कला

हजार रूपियाँ खर्च गराइ, सय दिएर दानी अरे

मुक्तक

गोम विक्रम

मुक्तक – १

बल  बैसमा  डोल्यौ   सबै, आफू  सबैको ‘शेरै’ भन्यौ  

चित्तै   बुझेन  भने   फेरि,  चाहिन्न  सस्ता ‘धेरै’ भन्यौ

चर्चा र जेजे गरून् चियो, ‘प्रीति’ मै बडो ‘कीर्ति’ थियो  

दाँत झर्दै  र आँत मर्दै गो, ‘असल’  छे बूढी ‘मेरै’ भन्यौ  ।  

 

मुक्तक – २

 

मान्छेहरूको  मन  किन, राजनीतिले खण्डित हुन्छ

शक्तिको दोषी जोगिएर, निर्दोष सोझो दण्डित हुन्छ

भाषण छाँट्छन् बर्कतका,  रेकर्ड तोड्छन् हर्कतका

जसको इतिहास पचेको छ, उहीँ ‘नम्बरी पण्डित’ हुन्छ ।

 

मुक्तक – ३

 

बिर्सिदैन  कसै  गरी, आफूलाई  ‘दुःखमा  टार्ने’लाई  

गाह्रै छ सायद  भुल्न, आफूलाई ‘दुःखमा पार्ने’लाई  

घुम्छ  जीवन   चर्खासरी, बाँचे   देखिन्छ   घरी– घरी  

मनमै राख्नू सधैभरी, आफूलाई ‘दुःखमा तार्ने’लाई ।

 

मुक्तक – ४

आदर्शका गफै गफले, रल्लै पार्ने चल्ती हजुर    

रल्ल पारे आफ्नो सुरमा, भरिहाल्ने खल्ती हजुर

उल्टै तिन्लाई अघि लगाई,नपुगेर माथि चढाई  

ढाडै मर्काइ नमन गर्नु, हाम्रै हो कि गल्ती हजुर ?

मुक्तक – ५

सधै आँखामा छारो हाल्छौ, र पनि प्रिय बानी अरे

घातबाहेक गर्ने होइनौ, तर नि आँखाको नानी अरे

तिनचित खान्छु सुन्दा पनि, भित्री मनले गुन्दा पनि  

हजार  रूपियाँ  खर्च  गराइ, सय  दिएर  दानी अरे ।  

प्रकाशित: ३० श्रावण २०७७ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App