कला

कवच

लघुकथा

 मन्दिरा मधुश्री

 

एक्कासि गोपाल दाइसँग जम्काभेट भयो । मर्यादा राखेर भनेँ, ‘नमस्कार दाइ !’

‘ओहो, के छ अम्बु ! ’मेरो डँडेल्नोमा धाप मार्दै भने ।

‘अम्बिका’ लाई ’अम्बु ’ सम्बोधन साथै एकछिनसम्म पनि हात नहटेपछि यो धाप मराइ पनि अप्रत्याशित हो जस्तो लागेन मलाई ।

‘ठीकै छ दाइ अनि हजुरको नि ?’ करैले औपचारिकता पस्केँ ।

‘खोई के हुनु र ! तिमीहरू आफ्नो सम्झेका त यसरी नदेखेको जस्तो गरेर हिँड्छौं । व्यंग्य गरे दाइले ।  

– मैले त साँच्चिकै नदेखेकै हो ।’ पुष्टि गर्न खोजेँ ।

सकेसम्म म उनको धापबाट बच्न चाहन्थेँ तर कहिलेकाहीँ अप्रत्याशित रूपमा फेला पर्थेँ यसैगरी ।

धेरैले दाइलाई रसिक र महिलाप्रेमी  छन्  भन्थे । धेरैपटकको कार्यक्रममा फरक महिला साथीसँग देखेकी पनि थिएँ ।

‘गोपाल दाइ उनको ब्रान्ड थियो । हामी एउटै संस्थामा थियौँ । सबैलाई ‘दाइ’ नै भन्न लगाउँथे । छोराछोरीकै उमेरकालाई पनि । खै कतिपटक बोलाइसकेँ घरमा । सँगै चिया पिउँला भनेर । कहिल्यै आउँदिनौ, निष्ठुरी !’

गुनासो कुटिल लाग्यो ।

‘मौकामा आफैँ आउँनेछु बोलाउनै पर्दैन हजुरले !’ आश्वस्त पारेँ ।

‘ल हिँड अहिल्यै, ऊ त्यहीं त हो !’ मलाई कोट्याउँदै आफ्नो घर देखाए । उनको हात नपुग्ने ठाउँतिर सर्दै भनेँ, ‘आज त सपिङ गर्न निस्केको ।’

‘ल हेर, अलिक अघि निस्केको भए सँगै जानुहुन्थ्यो नि । यी मैले त ल्याइसकेँ !’ हातको झोलातर्फ देखाउँदै भने ।

‘दाइ लाग्छु है !’ म हतारिएँ ।

– पक्कै आउ नि फेरि !  धाप मारिहाले बूढाले ।

– सुन त अम्बु,  मिल्छ भने आजै आऊ न । बुहारीहरू सबै माइत गैहाल्छ्न् । एक्लै बोर हुन्छु घरमा । तिमी आए ...!

‘हस् आउँछु !’  परैबाट भनेँ ।

दिउँसो उनको घरमा पुगेँ । कतिखेर आउँछ्यौ  भनेर पर्खिरहेथेँ ।’ पुलकित हुँदै सोफामा आफूछेउ देखाए बस्नलाई ।

एक काइँयो केरा र सुगर फ्रि बिस्कुट भएको झोला थमाउँदै भनेँ, ‘यसपटक घर जान नपाएकोले खिन्न लागेको थियो तर आज हजुरलाई भेटेर बाको न्याँस्रो सबै मेटियो । ‘ह्याप्पि फादर्स डे बा !’

प्रकाशित: ११ आश्विन २०७७ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App