सिन्धुपाल्चोक भोटेचौरका बालकृष्ण सापकोटा कोरोना महामारीकै क्रममा खाडी मुलुक युएईबाट असार तेस्रो साता नेपाल फर्किए। अहिले उनले आफ्नै गाउँघरमा केही गर्ने सोच बनाएका छन्। दुई साता काठमाडौं मूलपानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा बिताएका उनले अब आफू वैदेशिक रोजगारीमा नजाने निर्णयमा पुगेको बताए। ‘स्वदेशमै सम्भावना देखेर गाईपालन सुरु गर्ने सोच बनाएको छु,’ उनले भने, ‘यसमा सफल भए फेरि खाडी मुलुक फर्कनुपर्ने छैन।’
दुई छोरी र एक छोराका बाबु उनले परिवार छाडेर कामका लागि खाडी मुलुक जानुपर्ने बाध्यताको अन्त्य चाहेको बताए। ‘सोच मात्र होइन, अहिले तीनवटा गाई पालेर ३० लिटर दूध बेच्न थालिसकेको छु,’ गोठ बिस्तार गरिरहेका उनले भने, ‘चाँडै नै १५ वटासम्म गाई पु¥याउने सोच छ।’
सन् २०१२ मा पहिलोपल्ट मलेसिया पुगेका उनी २०१५ मा भूकम्प गएलगत्तै घर आएका आएका थिए। अहिले पनि उनी कोरोना महामारीकै माझ घर फर्किएका छन्। ‘देश अनि परिवारमा ठूलो समस्या पर्दा विदेशमै रहेँ,’ उनले भने, ‘त्यो अवस्थाको पनि अन्त्य चाहेको छु।’
सापकोटाको जस्तै सोच राखेका छन्, साउदी अरेबियाबाट फर्केका बारा मटिहर्वाका सरफुद्दिन मियाँले पनि। १५ कट्ठा जमिन धितोमा ऋण लिएर साउदी अरेबिया गएका उनी अहिले आफ्नो गाउँठाउँमा आधुनिक ढंगले खेती गर्ने सोचमा छन्। ‘परम्परागत ढंगबाट होइन, नयाँ तरिकाले खेती गर्ने सोच बनाएको छु,’ उनले भने, ‘राज्यले केही सहयोग गरे हामीजस्ता युवा स्वदेशमै टिक्ने वातावरण बन्नेछ।’
सापकोटा र मियाँजस्तै कोरोनाका कारण रोजगारी गुमाउनुका साथै विभिन्न हन्डरी भोगेर घर फर्किएका युवाले स्वदेशमै आत्भनिर्भर बन्न क्वारेन्टिनमा बसेकै बेला विभिन्न सम्भावनाको सपना देखेका छन्। तर, राज्यले स्वदेशमै टिकिरहने अवस्था सिर्जना गर्न चासो नदेखाएको उनीहरूको भनाइ छ। भदौ २६ गतेसम्मको तथ्यांक अनुसार युएई, कतार, ओमान, मलेसिया, साउदी अरेबिया, बहराइन, कुबेत, दक्षिण कोरिया लगायत मुलुकमा रोजगारी गुमाएर अलपत्र परेका एक लाख ३३ हजार चार सय ८५ जनाले उद्धारका लगि नेपाल सरकारका निकायमा निवेदन दिएका थिए। जसमध्ये ४८ हजार ८ सय ६५ लाई ल्याइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण रोजगारी गुमाउनुका साथै विभिन्न समस्या भोगेर घर फर्किएका युवाले स्वदेशमै आत्भनिर्भर बन्ने सपना देखेका छन्।
युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता रामबन्धु सुवेदी मन्त्रालयको सोच युवालाई स्वदेशमै केही गर्न सक्ने बनाउने रहेको बताउँछन्। विदेशबाट युवा फर्कने क्रम जारी छ। कृषिमा व्यवसायीकरण र यान्त्रीकरण गरेर यसै क्षेत्रमा उनीहरूलाई अगाडि बढाउनुपर्ने मन्त्रालयको सोच रहेको उनले बताए। ‘यसमा मन्त्रालयले सक्दो सहयोग गर्नेछ,’ उनी भन्छन्, ‘अब युवाका समस्या सम्बोधन गर्न मन्त्रालय लागिपर्छ।’
मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र युवा परिषद्मार्फत विदेशबाट फर्किएका युवालाई सहयोग गर्ने योजना रहेको उनले बताए। ‘युवाले व्यक्तिगत वा सामूहिक रूपमा केही गर्न खोजे स्थानीय निकायको सिफारिसमा पाँच लाख रुपैयाँसम्म सहयोग गर्दै आएका छौँ,’ उनले भने, ‘कोभिडपछिको अवस्थामा यसलाई अझै प्रभावकारी बनाएर लैजाने सोचमा छौँ हामी।’
समाजशास्त्री कृष्णबहादुर भट्टचन राज्य ‘सिस्टम’मा नचलेका कारण देशमै रोजगारी गर्न चाहने युवा टिक्न नसकेको बताउँछन्। काम गर्न खोज्दा प्रशासनिक झमेला र विभिन्न बहाना देखाएर अप्ठेरोमा पार्ने प्रवृत्तिका कारण युवा बिदेसिन बाध्य भएको उनको बुझाइ छ। ऐन, नियम पनि पुराना ढर्राका भएकाले आधुनिक तरिकाले काम गर्न चाहनेलाई गाह्रो छ। साझेदारीमा काम गर्न त दिइन्छ, तर त्यसलाई सुरक्षित राख्न सक्ने ऐन, नियमको अभाव छ, जसले गर्दा युवा मिलेर काम गर्न समेत डराउने गरेको उनले बताए।
कामका लागि युवालाई बाहिर जान रोक्ने प्रयास गरेको दाबी राज्यले गरे पनि बिदेसिएकाले व्यावहारिक रूपमा त्यस्तो अनुभूति गर्न पाएका छैनन्। राज्य स्पष्ट बन्न नसक्दा विदेशबाट फर्किएका कतिपय युवा झनै अन्योलमा छन्। तिनैमध्येका हुन्, सल्यान कपुरकोटका श्रवण क्षत्री। कोरोना कहरबीच मलेसियाबाट मुस्किलले असार दोस्रो साता घर आएका उनले पनि दुई साता क्वारेन्टिनमा बिताए। क्वारेन्टिनमा बस्दा उनले अब स्वदेशमै केही गरेर आत्मनिर्भर बन्ने सोच बनाए। तर त्यसका लागि सहयोग कहाँबाट र कसरी लिने भन्ने अन्योलमा उनी छन्। ‘केही गर्छाैंं भन्दा हामीलाई कसैले चासो दिँदैन,’ उनी भन्छन्, ‘केही सहयोग पाए स्वदेशमै इलम गर्छु।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इलम गर्न चाहने युवाले विभिन्न स्थानीय निकायमा खोलिएका रोजगार सेवा केन्द्रमार्फत सुझाव लिन सक्ने जनाएको छ। ‘कोभिडका कारण विदेशबाट फर्किएका युवालाई मात्र होइन, बेरोजगार सबैलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन भएका छन्,’ मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले भने, ‘ती कार्यक्रममा आबद्ध भएर अगाडि बढ्ने हो भने जीविकापोर्जनका लागि समस्या नपर्ने हाम्रो ठहर छ।’ विदेशमा जति यहाँ कमाउन नसकिए पनि अड्ने आधार भने तया गर्न सकिने उनी बताउँछन्।
वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर करिब ५० लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन्। श्रम स्वीकृति लिएकामध्ये २०/२५ लाख गन्तव्य मुलुकमै रहेको अनुमान छ। तीमध्ये करिब ९०÷९५ प्रतिशत खाडी मुलुक र मलेसियामा छन्। कोरोनाका कारण विभिन्न मुलुकबाट करिब १० लाख नेपाली घर फर्कन सक्ने अनुमान छ। अहिले विदेशबाट फर्किएका युवालाई यहीँ अडिन सक्ने आधार राज्यले तयार गर्न सकेको छैन। जनमुखी सरकारको अभाव, औद्योगिक वातावरण बन्न नसक्नु, प्रशासनिक काममा ढिलासुस्ती जस्ता कारणले युवा बिदेसिन बाध्य छन्। यसतर्फ राज्य संयन्त्रको ध्यान तत्काल पुग्नु जरुरी छ।
त्यसो त देशमै पुँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित सरकारबाट २०६५ सालमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापना गरिएको छ। त्यो पनि त्यति प्रभावकारी देखिएको छैन। आफ्ना मान्छे र सोर्सफोर्सले मात्र काम पाउने कतिपयको गुनासो छ।
पुँजीको अभावमा हुने प्रतिभा पलायन रोक्ने,बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने, शिक्षित तथा अर्धशिक्षित युवाहरूलाई स्वदेशमै रोजगार दिने, परम्परागत सीप भएका जातीय समुदायहरू, द्वन्द्वपीडित व्यक्ति, उत्पीडित जाति, जनजाति, पिछडिएको क्षेत्र तथा महिलालाई कर्जा लगानीमा प्राथमिकता दिने कोषको लक्ष्य छ। तर यो कागजमै सीमित भएको विदेशबाट फर्किएकाको गुनासो छ।
‘साँच्चीकै काम गर्ने भन्दा नक्कली काम गर्नेले सहयोग पाउने चलन बढेको छ,’ मियाँ भन्छन्, ‘त्यसैले सहयोग पाउने सम्भावना पनि कम रहन्छ।’ सहयोग गर्ने नै हो भने विदेशबाट फर्केर आएकालाई सरल कर्जा उपलब्ध गराएर काम गर्ने वातावरण तत्काल बनाउन जरुरी छ।
राष्ट्रिय युवा परिषद्का अनुसार कुल जनसंख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या (१ करोड ७ लाख) छ। जसमा १९.२ प्रतिशत युवा पूर्ण बेरोजगार रहेको, कृषिमा युवाहरूको संलग्नता ५०.२ प्रतिशत रहेको र २६.१ प्रतिशत युवाहरू स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था छ।
प्रकाशित: ३ आश्विन २०७७ ०४:५३ शनिबार