कला

कोरोनाकालका तीन लघुकथा

 

आफ्नो मान्छे

डा.पुष्करराज भट्ट

रोशनलाललाई आफ्नो राजनीति चम्काउने मौका मिलेको थिएन । विगतमा भएका निर्वाचनमा उसले कुनै पनि निकायको टिकट पाउने सकेको थिए । राजनीतिक रुपमा बेरोजगार जस्तै थियो । स्थानिय सरकार आफ्नै पार्टीको थियो । उसले कोरोनाकालको यही मौकामा केही गर्नुपर्छ भन्ने ठान्यो ।

”हजुर ! बसन्ता गाउँ हाम्रो पकड भएको क्षेत्र हो । आज त्यहाँका जनता भोकभोकै मरिरहेका छन् । कृषि मजदुर र श्रमिकको बाहुल्यता छ त्यहाँ । केही न केही त गर्नुप¥यो हजुर ।” उसले गाउँपालिका अध्यक्षकहाँ गएर हात जोड्दै भन्यो ।

जसोतसो धेरै हात जोडेपछि उसले राहत सामग्री स्वरुप प्राप्त सामग्री पायो ।  त्यसपछि उसले सो सामग्री सिधै आफ्नो घर लगेर गयो । आधा जति आफ्नो घरमा लुकायो । साँझपख एक लिष्ट तयार ग¥यो । अर्को दिन घर नजिकको एक ठाउँमा मानिस बोलाएर राहत वितरण गर्न थाल्यो ।

”हाम्रो पार्टीले गाउँपालिका जितेको ठाउँ हो । हाम्रा मानिसलाई मात्र राहत बाँड्नुपर्छ ।” ऊ बारम्बार आफ्ना सहकर्मीलाई सम्झाइरहन्छ ।

अलि अलि राहत बाँडेको मात्र के थियो, राहत वितरण स्थलमा फरक पार्टीको नेता चमकलाल दलबदलसहित आइपुग्यो ।  

“गाउँपालिकाबाट राहत ल्याएर आफ्ना मानिसलाई बाँडन थालेको सूचना पाएर आएका छौं ? के गरेको यस्तो ? राहतको नाममा राजनीति.....?”

“त्यसो होइन भाई ! मैले आफ्नो तर्फबाट केही गाउँले, नजिकका साथीभाईलाई राहत सहयोग गरेको हुँ ।”

“मैले सब थाहा पाइसकेको छु गाउँपालिकाको कर्मचारीबाट । धेरै चोखो बन्ने प्रयास नगर् ।” चमकलालले उसको पोल खोल्यो ।  

ऊ मौन रह्यो ।

त्यहाँ रहेको राहत सामग्री भीडले कब्जामा लियो । चमकलालले घोषणा ग¥यो, “अब सर्वदलीय समितिले राहत वितरण गर्छ । गाउँपालिकाबा थप राहत ल्याइन्छ । त्यतिबेला सम्म यो राहत वितरण ठप्प ।”

भीडले ताली बजायो ।  

स्थानिय नागरिक अब कहिले राहत आउने भनेर प्रतिक्षा गर्न थाले । रोशनलाल भने भित्रभित्रै मख्ख थियो, आफूले लुकाएको राहत सामग्रीको बारेमा कसैले थाहा नपाएकोमा ।

 

कुहिएको चामल  

 

लकडाउनका कारण मानिस घरमा थिए । कोहीकोही मानिस बाध्यताले आक्कलझुक्कल मात्र बाहिर निस्कन्थृे । मानिसहरुले वडामा राहत वितरण हुने खबर माइकिङ मार्फत थाहा पाए ।  

आज स्थानिय सरकारी विद्यालयको चौरमा ठूलो भीड जम्मा भयो । अभावग्रस्त मानिसभन्दा स्थानिय मध्यमवर्गीय मानिसको पनि भीड जम्मा भयो ।  

राहत वितरण हुने ठाउँमा वडा अध्यक्ष, सदस्य, केही राजनीतिक कार्यकर्ता एवम् प्रहरी थिए । राहत लिने मानिसको नामावली केही पहिल्यै बनिसकेको थियो केही टिपोट हुँदै थियो ।  

राहत सामग्रीमा पाँच किलो चामल, दुई किलो दाल, एक लिटर तेल, एक पोका नुन थियो ।

”पालैपालो आउनुहोला । हुलहाल नगर्नुहोला । हामी सबैलाई राहत दिन्छौं” वडाअध्यक्ष आफू दाता भएको परिचय ँिददै थिए । मानिस आउने जाने त्रम चलिरह्यो ।

एक घण्टामा त्यहाँ हल्ला फिँजियो—“कुहिएको चामल बाँडिदैछ ।” यो हल्ला घटेन, बढ्दै गयो ।  

“यो हुनै सक्दैन । त्यसै आरोप लगाउने । राहत जस्तो कुरामा पनि राजनीति गर्ने ?” वडाध्यक्ष कराए ।

सबै मानिसको रोहबरमा एक पोका खोलियो, अर्को.....फेरि अर्को । सबमा चामल कुहिएको छ । राहत वितरण रोकियो ।

पत्रकार आए, फोटो खिचे । समाचार देश विदेशमा पुग्यो । वडाध्यक्ष नगरपालिका पुग्नु अघिसम्म खबर भाइरल भइसकेको थियो । मेयर, कार्यकारी प्रमुख वडा अध्यक्ष सब भेला भइसकेका थिए ।  

“किन यस्तो घटना घट्यो ?” पत्रकारले मेयरलाई सोधे ।

“ठेकेदारले बेइमानी ग¥यो । ठेका अनुसार काम गरेन ।”

“अरु कसैलाई थाहा नदिई त्यसैलाई टेन्डर हाल्न लगाएको कुरा बाहिर आइसक्यो त ?” अर्को प्रश्न आयो ।

“अरु कसैले टेन्डर हालेन्, अनि मैले के गर्नु त ?” मेयर स्पष्टिकरण दिइरहेका थिए ।  

साँझ अर्को खबर आयो । पत्रकारले ठेकदारलाई सोध्दा, “मसँग सबै चामल थिएन । मैले अरुबाट लिएको सामानमा खराबी रहेछ । मैले थाहा नै पाएन हजुर ।”

एकअर्कालाई दोष दिने क्रम जारी थियो । कतिपय मानिस भ्रष्टाचार अनुभव गरिरहेका थिए भने कतिपय भोकले तडपिइरहेका थिए ।

 

मानवताको कुनै भुगोल हुँदैन्

 

ऊ राजधानी बसेको पनि दश वर्ष जति भइसकेको छ । हिजोको दिनमा विद्यार्थी थियो अब बोर्डिङको शिक्षक । ऊ बसेको घरमा देशका विभिन्न ठाउँबाट आएर बसेका मानिस छन् । कोही विद्यार्थी, ससाना पदका कर्मचारी, मजदुर आदि । अलग अलग भूगोलका मानिसको बस्थे त्यस घरमा ।  

लकडाउनमा समाचार सुन्नु, जसोतसो गाँस टार्नु र घरमा भएका अरु डेरावालसँगको वार्तालाप दिनचर्या बनेको छ ।

त्यहाँ बस्ने मानिसले कतै न कतैबाट राहत स्वरुप खाद्य सामग्री ल्याएकै छन् ।

“आज हाम्रो जिल्लाको सभासदको रोहबरमा राहत सामग्री वितरण गरियो । हामीले पनि राहत ल्यायौं ।” एक विद्यार्थी बोल्यो ।

“आज हाम्रो प्रदेशका मानिसलाई त्यहाँको सम्पर्क मञ्चले राहत वितरण ग¥यो ।” अर्को तल्लामा बस्ने विद्यार्थी बोल्यो ।

“आज त्रिभुवन विश्वविद्यालयमा राहत वितरण भयो ।” अर्को दिन अर्को विद्यार्थीले पनि राहत सामग्र्री पाएको सगर्व घोषणा ग¥यो ।

“आज हाम्रो निर्माण कम्पनीले सबै मजदुुर बोलाएर राहत वितरण ग¥यो ।” त्यसै घरमा बस्ने एक मजदुरले पनि आफूले राहत पाएको विस्तार लगायो ।

दुई महिना भइसकेको छ, लकडाउन जारी छ । भएको रासन समाप्त हुने क्रममा छ ।

उसले आफू कार्यरत निजी विद्यालयको प्रमुखसित गुहार लगायो ।  

“अहिले लामो लकडाउनका कारण हामी सब समस्यामा छौं । जसोतसो काम चलाउनुस् सर । हामी अहिले केही गर्न सक्दैनौं । लकडाउन खुलेपछि सोचौंला ।” सान्त्वनाले टोलाएको थियो ऊ ।

“दाजुले मैले गर्नसक्ने केही छ की ? यस्तो बेलामा सबलाई समस्या हुन्छ । केही भए भन्नुस् है ।” आज बिहान एक दुर्गम ठाउँबाट पढ्न आएको एक विद्यार्थीले भन्दा उसका आँखा रसाए । ऊ केही बोल्न सकेन । उसका आँखाबाट बगेको आँसुले सबै कुरा बताइरहेको थियो ।  

उक्त विद्यार्थीले आफूसँग भएको राहत सामग्री दिएर भन्यो, “दाजु, यो राख्नुहोस् । केही भए म छँदै छु ।”

प्रकाशित: २६ श्रावण २०७७ ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App