पुष्प अधिकारी अञ्जलि
मेरै छातीमा टेकेर
पहाड उभिन्छ
अनि भन्छ म अग्लिएँ र
मेरै छातीमा सुतेर
नदी निदाउँछ
अनि भन्छ
म अविराम बगिरहेँ ,
मेरै आँखाबाट
हिमशिखर पग्लिन्छ
अनि भन्छ म नदी भएँ ।
यस्तो लाग्छ
नदीको दुई किनारमा
उभिएको
समय न मेरो न उसको ।
कस्तो सपना
देखिरहेछ मान्छे
कस्तो यात्रा गरिरहेछु म
समयका आवेगहरूसँगै
पोखिएका
अनेक सपनाहरू
भयग्रस्त बाँचिरहेका छन् ,
आफू रित्तिएर खोक्रिएर
अँगालोभरिको घाम
हृदयभरिको जून
निस्फिक्री बाँडे अरूहरूलाई
निर्वार्सित भएर आफू
सम्पन्न बनाए अरूहरूलाई
तिनै सम्पन्नहरूले
आज विपन्न
बनाउँदै छन्
मेरा आँखाका अनमोल सपनाहरू ।
कति आए समयका हुरीहरू
विश्वासको भरयाङ टेक्दै र गए ।
मेरा कलिला छातीहरूमा
डन्डीबियो खेल्दै
अफसोच ,
म रङ्गशालाजस्तै
चुपचाप निर्मम दुःखाइ खेप्दै
मैले ओढेको
मेरो आकाश हेरेर
म सपनाहरूको
चिहान बटुल्दै गएँ
मलाई के थाहा ,
मेरो जिन्दगीको धरातलमा टेकेर
कसैले
मेरो घाँटी अँठ्ठयाइरहेछ
लखेटिरहेछ मलाई
भयङ्कर तुफान बनेर
हररात आँउछन्
आँखाभरि सपनाहरू
र फुल्नै नपाई झर्छन
म तिनै झरेका सपनाहरू
बटुल्दै बिहान पर्खन्छु
तर विडम्बना
बिहान हुँदानहुँदै भत्किन्छन्
र च्यातिन्छन् मेरा सपनाहरू
मबाट टाढा भएर जान्छन् मेरा
आँखाका असंख्य सपनाहरू।
प्रकाशित: २ भाद्र २०७७ ०९:०५ मंगलबार