कला

फूल बनेर झर्नु हुन्न !

कविता

हिरा खड्का अधिकारी  

 

 

जन्मदै अबलाको बिल्ला भिर्छ्यौ  

अबला भएरै बाँच्न सिक्छ्यौ  

वास्तवमा कसले बनायो  

तिमीलाई  अबला  

समाजको कुण्ठाले  

आडम्बरी धर्मले  

वा आफ्नै मातृत्वले  

 

आफ्नै सन्तान

स्वतन्त्र हुँदा  

तिमी बन्द पिञ्जडामा उकुसमुकुस छ्यौ  

विभेदको जन्जिरले बाँधिइरहेकी छ्यौ  

र सन्तानसँगै

आत्मसम्मानको भिख मागिरहेकी छ्यौ  

सिर्जनाकी मूल तिमी

कसरी अबला हुन्छ्यौ !

 

उही वीज

उही कोख

उस्तै गर्भाशय  

उही ब्रह्माण्ड  

उही प्रशवपीडा

छोराछोरीको

फेरि,

नारी मात्र कसरी अबला !

 

दुनियाँले

पलपल थचार्छ  

लिङ्गकै भरमा उपनाम दिन्छ  

धर्मको साँधमा

पापको हाउगुजी देखाएर

तर्साउँछ

अनि तिमी त्यसैको डरमा  

अबला बन्छ्यौ ।

आफूले  

आफूलाई अबला ठानेरै हो

सदियौंदेखि तिमी

पशुझैँ  बलि चढेको

अपराधको बर्बरतामा पिल्सिएको

बलत्कारको उत्पीडनले डसिएको

अब डसिनु हुन्न

फूल बनेर झर्नु हुन्न

अनि बिचरा बनेर बाँच्नु हुन्न

उठ, जाग नारी हो  

जगाउ बर्बरताको युगलाई

जुन युगले तिमीलाई  

मात्रै वस्तु बनाइरहेछ ।

प्रकाशित: २८ कार्तिक २०७७ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App