कला

खुश्बुलाई दुई वर्ष जेल

काठमाडौं – काठमाडौं जिल्ला अदालतले चेक बाउन्स (बैंकमा पैसा नभई चेक दिने) मुद्दामा मोडल खुश्बु ओलीलाई बिगोबापत दुई वर्ष जेल सजाय ठहर गरेको छ। गत जेठ ७ मा अदालतले ओलीलाई चेक अनादर मुद्दामा ३६ लाख बिगोसहित ३ महिना कैद, ३ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। अदालतले नौ महिनाअघि गरेको फैसलाअनुसार उनले बिगो रकम नतिरेपछि कानुनअनुसार थप दुई वर्ष कैद तोकिएको हो। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई बिगोसहितको जरिवाना तिराउने फैसला गरेको थियो। सोही इजलासले शुक्रबार बिगोबापतको रकममा कैद तोकेको हो।

सप्तारीका गोपालबहादुर कट्वालले २०७४ साउन २९ मा मोडल ओलीले दिएको चेक बाउन्स भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका थिए। लेनदेनको क्रममा मोडल ओलीले कट्वाललाई चेक दिएकी थिइन्। कुमारी बैंकको ३६ लाख रुपैयाँको चेक दिएर बैंकमा पैसा नभएपछि उनले चेक अनादरमा मुद्दा दर्ता गरेका थिए।

मोडल ओलीले पैसा जम्मा नभएपछि २०७३ पुस २९ मा लेनदेनका लागि कट्वाललाई चेक दिएकी थिइन्। चेक काटिएको मितिले १६ दिनसम्म बैंक धाएपछि पनि नसाटिएपछि मुद्दा दर्ता गरेका थिए। अदातलको फैसला कार्यान्वयन नभएपछि कट्वालले फैसला कार्यान्वयनको माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिए।

गत साउन १३ मा जिल्ला अदालतले म्याद तामेल गरी सम्बन्धित वडामा पठाएको थियो। वडाले म्याद तामेल गर्दासमेत मोडल ओली सम्पर्कमा नआएपछि कट्वालले जायजेथा प्राप्त गर्न नसकेको भन्दै जरिवाना र बिगो बमोजिम कैद माग गरेका थिए। मुलुकी अपराध संहिता अनुसार रकम नतिरेमा कैद बस्नुपर्ने व्यवस्था छ। मोडल ओलीले रकम नतिरेका कारण कैद बस्नुपर्ने भएको हो।

मोडल ओली सन् २००० मा काठमाडौं जेसिसको आयोजनामा भएको प्रतियोगितामा ‘लिटिल लेडी’ को च्याम्पियन जितेकी थिइन्। त्यसपछि सन् २००६ मा मिस टिनको ताज पहिरन सफल भएकी थिइन्। प्रहरी इन्काउन्टरमा मारिएका डन ‘चरी’ भनिने दिनेश अधिकारीसँगको प्रेम सम्बन्धपछि उनी चर्चामा आएकी थिइन्।

प्रकाशित: १८ फाल्गुन २०७६ ०३:०९ आइतबार

चेक_बाउन्स खुश्बु_ओली जेल