखाका सामुमा राखेर हेडसर उपाधि पाउनुको दायित्व निर्वाह गर्दछु ।

 

विषयवस्तु –  

धनराज गिरीका लघुकथाका विषयवस्तुमा मुख्यत चार कुराको सेरोफेरो पाइन्छ । तिनै सेरोफेरोका केन्द्रविन्दुमा लघुकथाकार आफू उभिन्छन् । कलेजमा प्राध्यापन गर्ने हुनाले अधिकांश लघुकथामा एउटा न एउटा प्रोफेसर नाम फेरेर विभिन्न कथ्य प्रयोजनमा उभिन्छन् । विभिन्न प्रसङ्गमा देखापर्छन् । उनी प्रोफेसरको आदर्श खोज्छन् । यसै कलेजका प्रसङ्गमा उनका वर्तमान विद्यार्थी र भूतपूर्व विद्यार्थी देखा पर्छन् । कोही गुरुदक्षिणा पनि तिर्छन् । अर्को कुरा उनका लघुकथामा सुन्दरीहरूको आगमन हुन्छ । यौनका सामल हुन्छन् । मुख चलाचल पनि हुन्छ । मायापिरती  पनि हुन्छ । जैविक आवश्यकताले तडपाउँछ । कल्पनाले उडान पनि लगाउँछ । तर अन्त्यमा एउटा वर्तमान नेपाली समाजपाच्य आदर्शको लेपमा कथानक सकिन्छ । तेस्रो सेरोफेरोमा उनको परिवार छ । श्रीमती, छोरी, नाति–नातिना, आफन्ती छन् । साथी–सँगी छन् । यी आफन्तीहरू कथानकभरि सलबलाएका देखिन्छन् । उनका पात्रहरू जिम्मेवारी पूरा गर्छन् । चौथोमा उनका विषयवस्तु साहित्यिक कार्यक्रमसँग सम्वन्धित हुन्छन् । किनकि उनी आफैँ बहुमुखी प्रतिभा भएका साहित्यकार हुन् । गजलकार, मुक्तककार हुन् । उनी बग्रेल्ती साहित्यिक कार्यक्रमका अतिथि हुन् । यसकारणले यी चार विषयभित्र उनका लघुकथा घुमेका छन् । यिनै विषयका वरिपरि कथानक भएर उनका लघुकथामा शैक्षिक विसङ्गति, सामाजिक विसङ्गति, आर्थिक विसङ्गति, राजनीतिक विसङ्गति आदि लस्करै आउँछन् ।  

सङ्ग्रहका भित्री पत्रमा प्रवेश गर्दा ‘साथी’भित्र घुसका कुरा छन् । मनोवैज्ञानिक घुसका परिवेश पनि छन् । सङ्गतले बिग्रिएका मान्छेका कथा छन् । बालबालिकाको संरक्षण नै सबैभन्दा ठूलो सिर्जना हो भन्ने सन्देश छ । मिठो यौन छ । यौनको सङ्केत छ । कथाभित्र यौनको आगो बलेको छ, तर निभाउने दमकल फितलो छ । कमजोर छ । घरेलु बलात्कारको दुर्दान्त कथा छन् । यौनको बजारमुखी व्याख्या छ । नपुंसक लोग्ने भएका श्रीमतीका पीडायुक्त मनोविज्ञान छ । विदेश गएका लोग्ने नफर्किएका स्वास्नीहरूका मनोवैज्ञानिक कहर छन् । लोग्नेसँग श्रीमतीका अतृप्तिका मनोवैज्ञानिक कथा सुन्दर भएर आएका छन् । साथीका विभिन्न परिभाषा छन् । कतै छोरी साथी छिन् । कतै श्रीमती नै असल साथी भएको यथार्थ छ । शैक्षिक विसङ्गतिका कहर छन् । घुसले बरालिएको बिभत्स शैक्षिक जगत छ । क्याम्पसका विकृतसुकृत रूपको चर्चा छ । पुरानो र नयाँ समाजमा रहेको अनेक पक्षमाथि द्वन्द्व देखाइएको छ । पारिवारिक सुबन्धनका कथा छन् । 

मानवताको आदर्शवादी कथा छन् । विदेशिएकाको पीडा छ । विदेशको कहर देखाएका छन् । विदेशिएका सन्तान भोगिरहेका आमाबाउको पनि पीडा छ । वृद्धाश्रमको आवश्यकतामाथि जोड दिइएको छ । राजनीतिमा बुढाहरूले ओगटेकोमा विद्रोह छ । विदेश जानु जिन्दगी कि स्वदेशमै बस्नु जिन्दगी भन्ने द्वन्द्व छ । समाजमा भैरहेको फजुल खर्ची चलनमाथि सुधारको प्रयास छ । केटाकेटीका मायाका कुरा रसिलो गरी व्यक्तिएका छन् । लोग्ने  स्वास्नीका पिरतीका कथा रोमान्चित भएर आएका छन् । सम्भावित सासूबुहारीको द्वन्द्व कम गर्ने उपचार छ । डिभी परेर विदेश जानलाग्दाको भाँडा माझ्ने अभ्यास छ । आमाबाबुलाई जिउँदैमा पाल्नुपर्छ, मरेपछि समाजिक तडकभडकको के काम ? मरेपछि सात बित्ता जग्गा त चाहिन्छ नि, सँगै केही जाँदैन भन्ने जस्ता सन्देश छन् । डाक्टरले उसजन्मको ऋण किस्ता किस्तामा असुल गरेको व्यङ्ग्य छ । 

तीजको तडकभडकलाई अपच भएको देखाइएको छ । बोर्डिङ स्कुलवालाले गरेको शोषण मात्र होइन, हरिविजोग पनि देखाइएको छ । साहित्यमा पुरस्कारको विकृतिलाई पनि महसुस गरेका छन् । सासूबुहारीको मिलनको आदर्शवादी सूत्र पत्ता लगाइएको छ । छोरा कुनै पुरानो सामाजिक परिपाटीको खुलेर विरोध गरिएको छ । चन्दा आतङ्क छ । अर्थिक समस्याको पहिचान छ ।  पारिवारिक र सामाजिक विषयवस्तुको छनौट भएको छ । मान्छेका विभिन्न अवतारहरूको मिठो व्याख्या भएको छ । सरकारको कमसल निर्माण प्रवृतिमाथि प्रहार गरिएको छ । पत्नी कर्कशा परेका पुरुषको मनोविज्ञानको कथालाई पनि मार्मिक रूपले व्याख्या गरिएको छ ।धर्म र नैतिकताको कुराको उठान गरिएको छ ।  

 

विशेषता –

उनका लघुकथामा प्राय मानवतावाद पाइन्छ । ‘सर्बे भवन्तु सुखिन, सर्बे सन्तु निरामय’को सिद्धान्त उनका लघुकथामा पाइन्छ । उनी सम्पूर्ण मानव–जगतलाई हाँसीखुसी हेर्न चाहन्छन् । पुस्तकको कभरको अन्तिम पातोमा लघुकथाको परख गर्नसक्ने मिमांसाकार लक्ष्मण अर्यालको लघुकथा सङ्ग्रहको सारमाथि एक टुक्रो बान्किलो भनाइ रहेको छ । त्यो अनुच्छेद मैले यहाँ नतिर्ने गरी पैँचो लिने विचार गरेको छु । किनभने त्यो अनुच्छेदले धनराज गिरीको लघुकथा लेखनको प्रवृतिलाई सरल र सुन्दर तरीकाले प्रक्षेपण गरेको छ ।  

“धनराज गिरी नेपाली साहित्यमा चर्चित नाम हो । ............ मानवतावाद गिरीको मूल लेखनसूत्र हो । उनी मान्छेलाई अत्यन्त महत्त्व दिन्छन् । ....... गिरी साहित्यको फ्रेममा भन्दा आत्मीय प्रेममा लेख्न रुचाउँछन् । उनी हृदयबाट सञ्चालित हुने मनमौजी लेखक हुन् । निराशा उनको शब्दकोशमा भेटिन्न । ......... स्वस्थ्य समाज निर्माण गर्नु उनको लेखकीय ध्येय हो । गिरीका कतिपय लघुकथाहरू यथार्थबाट प्रारम्भ भएर आदर्शमा गएर टुङ्गिएका छन् । उनका कतिपय लघुकथाहरूमा व्यङ्ग्यचेत तीव्र छ भने कतिपय कथा स्वैर काल्पनिक छन् ।”

यसो भएकाले जाहेर छ, धनराज गिरी लघुकथामा यथार्थवादी र आदर्शवादी धार बोक्छन् । प्रायः लघुकथालाई आदर्शमा समापन गर्छन् । मनमौजी उडान गर्छन । निसन्देह आदर्शवादमा निराशा हुन्न । आशाको त्यान्द्रो जतातजै देखिन्छ । स्वैरकल्पनामा उनी उडान भर्छन् । याने कि उनका लघुकथामा कथ्य प्रयोजनका लागि निर्जीव वस्तु बोल्न थाल्छन् । उनको परिवेशभित्र एउटा अन्याय महसुस भएको हुनपर्छ, र त उनी कलेजभित्र धेरै घुम्छन् । अर्को कुरा उनी विम्ब लेख्न खप्पिस देखिन्छन् । विम्बका माध्यमबाट व्यङ्ग्य कस्न माहिर छन् । शब्द शब्दमा व्यङ्ग्य भेटिन्छ, वाक्य वाक्यमा व्यङ्ग्य देखिन्छ । यो धनराज सरको विशिष्ट विशेषता हो । यसलाई मैले धनराजीय शैली भन्ने गरेको छु ।

 

धनराजीय शैली –

धनराज सरको एउटा विशिष्ट प्रतिभा छ । बाटोमा जे देख्यो त्यही टपक्क टिपेर लघुकथा बनाउने क्षमता छ । प्रज्ञा छ । ती लघुकथाका फ्रेममा आएकी आएनन्, उनलाई मतलब हुन्न । ती लघुकथा भए कि भएनन्, बाल मतलबवाला स्रष्टा हुन् । त्यसैले म उनलाई मनमौजी लेखक भन्छु । भाषामा एक प्रकारको युनिक शिल्प छ । ती भाषाले काव्यात्मक रिदम बनाउँदै गद्य लेख्छन् । जसलाई म धनराजीय शैली भन्छु । कथानकको अर्थसँग उनका पात्रले नाम बोक्छन् । अर्थात् नामले नै घटनाको विम्ब प्रदान गर्दछन् । प्रत्यक्ष घटना र प्रत्यक्ष मान्छेका नाम राखी लघुकथा लेख्छन् । यसो गर्नु हुने हो वा होइन उनै जानून् । वा विज्ञले बताऊन् । सत्यकथा र लघुकथामा केही त फरक होला । तर, उनी यस्ता झिनामसिना कुराको परवाहै नगरी खहरेको भेलझैँ लघुकथामा कुद्छन् । आलीधुर केही रहन्न । कुनै सीमाले छेक्दैन । कुनै सिद्धान्तले थुन्दैन । यो बेला लघुकथाकार धनराज सर खाँटी साहित्यकार भइदिन्छन् । दिल, दिमाग र दर्दमा जे आउँछन् तिनलाई हृदयमा स्पन्दन गराएर लेख्छन् । उनको आफ्नै कथनका शब्दहरूलाई यहाँ सार्दा उनी कस्ता लघुकथाकार हुन् भन्ने प्रमाणित हुन्छ ।

“म आफ्नो धुनमा गुनगुनाउने मान्छे हुँ । यो काम त्यति सजिलो छैन । साहित्यको फ्रेममा होइन आत्मीय प्रेममा लेख्छु म । मेरो लेखनको उद्धेश्य आँसु र रोदन होइन, लेखक मान्छे जोड्ने काममा लाग्नुपर्छ भन्ने धारणा हो ।”

हो यो धनराजीय शैली हो ।

 

बुनौटका आधारमा ‘साथी’ –

‘साथी’भित्र७९ वटा लघुकथा उनिएका छन् । लघुकथाको एउटा ज्यादै महत्त्वपूर्ण पक्ष बुनौट हो । यही बुनोटका कारणले कथांश वा उपन्यासांस वा छोटा कथाभन्दा लघुकथा फरक हुन्छ । छोटो भए पनि चुट्किलाभन्दा फरक हुन्छ । कथानक दोस्रो महत्त्वपूर्ण कडी हो । यस सङ्ग्रहभित्रका कतिपय कथाहरू बुनौटमा अब्बल छन् । उठान, उत्कर्ष र समापनमा चखिलो र तेजिलो भएका छन् । शब्दसीमा, लघुत्वसीमा, समापनमा शिल्पीय सीमा, दिव्यदृष्टि, सूक्ष्मता, सौन्दर्यका हिसाबमा निकै राम्रा छन् । तर, कतिपय लघुकथामा लघुकथाकारले लथालिङ्ग पारा अपनाएको देखिन्छ । यसो हुनुको पछाडि उनले टिप्ने गरेको कथानकको पेरिफेरि र टिपाइ–शिल्प हुन सक्छ । अर्को कुरा लघुकथाकारको पूर्व मान्यता ‘म साहित्यको फ्रेममा लेख्दिनँ’ भन्ने छ । मलाई लाग्छ कि जसरी लघुकथा लेख्दा कथानकको गम्भीरता, उठान, उत्कर्ष र समापन आदिमा विशेष चनाखो बन्नुपर्छ, त्यसैगरी कथानक टिपाइमा पनि चनाखो बन्नु नै पर्दछ । किनकि सबै घटना लघुकथाका सामल बन्न सक्दैनन् । ती कथा वा उपन्यास बन्न सक्छन् । यसरी हेर्दा लघुकथाकार गिरीले सामान्य विषयवस्तुमा पनि लघुकथा बनाइदिएका छन् । जे देख्छन् त्यसलाई लघुकथा बनाइहाल्छन् । यो एउटा विशेषता र प्रज्ञा पनि हो । बाधा पनि हो । ‘साथी’भरि मिठामिठा बुनौट मिलेका लघुकथाहरू भने पर्याप्त छन् ।  

 

पाठकले के पाउँछन् साथीमा –

यो सङ्ग्रह पढेर पाठक रमाउँछन् । पाठकले धेरै विषयमा बौद्धिक खुराक भेट्छ । धनराजीय शैलीले तानेको तानै गर्छ । कथानकले मोहनी लगाउँछन् । भाषाको विशिष्ट प्रयोगले धेरै गतिलो बनेको छ सङ्ग्रह । सामाजिक, आर्थिक, शैक्षिक, भौतिक आदि नेपाली समाज देखिन्छ कथानकमा । नेपाली मानसिकताका प्रगतिशील वा समाज सुधारको पक्ष सुन्दर छ । यथार्थ भेटिन्छ । आदर्शवादी समाजको परिकल्पनाको मिठो स्वादमा रम्न पाइन्छ । मैले पढेँ र आफ्नो पाठक हुनको दायित्व पनि व्योहोरेँ ।

 

खुल्दुली –

यद्यपि नेपाली साहित्यको धरातलीय यथार्थमा मैले लघुकथाकार धनराज गिरीका लघुकथाभित्र गवेषण नै गर्न हुन्नथ्यो । मैले माथि पनि भनिसकेँ कि एक बित्ताको फिताले सगरमाथा नापिन्न । र पनि ‘साथी’ माथि गवेषण गर्दा मनमा केही खुल्दुली त लागिहाल्यो । मलाई त लाग्छ कि यथार्थवाद भित्र आदर्शवाद सुुन्न सुनाउन गतिलो कुरा हो ।यथार्थवादी समस्या देखायो र समाधान आदर्शवादी तरीकाले गरिदियो । यस्तो खाले लेखनी आम मान्छेले मनपराउने खालको हुन्छ । यस्तो लेखनीमा कुनै पनि रिक्स हुन्न । उदाहरणका लागि लोग्नेस्वास्नीका बिचमा भएको चरम झगडालाई ‘ए मिलेर बस’ भन्न पाउँदा कति आदर्श हुन्छ । धेरै कथानकमा केटाकेटी यौन वा प्रेमका चक्करमा पर्छन्, तर जब फाइनल कुरो आउँछ तब आदर्श अगाडि ल्याएर कम्मल ओडेर घिउ खान्छन् ।  

त्यसैले आदर्शवादले जीवन भने चल्दैन । यथार्थ फरक परिवेशमा फरक हुन्छ । आदर्शवादले अग्रगामी परिवर्तनको कुरो  त झन् गर्न सक्दैन ।

कथानकका हिसाबमा पनि धनराज सरले लेखेका लघुकथामा अलि अल्ट्रा मोडर्न परिवेश आएको भए पनि हुने थियो झैँ लागेको छ । पृथ्वी एउटा छ । र त मान्छेको संसार पनि एउटै छ । त्यो पृथ्वीको एउटा गोलाद्र्धमा एउटा भौगोलिक रूपले सानो देश नेपाल हो । नेपाली समाज हिँडेको बाटो के हो ? कहाँ पुग्न हिँडेको हो ? लेखकले त्यो बाटो पर्गेल्ने कि न पर्गेल्ने ? यो कुरा मेरा दिमागमा आइरहेको छ । यो कुरा लघुकथा लेखनमा विचार गरिएको भए धेरै राम्रो हुने थियो भन्ने खुल्दुली लागेको छ ।  

फेरि अर्को तरीकाले भन्ने हो भने साहित्यको प्रयोजन नै हित गर्नु हो । सबै लेखकको साहित्य लेखनको प्रयोजन मान्छेको हित नै हो । लेखकको चेतअनुसार हितको अर्थ, परिभाषा र परिवेश फरकफरक मात्र हो । फेरि सीमाविहीन के छ र ? फ्रेमविहीन के छ र ? ईश्वर भनिने सर्वव्यापी तत्त्वको पनि सीमा छ । उपन्यास, कथा, लघुकथा सबैको सीमा छ । गजल, मुक्तक, कविता, खण्डकाव्य, महाकाव्य आदिका पनि सीमा छन् । एउटा फ्रेम त छ, छ । त्यसले चाहेर वा नचाहेर फ्रेमको कसीमा उभिनै पर्छ आखिर । साहित्य पहिले लेखियो कि सिद्धान्त पहिले लेखियो भन्ने बहसको के काम ? निसन्देह पहिले साहित्य नै लेखियो । त्यसैलाई आधार मानेर सिद्धान्त बनेको हो । सिद्धान्त साहित्यको सौता होइन, सहयोगी हो । यो बहसको विषय हुन्न ।  

 

बिसौँनी  

जिन्दगीका सोपानमा एउटा पल यस्तो आयो कि मलाई धनराज सरजस्तो घागडान साहित्यकारसँग मित्रता गराइदियो । यो मित्रताको पहलुमा नै मैले हेडसरको भूमिकामा आफ्नो छायाँ प्रस्तुत गरेको छु । खसोखास म धनराज सरको भाषा चोर्न खोज्छु । तर त्यो क्षमता ममा कहाँ ! म जीवन भोग्दै छु । धनराज सर पनि जीवन भोग्दै छन् । उनी भन्छन् कि जीवन कहर मात्र होइन रहर पनि हो । प्रहर पनि हो । हो, यसै प्रहरमा म उभिएको छु र धनराज गिरी सरका लघुकथाभित्र पसेको छु । ती कथा यति जब्बर छन् कि मलाई त्यहाँबाट निस्कन मन छैन । जीवनका आदर्शमय रहहरूमा डुबुल्की मारिरहनुको छुट्टै मजा हुन्छ नि  तर के गर्नु, नियतिजन्य समय छ मेरा अगाडि । त्यसैले मैले रहको रमाइलो छोडेर अर्को गोरेटोमा पाइला हाल्न जानै छ । किनकि जीवन छउञ्जेल त कुद्नु पर्यो नि । मलाई थाहा छ कि कुदेर कहीँ पुगिन्न । भ्यागुताको धार्नी हो जीवनका उपलब्धिहरू । अमेरिकामा मध्यरात भएको छ र त्यहाँ अस्ट्रेलियामा त दिन छ नि, नेपालमा त झन् बिहान छ । यस्तै समयको चक्करमा हामी सबै परेका छौँ भने अहिले मेरो समयले मलाई बिट मार्न आदेश दिइसकेको छ । लघुकथाका चौतारीमा फेरि भेटौँला । मायापिरती लाइरहनु नै परेन । त्यो त छँदै छ । अहिलेलाई बिदा नै माग्नु छ । जय लघुकथा ।

जनवरी ३०, २०२०

सान एन्टोनियो, अमेरिका  

प्रकाशित: २१ मंसिर २०७७ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App