काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक बाहेकका सबै सेवा कार्यालयहरु बन्द छन्। धेरै मानिसको रोजीरोटी गुमेको छ। दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आएका मजदुरहरूको अवस्था झन्–झन् जटिल बन्दै गएको छ। देश लकडाउनमा गएसँगै भारी बोक्ने, घर बनाउने र झाँडु पोछा लगाउने काममा आवद्ध ज्यालादारी मजदुर मात्र होइन नेपाली चलचित्रका प्राविधिकहरु पनि यसको चपेटामा परिसकेका छन्।
चैत ११ देखि सरकारले गरेको लकडाउनले गर्दा चलचित्र क्षेत्रका सबै कामकाज ठप्प छन्। यसैबिच, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन) ले दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरुलाई सहयोग गर्न सबैसँग अपिल गरेका छन्। उनकै पहलमा नेपाली चलचित्रकर्मीले पनि आफूले सक्दो र भ्याएसम्मको सहयोग गरिरहेका छन्। चलचित्रकर्मीका सहयोगी हातहरु अगाडि बढिसकेका छन्।
‘लकडाउन भएलगत्तै यहाँका प्राविधिकहरु दैनिक उपभोग्य सामानहरु जुटाउन नै धौ–धौ पर्ने अवस्थामा पुगिसकेका थिए,’ अध्यक्ष लामा भन्छन्, ‘सहयोगको अपिलपछि कलाकारहरुले गरेको सहयोग पाएपछि दैनिकी गुजार्न सहज भएको छ, तर लकडाउन अझै एक महिना मात्रै थपियो भने पनि प्राविधिकहरुको समस्या फेरी उस्तै हुनेछ।’
लामाका अनुसार नायक पल शाहले नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते आफ्नो व्यक्तिगत तर्फबाट दुई सय विपन्न ज्यालादारी मजदुरलाई पाँच लाख रुपैयाँ भन्दा बढीको खाधान्न सहयोग गरेका छन्। सहयोग गर्न पल आफैं प्राविधिकहरु भएको ठाउँमा पुगेको लामा बताउँछन्। त्यो भन्दा अघि नायिका पूजा शर्माले पनि दुई लाख भन्दा बढी रकमको खाधान्न सहयोग गरेकी थिइन्। अर्की नायिका वर्षा राउतले लकडाउन भएको केही दिनमै दैनिक उपभोग्य सामाग्री किन्नका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको लामाको भनाई छ।
भोक लाग्दा खाना खुवाउने, घाम लाग्दा छाता ओडाउन देखि लिएर कलाकारको हरेक क्रियाकलापमा सहयोग गर्ने प्राविधिकहरु अहिले आफैं समस्यामा परेका छन्। कलाकारहरूको सफलताका लागि दिनरात नभनी काममा खटिने प्राविधिकहरुलाई समस्या परेको बेला सक्दो सहयोग गर्न लामाको आग्रह छ।
चलचित्र प्राविधिक संघको अपिलमा हालसम्म नायक पल शाहले पाँच लाख दुई हजार, नायिका पुजा शर्माले दुइ लाख, निर्माता तथा निर्देशक श्री कृष्ण चाँपागाईँले १ लाख २२ हजार, दीपकराज गिरीको टिमले १ लाख २० हजार सहयोग गरेका छन्।
त्यस्तै नायिका बर्षा राउतले ५१ हजार, निता ढुंगाना ३५ हजार, फिल्म सोसाइटी नेपालले ३० हजार, लोकेशन नेपालका अध्यक्ष गौतम धिमालले २ लाख २५ हजार, अर्जुन तिवारीले २० हजार,पुष्कर राउत १५ हजार र रिवाज फाउन्डेसनका अध्यक्ष दुर्गा विशुरालले ३० हजार रुपैयाँ सहयोग गरेका छन्।
पछिल्लो समय नेपाली चलचित्रका क्षेत्रमा लोकप्रिय बन्दै गएका नायक पल शाहले दुई साताअघि सामाजिक सञ्जालमा स्टाटसमार्फत विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिकलाई सहयोग गर्ने निर्णय गरेको जानकारी गराएका थिए। आफ्नो व्यक्तिगत तर्फबाट प्राविधिकहरुलाई सहयोग गर्न तयार रहेको बताउँदै उनले स्टाटसमा लेखेका थिए, ‘आर्थिक अवस्था कमजोर हुनु भएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरु सबैको साथमा म सधैं हुनेछु।’
आफ्नो संर्घष, लगाब र परिश्रमबाट दुःख र पीडाको खुड्किलो पार गरेर यस अवस्थामा आएका पल अरुको दुःख बुझ्ने बताउँछन्। केही वर्ष अगाडि टेलिभिजनमा भिजुअल एडिटर हुँदा महिनौं तलब नपाएर आफूले खाएको उधारो तिर्न नसकी अर्कै बाटो हिड्ने अवस्थाबाट माथि उठेका पल काल्पनिक पर्दामा मात्र होइन वास्तविक जीवनका पनि ‘नायक’ रहेछन् भन्ने उनका यी फैलिरहेका सहयोगी हातहरुबाट पुष्टि भएको छ। त्यस्तै नायिका पुजा शर्माले पनि कलाकारको दुःख र सुखमा साथ दिने प्राविधिकहरुलाई यो समयमा सहयोग गर्नु हाम्रो कर्तव्य भएको बताउँदै सामाजिक सञ्जालमार्फत आफूले खाद्यान्न सहयोग गर्न लागेको जानकारी गराएकी थिइन्।
हाँस्यव्यंग्य कलाकार किरण केसीले पनि लकडाउनका समयमा चामल र मास्क सहयोग गरेका छन्। दैनिक मजदुरी गरेर जिविकोर्पाजन गरिरहेका मजदुरहरुका लागि १०० बोरा चामल र १० हजार माक्स महालक्ष्मी नगरपालिकालाई हस्तान्तरण गरेका हुन्। नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ‘आयंका फाउन्डेशन’ मार्फत जनावरको खानाका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै गायक प्रकाश सपुतले दुई लाख,कलाकार संघले एक लाख एक हजार, नायिका वर्षा सिवाकोटीले एक लाख र लोकदोहोरी गायक बद्री पंगेनीले ५० हजार रुपैयाँ आर्थिक सहयोग राहत कोषमा जम्मा गरेका छन्।
प्रकाशित: ५ वैशाख २०७७ ०२:२४ शुक्रबार