कला

बटुको भित्रको बस्ती

दामोदर पुडासैनी किशोर

नेदरल्यान्ड्स मेरो लागि सधैँ कुतूहलपूर्ण शहर थियो  ।

नेदरल्यान्ड्समा समुद्र सतहमुनि घर छन्, समुद्र सतहमुनि चरा उड्छन्, समुद्र सतहमुनि आकाश छ, त्यस्तैत्यस्तै धेरै कुराहरू सुनेको थिएँ मैले बालककालदेखि । त्यति कुतूहलपूर्ण देशमा कहिले पुगिन्छ होला भन्ने कल्पनाले रोमाञ्चित हुन्थेँ ।साइत जु¥यो । हामी बिहानै ब्रसेल्सबाट नेदरल्यान्ड्सतर्फ लाग्यौँ । दूतावासका कर्मचारी मार्शलको मीठो बोलीले उहाँको पथ–प्रदर्शनकला रहेछ भन्ने बुझियो ।

हामीले ब्रसेल्स छोड्दा पातविहीन जङ्गलमाझ कुहीरोछिर्दै थियो । हिउँ र चिसोले कठ्याङ्ग्र्रिएका रूखहरू कुहिरोले उकुसमुकुसजस्तो देखिन्थे । कँयौँ रूखहरू बिरालाका छाउराहरू आपसमा खेलेभैmँ हावा र कुहिरोसँग जिस्कदै मस्किदै हल्लिरहेथे ।

मार्शलले कारमा डचभाषाको एउटा गीत बजाउनुभयो । त्यस गीतको सङ्गीतमा मैले मेरा मित्र श्रवण मुकारुङको गीत सम्झे – ‘माथिमाथि शैलुङ्गेमा चौँरी चराउनेलाई, हत्केलामा मायाको पूmल फुलाउनेलाई, भन्दिनू है भन्दिनू मेरो चुल्ठो खाली छ, उनको त्यो माया जाली छ ।’ माथि माथि शैलुङ्गे सम्झिरहेथेँम । मुस्ताङको कालीगण्डकी खोच सम्झिरहेथेँ, ताप्लेजुङको उकालो वा सुदूरपश्चिमको भासुको भीर सम्झिरहेथेँतर गुडिरहेथेँब्रसेल्सका सम्मसम्म मैदानमा ।

दश पङ्क्तिसम्ममा चिल्ला सडकमा आ–आफ्ना पङ्क्तिबाट गुडिरहेथे सबारी–साधनहरू । सडक एउटै तहमा मात्र थिएन । ठाउँठाउँमा आकाशे पुल पार गर्थे सडक र ठाउँठाउँमा सुरुङ्गभित्र छिरेर बाहिरिन्थे । सडकमा बत्तीको व्यवस्था विपुल थियो । ठाउँठाउँमा स्वचालित क्यामेराहरू जडान गरिएका थिए–सबारी साधनहरूको स्थिति र ट्राफिक नियमको पालन गरे नगरेको निरन्तर यकीन गर्न । तोकिएभन्दा न्यून वा अधिक गतिमा सवारी चलाउने र सबारी–नियमको पालन नगर्ने जोसुकै पनि स्वचालित क्यामेराको क्षेत्रभन्दा बाहिर पर्न नसक्ने । गल्ती ग¥यो कि सजायँको घेरामा परिहाल्यो । न भनसुन, न मोलाहिजा । दूधको दूध पानीको पानी । अनि भएन त रामराज्य !

सडकछेउमा जतासुकै जङ्गल थियो । टाढा–टाढासम्म चिटिक्क मिलेका  सुन्दर बस्तीहरू थिए । बीचबीचमा हरियो गहुँले ढाकेको फाँट थियो । कतै भर्खर जोतिएका खेतबारीका विशाल र सम्म पाटाहरू बैँश खोज्ने तर्खरमा थिए ।

ब्रसेल्सबाट हेगतर्फ लाग्दा शीतल र सुरम्य दृश्यहरूको माझ मन रमाइरहेथ्यो । एउटा नदीको भङ्गालो भेटियो, बियानेन  नदीको । त्यही नदीको नाममा बियानेन शहर उभिएको छ अलि पर । बियानेन राइन नदीमा मिसिन दौडिरहेछ निरन्तर । यूरोपमा राइन, डेन्यूब र भोल्गा तीनवटा नदी प्रख्यात छन् । राइनको भङ्गालो फेला प¥यो । दर्शन गरें मैले । नदी भैmँ बगिरह्यौँ हामी पनि, परपरसम्म । राइन नदीको किनारमा चराहरू उडिरहेथे, चारा खोजिरहेथे । सुन्दर चराहरूलाई ठगिरहेथे केही गिद्ध । को कसबाट मारिन्छ त्यहाँ कसैलाई थिएन अत्तोपत्तो । युगौँयुगदेखिको यो क्रम नियाल्दै निरन्तर बगिरहेछ राइन ।

बियानेन नदी पार गरेको केही बेरमै बेल्जियमबाट नेदरल्यान्ड्सको रोटरड्याम पुगियो । बेल्जियमबाट नेदरल्यान्ड्स प्रवेश गर्दा कुनै ठाउँमा जाँचबुझ भएन । बेल्जियम छोडेर नेदरल्यान्ड्स पसेको पत्तै भएन । एक देश र अर्को देश छुट्याउने कुनै साँध सिमाना छैन । सुरक्षाकर्मीको सारसुर छैन । सबैबीच समझदारी छ भने पर्खाल किन पाल्नु, साँधसिमाना र सुरक्षाकर्मीको निहुँमा बिनसित्ति किन पैसा फाल्नु । प्रतिघण्टा १५० किलोमिटरको गतिमा दौडिरह्यो हामी चढेको कार । तर त्यति धेरै किलोमिटरको दरमा दौडिरहेछौँ भन्ने आभास नै भएन ।

बेल्जियमबाट २ घण्टा कारमा दौडेपछि नेदरल्यान्ड्सको हेग पुग्यौँ । घाम थिएन । मलिनता छरिरहेथ्यो आकाशले । बिदाको दिन भएकोले मान्छेहरूको चहलपहल बिलकुलै थिएन । पूरै स्केफेनिङ  झुसिलो बन्यो । आकाशमा उज्यालो थिएन, धरतीमा स्फूर्ति रहेन ।

न्यायको सर्वोच्च संस्था अन्तरराष्ट्रिय अदालत च्यापेर फुर्केको छ हेग । हेग पुगिसकेपछि अन्तरराष्ट्रिय अदालतको भवन नहेरी फर्कने कुरै भएन । गयौँ । ‘संसारमा न्यायको विजय हुनेछलेखिएको एउटा सानो स्तम्भ अघिल्तिर राखेर उभिएको छ एउटा विशाल भवन । भवनको अघिल्तिर विश्वशान्तिको ज्योति  अखण्ड रूपमा जलिरहेछ । विश्वका सात महादेशको प्रतिनिधित्व हुने गरी सन् १९९९ मा सात ज्वालाको रूपमा प्रज्वलित छ त्यो ज्वाला । ज्वालाको नजिक पुगेर एउटा तसबीर खिच्यौँ सबैले । अन्तरराष्ट्रिय न्यायालय– भवनमा स्थित घडीले ११ बजेर २१ मिनेट देखाइसकेको थियो । जाऔँ है साथीहो ! दिन आधा हुन लाग्यो । – मैले साथीहरूलाई समयभन्दा हेरबुझ गर्नुपर्ने कुराहरू धेरै भएको सङ्केत गरेँ ।

नेदरल्यान्ड्स पुगेपछि समुद्री सतहभन्दा तल रहेका शहरलाई ननियाल्ने कुरै भएन । मान्छेले समुद्री सतहमुनि घरनिर्माण गरेर शहर बसाइरहेछ भन्ने सुन्ने जोसुकैलाई पनि उत्सुकता जाग्नु स्वाभाविक नै हो । बलभर्ड शहर छिचोल्दा छिचोल्दै गहिराइबाट उठ्दै गएको जमीन भेट्टियो । बिस्तारै मोडदार रूपमा शहरका घरहरूभन्दा अग्लो बन्दै गयो सतह । अग्लाइ सकिनेवित्तिकै समुद्र देखियो । समुद्रका लहरहरू उठ्दै आए । मान्छेहरू समुद्री किनारबाट समुद्री सतहभन्दा मुनिका घरहरू नियाल्दै थिए । समुद्री सतहमा ज्वारभाटाहरू पहाड बनेर उर्लिरहेथेँ । बटुको भित्रको बस्ती बनेको थियो नेदरल्यान्ड्स । आन्ध्र–महासागरको सतहभन्दा १२ फिट गहिराइमा जीवन्तता छरिरहेछ शहर । नेदरल्यान्ड्स शहरभन्दा १२ फिट माथि आन्ध्र–महासागर सुस्केरा हालिरहेथ्यो । मेरो मन बटुकाको बिटजस्तो जमीनको भागमा बसेर पुलिकत बन्यो । बटुकाको बाहिरपट्टि बिटसम्म नै नीलो समुद्र आफ्नो सतह मिलाएर चलिरहेछ , भित्रपट्टि गहिरोमा विशाल शहरभित्र मान्छेले गरेको प्रगतिमा मिसिएर प्रकृति पनि पुलकित बनिरहेछ । चराहरू उडिरहेथे समुद्री सतहभन्दा अझ तल । मेरो मन तिनै चराहरूसँग उडिरह्यो पखेँटा फिजाएर । स्केवेनिङ्गन  शहर पनि त्यसैगरि बाँचेको भेट्टियो । सम्पूर्ण नेदरल्यान्ड्स नै त्यस्तै रूपमा उभिएको छ संसारलाई नै चकित पार्दै चम्केर ।

नेदरल्यान्ड्स निवासीहरूको प्रमुख भाषा फ्रेन्च नै हो । फ्रेन्चभाषामा नेदरल्यान्ड्सलाई पे वा  भन्दछन् । ‘पे’ को अर्थ देश र ‘वा’ को अर्थ ‘होचो  हो भन्ने अर्थ लगाउँदै हुनुहुन्थ्यो मार्शलजी ।  कुनै जमानामा हल्यान्ड  नाम बोकेर बाँचेको थियो हालको नेदरल्यान्ड्स । हल्यान्डको अर्थ पनि होचो जमीन भन्ने नै हो । एउटा भनाइ भने प्रसिद्ध छ नेदरल्यान्ड्समा, ‘भगवानले  डचहरूको सिर्जना गरे, डचहरूले हल्याण्डको सिर्जना गरे । वास्तवमा प्रकृतिको सुन्दर उपहारलाई मान्छेले अझ सुन्दर बनाएको नमूना खोज्दा नेदरल्यान्ड्सलाई नियाले पुग्छ ।

 

हेगबाट लाइडेन शहर हुँदै नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डमतर्फ बढिरहेथ्यौँ । समुद्रको छेउछाउमै बसिरहेथ्यो लाइडेन शहर । लाइडेन सेन्ट्रल स्टेशन नामक रेलवे स्टेशन अगाडि हजारौँ साइकल पार्क गरिराखिएका देखिए । एक ठाउँमा कुचिएका टिनलाई मिलाएर अमूर्त कलाको रूप दिएको थियो र सडकछेउमै राखिएको थियो । ‘आधुनिक कविताजस्तै बुझ्न गाह्रो छ यो कला पनि’ – जनार्दनजीले कला र कविताका अस्पष्टताको पक्षमा आफ्नो धारणा ओकल्नुभयो । कविता र कला बुझ्न केही मथिङ्गल त खियाउनैपर्छ नि मान्छेले, कविता पढेर नयाँ र रोचक अर्थ पाउनु पनि त पर्छ नि उसले । त्यसैले पनि कसरी कविता अलिक खोजको विषय नभै रहन सक्तछ र ।’ – मैले अलिअलि प्रष्ट्याएँ उहाँहरूलाई ।

आकाशमा अनगिन्ती विमान चराजस्तै उड्ने र अवतरण गर्ने क्रम जारी थियो । विमानस्थलभन्दा टाढाटाढा हरिया गराहरू र जोतेर सम्याइएका सुन्दर र सफा गराहरू तरेली परेका देखिन्थे । बीचबीचका बस्तीहरू मखमलीका बुच्का जस्तै गुचुमुच्च फुलेका थिए । हेर्दाहेर्दै हाम्रो कार सुरुङ–मार्ग भित्र छिरयो। ‘माथिबाट ओर्लेको विमानले धसायो भने सुरुङभित्रको गति के होला ’ – सुरुङ्गभित्र अत्तालिनुभयो कर्णजी । सुरुङ सकिनेबित्तिकै छमछम नाचिरहेकी युवतीझैँ मुसुक्क मुस्कुरायो आम्स्टर्डम अन्तर्राष्ट्रिय विमानस्थल ।

हाम्रो र आकाशको सिमसिमे पानीको प्रवेश एकैपटक भयो आम्स्टर्डम शहरमा । चिसो हावा बहादुर बनेर सबैलाई थप्पड हान्दै थियो । सडकका दुवै किनारका दाँत मिलेका घरहरूले स्वागत गरे । अनि घरछेउको पेटीमा राखिएका अनगिन्ती साइकलहरूले पनि स्वागत गरे । सडक–किनारमा गाडी र पेटीमा साइकल–बिसौनी भए पनि यात्रु र अन्य सवारी साधनहरूलाई चाहिने क्षेत्रफल मौजुद थियो । सडकबीच ट्रली  बस गुडिरहेका थिए । छेउमा साइकलका पङ्क्तिमा कुदिरहेथे असङ्ख्य साइकल । आम्स्टर्डमको केन्द्रीय भागमा त फराकिला सडक, दुईतिर टम्म मिलेका घरहरू, घरको अघिल्तिर पेटी, सडकको छेउमा पनि पेटी, पेटी र पेटीकै बीचमा जलमार्ग । सडक तथा जलमार्गमा रेल, ट्राम रिक्सा, बग्गी, ट्रली बस, साइकल, मोटरसाइकल, डुङ्गा जस्ता सवारीका सबै साधनहरू आआफ्ना पङ्क्तिबाट चलिरहेका । मान्छेहरू सम्पन्न छन्, स्वस्थ छन् र व्यस्त छन् । डुङ्गामा चढेर गीत गाउँदै नाच्दै शहरको मजा लुट्नेहरू पनि कम थिएनन् । बिदाको दिन सधैँजसो त्यस्तै हुन्छ नेदरल्यान्ड्समा ।

गाडी हाँक्नेभन्दा पनि पार्क गर्ने समस्या ठाडो भीर बनेर उभिएको छ नेदरल्यान्डस्मा । धेरै घरका आफ्नै तलाहरूमै गाडी पार्क गरिएको देखिन्छ । तर तैपनि पार्क गर्न ठाउँ भेट्टाउनै गाह्रो । त्यस्ता पार्किङ घरका बाह्य प्रवेशद्वारमै स्वचालित यन्त्र राखिएको हुन्छ । त्यस यन्त्रको आँखाजस्तो प्वालमा चालकले स्पर्श गरेपछि एउटा कागज निस्कन्छ । त्यसमा पार्किङ गर्ने स्थान, गाडीले पार्किङ प्रवेश पाएको समय आदिको उल्लेख गरिएको हुन्छ । भित्र पार्किङ गर्ने स्थल बाँकी नभए सोही जानकारी दिन्छ यन्त्रले । पार्किङस्लिप प्राप्त गरेपछि प्रवेशद्वारमा रहेका दुई लट्ठीहरू स्वचालित रूपमै बाटो छोड्छन् । गाडी फिर्ता गर्दा त्यही स्लिप बहिर्गमनद्वारमा रहेको यन्त्रमा छिराएपछि पार्क गरेको समयावधि र भुक्तानी गर्नुपर्ने रकमको जानकारीसहितको अर्को स्लिप निस्कन्छ । त्यसको भुक्तानी गरेपछि मात्र गाडीलाई बाहिर जाने सङ्केत  बहिर्गमन सङ्केत गर्दै लट्ठीहरू खुल्छन् । त्यहाँ कतै पनि मान्छेको उपस्थिति रहँदैन । मार्शलले प्रवेशद्वारमा स्लिप लिएर गाडी भित्राउनुभयो । प्रायः सबै तला गाडीले भरिभराउ थिए । सातौँ तलामा पुगेपछि बल्ल गाडी राख्ने ठाउँ भेट्टियो ।

हाम्रो गाडी नेदरल्यान्ड्सकी महारानीको दरबारनजिक ड्याम स्क्वायरमा पार्क गरेका थियौँ । दरबार नाघेपछि एउटा ठूलो बाटो पश्चिमतिर लाग्यो । त्यो छोडेर अघि बढ्दा एउटा चोकबाट छिरेपछि एउटा बेग्लै संसारसँग हातेमालो गर्न पुगियो । यौन पसल, यौन म्युजियम, यौन क्याफेजस्ता राता अक्षरले लेखिएका वैद्युत लेखोटहरू थिए टोलभरि । घरका मोहडामा शिशाका सानासाना कोठाहरू बनाइएका थिए । त्यसभित्र लगौँटी जत्रो पेन्टी मात्र लगाएका युवतीहरू हाउभाउ कटाक्ष प्रस्तुत गर्दै उभिरहेका थिए । विश्वका विभिन्न भागबाट यौन व्यापारको लागि आएकाहरू स्थान सुरक्षित गरी बसेका थिए त्यहाँ । विशाल शहरभित्र सडकका दुईतर्फ घरहरूमा त्यस्ता यौनकर्मीहरू मुस्काइरहेका थिए । यो त झन्डै हाम्रो बानेश्वरभन्दा ठूलो पो छ त – जनार्दनजी भन्दै हुनुहुन्थ्यो । करीब दश–पन्ध्र घरका शीशाका कोठामा अग्ला र ठूला जीउडाल परेकाहरू देखिए । अक्षरहैन यिनीहरू त गाईअनुहारका गोरुजस्ता छन् नि ? – मैले मार्शललाई कोट्याएँ । यिनीहरू भने सबै पुरुष यौनकर्मी हुन्, समलिङ्गीहरूको लागि । जसरी एड्स र एच.आई.भी. को महामारी भर्खर रगत पिएको चितुवा झैँ विश्वव्यापी रूपमा फैलिरहेछ त्यसभन्दा तीव्र गतिले सम्सासुर भेसमा मोजमस्तीको तिर्खा मेट्नेहरूको लहर प्रबल रूपमा पलाइरहेछ त्यहाँ ।

मरेपछि डुमै राजा भन्नेहरूको बथान भेटेपछि कलियुगका पिङ्गलाहरूको छनकमनक झन् – झन् चम्कने नै भयो । सत्र–अठार हिउँदपछि लटरम्म फलफूल बोकेकादेखि तीसपैँतीस वर्षसम्मका फूलपाती जोगाउनै मुस्किल परिसकेकाहरू पनि रातकी रानीको अभिनय स्वाभाविक बनाउने कोसिसमा देखिन्छन् । बाहिरबाट हेर्दा मन प¥यो भने मोलमोलाइ हुन्छ । भित्री कोठा वा अन्य स्थलमा रसरङ्गमा लुटपुटिने बन्दोबस्त मिलाउँछन् तिनै युवतीहरू । सरकारबाट इजाजत प्राप्त हुनाले सरकारी प्रतिवादको कुनै गुन्जाइस रहँदैन त्यहाँ । ग्राहक नभेटुन्जेल नाङ्गै उभिन्छन् । सिँगारपटार र हाउभाउमै तल्लीन हुन्छन् । अनुहारले मात्र त्यस्तो पेशामा लागे–नलागेको कहाँ छुट्याउन सकिँदो रहेछ र । कसैकसैको अनुहारमा सोझोपन र सरलता समेत देखिने । तर अधिकांशको हाउभाउ हेर्दा सडकमा हिँड्न लाज लाग्ने । मान्छेहरू मेला भर्न हिँडेझैँ देखिन्छ ड्यामस्क्वायर वरिपरिका गल्लीहरूमा । असी–नब्बे वर्षका बूढाहरू–बूढीहरू बीस–बाइस वर्षभन्दा माथिका युवा र युवतीहरू एवं पुरुषमहिला पुगेका हुँदैनन् त्यहाँ । अठार वर्षभन्दा कम उमेरकालाई भने कडाइसाथ प्रतिबन्ध लगाइएको छ । त्यसैले त्यहाँ त्यस उमेरका मान्छेहरू कमै देखिन्छन् । पसलहरूमा खुला यौनसम्बन्धी पुस्तक, श्रव्य–दृश्य सामाग्रीहरू, नारी र पुरुषका यौन अङ्गहरू हाम्रो देशमा शृङ्गारका सामान सजाइएझैँ गरी देखिन्छन् । त्यस्ता पसलहरू र शरीर राखिएका व्यापारका अखडा थाइल्यान्डको बैङ्कक र पताया, जर्मनीको बर्लिनस्थित ओर्बर स्ट्रिट प्रशस्त देखिएको हो । तर नेदरल्यान्ड्सको आम्स्टर्डममा  शीशाकोठामा ग्राहक आमन्त्रण गर्ने, नाङ्गो र वस्तु जस्तै खरीदबिक्री हुने चलन मैले अन्यत्र देखेको थिइन ।

मान्छेहरू नाङ्गो बनेर व्यापार चलाइरहेछन् । पैसाको लागि जीवन जोखिममा फसाउने र पैसा तिरेर रोग किन्न तम्सने दुवैको लागि मेला बनेको छ ड्यामस्क्वायर । संसारभरका अनगिन्त अपरिचितहरूसँग आफन्तको अभिनय गर्नुपर्ने र एक क्षणको रमाइलोको लागि सारा अभिनयलाई यथार्थ ठान्दै सम्पत्ति र शक्ति स्वाहा पार्नेहरूको लागि तीर्थस्थलजस्तो गन्तव्य भएको छ ड्यामस्क्वायर । तपाईं भर्खरै ड्यामस्क्वायर पुग्नुभएको छ भने शोकेशमा एउटा पूmल झुण्ड्याएर ‘मामाकी घोडी मेरो जिद्दी’ भन्ने पसल सञ्चालकहरू भेट्न सक्नुहुन्छ । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने हरिया खुर्सानीहरूसँग पनि ठोक्किनुहुन्छ । ‘दिनभरि करायो, दक्षिणा हरायो’ भन्ने बेली र चमेलीहरू पनि यदाकदा नभेट्टिने होइन । तर संसारभर दलालीकै भरमा चलेको देहधन्दा नेदरल्यान्ड्समा भने दलालविना पारदर्शी तवरले चल्नुमा नगरबधूहरूको व्यावसायिक कलाको तारीफ नगरी सुख्खै छैन । हजुरहरूमध्ये कसैले ५० यूरो (झन्डै ५ हजार रुपैयाँ) भेटी चढाएर जिन्दगीको नौलो मजा चाख्ने हो भने मन परेकाको ढोकाबाट छिर्नुभए हुन्छ । मार्शलले हामी चारजनाको मन छाम्न खोज्नुभयो । कोही बोलेन । एकल रूपमा आउने धेरैजसो उच्च ओहोदाकाहरू पनि यहाँको मजा लिएर हिँडेको देखेको छु । मार्शलले फेरि यथार्थता प्रष्ट्याउनुभयो । तर म त यस्तो मामलामा धेरै टाढा है – मैले आफ्नो सोच प्रष्ट्याएँ । साथीहरू तीनचम्के बनेर मुखामुख गर्दै हुनुहुन्थ्यो ।

‘एउटा डीभीडी किन्न पाए हुन्थ्यो – ‘उद्धवजीको भनाइ । मार्शलजी र जनार्दनजी हलल्ल हाँस्नुभयो । ‘यस्तो बजारमा कहाँ डीभीडी किन्ने कुरा गर्नुहुन्छ तपार्इं’ – मार्शलको जबाफ । ‘होइन यतिको घुमिसक्ता पनि कहाँ के कुरा किन्ने भन्ने ज्ञान छैन तपाईंलाई ? तपाईं कस्तो निर्देशक ! कस्ले बनायो तपाईंलाई निर्देशक ?’ – जनार्दनजीले व्यङ्ग्य गर्नुभयो । हामी हाँसिरह्यौँ ।

नेदरल्यान्डस्का कफी शप पसल  देख्नेबित्तिकै कफीको चुस्की लिन फुत्त भित्र पस्नुअघि सोच्नुहोस् नि । हल्का लागु पदार्थ  किनबेच गर्न पाउने स्वीकृति लिएर गाँजा जस्ता लागु पदार्थहरूको किनबेच र सेवन समेत खुला रूपमा भइरहन्छ । अठार वर्षभन्दा कम उमेरकालाईं प्रवेश निषेधका सूचना लेखिएको देखिन्छ त्यस्ता पसलहरूमा । ‘कोकिन, हिरोइन जस्ता कडा लागु पदार्थहरूको प्रयोग गरेमा ज्यादै कडा सजाय हुन्छ’ – मार्शलले बताउँनुभयो । ड्यामस्क्वायरको उत्तरतिरको एउटा टोलमा ५ मिनेट गाडीमा गुड्दा पनि गाँजाको गन्धले छोडेन ।

मोजमस्तीको लागि विश्वकै मान्छेहरूको गन्तव्य स्थल बनेको छ नेदरल्यान्ड्स । त्यसबाट अत्यधिक राजस्व उठाइरहेछ सरकारले । विश्वका धेरै देशका कुनाकाप्चामा त्यस्तो काम नहुने त होइन तर कानूनी इजाजतको अभावमा राजस्व गुमाइरहेछन् कतिपय सरकार । इजाजत दिऊँ समाज स्वात्तै विकारको भड्खारोमा पर्ने हो कि ! भय छ चर्कै ।  

नेदरल्यान्ड्सकी महारानीको दरबारअगाडि पुग्दा एउटा विशाल चोकले स्वागत ग¥यो । चोकको वरिपरि घरहरूको भव्यता थियो । रानीको दरबारभन्दा अगाडि मान्छेको घुइँचो बढेको थियो । दरबार पुरानो शैलीमा उभिएको थियो । दरबारको अघिल्तिर चोकको अर्को छेउमा एउटा स्तम्भ छ । स्तम्भको टुप्पामा बच्चा च्यापेको मान्छेको मूर्ति र बीचभागमा साङ्लाले बाँधिएका मान्छेहरू र दुवै हातमा किला ठोकेर भित्तामा टाँगिएका प्रभु इशुको मूर्ति छ । जिन्दगी जन्जालपूर्ण छ र क्रसमा टाँगिएझैं भइरहेछ भन्ने अर्थ दिदैँ थिएँ । सिंह र अरू जनावरका मूर्तिहरूबाट मान्छेले आफ्नो मात्र नभै जनावरहरूको अस्तित्वलाई समेत बिर्सेन भन्ने राम्रो उदाहरण प्रस्तुत भएको नाटक हेरेझैँ झझल्को आइरह्यो ।  

यहाँ पकेटमारहरूको बिगबिगी छ । साइकलबाट हुत्तिँदै आएको लुटेराले मेरो हातको क्यामेरा खोसेर लग्यो – दरबारअघिल्तिर रहेको आम्स्टर्डम डाइमन्डसम्मुख भीडमा चिच्याउँदै एउटा अधबैँसे चिच्यायो । “हो, अलि पर मेरो पर्समा रहेको तीन सय यूरो पनि कुन सड्को स्वाहा पारिसकेछ – मसिनो हात खुट्टा भएकी अर्की युवतीले थपिन् । ‘होशियार रहनुहोस् – मार्शलको चेतावनी हाम्रो लागि ओखती भयो । मजाले च्याप्यौँ क्यामेरा र थैली । चोरी–डकैतीको सूचनाले होश छोडेर यात्रामा हुत्तिने बानीमा सजगता पलायो । विकसित देशमा विकासँगसँगै विनाश पनि झाङ्गिएको कुरा छर्लङ्ग बनायो ।

दरबार र स्तम्भबीचको चोकमा मान्छेहरू आ–आफ्ना क्षमताको प्रदर्शन गरिहेथे । कतै मुकुन्डो लगाएर विभिन्न हाउभाउको प्रदर्शन र अभिनय गरेर पैसा बटुलिरहेथे । कतै गितारको धूनमा गीत गाइरहेथे । एक ठाउँमा श्रद्धाञ्जलि–सभा भइरहेथ्यो । मुसलमान समुदायका मान्छेहरू युद्धमा मारिएकाहरूको सम्झनामा श्रद्धाञ्जलि सभा गरिरहेथे । स्थिर मञ्च थिएन । ट्रकजस्तो गाडी थियो । त्यसैलाई तुरुन्तै मञ्चमा परिणत गर्न सकिने र कार्यक्रम सकेपछि फिर्ता लैजान मिल्ने । समय, साधन र ठाउँको सदुपयोग गर्दै विभिन्न ठाउँमा कार्यक्रम–सञ्चालन गर्न त्यो एउटा सजिलो प्रणाली थियो ।  

विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित उच्च भूभागबाट संसारभरकै होचो ९समुद्री सतहभन्दा १२ फिट गहिरो देश नेदरल्यान्ड्समा पुग्न पाउँदा मेरो मनमा फूलका पत्रहरू पलाएका थिए । मैले आफ्नो कचना–कलना सम्झें । सम्भेmं त्यतातिर गहुँ हुर्कँदै होला, किसानहरू आलुका ड्याङमा उकेरा लगाउँदै होलान् । तिनीहरूमध्ये कतिलाई अझै थाहा छैन गहिराइमा पनि उच्चता अँगाल्न सकिन्छ, आस्थाका फूलको बगैचा सजाउन सकिन्छ, गहिराइविना उचाइ हुनै सक्तैन । जति गहिराइमा घुस्न सक्यो त्यति नै स्वादिलो लाग्न थाल्छ उचाइको वास्तविकता ।

 आम्स्टर्डमबाट ब्रसेल्स फर्कँदा आन्ध्र–महासागरको भँगालो शहरभित्र पसेको फेला प¥यो । त्यहस भँगालोकै पानीमाथि घरहरूको निर्माण गरे नेदरल्यान्ड्सवासीले आवासगृह(एपार्टमेन्ट)का रूपमा । पानीमाथिको घरहरूमा जीवन बिताइरहेका छन् मान्छेहरू । अन्य क्षेत्रको तुलनामा समुद्रमाथिका घरका आवासकक्षहरू सस्ता पनि हुन्छन् । त्यसमा दुइटा कारण छन् – एउटा समुद्रमाथि जहिले पनि अलिबढी ठन्डा हुने, अर्को – घरहरू स्थिर नभई ढलपल ढलपल गरिरहने । जलथल दुवैको सदुपयोग गर्न चुकेका छैनन् नेदरल्यान्ड्सवासीहरू । त्यही मेहनत र प्रकृतिसँग पौँठाजोरी र जुहारीको भरमा दुलही झैंँ सिंगारेका छन् आफ्नो देशलाई ।

हिँडडुल गर्दा, गाडी चढ्दा, घुमफिर गर्दा नयाँ विचार पलायो कि हाइकु र कविताहरू लेखिरहन्थेँ म । साथीहरूको आग्रहमा कहिलेकाहीँ सुनाउँथे पनि । हामी निदाएपनि तपाई जागै रहनुपर्छ है – जनार्दनजी घचघच्याउनुहुन्थ्यो वेलावेलामा । म सचेत थिएँ स्थानीय परिस्थिति र परिवेशलाई आफ्नो दिमागको क्यामेरामा कैद गर्न र लेखनीमा उतार्न । वेलावेलामा हातमा रहेको क्यामेरामा नयाँ दृश्यहरू कैद हुन्थे ।

एम्स्टर्डम छोडेको १ घण्टा १० मिनेटमा नेदरल्यान्ड्स देश नै छोडियो । बेल्जियमको सिमानामा प्रवेश गरेपछि घाम भेट्टियो तेजिलो । महादेवका जस्ता जटा पालेका गोरा मार्शलले म लेखक भएको कुरा थाहा पाएका थिए । सकेसम्म बढी जानकारी दिन चाहन्थे मलाई ।

साँझ ६ बजे बेल्जियमको वाटरलुको सिरेटो तँछाडमछाड गर्दै हामीलाई छोइरहेथ्यो । सप्तरङ्गी पाशमा सजिएर जिस्क्याइरहेकी थिई तरुनी ब्रशेल्सले जूनलाई ।

प्रकाशित: ३ भाद्र २०७७ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App