कला

अवसाद

लघुकथा

दिप मंग्राती निरीह

 

“आमै ,  अलिकति पानी पिउन पाइन्थ्यो कि  ।” इनारबाट पानी भर्दै गरेकी पौडेल्नी बज्यैसँग निरबहादुरले अनुरोध गर्यो ।

उसले धितमरुञ्जेल पानी पियो  र  खुसी हुँदै  भन्यो,  “धन्यवाद आमै । सारै दया गर्नुभयो ।”  

“ठिकै छ बाबू, हावा र पानी त सबैले पाउनु पर्यो नि । बरु बाबू यो गाग्री डोकोमा राखी दिनुस् न, धर्मै हुन्छ ।” बज्यैले सहयोग मागिन् ।

“भैहाल्छ नि आमै !” उसले पानीको गाग्री डोकोमा राखिदियो ।  

“अनि बाबू को हौ नि !” बज्यैले सोधिन् ।  

“ए आमैले चिन्नुभएन ! म वीरबहादुर दर्जीको छोरा निरबहादुर हुँ नि ।” उसले भन्यो ।  

“ए  तँ बिरे दमाइको छोरा निरे पो होस् ! तेरो काल पल्टी जाओस, मर्नु नसकेको असति ! पहिले भन्नुपर्दैन । मेरो गाग्री छोएर जुठो बनाइदिस, हरि ॐ । हरि ॐ” बज्यैले गनगनाउँदै र सराप्दै पानी घोप्ट्याइन । नजिकै भएको तुलसीको पत्र पानीमा चोबेर गाग्री चोख्याउन थालिन् ।  

निरे अवाक भएर हेरिरह्यो, अवसाद लागिरह्यो ।

केही दिनपछि “लौ बित्यास पर्यो हाम्री सासूलाई, निमिया भएछ, रगत तुरुन्तै चढाउनुपर्ने रे, उहाँको रगत कहीँ पनि पाइएन” भन्दै बज्यैकी बुहारी हारगुहार मागिरहेकी थिइन् ।  

सन्जोगले निरबहादुर पनि त्यही बाटो जाँदै थियो । उसले सोध्यो,  “भाउजू, कुन ग्रुप हो बजुको रगत !”

“ए प्लस बी अरे नानी ।” बुहारीले खुसी हुँदै भनिन् ।

“ए भाउजू, त्यो ग्रुप त मेरो हो नि ।” उसले भन्यो ।  

बुहारीले आत्तिएर भनिन्,  “लौ न बाबु, रगत दान दिएर मेरी सासूको ज्यान बचाइदिनुहोस् !”

पौडेल्नी बजै अस्पताल शय्यामा दीनहीन भएर पल्टेकी थिइन् ।  

“आमा, अब तपाईँलाई केही हुन्न । निरे बाबुले रगत दिनुभयो ।” बुहारीले भनिन् ।

“को निरे !” बज्यैले सकीनसकी आँखा खोलिन् ।  

“म निरबहादुर क्या त वीरे दमाईको छोरा, पानी त चल्दैनथ्यो बज्यै तर अब तपाईँको शरीरमा म दमाईँको रगत चलेको छ कि छैन बज्यै !” निरेले अवसादमै जवाफ दियो ।  

आमैले निरेलाई टिठलाग्दो नजरले हेरिन् । सायद उनका आँखामा पनि अवसाद झल्किरहेको थियो ।

प्रकाशित: २६ कार्तिक २०७७ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App