कला

अरूको कमजोरीलाई हँसीमजाकमा बदल्नु हुन्न

संस्मरण, जीवनशैली

नन्दलाल आचार्य

 

म अबुझ संसारमा छँदा रेडियो नेपालको एक कार्यक्रमकी सञ्चालिका सरिता लामिछाने कार्यक्रमको अन्त्यमा सधैँ भन्ने गर्थिन्– ‘व्यस्त बन्नुस्, स्वस्थ रहनुस्’ । उनको कर्णप्रिय स्वर सुन्न लालायित हुन्थेँ तर त्यो भनेको के हो, त्यसबेला ठम्याउनै सक्तिनथेँ ।

नबुझे पनि अन्तिम वाणी सुन्न चित्त व्यग्र हुन्थ्यो । त्यसपछि कार्यक्रम नै समाप्त हुने भएकाले कार्यक्रमको प्रारम्भदेखि नै छुट्टिनुपर्छ भन्ने भय हुन्थ्यो । उनी चेतनामूलक कार्यक्रम चलाउँथिन् । चेतनामूलक भनेपछि मलाई खूब मन पथ्र्यो । अहिले त हामी चेतनाहीनताले गाँजेको समयसँग हातेमालो गर्दै छौँ । उत्तिखेर त चेतनाको खाँचो टड्कारो रूपमा देखिने नै भयो ।

सधैं शिक्षा, शिक्षण विधिप्रविधि, अभिभावक शिक्षा र साहित्यका विविध पाटाहरूमा घोत्लँदा – घोत्लँदै अचेल भने दीर्घरोगको पञ्जामा फसियो । कस्तो जीवनशैली अपनाउँदा दीर्घरोगबाट मुक्ति मिल्ला भनेर खोजी गर्न थालियो । कम्तीमा हात मात्र चल्न सके कमाइ गरेर खान सकिन्थ्यो भन्ने विचार जन्मियो । आफूलाई आपत् पर्दा मात्र ‘व्यस्त रहनुस्, स्वस्थ रहनुस् !’ भन्नुको तात्पर्य बुझ्दै गएँ ।

एकपटक मिर्चैया, सिरहाको कुनै बोर्डिङ स्कूलमा पढाउने पुराना शिक्षक मित्र रमेश साह मकहाँ आए । मैले सकसले शब्द उच्चारण गरेको देख्दा उनी छक्क परे । मेरो शारीरिक दीनहीन अवस्था देख्दा मन दुखाए । म लौरो टेकेर बाङ्गो उभिएको देखेर आँखामा आँसु टिलपिल बनाए ।

उनले हत्त न पत्त भने, ‘आफ्नोआफ्नो कर्मको फल सबैले भोग्नैपर्छ ! म पनि निष्क्रिय जीवनपद्धति अंगालेको फल भोग्दै छु । यत्तिखेर धेर मोटाएर रोगको मालिक बनेको छु । तपाईं पनि भोग्नुस् ।’ यसो भन्दै उनले अर्कातिर मुन्टो फर्काएर आँसु पुछे ।

म छक्क परें र मुखबाट आवाज निक्लेछ, ‘हैन के भन्नु भएको सर ! सधैँ बोर्डिङ स्कूलको पेलानमा रहेर जीवन चलाएकै हो । पाँच तलामाथि ओहोरदोहोर गर्दागर्दै श्वास फेर्न पनि पाइन्थ्यो । सामुदायिक स्कूलमा प्रवेश पाएदेखि श्वास फेरिँदै थियो । भ्वाक्कै लडियो ।

चारचौरास पुगेर जम्ला हात गरेँ । ओखतिमूलोमा सर्वस्व गुमाउँदै गएँ । दुर्भाग्य भनेजस्तो सुधार भएको छैन । भए पनि कछुवा गतिमै हुँदै छ । अझ कहिलेकाहंी प्रेसर बढेर सगरमाथा नै छुन खोज्छ । यत्ति नै पो हो कि जीवनजस्तो बनाउँछ ।’

मेरो बोली टुङ्गिन नपाउँदै उनले कटु वाक्य निकाली हाले, ‘त्यही त भनेको ! सरकारी मास्टर बनेर कुरो बिग्रियो । सरकारी ओहदा नपाउँदा जो पनि भ्रष्टमुक्त हुन्छ । सरकारी रथ हाँक्न थाल्यो भने ऐसआराममा भुल्छ । सातपुस्तालाई धन बटुल्न व्यस्त हुन्छ । अन्ततः भ्रष्टचारमा मुछिन्छ । हो, तपाईं पनि त्यही बाटामा हिँड्नुभयो । पुरानो व्यस्त जीवनशैली छाड्नुभयो । नयाँ खुकुलो जीवनशैलीको मालिक हुनुभयो । प्रतिफल सामु छ, पक्षाघातले नराम्ररी थलिनुभयो । अनि, दशतिर भौतारिएर उपचारको खोजीमा डाक्टर–वैद्यहरू जाँच्दै हिँडिरहनुभएको छ ।’

जीवनको तीतो सत्य सुन्नुपर्दा मन क्षणिक अशान्त भयो । पीडितलाई अझ पीडा थप्न किन आउनुपरेको हो कुन्नि भन्ने लाग्यो । यद्यपि उनका तर्कहरू स्वीकार्नै प¥यो । किनभने ती सबै सही कुरा थिए । म अलिक सुविधाभोगी भएकै थिएँ । पहिले योग, ध्यान र प्राणायामका लागि समय दिन्थें । पढ्न र लेख्न पनि उत्तिक्कै व्यस्त थिएँ । स्कूल, कलेज पढाउँदा उत्तिकै चनाखो रहनुपथ्र्यो । पत्रपत्रिकाहरूमा रचनाहरू लेख्नुका अतिरिक्त ‘मूलबाटो’ साहित्यिक पत्रिका र ‘शिक्षा–दीक्षा’ शैक्षिक मासिक पत्रिका सम्पादन समेत गर्थेँ । बिहानदेखि नै दौडधुप सुरु हुन्थ्यो, रात नौ बजेसम्म सोही क्रम चलिरहन्थ्यो । अहिले सरकारी मास्टर बनेपछि सबै काम छुटे । जीवनले तीतो स्वाद लिनुपरिरहेछ । 

यता आएपछि खाली एउटा स्कूलमा चार घण्टी पढायो, खाना पकायो, खायो, विस्तरामा पल्टियो र समय बितायो । उकालो चढ्नु पनि थिएन, ओराली झरूँला भन्ने त्रास पनि थिएन । त्यही आनन्दमा शरीर रोगाएछ । अलिकति तनाव पर्नासाथ हावाको झोक्काले रूख गल्र्याम्मगुल्र्लुम ढलेझैं ढल्न पुगें । उठ्न जमर्को गर्दागर्दै वर्ष दिन बिते । न उठ्न नै सकिएको छ न ढलेको ढल्यै गर्न पाइएको छ । न यताको न उताको पो भइएको छ ।

उनै रमेशले राजीव दीक्षितका स्वास्थ्यसम्बन्धी प्रवचन सुन्न भनेँ । स्वामी रामदेवले सिकाउने पतञ्जली योग, प्राणायाम गर्न सल्लाह दिए । अर्जुन गौतमले आफैँ कसरत गर्ने विधिविधान फोनबाटै सम्झाए र बेलाबखत सोधपुछ गरी हालखबर बुझ्दै गएँ ।

अर्का मित्र ध्यान निर्दोष उर्फ रामकुमार चौधरीले भने दार्शनिक ओशोद्वारा प्रतिपादित बिहानको डाइनामिक ध्यान, बेलुकाको कुन्डिलिनी ध्यान र अरू बेला सक्रिय ध्यान गर्न सल्लाह दिए । यी सबै कुरा इन्टरनेट युटुवमा पाइँदा रहेछन् । खोजीमेली गरी म पनि तिनमै डुब्दै गएँ, गइरहेको छु र सम्झिरहेको छु– सास रहेसम्म ठीक हुने आश राखेर भविष्यमा पनि सक्रिय जीवन बनाइरहने छु ।

त्यसैले यसपटक मैले एउटा जीवनशैली सुनाउने धृष्टता गरेको छु । यसलाई मनन गरी अपनाउन सके मजस्तो दीर्घरोगी बन्नुपर्दैन भन्ने लागेको छ । मलाई लाग्छ– यी कुराले प्रभाव पार्ने छ । सक्रिय जीवन जिउने प्रेरणा दिने छ ।

तीन हजार वर्षपूर्व महर्षि वाग्भट्टद्वारा रचित ‘अष्टाङ्ग हृदयं’ पुस्तकमा स्वस्थ रहने उपाय बताइएको रहेछ । ‘अष्टाङ्ग हृदयं’ ग्रन्थलगायत अन्य आयुर्वेद ग्रन्थमा भनिएको छ– पित्त, वायु र कफको असन्तुलनले मान्छेलाई रोग लाग्छ । यी त्रिदोषलाई सन्तुलनमा राख्न सके कहिल्यै रोगी हुनुपर्दैन । निद्राले पित्तलाई सन्तुलनमा ल्याउँछ । त्यसैले पर्याप्त समय सुत्नुपर्छ । मालिसले वायु कम हुन्छ । त्यसैले मसाज, कसरत, ध्यान, योग, प्राणायाममा समय खर्चनुपर्छ र उल्टीले कफ शान्त हुन्छ ।

यसैबाट प्रभावित मैले अपनाएको र अपनाउन रुचाएको जीवनशैली यस्तो छ– रातमा सुत्नुअघि दाँत सफा गर्छु । बिहान उठ्नासाथ चिया पिएजस्तो गरेर मनतातो पानी टन्न पिउँछु । खाना खानुभन्दा आधा घण्टाअघि र खाना खाएको डेढ घण्टापछि मात्र पानी पिउँछु । खानासँगै वा खाना खानासाथ तरल पदार्थ पिउनै परे तरकारी÷दालको रस पिउँछु । अरू कुरा भने बिहान घरमै बनाएको मौसमी फलको रस, दिउसो दही वा लस्सी (हृदयरोगी नहुँदा) र रातमा मनतातो गाईको दूध पिउने गर्छु ।

फ्रिजको पानी कहिल्यै पिउँदिनँ । पंखाको हावामा धेरैबेर बस्दिनँ । दिउसो चिसो पानी पिउनै परे बरु माटाको भाँडामा राखिएको चिसो पानी पिउँछु । बिहान सूर्योदय भएको ३ घण्टाभित्र खाना खाइसक्छु । आफ्नो रुचिको नभए पनि पोसिलो खाना पेटभर खान्छु । दिउँसो हल्का नास्ता गर्छु । र, २०–४० मिनेट मात्र आराम गर्छु ।

संभव भएसम्म रातको खाना सूर्यास्तपूर्व नै खान्छु । खाना खानासाथ कम्तीमा पनि ५ सय कदम सुस्तरी हिँड्छु । खाना बनाउन भरसक फ्रिज, माइक्रोवेव, ग्याँस चुलो, प्रेसरकुकर तथा एल्मुनियमका भाँडाको उपयोग गर्दिनँ । संभव भएसम्म दाउरा चुलाकै प्रयोग गर्छु । खाना पकाउँदा हावा आउजाउ हुने ठाउँमा भाँडाको मुख नछोपी पकाउँछु । रिफाइन तेलको प्रयोग कहिल्यै गर्दिनँ । आफ्नै बारीमा उब्जने  सर्सिउँ, तोरी, तिल, आलस आदिको तेल प्रयोगमा ल्याउँछु ।

खानामा आयोडिन नूनको सट्टामा सिधे नूनको प्रयोग गर्छु । चिनीको साटो सक्खर वा धागेवाला मिश्री उपयोगमा ल्याउँछु । भैंसीको दूध र त्यसका परिकारले कफ, पित, बाथ बढाउँछ भनेर सन्तुलनमा राख्न गाईको दूध र त्यसबाट निर्मित परिकार मात्र थोरै मात्रामा सेवन गर्छु ।

कुनै प्रकारका नशालु पदार्थको सेवन गर्दिनँ । चिया, कफी, मासु, मैदा र बेकरीका खानेकुरा सेवन गर्नबाट टाढै रहन्छु । साह्रै मन लागे खबटावाला माछालाई उसिनेर थोरै नून छर्की खान्छु । भुटेको, तारेको खाना जिब्राको लागि स्वादिलो हुन्छ तर शरीरका लागि हानिकारक हुन्छ । त्यसैले यी परिकारबाट टाढै रहन्छु । सधैँ पूर्व दिशातर्फ शिर बनाएर सुत्छु । सुत्नुअघि सकारात्मक विचारसहित मनोविनोद गर्छु । यसले मेरो अवचेतनमनलाई मलजल प्राप्त हुन्छ । र, मैले बोले गरेको कार्य सर्वस्वीकार्य हुँदै गएको छ ।

बोक्रावाला दाल, तरकारी आदिको उपयोग गर्छु । बिहान–बेलुका प्रत्येक दिन २ थोपा गाईको घिउ नाकमा हाल्छु । यसो गर्दा एलर्जी हट्छ, श्रवनशक्ति बढ्छ । मानसिक शान्ति मिल्छ र मेमोरीपावर पनि बढ्छ । चिल्लो हालेको खाना खान मनाही गरेका हृदयरोगीलाई पनि गाईको घिउले फाइदा पु¥याउँछ । नाकमा घिउ हाल्दा रुघाखोकी, सर्दी हट्छ, रातमा मस्त निद्रा लाग्छ ।

संसारका सफल व्यक्तिले अपनाउने गरेका तल वर्णित ६ वटा ‘मोर्निङ ह्यााबिट’ लाई मैले पनि आफ्नो जीवनको आदत बनाउने प्रयत्न गरेको छु । ती हुन्– 

१. साइलेन्स अर्थात् शान्त–

बिहान ४ बजेको सेरोफेरो (जसलाई अमृतबेला पनि भनिन्छ) मा उठेर मनलाई शान्त बनाउँछु । चराचुरुङ्गी चिरबिराएको र नदीनाला वगेको आवाज सुन्छु । विशेषतः अक्रिय ध्यानमा मग्न हुन्छु । यसले मनलाई शान्त बनाउँछ, अपूर्व आनन्द दिलाउँछ ।

२. एफर्मेसन्स अर्थात् सकारात्मक बातचित–  

शरीर र मन शान्त भएपछि स्वयंमा सकारात्मक बातचित गर्छु अर्थात् सारा नकारात्मक कुराहरू बिर्सी सकारात्मक पाटाहरू मात्र सम्झन्छु । मनोवादमा मस्त र मग्न हुन्छु । सकारात्मक कुरा दोहोरयाइरहँदा त्यसलाई अवचेतन मनले पनि सत्य मान्न थाल्दो रहेछ । र, परिणाम पनि सकारात्मक हुँदै जाँदो रहेछ ।

३. भिजुलाइज अर्थात् दृष्यांकन –  

आफूले गर्न चाहेका वा आफूले हुन चाहेका कुराहरू साकार भएको कल्पना गर्छु । सपना देख्दैमा पनि कतिपय नकार पाटाहरू सकारमा बदलिँदै गएको र मनमा उत्साह थपिएको अनुभव गरेको छु ।

४. एक्सरसाइज अर्थात् कसरत÷योग÷ध्यान÷प्राणायाम–  

म खाली पेटमा विहान–बेलुका डेढडेढ घण्टा जति समय यसमा बिताउँछु । राजविराज आयुर्वेद अस्पतालका प्रमुख डा. शिवशंकर यादव, राइजिङ स्टार प्यारागन स्कूल, राजविराजका शिक्षक तथा सञ्चालकद्वय सुनिल चौधरी र श्यामप्रित मण्डल अनि युवा पत्रकार श्यामसुन्दर यादवलगायतका महानुभावहरूको सल्लाह, सुझाव र दवावमा अनुलोमविलोम, भस्त्रिका र कपालभाति प्राणायामलाई विशेष जोड दिँदै आएको छु । यसले नसारोगीलाई विशेष लाभ पुरयाउँछ रे । मनको बेचैनी भगाउँछ रे । अनि, सकारात्मक सोच र समझ जन्माउँछ रे । 

५. रिडिङ अर्थात् अध्ययन –

त्यसपछिको दैनिक कर्म अध्ययन हो । मनलाई बोझ थप्ने हैन, बोझ कम गर्ने प्रेरणादायी जीवनी, कथा, उपन्यास आदिको पढाइमा समय बिताउँछु । एकाबिहानै अखबारका कुरा पढेर र सुनेर सारा दिन खराव गर्दिनँ । ती कुरा दिउँसो मात्रै पढ्छु ।  

६. स्कारबिङ अर्थात् लेखन–  

मसँग सधैँ डाइरी र डटपेन हुन्छ नै । आफ्नो दैनिकी डायरी बुँदागत रूपमा लेख्छु । आफ्नो मनमा उब्जिएका भावनाहरू लिपिबद्ध गर्छु । तीतोमीठो अनुभवले कटुसत्य अभिव्यक्त गर्छ । पछि पढ्दा र सम्झँदा मनै आल्लादित हुन्छ । मेरा पुराना केही अनुभूतिहरू यस्ता छन्–

हरेक बच्चामा विलक्षण दक्षता हुन्छ । सबैका सपना प्यारा हुन्छन् । बच्चाहरूलाई सपना देख्नबाट बञ्चित पारे समाजको अपराधी भइन्छ । विद्यार्थीलाई अन्वेषण कार्यमा लगाउनु शिक्षकको धर्म हो । यद्यपि बाटामा आएका व्यवधानलाई हटाउन मार्ग देखाई बिनाअवरोध खोजयात्रामा निस्कन पनि सहयोग गर्ने काम शिक्षककै हो । बच्चाको संगत पाए मलाई संसारको सबै खुशी भेटेको अनुभव हुन्छ । विद्यार्थीकै भाका र लयमा शिक्षकले आफूलाई ढाल्नुपर्छ । अर्थात् आफैं बच्चा बनेमा मात्र बालमनोलोकमा विचरण गर्न पाइन्छ ।

अभिभावकले आफ्ना बच्चालाई खेलौना नदिए क्षणभर रुन्छन् तर असल संस्कार नदिए जीवनभर रुन्छन् । आजका बच्चाको भविष्य कस्तो बनाउने त्यो हामी अग्रजकै हातमा छ । हाम्रा हरेक क्रियाकलापको असली अनुकरणकर्ता हाम्रै बच्चा हो । भोलिको दिन सुनौलो पार्ने हो र वास्तविक नयाँ नेपालको निर्माण गर्ने हो भने घरपरिवारमा अभिभावक, विद्यालयमा शिक्षक र समाजमा अग्रजहरू संस्कारयुक्त हुनु आजको आवश्यकता हो । किताब त ज्ञान सिकाउने एक माध्यम न हो, ज्ञान त जताततै छरिएको छ, शिक्षकले आफ्ना विद्यार्थीलाई त्यो ज्ञान बटुल्ने कला सिकाइदिनुपर्छ ।

मान्छे हर्दम होसमा हुनुपर्छ । हरेक काम होसले गर्दा धर्म आर्जन हुन्छ । होस गुमाएर गरिएको कर्मले पाप कमाइन्छ । भरसक मान्छेले अरूको खुशी लेख्ने डटपेन बन्नुपर्छ । नभए पनि अरूको दुःख मेट्ने इरेजर भने अवश्य हुनुपर्छ । समस्या भोग्न सक्नेले मात्र सफलताको स्वाद पाउँछ । विद्यार्थीले एउटै लक्ष्य, त्यसकै ज्ञान, त्यसमै मेहनत र त्यही प्राप्त गर्न दृढ सङ्कल्पित रहे कहिल्यै असफलता भोग्नुपर्दैन । कसैले पनि सकारात्मक सपना देख्न चुक्नुहु्न्न ।

दृढ संकल्पले नैै आधा सफलता हात पर्छ । अध्ययनको जरो तीतो हुन्छ तर फलचाहिँ मीठो हुन्छ । निडर व्यक्तिले समस्यालाई स्वागत गर्छ । मान्छेको अनुहारमा नाच्ने मुस्कान जीवनको उपहार हो । त्यसलाई कायम राख्नेले समाजलाई नै उज्यालो बनाउँछ । त्यसलाई आँसुले पखाल्ने र क्रोधले मेट्ने काम गर्ने व्यक्ति आफू पनि अँध्यारोमा जाकिन्छ र अरूलाई पनि कराल खोपिल्टोमा जाक्छ । मुस्कानको घर मान्छेको अनुहार नै हो ।

असल कर्मद्वारा आफ्नो भाग्य पनि आफैं लेख्नुपर्छ, अरूलाई लेख्न दिनुहुन्न । निराश हुनु भनेको आफ्नो कर्ममा आफैंले अविश्वास गर्नु हो । विश्वासले मात्रै सफलताको स्वाद दिलाउँछ । हाम्रो बोलीले नै धेरैजसो समस्या जन्माउने र समाधान गर्ने गर्दछ । भाँती पुरयाएर बोल्दा नमीठो कुराले पनि मीठो स्वाद दिन्छ । राम्रै कुरा पनि रूखो तवरले बोल्दा समस्या पैदा हुन्छ अर्थात् नम्रतापूर्वक भनिएको कटु कुरा पनि गुलियो मानिन्छ तर राम्रो कुरा कटु पाराले भन्दा संदेहजनक हुन्छ । संदेहमा विश्वासको बास हुन्न । विनाविश्वास जगत् चल्दैन ।

बदला लिएर हैन आफूलाई बदलेर समस्याको समाधान हुन्छ । झैंझगडाले सम्बन्ध टुटाउनुको साटो सम्बन्ध बढाएर झगडालुलाई जुटाउनु ठूलो कुरा हो । अरूको कमजोरीलाई हँसीमजाकमा बदल्नुहुन्न किनभने सबैसँग कमजोरी रहन्छ र अरूसँग पनि हँसीमजाक गर्ने सामथ्र्य हुन्छ । जीवनलाई आफ्नै लय र सुरमा हिँड्न दिनुपर्छ । प्रतियोगिताजस्तो अरूलाई उछिन्न खोज्नु बुद्धिमानी होइन । नकारात्मक विचारले सकारात्मक जीवन बनाउँदैन । फलामले फलामलाई काटेजस्तो पनि क्रोधले क्रोधलाई काबुमा ल्याउँदैन । बरु विनाश मात्रै जन्माउँछ ।

म उपर्युक्त वर्णित कामकुरालाई आफ्नो दैनिक जीवनको सूत्र बनाउन प्रयत्नशील छु । यी कुराहरूलाई सबै सरोकारवालाले शतप्रतिशत आफ्नो जीवनशैली बनाउने हो भने ‘व्यस्त बन्न र स्वस्थ रहन !’ कसैको भर पर्नु नपर्ला भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।  

प्रकाशित: ८ भाद्र २०७७ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App