कला

स्मृतिमा अल्झिएको उल्झन

निबन्ध

बोधराज पौडेल 

 

अहिलेका अभिभावक जस्तो पहिलेका बाआमा पढेका हुँदैनथेँ । उनीहरू साधारण साँवाअक्षरभन्दा ज्यादा ज्ञान कमै अभिभावकमा हुन्थ्यो । त्यसैमा पर्नु हुन्थ्यो मेरी आमा पनि । मलाई सधैं गृहकार्य गर्न लगाउनुहुन्थ्यो । पहिले आमाबासँग सबै केटाकेटी डराउथेँ । अहिले जस्तो काखमा बसेर चेभ्रे घस्ने फुर्सद त्यो बेलाका बाआमालाई हुँदैनथ्यो ।  

मेरो स्मृतिका पुराना केही कुरा अड्किएका छन् । आमाले गृहकार्य दिएपछि त्यो समय चलेको आलु डटपेनले राधाकृष्ण वा लाली गुराँस लेखेको कपीमा लेख्नुको मजा शब्दमा भन्न कठिन हुन्छ । पछि आमाले मलाई राम्रो लेखोस् भनेर हिरो कलम ल्याइदिनुभयो, पच्चीस रुपैयाँ खर्च गरेर । त्यो समय हिरो कमल बोक्ने विद्यालयभरिको पहिलो विद्यार्थी म नै थिए ।

म त्यो बेलाको एउटा प्रसंग संझेर आज पनि एक्लै हाँस्ने गर्छु । मलाई आमाले दिएको कलमले राधाकृष्ण कपीमा केही लेखेर आमालाई देखाएँ । आमाले अहँ तैँले लेखेको मिलेन फेरि लेख भन्नुभयो । मैले हवस् भनेर फेरि लेखे । आमाले हेर्नुभयो । यो अलि ठिकै छ तर राम्रो मिलेको छैन भन्नुभयो । म होला भनेर फेरि लेख्न लागे । 

यसरी मैले लेखेको कुरा म आमालाई बारम्बार देखाउथें । आमा राम्रोनराम्रो भनिदिनु हुन्थ्यो । एक दिन आमाले राम्रो भनेको कुरा विद्यालयमा सरले जाँच गर्दा मिलेन । म त्यो दिन धेरै दुखी भए । घरमा आएर आमाले भनेको नमिलेको कुरा सुनाए । आमा हाँसिरहनुभयो, केही बोल्नु भएन । आमा नबोल्नु भएको कुरा मैले बुझिन । तर पनि मेरो आमाप्रतिको विश्वास मरेको थिएन । मैले लेखेको देखाउने क्रम जारी रह्यो ।

एक दिन ठूलोबुबाको चिठी आयो । आमा हातमा चिठी बोकेर कुदिरहनुभएको थियो । आमा आफैं पढ्ने मान्छे किन होला यसरी चिठी बोकेर कुद्नुभएको मेरो मनमा यो प्रश्न जागिरहयो । मैले त्यो चिठी सरर पढेपछि आमा खुशी हुनुभयो । त्यस च्ठिीको प्रत्युत्तर पनि मैले नै लेखे ।

केही समयपछि मलाई एउटा शब्द आएन । त्यो बेला गाउँमा शब्दकोष हुने कुरै भएन । मैले आमालाई सोधे । आमाले भन्नुभयो यो त म पनि जान्दिन भरे काकालाई सोध भन्नुभयो । मेरो काका त्यो बेला प्राथमिक विद्यालयको शिक्षक हुनुहुन्थ्यो । विचरा मेरो आमा त त्यो बेलासम्म कखरा पनि जान्नुहुन्न रहेछ विचरा, मैले यही बेला जाने । आमाको जाँच गर्ने जुन तरीका थियो त्यो संझेर म अहिले पनि हाँसो रोक्न सक्दिन ।

सिधा लाइनमा लेखिएका अक्षर भएमा त्यो जे लेखे पनि मिलेको र अक्षर लाइनभन्दा तलमाथि भएमा त्यो नमिलेको आमाको जाँच्ने उत्तम तरीका यही थियो । 

मैले आमालाई नजान्ने तपाईंलाई केही आउँदैन कहिल्यै भन्न सकिन । किनभने आफू केही नजान्ने भए पनि छोराले राम्रो पढोस् भनेर मलाई हिरो कलम दिएको गुन म सजिलै कहाँ बिर्सन्थेँ । पछि बिस्तारै आमाभन्दा म धेरै जान्ने भएँ तर पनि आमा तपाईंभन्दा म धेरै जान्दछु भन्न यो मनले कहिल्यै सकेन ।

पछि गाउँमा सरकारले प्रौढशिक्षा कार्यक्रम चलायोे । मैले आमालाई पढ्न भने आमाले पनि मान्नुभयो । अहिले मेरी आमा मोवाइलमा अंक र मेरो नाम हेरेर मलाई फोन गर्नुहुन्छ । बीसबीस गनेर सय पुरयाउने मेरी आमा अहिले कपीमा लेखेर हिसाब गर्नुहुन्छ । मेरी आमाको त्यो लगाव देखेर म खुशीले फुरुङ्ङ हुन्छु ।

अहिले समय फेरिएको छ । मेरा दुई जना नानी छन् । बाह्रतेह्र वर्षका भइसके अझै पनि उनीहरू काखमा बस्छन् । चाहेको लुगा लाउन सक्छन् । मनमा लागेको खान सक्छन् । यो सबै हेरेर म मेरो बाल्यकालमा कहिलेकाहीँ हराउन पुग्छ । हिजोको हाम्रो समय र आजको यो समय कति फेरिएको छ । कहाँ दुई जोर लुगाले वर्ष दिन कटाउनु कहाँ दराज भरिएर कहाँ राखौँ । म यही कल्पनामा कहिलेकाहीँ यसरी हराउछु, जहाँबाट फर्किदा म आफै डराउँछु ।

नयाँ किताबको त्यो बेला कल्पना मात्र हुन्थ्यो । धेरै जनाले पढेका कतिपय किताबको विषय सूची नै हुँदैन्थ्यो । यस्तै किताब पढिन्थ्यो । विषयगत कपी हुँदैनथ्यो । एउटै कपीले सबै विषयको काम गथ्र्यो । अहिले नयाँ किताब, विषयगत कपी र रफका लागि छुट्टै कपीमा लेखेको देखेर म नराम्रोसँगले चिमोटिन्छु । बाह्र रुपैयाँ महिनाको शुल्क तिर्न नसक्दा झन्डै वार्षिक परीक्षा दिन नपाएको पनि संझन्छु । फेरि अहिले नानीहरूलाई महिनामा बाह्र हजार तिरेको संझन्छु । अहो समय कहाँ पुगेछ । आखिर सबैले गर्ने त नानीहरूका लागि नै त रहेछ नि । नत्र मेरी आमाले दुई महिनाको शुल्क तिर्न पुग्ने पैसा किन जाबो एउटा कलममा खर्च गर्नुहुन्थ्यो ।  

संझन्छु समय फेरिएछ । मेरो आमालाई बाह्र रुपैयाँ निकाल्न कति गाह्रो थियो होला त्यो बेला म बुझ्छु । तर आज मलाई बाह्र हजार खर्च गर्न सजिलो त कहाँ छ र तर पनि करले नै सक्छु । महिनामा तीस रुपैयाँ खर्च गर्न नसक्ने मेरी आमाले आज मलाई तीस हजार खर्च गर्न सक्ने बनाउनुभयो ।  यो हरेक आमाहरूका लागि गर्वको विषय हो ।

हरेक आमाले जे गर्छन सन्तानका लागि गर्छन । भोको पेट बोकेर नानीको पेट छाम्ने मात्र आमा हुन जो अरू कसैले गर्न सक्दैन । त्यसैले त आमालाई धरा, धरणीको संज्ञा दिइएको हो । जसले जे पनि सहन सक्छिन्, सक्दैनौ त हामी मात्र । हाम्रो चाहना पूरा नहुदा हामी जति झगडा गर्छौ, रुन्छौ । त्योभन्दा धेरै आमाको मनमा काँडा गडेको हामीलाई पत्तै नहुने रहेछ । धरतीले भल, बाढी, सुक्खा पहिरो सबै सहेको आखिर त्यसै कहाँ हो र ? त्यसैले त कविहरू लेख्छन्–‘ढुंगाको छाती बनाएर कुल्चिएर हिँड्नु छ आफैलाई ।’

मैले जुन समय भोगे । जुन परम्पराको आँगनमा खेले । जहाँको समाजले तोकेको नियम माने । जाडो र गर्मी दुवै धान्ने भोटो र कछाड संझे । अनि जाडोमा अहिले लगाइरहेको न्यानो जकेट संझे । आमाको प्वाल परेको चोलो र धुजाधुजा भएको सारी र अहिले च्यातिन छोडेको चालो संझे । आखिर शरीर त्यही हो । त्यो समय के सारो फाटेको लुगा हैट । अहिले एक जोर कपडा पूरा दुई वर्ष चल्छ । यी स्मृतिमा हराउँदाहराउँदै म कहाँबाट कहाँसम्म पुग्छु जहाँबाट अगाडि बढ्ने धुमिल बाटो त देखिन्छ तर फर्किने बाटो क्षितिज जस्तै मेटिइसकेको हुन्छ ।

अचेल नानीहरुको रोजाइ र चाहना बढेको देखेर म भित्र तोरीको दाना भएको मिठाईको स्वादमा हराउँछु । अहा ! त्यो मिठाईको स्वाद आजको बजारमा पाइने लालमोहन र रसवरीभन्दा हजार गुणा मीठो थियो । समय र चेतना पनि मेरो बजारमा यसरी बिक्दैछ, यहाँ परम्परा, संस्कार र संस्कृति हराउँदै छ, अरु बाँकी भने कालो बनमाराझैं मौलाइरहेको देख्छु ।  

मेरो आकाशका ताराहरू गन्न त म कदापि सक्दिन । तर तारा नजिक भएको कल्पना त गर्न सक्छु नि । हो, जीवनको मझदारमा आमा र नानीहरूको यो प्रेम मेरो मानसपटलमा सदा रहोस् । म विरोधामाषमा कहिल्यै नबाँचेको मान्छे । आमाको स्नेह र नानीहरूको सत्कर्मले नै जीवन सुन्दर बनेको कल्पनाका हराइरहेको छु । एउटा पुरानो स्मृतिमा जीवनको आफ्नै अमिल्दो अमूल्य रंग खोजेर ।

प्रकाशित: २७ भाद्र २०७७ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App