कला

लघुकथामा लघुवार्ता

 नन्दलाल आचार्य

 लघुकथामा लघुवार्ता  रामविक्रम थापा

१. लघुकथाको सेरोफेरोमा यहाँको लघुपरिचय ?

     तत्कालीन बाम्राङ ८, खोटाङमा २०२६ सालमा जन्मेको यो राविथाले कविता लेखनको करीब डेढ दसकपछि २०५२ सालदेखि मात्र लघुकथामा कलम चलाएको हो। २०५२ चैतको मिर्मिरे १२७ मा ‘मान्छेको मोल’ लघुकथा फुटकर रूपमा प्रकाशित भएर उत्साह जागेथ्यो। त्यसपछि निरन्तर लेख्दै र पत्रिकातिर छाप्दै जाँदा २०५५ सालमा ४० लघुकथाको पुस्तक निस्केथ्यो पात्रहरू । त्यसयता लघुकथाका विशेषाङ्क र प्रतिनिधि सङ्ग्रहहरूमा मेरा लघुकथा र चर्चाहरू आइरहे। २०७६ मा दिक्तेल बहुमुखी क्याम्पसकी छात्रा लिला बजगाईले मेरो ‘पात्रहरू’का बारेमा शोध गरिन्। २०५५ यताका मेरा लघुकथाहरूको किताब निकाल्ने सोचमा सङ्कलन गरी पाण्डुलिपि  तयार गरेको छु। छाप्ने मेसो र साइत जुरेकै छैन।

२. लघुकथा लेख्न केले छुनुपर्छ? समकालीन लघुकथा लेखनका विषयवस्तु ?

      समाज, समय, राजनिती जस्ता विविध क्षेत्रका विकृति,विसङ्गति एवं प्रहारिला कुराहरूले झटारो हानेपछि  मन शान्त पार्न म लघुकथा लेख्ने गर्छु। समकालीन लघुकथा लेखनका विषयवस्तु पनि यस्तै होलान् भन्ने मलाई लाग्छ। विज्ञान र प्रविधिका अतिरिक्त आधुनिक चिन्तन र पठनले पनि लेखनमा प्रभाव पार्ने नै भए।

३. लघुकथाको विकासमा भएको प्रयत्नलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

    डा. पुष्करराज भट्ट, विवेक सिर्जनशील प्रकाशन, एकेडेमी, मधुपर्क जस्ता व्यक्ति, संस्था र पत्रिकाहरूको योगदान  स्तुत्य छ । यिनका प्रयत्नहरू सुकिला र प्रेरणादायी  छन्। लेखन, प्रकाशन, अनुसन्धान, पाठ्यपुस्तकमा समावेशीकरण,पुरस्कारको स्थापना र पाठकीय लोकप्रियता  यी सबै दृष्टिमा लघुकथाको सकारात्मक मूल्याङ्कन गर्न सकिन्छ। पाठकको जाँगरले लघुकथा लेखकलाई उत्साही बनाउदा सर्जक पनि जुर्मुराएर उठ्नुपर्ने अवस्था सिर्जना भएको छ।

४. लघुकथा दिनानुदिन लोकप्रिय हुनुको कारण के होला ?

     एकथाल भातभन्दा एकपित्को अचारकै स्वाद गाढा र प्रभावकारी हुन्छ। उपन्यास त के कथा पढ्नेसम्म फुर्सद र धैर्यता छैन आजको मान्छेसित। घोरिएर उपन्यास पढ्ने जमाना गए अब । आजको यान्त्रिक  मान्छे छोटो, मीठो र चोटिलो कुरा पढ्न मन गर्ने भएकाले लघुकथाको लोकप्रियता  बढेको हो ।

५. लघुकथालाई अझ लोकप्रिय बनाउन कसले के गर्नु पर्ला?

बृहत् रुपमा लघुकथाको समालोचना गरिदिनु पर्‍यो समालोचकले । अध्येता र समालोचकहरू आजको पुस्तामा ओर्लिनु पर्‍यो । लघुकथाको ईतिहास त बनिसक्यो नि ! समालोचकले अब लघुकथाको वर्तमान लेख्नु पर्‍यो। लेखनमा आधुनिकता ल्याउने काम लेखकको भयो । नेपाल प्रज्ञा प्रतिष्ठानले कम्तिमा पनि प्रदेशस्तरमा लघुकथाका गोष्ठी र कार्यशाला गर्नु पर्‍यो । प्रकाशन सन्स्थाहरूले पनि प्राथमिकतपूर्वक लघुकथाका पुस्तक छाप्नु पर्‍यो । अनुवादतिर पनि लाग्नु पर्‍यो लघुकथालाई । यसो भएमा लघुकथाको लोकप्रियतामा अझ अभिबृद्धि हुने छ।

६. लघुकथा कसरी लेख्ने ? मार्गनिर्देश गर्नुहुन्थ्यो कि !

 अध्ययन,मनन र चिन्तनको दायरा फराकिलो हुनु पर्‍यो । अभ्यासको निरन्तरता पनि लघुकथा लेखनको अर्को अनिवार्य शर्त हो ।

सैद्धान्तिक पक्षको सम्यक् अध्ययनले पनि लेखनमा टेवा पुर्‍याउछ । आजको मान्छेको कथा नवीन शैली र प्रस्तुतिमा लघुकथा लेखिनु पर्छ। लघुकथा यसरी नै लेख्नु पर्छ भन्दै मार्गनिर्देश गर्ने त्यस्तो विराट क्षमता मसित छैन ।

७. लघुकथाको सेरोफेरोमा मैले सोध्न भुलेको तर हजुरले भन्न चाहेको कुरा केही छ कि ?

लघुकथा सम्बन्धी लघु- कुराकानी यो भएकाले छुटेको त्यस्तो उल्लेख्य कुरा त होला जस्तो मलाई लाग्दैन। विद्यालय र क्याम्पसका नेपाली पाठ्यपुस्तकमा लघुकथा अलिक व्यापकरुपमा आउनु पर्‍यो । एकेडेमीले लघुकथाकेन्दृत कार्यक्रमहरू गर्नु पर्‍यो । लघुकथाको मानक र सर्वमान्य समालोचनात्मक पुस्तक ( अध्यावधिक) आउन ढिलो भएजस्तो मलाई लाग्ने गर्छ । धन्यवाद मित्र नलाआजी !

प्रकाशित: २६ श्रावण २०७७ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App