कला

कोरोना महामारी – मृत्युसँग साक्षात्कार

संस्मरण

अन्जना पौडेल अनुश्रुति

 

बिहानैं उठेर नुहाएँ, कपालमा मेहेन्दी राखेर पुनः नुहाएँ । सबै काम सकेर दिउँसोपख आशा छोरीको पसलमा गएँ । आजकल मेरो कपाल अति नै झर्ने थालेको छ । कपाल झर्नबाट रोक्छ भनेर छोरीले भिटामिन इ भएको तेलले टाउकोमा मालिस गरिदिइन् । छोरीले सोधिन्, ‘मामू,  किन हो आज हजुर नुहाएर पनि फ्रेस देखिनुभएको छैन ।’

मानस बाबुको ममी जमुना दिदीले पनि भन्नुभयो,  ‘कस्तो लोजो देखिनु भको बहिनी आज । तपाईको संगैको घरमा बस्ने भाइलाई कोरोना देखिएर कीर्तिपुर अस्पतालमा राखेको छ अरे नि । किन हिँड्नुभ’को बहिनी ?’ उहाँको कुराले मनमा चस्स भयो ।

दीर्घायुमा गएँ – ताराजीले मेरो प्रेसर नाप्नुभयो, नर्मल थियो । लक्ष्मी बहिनी र सुरज सरले भन्नुभो– हजुरको अनुहार सुनिएको जस्तो देखिएको छ म्याम  । सीता दिदीले मन नै चस्स दुख्नेगरी भन्नु भो – तपाईको घरसंगैको मान्छेलाई कोरोना लाको भन्या होइन बहिनी । किन हिँड्नुभ’को ?’

मलाई नैं कोरोना लागेको जसरी गालीको भाषामा भन्नुभो । उताको टोलै सिल गरेको छ । एउटा घरमा देखिएको भएर । तपाईको टोलमा सिल गरेको छैन र बहिनी ।

पहिले निमोनिया भएको थियो । तर, दुई वर्षअघिदेखि रुघाखोकी लागेको थिएन, दीर्घायुको सप्लिमेन्ट खाएपछि  तर प्रेसरको दबाई खाइरहनुपर्ने भएकोले दीर्घायुमा स्वास्थ्य अवस्था चेकजाँच गर्न गैरहन्थें । त्यहाँ गएपछि त्यहाँको वातावरणले गर्दा मानसिक रूपमा पनि स्वस्थ्य छु भनेर ढुक्क हुन्थें ।

मैले भनें, ‘म त हिँडिरहनुपर्छ दिदी । अझै मेरो श्रीमान् झन् बिहानैदेखि अनुगमनमा जानुपर्छ ’ ‘अब नहिँड्नुस् बहिनी बाहिर –उहाँले आदेशको भाषामा भन्नुभयो। उहाँले मलाई मायाले भन्नुभएको हो, कुरा सही पनि हो । तर यसैबाट प्रष्ट हुन्छ कि आममानवको सोचाइ र चेतनास्तर कस्तो छ भनेर । स्वास्थ्यसंस्थामा त योे व्यवहार हुन्छ भने आमसमुदायमा कस्तो व्यवहारको आशा राख्नु र जनताले ।

मनमनैं सोचें–सामाजिक दूरी होइन, भौतिक दूरी भनेर बुझ्नुपर्ने हो मानिसहरूले । मानिसले मानिसलाई समाजबाट नैं बहिष्कार गर्ने अवस्था भैरहेको छ यो समाजमा । यो त राम्रो सन्देश होइन । मृतकहरूलाई आफन्तले समेत छुन नपाउने, सेनाले लगेर डोजरले खनेको खाल्डोमा पुरिदिने । कस्तो आयो समय, संस्कार त पूरै लोप गरायो नि कोरोना महामारीले । संसारभर कोरोनका विमारी थपिएका थपियै छन् ।

घर आएर छिमेकी बहिनी दिक्षालाई म्यासेज गरें । उहाँले भन्नुभयो– कीर्तिपुरमा लगेको छ, हाम्रो पनि रिपोर्ट नगेटिभ आयो दिदी ।’ यो सुनेर ढुक्क भएँ ।

शरीरमा असजिलो महसुस भैरहेको थियो । त्यो दिन सरकारले गरेको पहिलो निषेधाज्ञाको दुई दिनअघि थियो ।

घरमा आएपछि साँझदेखि रुघाखोकी लाग्न शुरू भयो । भोलि गीतको फइनल मिक्सिङ गर्ने हो,स्टुडियो जानुपर्छ है बहिनी । आनन्द कार्की दाइ र शक्तिबल्लभ दाइसंग भएको कुराकानी र योजनाअनुरूप स्टुडियो जानु थियो भोलि । तर रुघाखोकी लागेपछि जाने कुरा भएन । आनन्द दाइलाइ म्यासेज गरें – दाजु, म बिमारी भएँ, जान सक्दिन ।’

कस्तो दिक्क लाग्यो, काम अधूरो हुने भयो भनेर । त्यही रातिदेखि रुघाखोकीले अति च्याप्यो । भिक्स लगाएर, बाफ लिएर टाउको बाँधेर ओछयानमा उठ्ने, बस्ने, ओल्टिने, पल्टिने गर्दै बसें । आँखाबाट आँसु र नाकबाट सिँगान तरतरी बगेको छ । हाछिउँ आएको छ, लगातार खोकी आएको छ । राति कसैलाई बोलाइन । बिहान श्रीमानले थाहा पाएर साइनेक्स दिनुभयो, खाएँ । फेरि बिहानैंबाट पखाला शुरू भयो । सानु छोराले फस्ट एड बक्सबाट मेट्रो झिकेर खान दिए । दिनमा तीनपटक मेट्रो खाँए । पखला पाँच दिनमा रोकियो । तर रुघाखोकी लागेर यतिसम्म भयो कि खोक्दा छुलछुली पिसाव आउने । लगाएको म्याक्सी भिजेर गनाउने, दिनमै दुइटा फेर्नुपर्ने भयो । ओछयानमा पुरानो तन्ना पट्याएर राख्नुपर्ने अवस्था भयो ।तर जरो भनें आएको थिएन । कोरोना होइन भन्ने कुरामा श्रीमान पनि निश्चिन्त हुनुहुन्थ्यो । तर पनि चौध दिन आइसोलेसनमा बसें ।

यसैविच कलेजका साथीहरूँंग कुरा भयो ।  नीतुजीले ठीक हुन्छ, नआत्तिनु भन्नुभयो। विनोद सरले भन्नुभयो–अस्पताल जानुभन्दा नजानैं ठीक हुन्छ, झन् सर्ला भन्ने डर ।’

आफैंलाई पनि जान मन भएन । अस्पताल नगई आफ्नो डक्टर आफैं भएर, उपचार गरें।  

किरण सरले भन्नुभयो– ‘पिर नगर्नु, अहिले यस्तो अवस्था छ । सबै रोकिएको छ । पहिले राम्रोसंग  निको हुनु, पछि सरसल्लाह गरौंला नि ।

कृष्ण अष्टमी आयो, गयो । माइत त यो पाला जाने कुरै थिएन । आमा लमजुङमा हुनुहुन्छ । म विमारी भएकोले मेरो बढी चिन्ता लिनुहुन्छ र फोन गरिरहनुहुन्छ ।  दाजुभाउजूहरूले फोन गर्नुभयो, अझ बढी नरमाइलो मान्नुभयो। मलाई साह्रै नमीठो र नरमाइलो भयो। संसारै शून्यशून्य लाग्यो । माइत त जान पाइन ,पूजा समेत गर्न पाइन भनेर ।

दुई छोराले खाना कोठामै ल्याइदिन्थे, छोराले अति सेवा गरे मेरो, यो बेलामा । खाना रुच्थेन, छोराले मलाई कर गरेरै समयमा खाना, पानी र औषधि खान लगाए । बेसार, नुन, ज्वानो मसला मिसाएको पानी खाने र बाफ लिने गर्दा गर्दा बल्ल अलि ठीक भयो रुघा एघार दिनमा । तर खोकी त लागिरहन्थ्यो । भुटेको ज्वानो चपाइरहन्थें  र तातोपानी हरक्षण पिइरहन्थें । तर शरीर टुक्राटुक्रा पारेर काटेको जसरी करकरी दुखिरहन्थ्यो ।

उठेर हिँड्न लाग्दा रिंगटा लाग्ने, टाउको दुख्ने र आँखा हेर्नैे नसक्ने अवस्था भएको थियो । निद्रामा ऐठन भएर, केले केले घाँटी थिचेको जस्तो भयो, शरीर उठाउन खोज्दा उठ्नै सकिन । चिच्याएँ –लौ मलाई के हुन लाग्या े? मर्छु कि के हो ? दुईचार रातमा लगातार यस्तो भयो । दिउँसै पनि झस्किइने र डराउने भएँ । केही कालो वस्तुले थिचेको जस्तो । टाउको भारी भएर दुख्ने, आँखाको परेलामाथि उठाउन नसक्ने भएँ । उज्यालो त हेर्नै नसक्ने भएँ । 

शोभा सिलवाल दिदीले पनि फोनमा भन्नुभयो, ‘सिरानीमुनि साँचो राख्नु बहिनी।’ मनको सन्तोषको लागि राखें  ।

दिदीलाई फोनबाट यो कुरा भनें । मेरो दिदीले भन्नुभयो–कमजोरीले पनि होला ।  भगवानको बिगुती लगाएर सुत अनि भगवानको पुस्तक सिरानीमुनि राखेर सुत। दाजुसाग् फुक न न सानु । मनको सन्तोष त्यही गरें विश्वास भनूँ कि अन्धविश्वास । आफूलाई परेपछि आफ्नैं मन शान्तिका लागि गरिदो रहेछ यस्तो पनि ।

दाजुले सपनामा पाएको ज्ञानले फुक्नुहुन्छ । म्यासेन्जर कल गरेर तीनपटकसम्म दाजुले फुकिदिनुभयो । अलिक हलका महसुस भयो । तर दाजुले नैं भन्नुभयो, ‘ कमजोर भएर हो नानु –पोषिला खानेकुराहरू प्रशस्त खाऊ र आराम गरे ठीक हुन्छ ।’सनम बहिनीले पनि फोन गरिन् । मुनु छोरीले संधै फोन गरिरहिन् ।

सन्जालबाट टाढै थिएँ । कोठाभित्रै बिस्तारै हिड्दै दिएँ । बिमारी भएको बाह्रौं दिनको साँझपख थियो । श्रीमान् अफिसबाट आउनुभयो र भन्नुभयो–‘घिमिरे बा त बित्नुभएछ नि है ।’

हो र मलाई त थाहै थिएन । सन्जालभरि सबै त्यही छ समाचार छ त, हेर न । यो सुनेपछि मन सिरिङ्ङ भयो । ओछयानमा थचक्क बसें । अति स्तब्ध भएँ । बुबासंग भेटेका हरसमय संझिएँ । के गर्नु मानिसको चोला जन्मसंगै मृत्यु जोडिएर आएको हुन्छ । एक सय दुई वर्ष बाँच्नु कम हो र  तर  मनले मान्दो रहेनछ । आफैं अहिले मर्छु कि बाँच्छु भनेर दोधारमा बसिरहेको बेलामा बुबाको मृत्युले विचलित बनायो केही समय ।

सन्जाल हेरें , सबैतिर त्यही समाचार छ  – राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन । मैले पनि आफ्ना फेसबुकमा भएका फोटा राखेर  श्रद्धान्जली लेखें ।

केके भावना मनमा पलायो । हात कँपाईकँपाई एउटा कथा लेखें । भोलि बाबुको मुख हेर्ने दिन सान्दर्भिक हुने ठानेर एकै बसाइमा  मेल गरिदिएँ,  –‘चरीको चिठी’ लेखेर विनासम्पादन नागरिक दैनिकका लागि  श्रीराम राईलाई पठाएँ ।

श्रीराम राईले म्यासेन्जर कल गर्नुभयो–मैले श्रीरामलाई मेरो बिमारी अवस्थाबारे बताएँ । उहाँले तपाई त लमजुङे चेली हुनुहुन्छ अन्जनाजी । फेरि घिमिरे बुबासंग धेरै नजिक भएर काम गर्नुभएको । झन् कति पीडा होला !’

शरीर कमजोर नैं छ , हात काँपिरहेका छन्  तर आत्मविश्वास जगाएँ । आज नेलेखे कैले लेख्ने ?  म मरें भनें मेरा मनका कुरा कस्ले थाहा पाउने  अनि कस्ले लेखिदिने ? एकाएक ममा ऊर्जा बढेर आयो र लेखें मन भारी हुँदै बुबाको अन्तिम सम्झना श्रद्धान्जलीस्वरूप –‘फूलको थुँगा बहेर गयो गंगाको पानीमा’ र  इमेल पठाएँ ।

मनले बाँच्ने आशा हारिरहेको, होसले ठाउँ छोडेको बेला पनि मलाई लेख्न प्रेरित गर्नुभयो । अझ भनौं शब्दको माध्यमबाट बाँच्न हौस्याउनुभयो । म शुभेच्छुक श्रीराम राईप्रति आभारी छु ।

एउटा कुरा भन्नै विर्सिएछु –बिहानैं हरिराम दाजुले फोन गर्नुभयो–बहिनी कता छौ? घिमिरे बुबाको श्रद्धाञ्जलीका लागि आर्यघाटमा जान्छ्यौ ? मैले भनें –दाजु म आफैं बिमारी भएर आइसोलेसनमा छु ।  

तीजको दिनमा बिमारी भएको सोह्रौ दिन थियो । न त अघिल्लो दिन दर खानु, न त नाच्नु गाउनु ? त्यो दिन मलाई ब्रत बस्न र पूजा गर्न मन लाग्यो । नहाएर पूजा गरें ,ब्रत बसें ।

ब्रत बसेको दिन सुत्नु हुँदैन, बरु भजन सुन्ने, गीत गाउने गर्नुपर्छ भन्ने  संस्कार सुन्दै , सिक्दै र पालना गर्दै आएकी म । सासूआमासंगै ब्रत बसेर पूजा गरें ।

यसो सोचें – म मरें भनें पनि जीवित रहनुहुने मेरा शुभचिन्तक, आफन्तहरूका लागि चिनो  छोडेर जान्छु । बाँचें भने सम्झना हुनेछ । नाँच्न रहर त संधै लाग्छ ।  

त्यो बेलामा हेटौेडामा ससुरा र नन्दद्घारा हल्या गरिएकी सुस्मितालाई संझें । अरू त अरू उनकी आमालाई उनको टिकटक जीवनभरको लागि चिनो भएको छ ।  

अति कमजोरी भएको भए पनि केही गीतका टुक्राटुक्रा नाचें । टिकटकमा राखें,मेरो युट्युवमा पनि राखें, फेसबुकमा राखें ।

तिजको दिन बेलुका आरती गरेपछि श्रीमान्ले फलफूल र दूध त खाउ भनेर कर गर्नु भयो। खाएँ , तर त्यही  रातिबाट रुखाखोकी र दिसा चल्यो । दिसा रोक्न मेट्रो खाएँ रातिबाट नैं ।मधवन फार्मेसीबाट एन्टीबायोटिक ल्याएर तिन दिन खाएपछि भोलिपल्ट राति खलखली पसीना आयो । बिउँझिएँ शरीर कपास जस्तै हल्का र छ्याङ्ङ भएको थियो । 

पसिना आए पछि विमारी निको हुन्छ रे भन्ने सुनेकी थिएँ । अव त म निको भएँ , म बाँचे भनेर खुसी हुँदै ओछयानमा पल्टिइरहें । अचानक मृत्युको मुखबाट फर्किए जस्तो लाग्दैछ मनमा ।

खुसी भएको रमाएको मात्रै मेरा शुभचिन्तक आफन्तहरूलाई देखाउन चाहन्थें । तर नाचेको भिडियो हेरेपछि कसै कसैकसैले बिमारी भएको विश्वास गर्नु भएन । आफ्नो अवस्थाा यस्तो भएको थियो । ठीक भएपछि फोटो फेसबुकमा राखें । बिमारी भएको फोटो किन फेसबुकमा राख्नु भको भनेर सानु छोरा रिसाए ।

वरिष्ठ गायिका मिरा राणा दिदीको घर हाम्रो घरबाट दुई घर उता छ । दिदीले मेरो स्वास्थ्य अवस्था सोध्न फोन गरिरहनुभयो। दिदीको यो स्नेह र मायाले मनमा ढाडस मिलिरह्यो  । प्राय छतबाट हाइहेल्लो हुन्छ हाम्रो । सायद दिदीले मिस गर्नुभएको होला, मलाई छतमाथि नदेखेर । सत्यराज आरसी भाइले पनि हालखबर सोधिरहनुभयो । 

मेरो दिदी सावित्री शर्माले पनि फोन गरिरहनुभयो । अनेक उदाहरण दिदैं ठिक हुन्छ नआत्तिनु भनेर भिनाजुले पनि ढाडस दिनुभयो। यसै बीचमा सावित्री दिदीले मलाई भन्नुभयो– हाम्रो संस्था मार्फत ह्वीलचेयर र खाद्यान्न सहयोग पढायौं बहिनी । दृष्टिविहीनन भाइ वासुदेव अधिकारी मार्फत् अपाङ्गता भएका व्यक्तिहरूका लागि । यो सुनेर निकै खुसी लाग्यो । सेवा नैं धर्म हो । आफू बिमारी हुँदा पनि यस्तो राम्रो खवर सुन्न पाउँदा अति खुसी लाग्यो र खुसीले यसरी रोएँ कि रोएपछि मन हल्का भयो । 

चितवनबाट धनराज गिरी बाले पनि मेरो स्वस्थ्य अवस्थाबारे सोधिरहनुभयो । उहाँको आशीर्वादले पनि निकै ऊर्जा मिल्यो ।

सोचें मैले बाँच्नुपर्छ । आत्मविश्वास जगाएर उठ्नें साहस जुटाएँ । मेरा दाजु सूर्यकान्त भारतको मुम्बईमा बस्नुहुन्छ ।  उहाँ भर्खरै मात्र कोरोनामुक्त हुनुभएको छ । भाइ पूर्णकान्तको पनि फोन आइरह्यो । मेरी ज्योति दिदी, राजेन्द्र खनिया दाइले पनि फोन गरेर हालखबर सोधिरहनुहुन्छ ।  मलाई संझने आफन्त धेरै हुनुहुन्छ । उहाँहरूसबैलाई सम्झिरहेकी छु । यहाँ नाम छुटेका हुन सक्छन् तर मनले सधैं संझिरहेकी छु । हजुरहरूको माया, स्नेह र हौसला नै मैले  पुनजीवन पाएको छु ।  । कोरोना भगाएर बाँच्ने आधार भएको छ  ।

शारदा माइजूले अमेरिकाबाट मेसेन्जर कल गरेर भन्नुभयो, ‘ नआत्तिनु भान्जी , यस्तो विदा नै नदिने ठाउँमा त हामी हिम्मत जुटाएर काम गर्दैछौं । रेणुकाजीले विकेजीलाई हस्पिटल लाने – ल्याउने गरेको छु भन्नुभयो। साँच्चैं उहाँहरू त यसरी संघर्ष गर्दै हुनुहुन्छ भने मलाई त ठीक हुन्छ भन्दै हिम्मत जुटाएँ । मेरी प्रिय साथी संगीतकार रेखा पौडेलको घर पनि नजिकै छ तर आउने अवस्था छैन । उहाँले म्यासेन्जर कलबाट भन्नुभयो, ‘चिसो लागेर होला ज्वानो र मेथी पड्काएर टाउकोमा ठोक्नु अनि घाममा बस्नु त ठीक हुन्छ । मेले त्यसै गरें । त्यसपछि अलि ठीक भएको महसुस भयो ।

जनार्दन सर, शशी दिदीले पनि म्यासेन्जकलमा ढाडस दिनु भयो, ‘हिम्मत नहार्नु, केही हुँदैन ।’

जितेन्द्र र केशव सर, रुक्मिणी म्याम पनि आइसोलेसनमा हुनुहुन्थ्यो ।  लेखहरू छाप्न सकेको थिएन । मेरी प्रिय दिदी लक्ष्मी उप्रेतीले पनि म्यासेन्जरमा भन्नुभयो–आराम गर्नु बहिनी सबै ठीक हुन्छ । फोनबाट सुधा मैनाली म्यामले पनि मलाई ऊर्जा थप्ने कुरा गर्नुभयो  ।

पोखराबाट रामभक्त जोजिजुजीले गीत रेकर्ड भएको लाइभ गरें भनेर म्यासेज गर्नु भयो। बेलुका हेरें । खुसीले निशव्द भएँ, मात्र खुसीले आँखा रसाए । आनन्द दाजुले पनि गीत युट्युवमा राखौं बहिनी भनेर फोन गर्नुभयो । अब त शुभ समाचार आयो, म धेरै पुलकित भएकी छु ।

सबैको माया, स्नेह  र शुभ आशीर्वाद पाएर आज धेरै खुसी भएकी छु । सकारात्मक सोचाइले परिणाम पनि सकारात्मक आउँदो रहेछ ।

हे भगवान तिमीप्रतिको आश्था विश्वास कहिल्यै डगमगाउन नदेऊ । परीक्षा लिइरहन्छौ, फेरि पास गरिदिन्छौ । त्यसैले त मरिसकेको विश्वास पुनः जागेर जिउने रहर पलाएको छ ।

बाँच्न र खुसी हुन ससाना कुराले पनि हिम्मत जुट्ने रहेछ, ऊर्जा मिल्ने रहेछ । यति धेरै माया , स्नेह र आशीर्वादले आज म बौरिएँ । अझ भनौं नयाँ जुनी फेरें जस्तो महसुस गर्दैछु ।

विमारी अवस्थामा हुँदा प्रायः आमाको काखमा निदाएको कल्पना गर्दै ओच्छ्यानमा पल्टिइरहन्थें । आमालाई संझदा अलि बढी आनन्द महसुस हुन्थ्यो ,शरीर र मनमा । भगवानसंग मनमनैं प्राथना गर्थे– अहिल्यै नलगिदेऊ भगवान्, मेरा छोरा टुहुरा हुन्छन् ।

जब ओछ्यानमा पल्टिइरहेकी हुन्थें– मलाई माया गर्ने र नगर्ने सबै मानिसहरूलाई संझिरहें। आखिरी बाँचुन्जेलको झझल्को र मरेपछि सम्झना त रहेछ जिन्दगी ।

कवि नवराज पराजुलीको कविता अंश याद आइरहेको छ –

म मर्छु जस्तो लागेको दिन तिमीलाई सम्झन्छु !

म बाँच्छु जस्तो लागेको दिन पनि तिमीलाई संझन्छु !!

प्रकाशित: २६ भाद्र २०७७ १०:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App