नारायणी खनाल
म र मेरी सहेली पशुपतिनाथ नजिक बसेका ज्योतिषकोमा गएका थियौ । सहेलीले परिवारको चिना ज्योतिषको हातमा दिंदै भनिन् –गुरु, मेरो घरपरिवार छोराछोरी सबैको के कस्तो छ, हेरिदिनुहोस् न !’
गुरु चिना फुकाएर केहीबेर घोरिनुभयो अनि आफ्नो अध्ययन प्रष्ट गर्न थाल्नुभयो – ओहो हजुरहरूको समय राम्रो चलिरहेको छैन । हरेक महिना कोही न कोही बिरामी भइरहेको हुन्छ । छोराछोरीको प्रगति छैन । घरमा आम्दानीभन्दा खर्च चौगुना छ । यहाँहरूलाई बसेको घर नै फापेको देखिएन ।
मेरी सहेली गुरुको कुराले गम्भीर भइन् र सोधिन् – गुरु, अब के गर्दा राम्रो होला त ! केही उपाय गर्दा हुन्छ कि !
– हो हजुर त्यस्तै छ ! उनले गुरुको कुरामा सहमति जनाइन् ।
गुरुले, पूर्णिमाको दिन आउनु , म केही उपाय गरौला भन्नुभयो ।
सहेली हस् हजुर भन्दै गुरुको हातमा दक्षिणा थमाएर उठिन् ।
हामी गन्तव्यतिर लाग्यौ तर मलाई भने उकुसमुकुस भएको थियो । यत्तिकैमा सहेलीले कुरा कोट्याइन्– तिमीलाई कस्तो लाग्यो गुरुको कुरा !
मलाई मनमा लागेको बोल्न पाएँ– मलाई गुरुले पेशा र अध्ययनअनुसार भनेको ठिकै लाग्यो तर बसेको घर फापेन भनेको पटक्कै चित्त बुझेन । आफ्नो पसीना र परिश्रमले सृजेको, सपनाहरू बुनेको घरलाई दोषी मान्नु !
दिनदिनै हावापानी खोलानाला सबै प्रदुषित, खाद्यान्न मिसावट र विषादीयुक्त हुँदै गएकोले विभिन्न रोग जन्मिएको होइन र ! प्रतिव्यक्ति आय न्युनतम भएपछि महँगीको रापमा खर्च बढी हुँदैन ! अनि तिमी आफैँ सोच न जुन देशमा नियमकानुन् जन्माउने प्रभावकारी संविधान नै जन्मिएको छैन त्यहाँ कुन बाटो अपनाएर हाम्रा छोराछोरीले प्रगति गर्छन् ! घर नफापेको होइन, यस्तै भएर नै आम नेपालीले मुटुमा गाँठो पारेर आफ्ना सन्तानलाई फाप्ने देश पठाउन थालेका छन् !
सहेलीले पनि गुन्गुनाइन्– फाप्ने देश !
प्रकाशित: २० मंसिर २०७७ ०५:०६ शनिबार