कला

प्रजातान्त्रिक योद्धाको स्मृतिमा बृहत साँस्कृतिक संग्रहालय बन्दै

प्रजातान्त्रिक योद्धा सर्वधन राई । तस्बिर : नागरिक

खोटाङका प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राईको स्मृतिमा बृहत साँस्कृतिक संग्रहालय निर्माणको काम अघि बढाइएको छ । जहानीय राणा शासन र निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष गरेका प्रजातान्त्रिक योद्धाको स्मृतिमा उनकै जन्मस्थल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले सेरामा बृहत साँस्कृतिक संग्रहालय निर्माणको काम अघि बढाइएको हो ।  

आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारबाट विनियोजन भएको ३० लाखबाट बृहत साँस्कृतिक संग्रहालय निर्माणका लागि पर्खाल हाल्ने, घेराबारा हाल्ने लगायतका प्रारम्भिक चरणका काम थालिएको सर्वधन राई स्मृति प्रतिष्ठानका कोषाध्यक्ष एबं नेकपा नेता रामप्रसाद दंगालले बताए । करिब १२ रोपनी क्षेत्रफलभित्र निर्माण गरिने बृहत साँस्कृतिक संग्रहालयका लागि प्रदेश सरकारबाटै आर्थिक वर्ष २०७७/०७८ पनि ४५ लाख बजेट विनियोजन भएको प्रतिष्ठानले जनाएको छ ।  

प्रजातान्त्रिक योद्धा सर्वधनले तत्कालिन राजालाई चुनौती दिँदै बनाएको तर हाल भग्नावेशमा परिणत हुने अवस्थामा पुगेको ५५ झ्याले घरकै झल्को दिने घर बनाएर संग्रहालय स्थापना गर्नेगरी काम अघि बढाइएको हो । देश र प्रजातन्त्रका लागि निरन्तर संघर्ष गरेर जीवन समर्पण गरेका राईको योगदानलाई स्मरण गर्दै नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा उनको स्थान एबं गौरवशाली इतिहासलाई ताजा राख्ने उद्देश्यका साथ प्रदेशसभा सांसद उषाकला राईको अध्यक्षतामा ११ सदस्यीय प्रतिष्ठान गठन गरेर बृहत साँस्कृतिक संग्रहालयको काम अघि बढाइएको हो ।

नेपालको प्रजातान्त्रिक एबं लोकतान्त्रिक आन्दोलनको विभिन्न योद्धाहरुको बारेमा अध्ययन–अनुसन्धान गर्ने एबं पूर्वी नेपालकै बृहत साँस्कृतिक संग्रहालय निर्माण गर्ने लगायतका उद्देश्य बोकेको प्रतिष्ठानलाई प्रतिष्ठानकै उपाध्यक्ष केशव राईले आफ्नो अंशको ११ रोपनी ७ आनाभन्दा बढि जग्गा दान गरेका छन् ।

विक्रम संवत १९७२ साल भदौ ५ गते जन्मिएका सर्वधनले २००७ सालको प्रजातान्त्रिक आन्दोलनकाक्रममा जहानीय राणा शासन अन्त्याका लागि जनमुक्ती सेनाको कमाण्डर भइ पूर्वको किल्ला जित्दै चरिकोटसम्म कव्जा गरी राणा शासन अन्त्य गर्नमा महत्वपूर्ण योगदान दिएका थिए । यस्तै २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेर निरंकुस पञ्चायती व्यवस्था लादेपछि राजाको सो कदम बिरुद्ध राईकै नेतृत्वमा २०१८ साल कात्तिकमा पहिलो पटक शसस्त्र बिद्रोह गरी दिक्तेल कब्जा गर्दै ऐसेलुखर्क कब्जा गर्ने प्रयास गरिएको थियो । शसस्त्र विद्रोह असफल भएपछि र तत्कालिन शासकले टाउकोको मूल्य तोकेपछि सर्वधनले भारतमा ८ वर्ष निर्वासन जीवन बिताएका थिए ।

राईले खाल्लेमा ५५ झ्याले घर बनाउँदा तत्कालिन शासकले केही झ्याल भत्काउन लगाएका थिए । खोटाङबजारमा रहेको सदरमुकामलाई उनकै नेतृत्वमा दिक्तेलमा सारिएको थियो ।

प्रकाशित: ७ श्रावण २०७७ १०:४५ बुधबार

प्रजातान्त्रिक योद्धा बृहत साँस्कृतिक संग्रहालय