किशन पौडेल
पर्दापछाडि कुरा काट्ने यारदेखि डर लाग्छ,
प्रेमको शैलीमा गर्नी व्यापारदेखि डर लाग्छ ।
रमाउनलाई आफ्नै महफिल छ प्यारो मलाई,
आलिसान तिम्रो त्यो दरबारदेखि डर लाग्छ ।
न्याय– निसाफ नपाएर अन्यायमा मर्छन् जब ,
मूकदर्शक बन्ने यो सरकारदेखि डर लाग्छ ।
आजकल शैतानहरू पनि भगवान् बनेका छन् ,
आदर्शका मुखौटोधारी अनुहारदेखि डर लाग्छ ।
तिललाई पहाड बनाएर फुक्छन् अखबारहरू,
अफवाहले भरिएको समाचारदेखि डर लाग्छ ।
प्रकाशित: २० मंसिर २०७७ ०५:२१ शनिबार