कला

मुनामदनभित्र देवकोटाको काव्य चेतना

दृष्टिकोण

 लक्ष्मी उप्रेती

 

“क्षेत्रीको छोरा यो पाउ छुन्छ घिनले छुँदैन

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।”

वि.सं. १९६६ सालमा जन्मिएका विश्वका महाकवि देवकोटाले छोटो अवधिमा जुनसुकै विधाका पनि अब्बल दर्जाका साहित्य सिर्जना गरेर विश्व साहित्यको अगाडि विराट प्रतिभा र व्यक्तित्वका रूपमा परिचित हुनुले पनि नेपालको गौरव बढेको छ । उनको प्रतिभाको आँकलन गर्न त्यति सजिलो छैन । नेपाली भाषा साहित्यका वेदव्यास देवकोटा नेपाली भाषा अनुवाद परिषद्को जागिरबाट जीवन अगाडि बढाउँदै त्रिचन्द्र कलेजका प्राध्यापक, शिक्षामन्त्री र उनकै प्रयत्नबाट स्थापित तत्कालीन रोयल नेपाल एकेडेमीका सदस्य पनि भएर आफ्नो छुट्टै मानक तयार गरे । 

४६ वटा काव्यकृति, ५ वटा निबन्धकृति, ५ वटा नाटक कृति र एउटा कथा कृति, एउटा उपन्यास र अन्य गरी ५९ वटा उत्कृष्ट कृति नेपाली साहित्य भण्डारमा सुसज्जित पारेर धन्य बनाउने देवकोटालाई भारतका प्रचण्ड विद्वान् राहुल सांकृत्यायनले– जय शंकरप्रसाद, सुमित्रानन्दन  पन्त र सूर्यकान्त त्रिपाठी निराला यी तीन कवि बराबर एउटै देवकोटा हुन् भनेर खुल्ला रूपले प्रशंसा गरेका छन्  । विश्वसाहित्यमा इटलीका दाँते, स्वच्छन्दतावादका प्रवर्तक कवि वर्डस्वर्थ, रुसका पुस्किन, इङ्लैण्डका शेक्सपियरझैँ नेपालका देवकोटा विश्वसाहित्यमा लोकप्रिय छन् । सूत्रात्मक र सशक्त रूपमा अभिव्यक्त गर्नसक्ने सरस्वतीका वरद पुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटा विश्वसाहित्यमा नै जीवनवादी कविका रूपमा अलङ्कृत भएर उजेलिनुले नेपाली साहित्य समृद्ध भएको छ ।

‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ कल्पनाशक्तिद्वारा सफलताको उचाइमा पु¥याउने देवकोटाको मृत्युकै दिन रुसले चन्द्रमामा रकेट पु¥याउन सफल हुनुमा पनि उनको वाणीमा सरस्वतीको बास रहेको कुरा आँकलन गर्न सकिन्छ । यस्ता विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाले  २०१६ सालमा भौतिक रूपमा आफ्नो जीवनलिला त्याग गरे ।  

देवकोटाका कृतिहरूमा विषयको विविधतागत इन्द्रेणी पाइन्छ । माथिको उद्धृतांशमा देवकोटा भित्रको मानवतावादी  दर्शन सशक्त रूपमा अभिव्यक्त भएको  छ । यसले देवकोटाभित्रको मानवतावादी भावनालाई प्रभावकारी ढंगमा अभिव्यक्त गरेको देखिन्छ । नेपालमा नेपालीहरूले गरेका र गरिरहने हरेक क्रान्तिभन्दा पृथक् क्रान्ति कलमको शक्तिबाट क्रान्तियोद्धा देवकोटाले गरिसकेका छन् ।  

राजामहाराजाका बारेमा मात्र साहित्यकको सिर्जना हुने समयमा सर्वसाधारणको जीवनको आधारमा लेखिएको पहिलो कृति नै मुनामदन भयो ।  १९९२ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट रचना भएको मुनामदन झ्याउरे छन्दको खण्डकाव्य अजर अमर र अनन्तसम्म फैलने अनमोल  रत्न नेपाली भावभूमिको गहकिलो प्रस्तुति हो । यस खण्डकाव्यभित्र देवकोटाले आफ्नो युगमा विदेसिन बाध्य नेपालीहरूको कथा मात्र उतारेका छैनन् बरु आजको युग अझ युगौँयुगसम्म चलिरहने नेपालीहरूको विदेसिनुपर्ने अवस्था, त्यसबाट उत्पन्न व्यथा, वेदना र बाध्यताका बाछिटाहरू उतारेका छन् ।  

“हातको मैला, सुनको थैला के गर्नु धनले

साग र सिस्नु खाएको बेस आनन्दी मनले ।”

 

देवकोटा खानु, लाउनुको सुखमा रमाउँदैनन्, मनको सन्तोषमा खुसी हुन्छन् । त्यसैले उनले भौतिक सम्पत्तिको लिप्सा त्यागेर आत्मसन्तोषमा रमाउनुपर्ने सन्देश प्रवाहित गरेका छन् । देवकोटाले काव्यप्रतिभाको शक्तिशाली कलमद्वारा कृति रचेर घोर निद्रामा परेका नेपालीहरूको जीवनलाई बिउँझाउँने सुन्दर शैलीको बीजारोपण गरेका छन् ।

प्रेम, वियोग, दुःख, सपना, जीवन र मृत्युको अनुभूतिभित्रको अनिर्वचनीय भाव कति सुन्दर तरीकाले उनको आफ्नो सिर्जनामा व्यक्त गरे । त्यस्तै स्वर्गको कल्पनाचित्र पनि देवकोटाले दुरुस्तझैँ उतारे र मुनामदनको सिर्जना गरे । नेपाली जनजीवनका अव्यक्त वेदना र प्रेमको रागात्मक सौन्दर्यको नवीनतम बगैँचाका रूपमा, पाठकले देखेझैँ, भोगेझैँ गर्न सकिने अनुभूतिको भावले एउटा युग मात्र हाँकेनन् त्यसलाई नाघेर कहाँ पुगेँपुगेँ, समयको उच्चतम पर्खाइमा रहिरहने गरी ।

प्राचीनकालदेखि नै नेपाल र तिब्बतको व्यापारिक सम्बन्धको पृष्ठभूमिलाई आधार मानेर लेखिएको मुनामदन खण्डकाव्य आकारमा सानो भए तापनि नेपाली साहित्य आकाशमा अमूल्य रत्न हो । २०२५ सालमा नै कमलमणि दीक्षितले देवकोटाको मुनामदन अमरमात्र भनेर मुनामदनलाई न्याय हुँदैन, अजर पनि भन्नुपर्छ भनेर लेखेका छन् । मुनामदन अहिलेको कालखण्डलाई पनि प्रतिनिधित्व गरी काव्यको एउटा यथार्थताको बाटो तय भएको यात्रा हो । त्यो यात्रामा शाश्वत प्रेमको चित्र छ । प्रकृतिका यावत् रङहरू छन्, वचनवद्धताको मीठो धुन छ अनि जीवनगुञ्जनको तरङ्ग मिसिएको छ । नेपाली साहित्यभण्डारमा मुनामदन कृति नहुनु हो भने साहित्यको भण्डार नै अपुरो हुन्छ ।

साहित्यका विद्यार्थी, प्राध्यापक र समालोचकहरूले अत्यधिक मात्रामा देवकोटाका कृतिहरूमाथि चर्चा, परिचर्चा, व्याख्या, विश्लेषण, अनुसन्धान गरेर उनका जीवनकालमै प्रशस्त ग्रन्थ तयार गरी विराट प्रतिभाको खोजी गर्ने काम आजसम्म पनि जारी रहेको छ । जीवनकालमा नै मिथक बनिसकेका देवकोटा सौन्दर्य चेतनाका धनी, आपूलाई अभाव, दुःख र संकटमा परे पनि अरूलाई दुःख लाग्ने नराम्रा रुष्ट कुरा कहिल्यै गरेनन् । यो नै उनको जीवनदर्शन हो सायद ।

मानवतावादको उत्कृष्टता उद्धृत गर्ने महाकविको मुनामदनका धेरैजसो पङ्तिmहरू नेपाली साहित्यप्रेमी  जनमानसमा अपार श्रद्धा भावले युगौँयुगसम्म गुन्जिरहन्छ । जुनसुकै तहतप्काका वर्ग, जाति, धर्म, साक्षर, निरक्षर जोसुकैको मनबाट नै झ्याउरे लयमा गाउनसक्ने देवकोटाको मुनामदनमा समसामयिकता र शाश्वतताले प्राण भरेको छ , मानवतावादी जीवनका विविध पक्षलाई समेटेको यस खण्डकाव्यमा चिन्तनले मानव सभ्यतालाई युगौँयुगसम्म मार्गदर्शन गरेको देखिन्छ । मूलत ः मानवतावादी दृष्टिकोणले आफूलाई केन्द्रविन्दु बनाएको देखिन्छ ।

रोमान्टिक धारा प्रवाहमा बग्नसक्ने देवकोटाको कल्पनाशक्ति पनि असाधारण थियो । प्रगतिवादी तथा स्वच्छन्दतावादी जीवनवाद, आदर्शवाद, अध्यात्मवाद ,मानवतावाद, कर्मवाद, सुखान्त र दुखान्त अर्थात् यस सृष्टिमा नै लेखिएका र सम्भवतः भोलि लेखिने जुनसुकै दर्शन खोजी गर्ने हो भने देवकोटाले एउटै मुनामदनमा पर्याप्त लेखेका छन् । सूक्ष्म आख्यान तत्वले खण्डकाव्यलाई सशक्त बनाउने देवकोटाको मुनामदनमा जति पढ्यो नयाँ अनुभवको आभासले पुलकित बनाउँछ अनि देशप्रेमले चुर्लुम्म डुबाउँछ पनि । समाज सुधारको आदर्शवादी विषयवस्तु समेटिएको मुनामदनका एकएक पदमा मानव जीवनको हरेक सम्भावनालाई प्रतिनिधित्व गरिएकाले हिजोको मात्र नभई आजको अनि भोलि, भोलि  थुप्रै भोलिहरूको युगमा बाँच्ने बलियो जग बसाल्ने कृति लेख्ने देवकोटा कुन युगका कवि हैनन् भन्न सकिन्छ र ?

सामाजिक विसङ्गतिलाई सोझै नदेखाई अलि घुमाउरो किसिमले उभ्याएझैँ गाली नगरी भद्र र शिष्टतामा अभिव्यक्त गरेझैँ गरी सामन्त प्रवृत्तिलाई दह्रो झापडको व्यङ्ग्यात्मक प्रस्तुति गर्ने शिल्प र शैलीको सुन्दर चित्रका रूपमा महाकवि देवकोटाले मुनामदनको सिर्जना गरेर युगचेतनाको पदार्पण गरेका छन् । विलक्षण प्रतिभाका धनी देवकोटाको मनै नचाउने कलाले भरिएको मुनामदनमा उपमाको राम्रो छाया पाइन्छ ।

सहरको आधुनिकता र कृत्रिमताप्रति व्यंग्यको झटारो प्रहार गर्दै कवि देवकोटाले यस मुनामदन खण्डकाव्यका हरेक पंक्तिले मातृत्वभावको सागर उम्लिएर जनमानसको मन भिजाउँदै काव्यको झरना झारेका छन् । देवकोटाले यस खण्डकाव्यभित्र पत्नीको वियोग वेदना र प्रेमको प्रतीक, आमाप्रतिको आदर्श र आस्था, दिदीसँगको गुनासो, विश्वासको आधार, भोटेको महानतम् विचारलाई उतारेका छन् । यी सबैको माध्यमबाट मानवतावादी समाज निर्माणको उद्घोष गर्दछन् । देवकोटाले यस खण्डकाव्यभित्र मानवतावादी  मनको उद्गमथलो, सम्पत्तिलाई महत्व दिने मित्रको स्वार्थी भाव दुष्टयाइँको पराकाष्ठा चित्रण गरेका छन् । असक्त र रोगीलाई हुने दयनीय स्थितिको तस्वीर यस मुनामदनमा मर्मान्त तरिकाले खिचेका छन् । मुनामदनभित्र सबैका लागि रहरलाग्दो, चाखलाग्दो, लोभलाग्दो, मायालाग्दो, घृणालाग्दो, विश्वासलाग्दो, अरूअरू थुप्रै ..... लाग्दो उद्घोष अहा ! मुनामदन देवकोटाको मात्र प्रिय नभएर करोडौँ करोड मनको मिठो धुन हो ।

आधुनिकता र सभ्यताको नाममा मानवीय संवेदना बिर्सिँदै गएका मानव हृदयले यस कृतिबाट अनुकरण गर्र्नुपर्छ । नेपाली साहित्य जगत्मा मुनामदनको साहित्यिक र वैचारिक मूल्य मान्यतालाई नाप्ने कुनै मानक नै तयार भएको छैन । जति जति साहित्यमा प्रयोगवाद र वैज्ञानिकीकरणसँगै बौद्धिकताको चरम चुलिँदै गयो त्यतित्यति नयाँ खोज र नयाँ चेतनाका दृष्टिकोणहरू छरिन थालेका छन् । मुनामदन देवकोटाको आत्मानुभूति हो  । आत्मानुभूति पस्कदापस्कदै  पनि  मुनामदनमा देवकोटा सबैको मस्तिष्कमा भरिने चेतना पुञ्ज  र मानवीयताको मिठो मृगतृष्णा वितरण गर्दछन्, आफ्नो निजात्मक अनुभूतिलाई सामान्यीकरण गरेर पाठकको मुटुको ढुकढुकी बनाउँछन्, यो देवकोटाको विलक्षण प्रतिभा हो । यसले नै देवकोटाका काव्यकृतिहरू नवीनतम उचाइमा बसेर पाठकका प्रतीक्षा गरिरहेका हुन्छन् । सरलताका साथ जीवनका जटिलतम दार्शनिक अभिव्यक्ति प्रकट गर्नु देवकोटाका काव्यात्मक  संसारका जीवनदृष्टि हुन् ।

भाषाका जादुगर देवकोटाको नौलो र मीठो शैलीको मुनामदनमा कलाको प्रबल शक्ति पदार्पण भएको छ । नेपाली निम्नवर्गीय परिवारको दुःखकष्ट र वियोग वेदनाको मार्मिक चरित्र चिणत्रको बहुचर्चित मुनामदनमा बहुसंख्यक श्रमजीवीको मन गाँसिएको छ । त्यसैले होला देवकोटाले अन्तिम अवस्थासम्ममा ‘मुनामदनबाहेक मेरा अरू कृतिहरू जलाइदिए हुन्छ’ आफैँले भनेर यसको लेखकीय प्रियतालाई पनि पुष्टि गरेका छन् ।

कथात्मक प्रवाहका साथ काव्यको पंक्तिमा बग्ने देवकोटाको मुनामदन सलल बगेको छ अनन्तसम्म । झ्याउरे लोकलयमा आधारित मुनामदन स्रष्टा काव्य सम्राट देवकोटा रहस्य र छायाँका समृद्धशाली बिम्ब र प्रतीकका शक्तिशाली अलंकारका रूपक बनेर सबैका सधैँका आदर्श बनेका छन् ।

निष्कर्ष

 

मुनामदनमा कर्मप्रति आस्थावान् जीवन कथाको अनुभूति समेटिएको छ । विकास र परिवर्तनबाट परास्त नभइसकेको जातभातमा लगाउने रङ्गका कत्लाप्रतिको वितृष्णा मुनामदनभित्र अभिव्यक्त भएको छ । यसमा संवादको नाटकीय स्वरूप छ ।  भावअनुसारको चरित्र,चरित्र अनि सारको सबल तादाम्यले मुनामदनलाई सशक्त र जीवन्त बनाएको पाइन्छ । यस खण्डकाव्यभित्रको  विद्रोहीलाई गर्ने व्यंगयात्मक चेत, भाषाको उच्चतम शैली, द्वन्द्वको भरमार प्रयोग, विचारको गहन अभिव्यक्ति, जीवन र जगतको समायोजन, प्रकृतिको लीला, मर्मस्पर्शी कथा व्यथाको गति, कल्पनाशीलताको फराकिलो आकाश, मानवतावादी दर्शन, काव्य शृंगारको अभिव्यञ्जना, सरस र स्वाभाविक बगेको भावभङ्गी, मनमोहक भाषाशैली  शिल्प, साहित्यको चरम सुखानुभूतिले मुनामदनलाई उत्कृष्ट बनाएका छन् । यसबाट मुनामदनलाई एउटा ऐतिहासिक दस्तावेज मान्न सकिन्छ । 

युगौयुगसम्म बाँचिरहने देवकोटाको गतसाल विश्वभरिका नेपाली भाषाभाषीहरूले उत्सवका साथ शतवार्षिक मनाइयो । युगपुरुष देवकोटा हरेक विधा उत्तिकै शक्तिशाली छन् । देश, विदेश, मानव मनका दुःख, सुख, मिलन, बिछोडको कलात्मक शब्दचित्र भएको सानो आकारको कृति ‘मुनामदन’ युगयुगान्तरका लाग अमूल्य निधिका रूपमा रहने छ भन्ने कुरा कसैले नकार्न सक्दैनन् ।  

यदि यो कृति अनुवाद भएर पहल गरेको भए के यसले नोबेल पुरस्कार पाउन सक्दैन थियो त ?

सुन्दर बिम्ब, अलंकार र भाषाशैलीको लयबद्ध मुनामदन साहित्यका सम्पूर्ण कृतिहरूमध्ये धेरै संस्करणमा धेरै छापिएको र धेरै बिक्री भएको र धेरैले रुचाएको, पढेको अनुपम कृति हो । यो वियोगान्तका साथै अनेकौँ अर्थ बोकेको कालजयी कृति हो । नेपाली साहित्यको इतिहासमा पहिलो स्वच्छन्दतावादी मूल्य मान्यता भित्र्याउने मुनामदन आफैँमा दुःखान्त र कारुणिकता हुँदाहुँदै पनि दिगदिगान्त मानव सभ्यतामा मानवतावादी चिन्तन प्रसारित गरिरहने छ र सच्चा मातृप्रेम, राष्ट्रप्रेम र सच्चा दाम्पत्य जीवनको शिक्षा फैलाइरहने छ । नेपाली साहित्यको संसारमा मानवतावादी कृतिको प्रतिस्पर्धामा उत्कृष्टता हासिल गरिरहने छ ।  

“हे ! मेरा भाइ ती तिम्री मुना मरेकी छैनन् ती

ज्योतिको स्वरूप लिएर गइन् बगैँचा वसन्ती

स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती”

 

सन्दर्भ सामग्रीः

१. मुनामदन खण्डकाव्य

२. मधुपर्क–२०६६

३. लक्ष्मीप्रसाद देवकोटा, महादेव अवस्थी, एकता प्रकाशन

४. प्रा. राजेन्द्र सुवेदी, काव्य निबन्ध केन्द्रका देवकोटा, २०६६

५. डा. शैलेन्दुप्रकाश नेपाल, मुनामदन समालोचना, २०६६

६. डा. मोदनाथ प्रश्रित, महाकवि देवकोटाको वैचारिक विकास, २०६६

७. प्रा.डा. कुमारबहादुर जोशी, महाकवि देवकोटा  अनेकका आँखामा, २०६६

८. घटराज भट्टराई, महाकवि देवकोटाका आनिबानी, २०५५

९. रचना, देवकोटा विशेषाङ्क, २०६६

१०. वनिता देवकोटा विशेषाङ्क, २०६६

प्रकाशित: २६ कार्तिक २०७७ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App