कला

खेमराज पोखरेलका पाँचवटा लघुकथा

 

  

 १) नभत्किएको घर

बैदार काकाले घर मात्र ३ वटा बनाएका थिए । काठमाडौंमा पनि घर छ भन्थे गाउँले । प्रधान पनि भएका थिए काका । खोई के तलबितल पर्यो कुन्नि काकीले काकालाई पारपाचुके गरिन् । लोग्नेस्वास्नीको कुरा कसले बुझ्ने ?

तर गाउँले सबै आफ्नो खाएर स्यालको हुइँयाँझैं एकोहोरो कुरा काटिरहन्थे । कोही काकालाई ओछयानको दोष दिन्थे । कोही काकीलाई चरुवा दोष दिन्थे । हाँस्थे । र

भन्थे ः घरैघर भएर के गर्नु, बैदारको घर भत्कियो ।

त्यसै महिनाको मसान्तमा रातभरि पानी पर्यो । हाम्रो घरबारी पहिरोले लग्यो । गाउँ नै बगायो । बैदार काकाको पनि एउटा घर बगायो ।

म भने संयोगले श्रीमती, छोरा छोरी लिएर भाग्न सफल भएँ । रातभरि वरका फेदमा बितायौं । पहिरो अझै लेदो भएर बग्दै थियो । पानी पनि बिदा भएको थिएन । साह्रै दिक्दार लागेर आयो । भविष्य अन्धकार देखें मैले । एक्कासि रुन थालें। म रोएको देखेर छोराछोरी पनि रुन थाले ।

मेरी श्रीमतीले सोधिन् ः किन रुनुभएको ?

मैले आँसु पुछेर भनेँ ः त्यत्रो दुःख गरेर जोरेको घरबारी पहिरोले बगायो । अब के गर्ने ? अब कसरी घर बनाउने ?

उनले मेरा नजिकै आएर नाडीमा च्याप्प समाएर भनिन् : ए तपाई त ढुंगामाटाको थुप्रालाई घर भन्नु हुँदो रहेछ कि क्या हो ! यता हेर्नुस् त, भित्री मनले हेर्नुस् नि । मलाई बेस्सरी छाम्नुस् त । म लडूँली नि, दह्रोसँग अँठ्याउनुस् । म उस्तै छु । व्यर्थै चिन्ता गर्नुहुन्छ, हाम्रो मन कहाँ भत्किएको छ र ! हाम्रो घर कहाँ बगाएको छ र !

 

२)  जुनी

 

धेरै वर्षपछि सहर जाँदा एकदिन सुनेँ कि जनार्दन बिरामी छ ।

जनार्दनले निकै तरक्की गरेथ्यो । धनमा लालगेडी छोडेन । बुद्धिमा भुईफुट्टा थियो । किनेको मान थियो उसको । धाकको चरित्र थियो ।

कलेज पढ्दा ताकाका पुराना कुरा सम्झेँ ।

ऊ मलाई ‘गधा’ भन्थ्यो किनकि म गधाझैं सोझो थिएँ । म उसलाई ‘स्याल’ भन्थें किनकि ऊ स्यालझैं चतुर थियो । ऊ मलाई बारम्बार भन्ने गथ्र्यो ः ‘जे गर्नु छ, यसै जुनीमा गर्नुपर्छ । अर्को जुनीको के भर ? जसरी कमाए पनि धन भनेको धन हो बुझिस् । पैसा कमाइस् भने मान तेरो घरमा आइपुग्छ । मैले चिट चोेरेर पास गरेको सर्टिफिकेट मसीको, तैले पढेर ल्याएको सुनको त हुन्न नि । र बैंस आएका बेला बाबाजी बन् अनि जीवन कोल्याप्स पार् गधा !’

समय बितेथ्यो । हामी आफ्ना सुसेधन्दामा हराएथ्यौं । जीवन संघर्षका आरनमा गरीबीका फिलुंगाले रापेको बेला उसले भनेका सबै कुराहरू साँचा लागेथे मलाई । लाग्थ्यो ऊ यो यस बजार युगको सफलताको महान उदाहरण हो ।

जगजाहिर छ, जनार्दन र म तुरिया हौं । यो वर्ष ६३ पुग्यौं । म उसको घर पुगेँ । ऊ बडेम्माको घरको भुईतलाको एउटा कोठाको सामान्य खाटमा बसेको थियो । कोठा हेलचेक्य्राइँमा परेझैं थियो । अलि गन्हाएकोझैं लागेथ्यो ।

मैले उसलाई सोधेथें ः

–‘जनार्दन ! ए जनार्दन !! मलाई चिनिस् ? म प्रमोद, प्रमोद उपे्रती । क्या त तेरो ‘गधा’ ।’

उसले मलाई एकोहोरो हेरिरहेथ्यो ट्वाल्ल । आँखाबाट बर्लक्क आँसु झारेथ्यो ।

भाउजूले मलाई भन्नुभएथ्यो ः ‘डाक्टरले भनेको, उहाँले कुरा सबै बुझ्नुहुन्छ रे, उहाँभित्र उद्वेग पीडा छ रे । तर बोल्न सक्नु हुन्न रे । हामीलाई टेन्सन । उहाँको जुनी बरबाद भयो हाम्रो जीवन ।’

 

३) ऊ मान्छे

 

ऊ आफैंले श्वास फेर्छ । त्यसैले ऊ मान्छे हो ।

ऊ आफ्नै घरको ल्याबोरेटोरीबाट फुत्त बाहिर निस्कियो । उसका अंगप्रत्यंग निकै मिहीन मिलेका छन् । बिएमडब्ल्यु गाडी स्टार्ट गर्यो र रात्रि क्लब पुग्यो ।

पैसाको गुल्छर्रा उडाउन थाल्यो ।

सुन्दरीहरूका प्रतिकृयाहरू आउन थाले ः

–तिम्रा आँखा कस्ता मृगनयनी । म त तिम्रा आँखाको फ्यान हुँ ।

–तिम्रो छाती कति चौडा । आइ लभ योर लुकिङ ।

–तिम्रा दाँत कति राम्रा अनारदानाजस्ता ।

–तिमी कस्तो टल । आइ रियली लाइक योर फिगर ।

–तिमीलाई त भगवानले फुर्सदमा बनाएका हुन् । कस्तो ह्यान्डसम के ।

–तिमी र म बिहे गरौं न ?

–तिमी त मेरो ड्रिम ब्वाय हौ ।

ऊसँग धडाधड सेल्फी खिचियो । रात्रिक्लबमा सुन्दरीहरूसँग बेस्सरी नाच्यो । बाहिर निस्क्यो र फेरि आफ्नै घरतर्फ लाग्यो ।

आफ्नै ल्याबोरेटोरीमा गयो । रोबोटले उसका कृत्रिम हात, खुट्टा, नाक, आँखा, दाँत, कृत्रिम लिङ्ग आदि अङ्गहरू खोलेर स्यानिटाइज गर्न राखिदियो । र अब ऊ अर्कैको मुटु, फोक्सो, कलेजो बोकेको श्वास फेर्ने धडमा रूपान्तरित भयो । रोबोटले नलीबाट खुवाइदियो । उसलाई ओछयानमा पुरयाइदियो ।

यसबेला त्यो रोबोट चार्जिङ रुममा सुतिसकेको थियो । ऊ मान्छे भने मीठो सम्भोगीय सहबास सोच्दै थियो ।

 

४) मखुण्डाहरू

 

ऊ ठूलो मान्छे हुन चाहन्थ्यो । त्यसैले धेरै पढ्यो । धेरै लेख्यो । धेरै कमायो । तर विडम्वना, ऊ ठूलो मान्छे भएन ।

एकदिन बजार घुम्दाघुम्दै मखुण्डाहरू देख्यो । उसले व्रह्मा, विष्णु, शिव, राम, सीता, देवी, जिसस, अल्लाह, पैगम्बर, राक्षस, भूत सबै खाले मखुण्डाहरू किन्यो । मखुण्डाहरू उसको कोठाभरि छरिए ।

अनि ऊ शिवरात्रिका दिन शिवको मखुण्डो लगाएर मन्दिरको पेटीमा उभियो । उसले हरेक दिन नयाँ मखुण्डो लगाउने अवसर पायो । ती मखुण्डाहरूलाई मान्छेहरू पूजा गर्न थाले । ऊ हेर्दा हेर्दै थरिथरि देवता भयो । देवता बन्ने जागिर पायो । ठूलो मान्छे भएको अनुभूत गर्यो ।

उसले एकदिन ऐनामा आफूलाई हेर्यो । उसको ऐना छायाले उसैलाई प्रश्न गर्यो ः

–तँ को होस् ? मान्छे कि मखुण्डो ?

 

५)मान्छे

 

रोबर्टसँग गहिरो दोस्ती भएथ्यो । ऊ मसँग अन्तरकुन्तरका कुरा पनि गथ्र्यो ।

ऊ रोबोट वैज्ञानिक हो । रोबोटको सफ्टवेयर बनाउँछ । अनुसन्धान गर्छ ।

उसले मलाई एकदिन भनेथ्यो –

–किम, मैले जेनीलाई डिभोर्स गरिदिएँ ।

मैले सोधेँथेँ – किन नि, त्यति राम्री श्रीमती !

उसले भनेथ्यो  – राम्री भएर के गर्नु ? म जसरी ऊसँग सहवास गर्न चाहन्थेँ ऊ नमान्ने । ऊ प्रतिवाद गर्ने । अनि के गर्नु ?

मैले उसलाई सोधेंथें – अनि अब सहवास कोसँग गर्छौ त ?

उसले खुसी भएर भनेथ्यो – एउटी सुन्दरी रोबोट बनाएको छु । उसको नाम क्लाउडिया राखेको छु । क्लाउडियामा सबै सेन्सेसन हालेको छु । फुल ब्याट्री चार्ज गर्छु । सहवास गर्छु अनि मेरो अनुकुलको सहवास हुन्छ । म जे चाहन्छु, त्यही हुन्छ ।

उसको कुरा सुनेपछि म चुप लागेँथेँ ।

केही दिनपछि उसले फेरि भनेथ्यो  – क्लाउडियालाई अब बेची दिन्छु ।

मैले सोधेंथें – किन ? सहवासमा मजा भएन ?

उसले भनेथ्यो – किम, क्लाउडियासँग सहवास गर्दा सबै थोक त भयो तर मान्छेको जस्तो सम्वेदना र उच्छवास भएन । के गर्ने बेलामा के गर्छे यो मुर्ख क्लाउडिया ।

मैले छक्क परेर उसलाई हेरिरहेँ ।

उसले सोध्यो – के हेरेको त्यसरी ?’

मैले उसलाई सोधेंछु –

–तिमी रोबोटजस्तो मान्छे खोज्छौ कि मान्छेजस्तो रोबोट ?

प्रकाशित: ५ भाद्र २०७७ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App