कला

कुरूप समयको बयान

कविता

मीनकुमार नवोदित

 

घाँटीमा तरबार झुड्याएर  

शताब्दीको ढोकामा

ठिङ्ग उभिएको छ समय ।

 

मौसमबाट बलात्कृत भएको छ फूल

काँडाको टुप्पोमा उभिएर  

रातले गरिरहेछ जीवनको अन्तिम भाषण  

बादलको जुत्ता लगाएर  

विश्वयात्रामा निस्किएको छ बतास ।

 

हुरीको ढाडमा चढेर  

सत्ताको भरयाङ चढिरहेछ आँधी

शीतसँग चिप्लेटी खेल्दै  

घामले गाइरहेछ आतंकको गीत  

जूनले लेखिरहेछ  

अँध्यारोको आत्मकथा

बगाइरहेछन् ताराहरूले

पीडाको आँसु ।

 

सभ्यताको आदिम पर्खाल भत्काउँदै  

पसेको छ बस्तीमा बाढी

पानीको जंगलभरि लागिरहेछ  

विचारको डढेलो

हिउँको आगोमा  

पोलेर खाइरहेछ सिकारीले  

युगको मुटु, कलेजो र फोक्सो ।

 

एक्लै हिंड्न डराइरहेछ सडक

किनारबाटै असुरक्षित छ नदी

जरादेखि नै त्रसित छन्  

लस्करै उभिएका आदिवासी रुख  

भक्तसँगै सशंकित छ भगवान् ।

 

कुरूप समयको शय्यामा  

यतिबेला छटपटाइरहेछ  

रोगले ग्रस्त बूढो पृथ्वी  

उपचार गर्न नसकेपछि  

गालामा हात राखेर  

प्रयोगशालाको कुनामा  

झोक्राइरहेछ विज्ञान ।  

प्रकाशित: २४ भाद्र २०७७ ०५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App