परशुराम पराशर
स्वच्छ मेरो गाउँ
शान्त मेरो गाउँ
मस्त छ
आनन्द छ
त्यस्तै रहोस्
जस्तो पहिले थियो ।
शहरबाट
सुन्दर प्लास्टिक पेपरले
¥यापिङ गरेर
एक प्याकेट विकास
एक कार्टुन आधुनिकता
एक सुटकेस सभ्यता
एक ब्याग व्यस्तता
लैजा भन्छन् साथीहरू ।
कतै विकास सँगसँगै
धेरै धूवाँधूलो
धेरै हल्लाखल्ला
केही भीडभाड
निक्कै लप्पनछप्पन
नैतिकहीन नीतिहरू
आदर्शहीन आडम्बरहरू
सँगसँगै जाने त होइनन् ।
बाले कलकल पानी खाने अम्खोरा
आमाले लामो धारो झार्ने करुवा
काकाको अग्लो स्टिल गिलास
प्लास्टिकको बोतलमा परिणत हुने त होइन ?
मगमग बास्ना आउने माटो
ऐना हेर्न मिल्ने पोखरीको पानी
सहरको एउटा गमला झैैँ
सधैँ हरियो हुने
हराभरा मेरो गाउँ
स्वच्छ मेरो ठाउँ
दुर्गन्धले बाफिएर
पसीनाले च्यापिएर
हाहाकारमा हराउने त होइन ।
मेरो गाउँमा पनि
आडम्बरको प्रतियोगिता
लप्पनछप्पनको कार्यक्रम
धुत्र्याइँको मेजमानी
व्यभिचारको चाकरी
नैतिकता नै सिकारी
भएपछि
आफ्नोपन थेग्न नसकेर
कतै लुप्त हुने त होइन ?
साथीहरू विकास गर्न
डोजर लिएर जा
रोलर गुडाएर जा
भन्दैथे
गोरेटो माथिको गुराँसे भिर
हिमाली खोलाको तिरैतिर
लटरम्म फुलेका बुकी फूल
जीवन बचाउने सन्जीवनी मूल
डोजरको गोडामुनि पुग्ने त होइन
रोलरको पेलाइले पिरोलिने त होइन
भो मलाई त्यस्तो विकास चाहिन्न
मलाई त्यस्तो भीडभाड चाहिन्न
आफ्नै गन्तव्यले शिखर पु¥याउँछ
आफ्नै पसीनाले समृद्ध बनाउँछ ।
प्रकाशित: २९ श्रावण २०७७ ०६:०७ बिहीबार