कला

डायरीकी आमा

कथा

शेखरकुमार श्रेष्ठ

 

दिनभर आफ्नै कामले थकान थिएँ । जति काम सक्ने प्रयास गरे पनि सक्नुपर्ने काम पूरा नभएको पीडा मस्तिष्कमा थियो । मुटु भरी काम रोकिएको पीडा, समयको व्यर्थता, पैसाको बगाबले मस्तिष्कलाई अरू कुरा सोच्न नदिएको स्थिति थियो । शरीर शरीरका लागि चलिरहे पनि थाकेको मन र मस्तिष्क लिएर नगर बन्दै गरेको तर गाउँले नछाडेको घरतिर यात्रा गर्दै थिएँ । बस र सार्वजनिक यातायात चढिसक्नु नभएको त बाह्रौँ वर्ष भइसकेको थियो । यसै कारण विगत पाँच वर्षअगाडि देखि मैले पनि निजी मोटरसाइकल लिएको थिएँ । सोही मोटरसाइकलमा थकित शरीरको भार अनि थकित शरीरमा निराश अनि थाकेकै मन र मस्तिष्कको भार थियो । गर्मी महिना भए पनि बेलुकाको समय भएकाले टिसर्ट लगाएको थिएँ तर शरीरभित्र भने चिसोको सुइरो रोम रोमबाट छिरिरहेको थियो । चिसोले हो कि समयमा पिसाब फेर्न नपाएर हो जङ्गलको बिचमा पुगेपछि सुसुले बाहिर निस्कन जोड ग¥यो । 

बाइकलाई घुम्ती पार गराएर यन्त्रवत् रूपमा खुला ठाउँमा रोकेँ । सडक छेउमा नै शौच गर्दा हेडलाइट बालेर आउने गाडीले देख्ला भनेर झाडीतिर छिरेँ । पिसाबले अति र एकदम च्यापेको थियो । बाइकमा छउन्जेल त दुई तिघ्राले मस्त च्यापेको थिएँ । बाइकबाट ओर्लेपछि भने झाडीमा पुग्न पनि भ्याइनभ्याइ नै भयो । कटुमा चुह्यो कि पाइन्टमा चुह्यो थाहा छैन तर बाहिर फाल्नुपर्ने सुसुको मात्रामध्ये तुरुक्क पाइन्टमा चुहेको महसुस भयो तापनि धेरै परिमाण चाहिँ पाइन्ट बाहिर नै फालेँ । आँखा चिम्लेर, सारा काम र तनाव बिर्सेर पिसाब फेर्दा साह्रै आनन्द लाग्यो । कहिलेकाहीँ पिसाब फेर्दा लाग्छ वास्तविक जीवन जिउने तरिका यसरी नै हो । आज पनि देहलाई छाड्न खोजेको यो पिसाब बाहिर मिल्काउँदा धेरै सुखानुभूति भयो । मुत्रथैलीबाट पिसाब सकिन सकिन लागेको बेलामा म फेरि आफ्नै दुनियामा फर्केँ । बलले आँखा उघारेँ । भित्रको आनन्दी दुनिया छाडी बाहिर हेरेँ ।

नाइँ ।

म घोप्टो परेँ । टाउकोलाई दुई घुँडाको बिचमा लगेर च्यापेँ । पाइन्टको फस्नर बन्द गर्न भ्याएको थिइनँ । पिसाब तर्र चुहिरहेको थियो । दुई आँखालाई हातका औँलाहरूले छोपेको थिएँ । बल्लतल्ल माझी र चोरी औँलालाई आधा इन्च जति फट्याएर आँखा खोलेँ । हेर्दा त अगाडि एउटा लास झुन्डिरहेको थियो ।

खोलिएका आँखा बन्द भए । मनमा अपस्मार र भयङ्कर त्रास उत्पन्न भयो । को होला ? के होला ? के गर्ने ? कसलाई भन्नेँ ? कसलाई सुनाउने ? कहाँबाट भाग्ने ? केही होसहवास नै थिएन । फेरि न्वारनदेखिको हो कि बच्नु नै पर्ने कारणले हो शरीरको सबै बल र हिम्मत लिएर आँखा उघारेर हेरेँ । केटी मान्छेको लास । एउटा पोयोले घाँटी मस्केको । मान्छेको जीवन शरीरको एउटा पोयोमा सास फेर्दै अल्झन्छ अनि एउटा बाहिरी पोयोले घाँटी मस्कायो भने त्यही सास बाहिरभित्र गर्न नसकी चट पनि हुन्छ । अघि आँखा खोल्न जति गाह्रो परेको थियो अहिले बन्द गर्न पनि त्यति नै बल खर्च गरेँ । बल्ल बल्ल होस सम्हालियो । होस सम्हालेपछि मनले बुद्धिलाई र बुद्धिले मनलाई भन्यो, “एकक्षण धैर्य गर ।” मन र मस्तिष्क नियन्त्रित भएपछि होस सम्हालेँ ।

नाता पर्ने मान्छे होइन । चिनेको मान्छेभित्र रहेको पनि बुद्धिले ठह¥याएन । ऊ हो केटी मान्छे । यतिमात्र जान्न सकेँ । कपालको अगाडिको भाग आई मुखको केही भाग छोपिएको छ । ¥याल मुखबाट बाहिर निस्की बगेर ओठबाट एक एक थोपा गरी चुहिन लागेको छ । नाकबाट निस्किएको सिँगान पनि तुन्द्रुङ्गेको छ । कसको सन्तान होला ? कसकी छोरी होला ? कसकी दिदी, बहिनी, पत्नी वा आमा होला । पाइन्टको बगलीमा भएको मोबाइल निकालेँ । मोबाइल खोलेर स्क्रिनको उज्यालो मुखदेखि लिएर गोडामा पारेँ । सिउँदोमा सिन्दुर देखेँ । कानमा सुनका टप, नाकमा फुली, गलामा सिक्रीको माला, हातमा बाला, बायाँ हातको साहिँली औँलामा सुनौलो औँठी र गोडामा पाउजु । रातो रङको कुर्तामा सेतो तर निख्खार होइन सल देखेँ । हरियो सुरुवाल अनि पहेँलो तर पूरै होइन जुत्ता थियो । एउटा जुत्ता फुस्किएर तल झरेको अर्को गोडामा नै थियो ।

झुन्डिएको मानिसको आकृति नियालेपछि मनले भित्रभित्रै गम्न पुग्यो, “मर्ने मानिसको संसारमा कोही नै कोही नाता छ । कसको नातासम्बन्धी पर्ला ? मरेको खबर कसलाई गर्ने ? कहाँ गईदेखेको घटना सुनाउने ?”

“ओहो ! यो त मरेको मान्छे ।... मरेको कि मारिएको ? हँ... म यहाँ किन बसिरहेको ? कतै यहाँ मेरो निगरानी भइरहेको रहेछ भने । मलाई मारेको आरोप पनि त लाग्न सक्छ नि । होइन, मैले समयमा नै भाग्नुपर्छ ।” मैले आफूलाई त्यस ठाउँ र घटनाबाट सहसा उम्काउन खोजेँ । देखे पनि नदेखेजस्तै गरी, थाहा पाए पनि नपाएझैँ गरी, अरूले कुरा गर्दा पनि पत्तो नभएकोझँै गरी ।  

“अहँ, म भागे पनि मेरो आत्मा भाग्छ र ? मेरो आत्मालाई मनले ढाँट्न सक्छ र ? अहँ म भाग्नु हुँदैन । मैले त जे देखेँ प्रहरीलाई खबर गर्नुपर्छ ।” बल्ल मेरो बुद्धि ठेगानमा आउँदै छ ।

फेरि प्रहरीले मलाई तँ किन र कसरी त्यहाँ पुगिस् भन्दै जलहारीले जलमा भएको माछा जालमा पारेजस्तै गरी प्रश्न सोध्यो भने ।  

पिसाप फेर्न ।

रातको समयमा सडक छेउमा पिसाप नफेरी जङ्गलमा किन ?

लाज लाग्ने भएर ।  

लाज लाग्ने मानिस केटीमान्छेको अगाडि गई पिसाप फेर्छ त ?

पिसापले अति च्यापेको हुनाले मान्छे नहेरी पिसाप फेरँे ।

सामुन्नेमा रहेको मानिस देखिएन रे ?

मैले देखिनँ । मलाई पहिले पिसाप फेर्नु थियो ।  

होइन, यो हुनै सक्दैन । मलाई तेरो कुराप्रति शङ्का छ । तँ आफूलाई कानुनबाट बचाउन निर्दोषिताको प्रमाण दिन खोज्दै छस् ।  

कसम सर ! म वरपर हेर्छु । दुईजना प्रहरीले मेरो टाउकोमा लक्षित गरी पेस्तोल ताक्छन् । मलाई दुवै हात ठाडो बनाउन लगाउँछ । अर्को एक प्रहरीले कम्मरमा भएको हतकडी निकाल्छ । मेरो हात तल झार्छ । हातमा हतकडी लगाउँछ । हातहतियार छामछुम पार्छ ।  

उफ् ! मैले पनि के नचाहिँदो कुरा सम्झेको होला । म हात टाउकोमा लान्छु । केही क्षण मन शान्त बनाउँदै गम्भीर भई सोच्छु, “यसरी फस्नुभन्दा त भाग्नु नै जाति छ । देखेको कुरा जत्ति बिर्सनु नै राम्रो हुन्छ ।”

बिस्तारै फर्केर मोटरसाइकल पार्क गरेको ठाउँमा आइपुग्छु । “मान्छे अदृश्य शक्तिसँग लड्छ तर के म यहाँबाट मनमा आएको डरबाट भयभीत हुँदै भाग्नु ठिक होला त ?” मेरो दिमाग फेरि चक्करिन थाल्छ ।  

म दृढ निश्चय गर्छु । मेरो हातले मोबाइलको स्क्रिन खोल्छ । म स्वाभाविक रूपमा १०० मा डायल गर्छु ।  

“हजुर, प्रहरी कार्यालय ।”, उताबाट जवाफ आउँछ ।

“हेलो ! यहाँ एउटी केटी झुन्डेर बसेकी छ ।” म बोल्छु ।

“के हेरिबसेको त खोलिदिए भइहाल्छ नि ।” उताबाट जवाफ आउँछ ।  

म हत्त न पत्त केटी भएको ठाउँमा पुग्छु ।  

“केटी त मरिसकी त । म कसरी फुकाउन सक्छु ।” म जवाफ दिन्छु ।

“कहाँ ? ... कुन ठाउँमा हो क्या ?”, झर्केको तर दबाबमूलक स्वरमा आवाज आउँछ ।

म दुर्घटनास्थलको पूर्ण विवरण फोनबाट सुनाइदिन्छु ।

अब म घर जाऊँ कि बसूँ । विषम परिस्थिति सिर्जना भयो । घर जाऊँ, प्रहरीले मलाई खोज्ला । नजाऊँ, एक घण्टा भइसक्यो ।  

म आधा घण्टा जत्ति अल्याङटल्याङ गरेर त्यहीँ रहन्छु । प्रहरी आउँछ । झुन्डिएको लास हेर्छ । पहिले अँध्यारो पछि स्मित हाँसो प्रहरीको मुहारमा पढ्छु । 

“ल, भोलिसम्म कुरेर बस्नु । हामी भोलि बिहान आउँछौँ ।”, एउटा प्रहरीले बताउँछ ।

“फेरि कुर्ने । मैले यहाँ कुरेर बस्ने ? त्यसमा पनि म एक्लै । निर्जन यस जङ्गलमा । मेरो मात्र मुटु काम्दैन ?”, भय मिश्रित तर उच्च स्वरमा बोल्न खोज्छु ।

“कसले कुर्छ त ? रातको समयमा किन फोन गरेको त ?” प्रहरी बोल्दा मुखबाट ह्वास्स खोइ केको अमिलो र नमिठो गन्ध आयो । मैले आफ्नै मुख छोपेँ । टाउको थोरै तर नाक कोल्टे पारेँ । अनि भनेँ, “साँच्चै भनेको सर ! मलाई त डर लाग्छ । जिन्दगीमा मैले अझसम्म लास कुरेको छैन ।”

“डर लाग्नेले किन प्रहरीलाई खबर गरेको त ? प्रहरीचाहिँ मानिस होइन । उसलाई चाहिँ डर लाग्दैन ?”, प्रहरीमध्ये एकले हप्काउँदै बोल्यो ।

हँ...। अघि नै भाग्नुपर्ने ? फसिएछ ... नमाज्जाली फसियो । भन्न त भनेको सुनेको थिएँ–दुर्घटनाको साक्षी हुँदा कानुनको फन्दामा परिन्छ भनेर ।

“अँ, नढाटीकन भन त कसकसले देखेको छ ?”, उच्च तहको जस्तो देखिने एउटा प्रहरीले मेरो इज्जत राखेर बोल्यो ।  

“कसैले छैन । मैले मात्र देखेको हुँ । मैले पनि पहिलोपल्ट देखेको हुँ ।”, मैले पनि नम्र स्वरमा नै आफ्नै भाउ राखेर बोलेँ । तर मलाई आफू नै अपराधीको बिला बोकेर बस्नुपर्ने हो कि भन्ने चिन्ताले छोप्यो । आगो बालेको ठाउँमा बसेपछि साँच्चै तातो त लाग्ने नै भो ।

“होइन के, तँलाई चाहिँ यहाँ आएको कसले देखेको छ भन्या ।”, मेरो सोचाइलाई भङ्ग गर्दै उच्च तर टाढा नपुग्ने गरी उच्च प्रहरीले बोल्छ ।  

“म...म...लाई...मलाई...अहँ, मलाई कसैले देखेको छैन होला !” म आफूलाई बचाउन खोज्दै कम्पित स्वरमा बोल्छु ।

“होला कि छैन नै ? अब कान नै थर्कने हाकिम कराउँछ ।”, मेरो कान रन्नन गरी कराउँछ ।  

म पनि झर्कँदै अलि उच्च स्वरले कराउँछु, “छैन ।”

“ल, त्यसो भए घर जानुहोस् । आवश्यक परे भोलि बोलाउँला तपार्इँलाई । हामीले नखोजेसम्म मौन रहनुस् । केही नदेखेजस्तो गरी बस्नुहोस् । केही सुँग्ने प्रयास नगर्नुहोस् ।” हाकिम प्रहरी नम्र, आदर र विनयशील आवाजमा बोल्छ । शिवजी जस्तै प्रहरीको आशुतोष स्वभाव देखी म तीनछक्क पर्छु ।  

म प्रहरीलाई कोल्टे परी हेर्दै पाइला चाल्छु । मेरो गोडा लहराजस्तो केही अल्झोमा अल्झन्छ । म लड्छु । अल्झो फुत्काउन खोज्छु । ब्याग पो रहेछ । व्याग सँगसँगै डायरी रहेछ । म व्याग टिप्दिनँ तर डायरी टिप्छु । म बाइकको गेरमा जोडले एक धक्का हान्छु । बाइक घुइँय कराउँछ । म एक नम्बरको गेरमा बदली घुर्र अगाडि बढ्छु । मन अतबले चलिरहेको थियो । सपनामा छु कि भन्ने पनि आभास भयो । आधा घण्टाको बाटो बाँकी थियो । खाली सडक, मन र बाइक उस्तै गरी चल्यो । झन्डै पन्ध्र मिनेटपछि घर पुगेँ ।  

घर पुगेपछि शौचालयमा छिरेँ । पिसाप आउलाजस्तो भयो । पिसाप फेर्न खोजेँ तर आएन । मन असन्तुलन भएपछि सुसु आएको आभास हुँदो रहेछ तर आउँदो रहेनछ । खाना खान मन लागेन । खाना खान भान्साकोठामा गइनँ । घरको छओटा कोठामा कोही न कोही रहेको देखेँ । मान्छे देखेपछि बोलिन्छ कि भन्ने डरले एकान्त खोजेँ । भान्साकोठामा पत्नी, पढाइ कोठामा इन्जिनियर पढ्दै गरेकी छोरी, बैठक कोठामा आमा, सुत्ने कोठामा दश कक्षामा पढ्दै गरेको छोरो, अर्को सुत्ने कोठामा बुबा र भन्डार कोठामा ताल्चा बन्द थियो । फेरि शौचालय जान खोजेँ । खोइ को छिरेको रहेछ सोधखोज गरिनँ ।  

सरासर पूजाकोठामा पुगेँ । ओछ्याइएको कुशासनमा बसेँ । आँखा चिम्लेँ । “मरेको मान्छेलाई, देवता होइन पूजाकोठामा बसी किन सम्झनू ।”  

पूजा कि देवता कोठा म झुकिएँ । “अँ डायरीमा के होला ?”

स्तोत्र पढ्ने कोठामा छु म । कसको के डायरी होला ? मर्नेको हो कि मार्नेको हो ? या अरू कुनै तेस्रो पक्षको । आ...यहाँ बसेर हेर्दिनँ । मन नियन्त्रित नभएपछि पूजाको कोठा त के कहीँ पनि दिलमा शान्त नहुँदो रहेछ ।

म बाहिर निस्किएँ । बैठक कोठाकै छेउमा अर्को शौचालय थियो । पानी खोलेँ । धर्र आवाज आयो । छातीमा टाासेको टिसर्टभित्रको डायरी झिकेँ । हात कामेको हो कि मन डराएको हो । थाहा पाउन सकिनँ । डायरीलाई काँचो धागोले बाँधिएको थियो । तीनओटा गाँठो थियो । डायरीको रङ सेतो थियो । धागो फुकाएर हेर्न अप्ठेरो लाग्यो । ढोकातिर हेरेँ । चुकुल लगाइएको थियो । ढुक्क हुँदै खोलेँ । पहिलो पाना पल्टाएँ । देशको राष्ट्रिय योजना शीर्षक लेखिएको रहेछ । शीर्षकको वर्णन हेर्न मन लागेन । पाना नै सरसर्ती पल्टाउन मन भयो । दोस्रो पाना पल्टाएँ । नेपाली जनता शीर्षकमा लेखिएको थियो । तेस्रो पाना हेरेँ । नेपालको विश्वप्रसिद्ध स्थलको नाम रहेछ । चौथो पानामा नेपालको सात प्रदेशको नाम र प्रत्येक प्रदेशमा भएका स्थलको नाम वृक्षरेखामा देखाइएको रहेछ । अर्कोमा थियो महिलाको तस्बिर । अर्को पानामा थियो नेपाल आमा । अझै पल्टाएँ । त्यसमा थियो–आत्महत्या ।

 त्यसैगरी पाना पल्टाउँदा एउटा पानामा लेखिएको थियो । केटी नारी हो । नारी आमा हो । आमा देश हो । आमा जननी हो । आमा पालनकर्ता हो । आमाका लागि सन्तान बराबर हुन्छ । आमाका लागि बोल्न सक्ने र नसक्ने, सुन्न सक्ने र नसक्ने, काम गर्न सक्ने र नसक्ने सोझासुधा, धनी र गरिब, अग्लो र होचो, मोटो र दुब्लो, रोगी र निरागी, कालो र सेतो जे भए पनि सन्तान नै हुन्छ । आमा छोराको प्रगति देख्न चाहन्छिन् । आमा छोराको हरेक प्रयासलाई प्रगतिको जनाउ मान्छिन् । आमा स्वस्थ र स्वच्छ छबि भएका सन्तान देख्दा प्रफुल्लित हुन्छिन् । आमालाई रोगी सन्तान हुँदा पीडा पर्छ । चलाक छोरा देख्दा मख्ख पर्ने रहर आमालाई हुन्छ भने भुसिएको छोरा देख्दा रोऊँ रोऊँ भन्ने पीडा पर्छ । त्यसैले सूर्यले घाम दिँदा भेदभाव नगरेजस्तै, आकाशले हेर्ने जेसुकैलाई शून्यताको ज्ञान दिएजस्तै आमा सबैलाई बराबर देख्न र गर्न चाहन्छिन् । मनले सबै सन्तानमा राम्रो देख्न चाहे पनि आमाले सुखी सन्तानको भाग मागेर वा खोसेर दुःखी सन्तानलाई दिन सक्दिनन् । दुःखी छोराका लागि आमा खिन्नता र आँसुबाहेक केही दिन सक्दिनन् । एकातिर छोराको दुःखकष्ट देख्न नचाहने अर्कातिर छोरालाई केही दिन नसक्दाको पीडा भोग्नुपर्ने । द्विविधा नै द्विविधाको बिचमा आमा एउटै रुख देख्छिन् । रुख भोकाएकाका लागि खाना दिने स्थल हो, रुख वासस्थल हो, रुख ओत हो । रुख इन्धन हो, रुख हावा हो । त्यतिमात्र होइन रुख जीवन जिउन नचाहने र नैराश्यले भरिएकाका लागि मृत्यु पनि हो । त्यसैले ऊ रुखको हाँगोमा झुन्डिएकी हो ।  

हेरौँ, आमालाई दुःखी वा सुखीमध्ये कुन छोरा वा कसले बचाउँछ ? भोलि बिहान सात बजे हामीले हेर्नु छ । हामी पनि सक्छौँ भने बचाउन तयार होऔँ ल । आमाको नाम अहिले पुत्ला । पुत्ला छोराछोरीको आमा । पुत्ला श्रीमान्की पत्नी । पुत्ला हजुरआमा । पुत्ला जीवन नभएकी । पुत्ला केही गर्न नसक्ने आमा ।

पुत्ला रहेको स्थान सेतो र हरियो पहाडमुनि । सम्म परेको जमिन माथि ।  

हेरौँ, अब कथा कसरी टुङ्गिन्छ । भोलि बिहान जसको जस्तो प्रस्तुति हुन्छ, कथा पनि त्यहीअनुसार टुङ्गिन्छ ।  

त्यसपछाडि डायरीको एक पाना खाली थियो । त्यसभन्दा पनि पछाडि अन्तिम पातोमा लेखिएको थियो–नेपाल मेरी आमा ।

डायरी पढेँ । मन ढुक्क भयो । अब मलाई कुनै डर रहेन । मलाई प्रहरी देखी डर लागेन । मलाई लाश देखी डर लागेन । मलाई कसले के भन्छ वास्ता भएन । बरु मेरो मन फेरि उही रुखमा पुग्यो । मनले सोचेँ– अब पनि म चुप लागेर भयो त ? अब पनि म दर्शक बनेर भयो त ? मेरा सत्य असत्य हेर्ने आँखा छन् । सुगन्ध र दुर्गन्ध छुट्याउने नाक छ । राम्रा कुरा सुन्ने दुई कान छन् । यी सबै ठिक छ छैन भनी छुट्याउने मस्तिष्क छ । खराब हुन नदिने आत्मासहितको मन छ अनि काम गर्नका लागि कर्मेन्द्रिय पनि मसँग नै छ ।

म शौचालयबाट बाहिर निस्किएँ । घरका सबैलाई आमा बचाउन भोलि जाआँै भने । मेरा सबै कुरा सुनी परिवारका सम्पूर्ण व्यक्ति जान तयार भए । मेरो काम अधकल्चो भए पनि केही छैन पछि गर्छु । म त भोलि मैले पाएको डायरीको आमालाई बचाउन जान्छु । मैले दृढ र गम्भीर निर्णय गरेँ ।

प्रकाशित: २ आश्विन २०७७ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App