प्रकाश घायल
१) मनको सत्ता पल्टायौ र जोक्कर दहर बनायौ
यो दिललाई नदी किनारको ढुङ्गे बगर बनायौ
छालसँगै बगेर सागरको लहर चुम्न खोज्नेले,
आखिरमा घायल मुटुलाई सुन्दर शहर बनायौ।
२) रारा ,फेवा ,पोखेर आँखामा छर्कन सकिन
उज्यालोको भरोसा जूनसँग तर्कन सकिन
खुशी बोकेर प्यारा दोबाटामा उभिदा समेत,
कस्तो परिबन्दमा फसिएछ फर्कन सकिन।
३ं) यता भोकभोकै थिए उता भात थियो
मुटुभित्र व्यथा आँखामा बसार्त थियो
तगारो बीचमा पनि, तिमी भेट्छु सधैं,
आखिर भरोसा भन्नु तिम्रै हात थियो।।
४) लागेर धुरी चढ्नु हुँदैन
अहंकार अनि चुरीफुरी बढ्नु हुँदैन
सम्हाल गुलाफजस्तो जवानीलाई,
मुटुभित्र वचनको छुरी गढ्नु हुँदैन।।
५ ) सामाजिक बार बार्नु थियो अलिअलि
पिरतीको फूल सार्नु थियोे अलिअलि
धेरै खोजे तिमीलाई भेटिन खै शहरमा,
सँगै बसेर धीत मार्नु थियोे अलिअलि।
प्रकाशित: २२ भाद्र २०७७ ०६:५७ सोमबार