कला

महाशक्ति दशमहाविद्याको उपासना

दशमहाविद्याको सम्बन्ध सतीदेवीसँग रहेको देखिन्छ । दक्ष प्रजापतिले कोटिहोम गर्दा मननपर्ने ज्वाइँ महादेव र छोरी सतीदेवीलाई मात्र नबोलाई सबै ज्वाइँ र छोरीहरूका साथै तेत्तीस कोटि देवता, नाग–नागिनी, यक्ष, गन्धर्व, किन्नर सम्पूर्णलाई बोलाउँछन् । यो कुरा थाहा पाई सतीदेवीले आफ्नो र महादेवको अपमान गरेको सम्झेर माइतीमा गई होम गरिरहेको स्थानमा आफ्ना पिता दक्ष प्रजापतिसँग हामीलाई किन नबोलाउनुभएको भनी सोध्छिन् । दक्ष प्रजापतिले महादेवलाई जथाभावी भन्दै गालीगलौज गरी अपमान गर्छन् । पिताका शब्द सुन्न नसकेर सतीदेवी अत्यन्तै क्रोधित भई आदिशक्ति स्वरूप उग्र रूप लिँदा उपस्थित ब्रह्मा, विष्णुजस्ता देवतादेखि कोही पनि त्यहाँ बस्न सकेनन् । भयंकर प्रलयजस्तै भइरहेको उक्त समयमा स्वयं महादेव पनि सतीदेवीको त्यो उग्ररूपको सामने बस्न नसकेर भाग्नुप-यो । महादेव जताजता भाग्दै गए, त्यहीँ त्यहीँ विभिन्न रूप लिएर सतीदेवीले छेक्न पुग्थिन् । यसरी सतीदेवीले दश स्थानमा अर्थात् दश दिशामा महादेवलाई छेक्दै जाँदा काली, तारा, छिन्नमस्ता, धूमावती, बगलामुखी, कमला, त्रिपुर भैरवी, भुवनेश्वरी, षोड्शी र मातंगी दशथरी रूप लिन पुगिन् । यसैलाई नै दशमहाविद्या भनिएको हो ।  

यो कुरा महाभागवतको कथामा उल्लेख गरिएको छ । यसरी भाग्दै जाँदा कुनै सीप नलागी जब महादेव भुइँमा उत्तानो परिदिन्छन्, त्यति बेला डरलाग्दो महाकाली रूप लिइरहेकी सतीदेवीले महादेवको छातीमा टेक्न पुग्छिन् । आफ्नो पाइतालामा के पर्न आयो भनी कालीरूपी सतीदेवीले हेर्दा महादेव देख्नेबित्तिकै झस्केर शान्त भई आफ्नो वास्तविक सतीदेवीको रूपमा फर्केर आई यज्ञकुण्डनजिकै गई आफैंले आगोको ज्वाला उत्पन्न गरी स्वयं जलेर आफ्नै प्राण त्याग गर्छिन् ।

सतीदेवीले दश स्थानमा अर्थात् दश दिशामा महादेवलाई छेक्दै जाँदा काली, तारा, छिन्नमस्ता, धूमावती, बगलामुखी, कमला, त्रिपुर भैरवी, भुवनेश्वरी, षोडशी र मातंगी दशथरी रूप लिन पुगिन् । यसैलाई नै दशमहाविद्या भनिएको हो ।

महाशक्ति स्वरूपा दशमहाविद्या देवीको क्रमशः संक्षिप्त रूपमा यहाँ वर्णन गर्ने प्रयास गरेको छु । ललितपुरमा महाशक्ति दशमहाविद्या देवीका मन्दिर छन् । उपत्यकाको काठमाडौंमा अष्टमातृका, भक्तपुरमा नवदुर्गाको नाम प्रसिद्ध भएझैँ ललितपुरमा दशमहाविद्याको नाम प्रसिद्ध रही आएको छ । ललितपुरमा मात्र दशमहाविधाको मन्दिरहरू भएकाले यस्तो हुन गएको हो ।

१) काली
कालीको नाम लिनेबित्तिकै भयंकर डरलाग्दो महाकालीको रूप अगाडि उभिन आइपुग्छ । मुण्डमाला धारण गरेकी, लामो जिब्रो निकालेर अट्टहास गर्दैै हुँकार गरिरहेकी महादेवीको छातीमा कुल्चिरहेकी महाकालीको रूप हो । महाभागवतका अनुसार महाकाली मुख्य हुन् ।

काठमाडौं, ललितपुर र भक्तपुरको रक्षा कालीले गरिरहेकी छिन् । उपत्यकाका विभिन्न स्थानमा कालीका मन्दिर छन् । काठमाडौंमा गुह्यकाली छिन् । गुह्येश्वरी देवीको प्रतीक कलशमा वज्रयानीहरूले शान्त तीर्थका नाममा उपासना सेवा गर्दै आइरहेका छन् । शैव, बौद्ध र शाक्त सबैले संयुक्त रूपमा गुह्यश्वरीलाई उत्तिकै मान्दै आइरहेका छन् । नेपालमा भएका सबै कालीका मन्दिर मसान सँगसँगै रहेका छन् । कालीले राज्यको रक्षा गर्छन् भन्ने मान्यता रहिआएको छ । ललितपुरमा दुई–तीन स्थानमा दक्षिणकाली देखिए पनि यी कालीलाई दशमहाविद्यामा लिइएको छैन ।

ललितपुरमा दशविद्याका कालीको मन्दिर टंगलमा छ । यो तःबहालबाट पूर्वी भागमा पर्छ । शनि दशाका लागि यो कालीको सेवा गरिन्छ । कालो दाख, केरा, पेडा, ल्वांग, जाइफूलको फूल, अफाजित फूल आदि पनि चढाएर पूजा गरिन्छ । शत्रुले दुःख दिएमा कालीको सेवा गर्नुपर्छ शुभ हुन्छ । कालो बाती बालेर पाठ गर्नुपर्छ, शुभमंगल हुन्छ । कालीले शनि दोष पनि निवारण गरिदिन्छन् ।

कालीको ध्यान श्लोक यस प्रकार छ:
शवारूढाम् महाभीमाम् धोर दंष्ट्रां हसन्मुखीम्
चतुर्भुजाङ खड्ग मुण्ड बरा भय करां शिवाम् ।।
मुण्डमाला धरां देवी ललज्जिह्वां दिगम्बराम्
एवं संचिन्तयेत् काली श्मशान लय बासिनीम् ।।

२) तारा
जहिले पनि मोक्ष दिने तारण शक्ति भएकी हुनाले यी देवीलाई तारा भनिएको हो । वाक्शक्ति प्रदान गर्न सक्ने भएर तारालाई नीलसरस्वती पनि भनिन्छ । डरलाग्दो भय, त्रास, आपत्विपत्बाट भक्तको रक्षा गर्ने भएकीले यिनलाई उग्रतारा पनि भन्ने गरियो । बृहन्नील तन्त्रमा तारा स्वरूपको विशेष रूपमा उल्लेख गरिएको छ । ताराले अश्वशिर भएका हयग्रीवलाई वध गर्न नीलो रूप लिएकी थिइन् । यही नै रूपमा विद्याका लागि आराधना गरिने देवीलाई नील सरस्वती पनि भन्ने गरियो । भगवती तारा शव रूप शिवलाई कुल्चेर बस्ने पनि हुन् । ताराको दाहिने हातमा नीलो कमलको फूल हुन्छ । चारै हातमा नागको बाला रहेको छ । नागसँग विषालु हावा तान्न सक्ने शक्ति भएकाले जटा, घाँटीमा नागको गहना रहेको छ । कम्मरमा बाघको छाला बेरिएको छ, भने मुण्डमाला पनि धारण गरिरहेकी ताराको रूप हो । शत्रु नाश गर्न, वाक् शक्ति प्राप्त गर्न र मोक्ष प्राप्त गर्नका लागि पनि उग्रताराको साधना गर्नुपर्छ । बज्र पनि समाइरहेकी भएकाले तारालाई वज्रयोगिनी तारा पनि भनिन्छ । हिन्दुस्थानबाट शंकराचार्य आएर साँखुको वज्रयोगिनी उग्रताराको साधना गरेका रहेछन् । यही उग्रतारालाई कतै रातो वर्णकी देवी भनिए पनि मूल नीलतारा नै हुन् । रात्रिका देवी स्वरूपा शक्ति तारा महाविद्यामा अद्भुत प्रभाव भएकी सिद्धिका अधिष्ठात्री देवी पनि भन्ने गरियो । भगवती ताराका तीन रूप छन्– तारा, एकजटा र नीलसरस्वती । ताराको उपासना गर्ने मामुली अर्थात् साधारण व्यक्ति पनि वृहस्पति समान विद्वान् हुन्छ भनिएको छ । पहिला महर्षि वशिष्ठले ताराको उपासना गरेकाले वशिष्ठाराधिता तारा पनि भन्ने गरिन्छ । वशिष्ठले वैदिक विधिद्वारा ताराको उपासना गर्दा सफल नभएपछि तान्त्रिक पद्धतिबाटै गर्नुप¥यो । पहिले ताराको उपासना चीन र ल्हासामा पनि गरिएको रहेछ । ताराको प्रादुर्भाव सुमेरुको पश्चिम चोलनाम सरोवर किनारमा भएको हो । त्यस्तै, काठमाडौंको साँखुमा उग्रतारा सिद्धपीठ रहेको छ भने उता भारतमा पनि सहरसा जिल्लाको महिषमा उग्रतारा सिद्ध पीठ छ । उही स्थानमा तारा, एकजटा र नीलसरस्वतीका तीन मूर्ति छन् । बीचमा ठूलो मूर्ति र दायाँबायाँ साना मूर्ति छन् । महर्षि वशिष्ठले यही ताराको उपासना गरेर सिद्धि प्राप्त गरेका हुन् । उग्रताराको सामुन्ने ने मुनिसँग नेपालको तीर्थ वागमतीमा विरूपाक्षले दिक्षा लिएर सिद्धि प्राप्त गरे भन्ने कुरा तन्त्रशास्त्रका प्रसिद्ध ग्रन्थ महाकाल संहिताको गुह्यकाली खण्ड महाविधामा उल्लेख छ ।

वरदान दिन सदा तत्पर षोडशी देवीका यी रूप सौम्य छ भने हृदय दयाले भरिएको छ । षोडशी देवीको पूजाआराधना र शक्तिसाधना गरे अन्य देवीको साधना गर्नुपर्दैन भनिएको छ । संसारमा जति पनि तन्त्रमन्त्र छन्, सबै तन्त्रमन्त्रले यी देवीको आराधना गरिरहेको छ ।

तारा खड्ग योगिनीको मन्दिर ललितपुरको पुल्चोकमा छ । घरमा आगलागी हुँदा पनि यहाँ दर्शन गर्न जाने चलन छ । तारालाई समयबजी चढाउने वा केरा, फलफूल, पेडा, कपुर, नरिवल, मिस्री, घिउ, चिनी, चिउरा आदि पनि चढाउन हुन्छ । चन्द्रमा ग्रह नराम्रो भएकाले ताराको पूजा आराधना गर्दा राम्रो हुन्छ । यहाँ नील सरस्वतीको पाठ गर्दा पनि राम्रो हुन्छ ।  

ताराको ध्यानश्लोक यस प्रकार छ:
प्रत्यालीढ पदार्पितांध्री शव हृद्घोराट्ट हासापरा
खड्गेन्दी वरक कत्त्र्रि खप्र्परभुजा हुँकार बीजोदभवा ।।
खव्वा नील विशाल पिगल जटा–जूटैक नागैय्यता
जाड्यान्न्स्य कपाल कर्तु जगतां हन्त्युग्र तारा स्वयम् ।।

३) षोडशी
सूर्यमण्डलको आभाजस्तै शारीरिक कान्ति भएकी चार हात त्रिनेत्र भएकी षोडशी त्रिपुरा सुन्दरी हुन् । यी देवी शान्त मुद्रामा पल्टिरहेका महादेवको नाभिबाट निस्केको कमलको फूलको आसन बनाएर विराजमान भइरहेकी हुन् । षोडशी देवीका चार हातमा क्रमशः पाश, अंकुश, धनुष र वाण छन् । जसले गर्दा अत्यन्तै शोमायमान देखिन्छ । वरदान दिन सदा तत्पर षोडशी देवीका यी रूप सौम्य छ भने हृदय दयाले भरिएको छ । षोडशी देवीको पूजाआराधना र शक्तिसाधना गरे अन्य देवीको साधना गर्नुपर्दैन भनिएको छ । संसारमा जति पनि तन्त्रमन्त्र छन्, सबै तन्त्रमन्त्रले यी देवीको आराधना गरिरहेको छ ।

महादेवको शक्ति नै षोडशी हो । तन्त्रशास्त्रमा षोडशी देवीलाई पञ्चवक्र अर्थात् पाँच मुख भएकी भनिएको छ । चार दिशामा चार मुख, माथि एउटा मुख भएकाले पञ्चवक्र भन्ने गरियो । षोडशी देवीको पाँच मुख तत्पुरुष, सद्योजात, वामदेव, अघोर र इशान शिवका पाँच रूपका प्रतीक हुन् । षोडशीको दश हातमा क्रमशः अभय, टंक, शूल, वज्र, पाश, खड्ग, अंकुश, घण्ट, नाग र अग्नि छन् । यही कारणले षोडशी भनिएको हो ।

दशमहाविद्यामा षोडशीलाई श्रीविद्या पनि भनिएको छ । षोडशीका ललिता, राजराजेश्वरी, महात्रिपुरसुन्दरी, बाला, पञ्चदशी अनेक नाम छन् । तारा, त्रिपुरा, श्यामा पनि नाम भएकी षोडशीलाई आद्याशक्ति पनि भनिएको छ । भोग वा मोक्ष एउटा मात्र दिए पनि षोडशी देवीले भुक्ति र मुक्ति दुवै दिने गर्छिन् ।  

षोडशी देवीको स्थान ललितपुरको चक्रबहाल अर्थात् चाकुबहालको बालकुमारी हो । सूर्य ग्रह कमजोर भएकाले षोडशीदेवीको पूजा आराधना गर्दा शुभ हुन्छ । यी देवीलाई समयबजी चढाउने वा केरा, किसमिस, बयर आदि फलफूल र रोटी मिठाई, रातो कपडा चढाउनाले शुभ हुन्छ । आइतबार यी देवीको मनपर्ने बार हो तर दिनहुँ पूजाआराधना गर्न सके दरिद्रता नाश हुन्छ । फूलमा कर्णफूल, अपराजिता फूल चढाउँदा उत्तम हुन्छ । यी षोडशीदेवी त्रिपुराको मन्दिर भक्तपुरको तुला छेंय्मा पनि छ ।

षोडशीको ध्यान श्लोक यस प्रकार छ:
बालार्कमण्डला भासां चतुब्र्वाहुन्त्रि लोचनाम्
पाशांकुश धरांश्चापन्धार यन्ती शिवामभजे ।।

४) भुवनेश्वरी
श्रृष्टिको समयमा आदिशक्ति भुवनेश्वरीले महादेवको समस्त लीलामा साथ दिइरहेकी सहचारी हुन् । जगदम्बा भुवनेश्वरीको रूप भर्खरै उदाएको सूर्यको तेजजस्तै अरूण वर्णको छ । भक्तहरूलाई अभय दिने, समस्त सिद्धि पनि प्रदान गरिदिने भुवनेश्वरीको हतियार अंकुश र पाश हो । अंकुश नियन्त्रणको प्रतीक हो । महादेवको बायाँ भाग नै भुवनेश्वरी हो । तीन नेत्र भएकी भुवनेश्वरीको अनुहार जहिले पनि हँसिलो भएकाले शोभायमान भइरहेको देखिन्छ । दाहिने हातमा अभय मुद्रा र वर दिने मुद्रा रहेको छ भने देव्रे दुवै हातमा अंकुश र पाश छ । ललितपुरको नःबहीसँगै भुवनेश्वरीको एकतले मन्दिर छ । यहाँ बौद्ध र शैव दुवैथरीले पूजा आराधना गर्दै आइरहेका छन् । पशुपति क्षेत्रमा पनि भुवनेश्वरीको मन्दिर छ । त्यस्तै जितपुरफेदी तीन पिपलेमा पनि भुवनेश्वरीको मन्दिर  

छ । भुवनेश्वरलाई रातो, सेतो, पहेलो वस्त्र चढाउन हुन्छ । समयबजी चढाएर पूजा गरे पनि हुन्छ वा नरिवल, छोहरा, किसमिस, केरा, फलफूल आदि चढाए पनि हुन्छ । पुत्र प्राप्ति गर्न वा कसैले प्रेत वायु लगाएर बिगार गरे पनि यी देवीले शान्त पारिदिन्छिन् भन्ने जनविश्वास छ । शुक्रबार, शनिबार यिनको पूजा गर्दा असल हुन्छ ।

भुवनेश्वरीको ध्यान यस प्रकार छ:
उध द्दिन घुति मिन्दु किरींटान्तुङ कुचान्नयन त्रय युक्ताम्
स्मेर मुखिं ब्बरदाङ कुश पाशाभी तिकराम् प्रभुजे भुवनेशीम ।।

५) छिन्नमस्ता
भगवती छिन्नमस्तालाई अत्यन्तै गोपनीय रूपमा लिइएको छ । छिन्नमस्ता कसरी प्रकट भएकी हुन् भन्ने सन्दर्भमा कथामा यसरी वर्णन गरिएको छ ।  

एकपटक भगवती छिन्नमस्ता देवीसँग सहचारीहरू (जया र विजया) मन्दाकिनीमा स्नान गर्न गएका रहेछन् । स्नान गरेपश्चात् ती सहचारीलाई धेरै भोक लागेकाले छिन्नमस्तासँग खानेकुरा मागे । देवीले ‘एकछिन पर्ख धैर्य गर’ भन्दा पनि उनीहरूले मानेनन् । ती सहचारीहरू रिसाएर ‘हामीलाई किन यति विघ्न उपेक्षा गर्नुभयो ?’ भनेकाले तिनीहरूको वचन सुन्न नसकी छिन्नमस्ताले आफ्नो दाहिने हातमा भएको खड्गले आफ्नै शिर छेदन गरिछन् । त्यो छेदन भएको शिर देवीको देब्रे हातमै प¥यो । घाँटीबाट आएको तीनधारा रगतमध्ये दुई धारा दायाँ–बायाँ रहेका जया र विजयाका मुखमा परे, बाँकी एक धारा आफ्नै हातमा रहेको शिरको मुखमा पर्छ । त्यहीबेलादेखि नै देवी छिन्नमस्ताको नामले प्रसिद्ध भएकी हुन् ।

ललितपुरको मोमदुगल्लीमा छिन्नमस्ताको मन्दिर छ । चाँगु र सप्तरी जिल्लामा पनि छिन्नमस्ताका मन्दिर छन् । छिन्नमस्तालाई सन्ध्याकालमा उपासना गर्नुपर्छ । शत्रुमाथि विजय गर्न र मोक्ष प्राप्तिका लागि पनि यिनको उपासना गर्नुपर्छ, शुभ हुन्छ । विवाह नभएर ढिलो भइरहेकाहरूले पनि पूजाउपासना गर्नुपर्छ, शुभ फल मिल्नेछ । विद्याका लागि पनि पूजा उपासना गर्नुहुन्छ । छिन्नमस्ताको पूजा गर्दा समयबजी, कालो दाख, केरा, रोटी मिठाई, अपराजिता, ल्वाङ, कर्णवीर फूल चढाउनुपर्छ । शुक्रवार र शनिबार देवीको यी देबीलाई मनपर्ने बार हो ।

छिन्नमस्ताको ध्यान श्लोक यस प्रकार छ:
प्रत्यालीढं पदां सदैव वधतीं छिन्न शिर कर्तृका
दिग्वस्त्रां स्वकवन्ध शोणित सुधा धारां पिवन्ती मुदा ।।
नागावद्ध शिरोमणिं त्रिनयनां हृदयुत्पलालं कृतां
रत्यासक्त मनोभवो परिढृढां ध्यायेज्जवासं निभाम् ।।

६) त्रिपुरभैरवी
दक्षिणामूर्ति काल भैरवको शक्ति नै त्रिपुरभैरवी हुन् । ब्रह्माण्ड पुराणमा त्रिपुर भैरवीलाई योगिनीहरूका अधिष्ठात्री देवीका रूपमा चित्रण गरिएको छ । यी देवीको महिमा चर्चा गर्ने सन्दर्भमा त्रिपुर भैरव, कोलेश भैरवी, रूद्रभैरवी, चैतन्त्र भैरवी र नित्या भैरवी आदि रूपको वर्णन मत्स्य पुराणमा गरिएको  

छ । बाहिर जहाँ पनि सबै शत्रुसँग लडेर विजयी हुन सके पनि आफ्नो शरीरमा भएका इन्द्रियसँग लडेर जित्न धेरै गाह्रो हुन्छ । त्यसैले आफ्नो इन्द्रिय वशमा राखेर विजय प्राप्त गर्न र सबै ठाउँमा उन्नति गर्ने कार्यमा सफलता पाउन त्रिपुर भैरवीको उपासना गर्नुपर्ने शास्त्रमा वर्णन गरिएको छ ।

घाँटीमा मुण्डमाला धारण गरेकी, स्तन मण्डलमा रक्त चन्दन लेपन गरेकी यी देवीका चार हातमा जयमाला, ब्रह्मविद्या पुस्तक, अभय मुद्रा र वर मुद्रा छन् । यी देवी कमलासनमा विराजमान भइरहेकी छिन् । भगवती त्रिपुर भैरवीले नै मधुपान गरी महिषासुरलाई वध गरेकी हुन् । ललितपुरमा त्रिपुर भैरवीको मन्दिर बालुखा टोल र इखालखु टोलको चौबाटोमा रहेको छ । संकटमा परेका मानिसले संकटबाट मुक्त हुन भगवती त्रिपुर भैरवीको उपासना गर्नुपर्छ । कोही कसैबाट भएको कुविद्याको प्रयोग शान्त पार्न शुक्रबार बिहान र बेलुका यी देवीको पूजाउपासना गर्दा फाइदा हुन्छ । समयबजी वा कालो दाख, नरिवल, छोहरा, रोटी मिठाई घिउ, चिनी, चिउरा, केरा, ल्वाङ फूल, जयन्ती, अपराजिता फूल र वस्त्र भने पहेँलो रातो चढाउँदा राम्रो हुन्छ ।

त्रिपुर भैरवीको ध्यान श्लोक यस प्रकार छ:
उधद्भानु सहस्त्र कान्ति मरूणक्षौंमा शिरो मालिका
रक्तालिप्त पयोधरा जप पटीव्विधाम भीतिं ब्वरम् ।।
हस्ताब्जैर्दधती न्त्रिनेत्र विल सद् वक्त्रार विन्दश्रियं
देवीम्वद्ध हिमांभुरत्न मुकुटांव्बन्दे समन्दस्मिताम् ।।

७) धूमावती
धूमावतीलाई कालो मैलो मयलबाट च्यातिएको वस्त्र लगाउने, कपाल त्यत्तिकै छोडेर जुरो नबाँधी बस्ने विधवा र झण्डामा काग भएको रथमा बसिरहने, हातमा नाङ्लो भएकी, रिसाहा अनुहार भएकी, दया माया नभएकी भनी वर्णन गरिएको छ । स्वतन्त्र तन्त्रका अनुसार सतीले त्यतिबेला दक्ष प्रजापतिको यज्ञमा आफूले आफैंलाई भष्म गरेका बेला निस्केको धुँवाबाट धूमावती रूप प्रकट भएको हो । धुवाँबाट उत्पत्ति भएकी भएर धूमावती भनियो ।

ललितपुरमा धूमावती भएको स्थान दुगुबहाललाई धूम्बहा भन्ने गरियो । यही धूम्बहालसँगै पश्चिमपट्टि क्वः बहा छ । यी धूमावतीको अर्को पीठ गाः हिटी टोलमा चामुण्डा र धूमेश्वर महादेव छ । धूमावतीको उपासनाले दरिद्रता नाश हुन्छ । अभिचार दोष र मंगल ग्रह शान्तिका लागि पनि धूमावतीलाई धूप धुँवार गरेर पूजा गर्दा राम्रो हुन्छ । सेतो कपडा विधवा भेषका लागि भए पनि रातो वस्त्र र सौभाग्य सामग्री पनि चढाउन हुन्छ । कालो गुलाबको फूल, ल्वाङ, अपराजिता जयन्ती, कर्णवीर फूलसँगै अन्य फूल, मिठाई, समयबजी, नरिवल आदि देवीलाई मनपर्ने वस्तु हुन् ।

धूमावतीको ध्यान श्लोक यस प्रकार छ:
विवण्र्णा चंचला दुष्टा दीग्र्घा च मलिंनाम्बरा
विभुक्त कुन्तला रूक्षा विधवा विरलद्विजा ।।
काकध्वजरतारुढा विलम्बित पयो धरा
शूर्पप्हस्ता तिरुक्षाक्षा धूत हस्ता वरान्विता ।।
प्रवुद्ध षोणातु भृशं कुटिला कुटिले क्षणा
क्षुत्पिपाशार्दिता नित्यम्भयदा कल हास्पदा ।।

८) बगलामुखी
शत्रु संहार गर्ने महाविद्या बगलामुखीलाई नराम्रा तत्वहरू नाश गर्न, शत्रु भयबाट मुक्ति र वाक्सिद्धिका लागि उपासना गरिने गरिन्छ । बगलामुखीको ध्यान श्लोकमा वर्णन गरिएको छ कि यी देवी अमृतको समुद्रको बीचमा रहेको रत्नमय सिंहासनमा विराजमान भइरहेकी छिन् । यी देवीले पहेँलो वस्त्र, पहेँलो नै गरगहना, पहेँलो फूलको माला पहिरिएकी छन् । बगलामुखी यसरी किन पहेँलो भइन् भन्ने सन्दर्भमा कथा छ । एकपटक सत्य युगमा सम्पूर्ण संसार नै नाश गर्ने खालको डरलाग्दो हावाहुरी आउँदा विष्णु भगवान्ले अत्यन्तै चिन्ता गरी सौराष्ट्र देशमा हरिद्रा सरोवरमा चारैतिर बेसारका बोट भएको बेसारको पोखरीमा गई भगवतीलाई प्रशन्न पार्न तपस्या गरी बस्दा भगवती श्रीविद्या बेसारकै पोखरीबाट बगलामुखी रूपमा प्रकट भई विध्वंशकारी हावाहुरी रोकी दिइन् । भगवान् विष्णुका तेजले युक्त भएकी बगलामुखी वैष्णवी पनि हुन् ।  

ललितपुरको कुम्भेश्वर क्वन्ति टोलमा बगलामुखीको मन्दिर छ । बगलामुखी मन्दिरभित्र चाँदीको सानो मन्दिर छ । यी देवीका पर्वकाल मंगलबार, चतुर्दशी, बृहस्पतिबार, अष्टमी र शनिबार हो । यी देवीलाई पनि समयबजी, फलफूल आदि राखी पूजा गर्न हुन्छ ।

बगलामुखीको ध्यान श्लोक यस प्रकार छ:
मध्ये सुधाव्धि मणि मण्डप रत्नवेदीं
सिंहासनो परिगताम्परि पीत वर्णाम् ।।
पिताम्बरा भरण माल्य विभूषिताङ्गीम्
देविन्नमामि घृत मुद्गर बैरि जिह्वाम् ।।
जिह्वाणु मादाय् करेणदेवीं बामेन शत्रुन्परिपीडयिन्तिम्
गदाभिधातेन च दक्षिणन पिताम्बराढ्याद्विभुजा नमामि ।।

९) मातंगी
मातंगी पनि शिव शक्तिकै स्वरूप हुन् । महादेवलाई मातंग भनिन्छ भने उनको शक्ति मातंगी हो । मातंगी कालो र नीलो श्याम वर्ण कि हुन् । त्रिनेत्र भएकी मातंगीले शिरमा चन्द्रमा धारण गरेकी छन् । रत्नमय सिंहासनमा विराजमान भएकी, नीलो कमलको फूल समान तेज भएकी र राक्षसलाई भष्म गर्न सक्ने मातंगी शक्तिशाली छिन् । मातंगीले चार हातमा पाश, अंकुश, खड्ग र घण्ट धारण गरेकी छन् । मातंगी असुरहरूलाई मोहित पारी भष्म गर्न सक्ने र भक्तजनको मनले चिताएको फल दिने देवी हुन् । मातंगीको साधना गर्ने भक्तहरूलाई पुरुषार्थ र वाक्सिद्धि प्राप्त हुन्छ ।

ललितपुरमा मातंगीको स्थान मंगलबजार र स्वंथ टोलको बीचमा पर्छ । विद्या र धनका लागि पनि यी देवीको पूजाआराधना गरिन्छ । वृहस्पतिबार, शुक्रबार यी देवीको पर्वकाल हो । अन्य भगवतीलाई जस्तै मातंगीलाई पनि नैवेद्य र फलफूल चढाइने गरिन्छ ।

मातंगीको ध्यान श्लोक यस प्रकार छ:
श्यामांगी शशि शेखरा त्रिनयनां रत्न सिंहासन स्थिताम्
बेदै र्बाहु दण्डैरसि खेटक पाशा कुश धराम् ।।

१०) कमला
भगवती कमलाको तेज कान्ति सुवर्णजस्तै देखिन्छ । हिमालजस्तै श्वेत वर्णकी कमलालाई चारवटा हात्तीले आफ्नो सुँढमा चारवटा सुनको कलश अड्याएर स्नान गराइरहेका छन् । देवीले एकातिर दुई हातमा वर र अभय मुद्रा, अर्को दुई हातमा कलमको फूल धारण गरेकी छन् । कमला शिरमा मुकुट र शरीरमा रेशमी पहेँलो वस्त्रले शोभायमान भएकी छन् । कमलाको उपासना लक्ष्मी प्राप्तिका लागि गरिन्छ । कमलालाई लक्ष्मी र षोडशी पनि भनिन्छ । यी देवीका गृहलक्ष्मी, धान्यलक्ष्मी, विद्यालक्ष्मी, कीर्तिलक्ष्मी आदि गरी १२ नाम भएकाले पनि षोडशी भनिएको हो ।

ललितपुरमा कमलाको मन्दिर गाःबहालसँगै पूर्णचण्डीमा पनि छ । यी देवीको उपासना गर्नाले आशा मारेको धन पनि फिर्ता आउँछ भनिएको छ । यी देवीलाई समयबजी चढाएर पूजा गरिन्छ । नरिवल, छोहरा, केरा, पनि यी देवीका मनपर्ने वस्तु हुन् ।

कमलाको ध्यान स्तुति यस प्रकार छ:
कान्त्या काचंन सन्निमां हिमगिरि  
प्रख्यैश्चतुर्भिग्र्ग जै–
र्हस्तोत्क्षिप्त हिरण्मयामृत घटैरासि च्यमानां श्रियम् ।।
विभ्राणा ब्वरमब्ज युग्म भयं हस्तै किरी टोज्ज्वलां
क्षैमावद्ध नितम्ब विम्ब ललितां ब्वन्दे रविन्दास्थिताम् ।।

प्रकाशित: २२ कार्तिक २०७७ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App