कला

साहित्य र पत्रकारिताबीच सहकार्य आवश्यक : कवि विनोदी

चितवनमा शनिबार ‘एकान्तवास’ पुस्तक विमोचन गरिँदै । तस्बिर : सूर्यप्रकाश/नागरिक

वरिष्ठ कवि गोविन्दराज विनोदीले साहित्य र पत्रकारिताबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । पत्रकार विनोदबाबु रिजालको पहिलो पुस्तक एकान्तवासको शनिबार क्षेत्रपुरमा लोकार्पण गरेपछि उनले यस्तो बताएका हुन् । ‘साहित्य र पत्रकारितालाई सँगसँगै लैजान सकिएको छैन’ कवि विनोदीले भने, ‘सहकार्य गर्नुपर्छ, आवश्यक छ ।’ नेपाल पत्रकार महासंघका सदस्य समेत रहेका विनोदीले पत्रकारहरुका पुस्तक एकपछि अर्को आउनु खुसीको कुरा भएको बताए ।

युरेका पब्लिकेसनले बजारमा ल्याएको एकान्तवास पत्रकार रिजालबाट लेखिएको लकडाउन डायरी हो । चैत ११ देखि जेठ ३२ गतेसम्मका विभिन्न मितिमा लेखिएका दैनिकी पुस्तकमा समावेश छ । पुस्तकको वितरक सम्पूर्ण किताब रहेको छ । युरेका पब्लिकेसनका लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामेश्वर पुस्तकालय क्षेत्रपुरका अध्यक्ष एवं कवि बालकृष्ण थपलिया, समाजसेवी ध्रुवराज थपलिया, समिक्षक उदय अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखा अध्यक्ष राधेश्याम खतिवडा, कवि एवं कथाकार एलबी क्षेत्री, चितवन साहित्य परिषदका पूर्वअध्यक्ष केदारनाथ खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एकान्तवासका लेखक रिजालले हाल भोगिएको काला दिन भावी पुस्ताले पढ्न पाउनु पर्छ भन्ने लागेर पुस्तक लेखेको बताए । लकडाउन डायरीको अंश पढेपछि पुस्तक प्रकाशन गर्नु पर्छ भन्ने लागेर बजारमा ल्याइएको युरेका पब्लिकेसन एवं सम्पूर्ण पुस्तकका लेखराम सापकोटाले बताए ।

प्रकाशित: ४ श्रावण २०७७ ०६:४१ आइतबार

साहित्य र पत्रकारिता सहकार्य आवश्यक