काठमाडौं - राजधानीको सिद्धार्थ आर्ट ग्यालरीमा तिब्बतको संस्कृति र कला झल्काउने परम्परागत थाङ्का प्रदर्शनी भइरहेको छ। गत माघ १४ देखि सुरु भएको तिम्बतको परम्परागत थाङ्का प्रदर्शनीमा कलाकार तेञ्जिङ धार्गे र लोप्साङ छेतेनद्वारा तयार गरिएका करिब तीन दर्जन थाङ्का राखिएका छन्।
परम्परागत थाङ्का कला लोप हुँदै गएको सन्दर्भमा नेपाली कलाकारहरूलाई प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरिएको जानकारी उनीहरूले गराएका छन्। उनीहरूले थाङ्का कलामा पद्म सम्भव, मञ्जुश्री र रक्तयमरीलगायतलाई केन्द्रित गरेका थिए।
‘थाङ्का कला मानिसको जीवन प्रक्रियासँग सम्बन्धित भएकाले यसलाई जटिल कलाको रूपमा परिभाषित गरिएको छ। यसले परम्परा र समाजलाई एकसाथ जोड्ने प्रयस गरेको छ,’ कलाकार लोप्साङ छेतेनले भने।
अर्का कलाकार तेञ्जिङ धार्गेले नेपाली संस्कृतिलाई चित्रमार्फत प्रस्तुत गरेका छन्। नेपाली पम्परागत कलाको रूपमा परिचित थाङ्का चित्रमार्फत बौद्ध दर्शनको विस्तारका क्रममा विकसित भएको हो। तामाङ, शेर्पा, ह्योल्मोलगायत समुदायमा गुम्बा सजाउनेदेखि मृत्युसंस्कारसम्म थाङका कलाको प्रयोग हुन्छ। पछिल्लो समय थाङ्का कला बजारका लागि समसामयिक बनाउन सकिए पनि परम्परागत विधालाई भने सुरक्षित राख्नुपर्ने उनीहरू बताउँछन्।
नेपाली थाङ्कामा प्रयोग हुँदै आइरहेको बुद्ध, भृकुटी र पद्म सम्भव जस्ताको ठाउँमा समसामयिक वस्तुलाई राखेर कोर्ने गरिएको छ। चीनमा थाङ्का कलाको बजार ठूलो भएकाले सिर्जनात्मक मानिने यसको आयाम फराकिलो हुने उनीहरू बताउँछन्। राजधानी वरपरको बौद्ध, स्वयम्भू, पाटन दरबार स्क्वायर, भक्तपुर र ठमेलमा थाङ्का राम्रो मूल्यमा बिक्री हुने गरेका छन्।
कलाकार तेञ्जिङ धार्गेका अनुसार १७ औं शताब्दीमा नेपालमा थाङ्का कला प्रवेश भएको हो। ‘१७ औं शताब्दीमा तिब्बतमा थाङ्का कला सुरु भएको मानिन्छ। त्यसबेला नेपाली कला तिब्बतमा भित्रिएको थियो। अहिले थाङ्का कला राम्रै मूल्यमा बिक्री हुने गरेका छन्,’ उनी भन्छन्। बुद्धका मन्त्रलाई थाङ्कामा उतार्न गाह्रो हुने उनी बताउँछन्। ‘थाङ्का बौद्ध धर्मसँग निकट मानिन्छ। यो बौद्ध दर्शनको विस्तारका क्रममा विकसित भएको हुनाले विभिन्न गुम्बा सजाउनेदेखि मृत्युसंस्कारसम्म प्रयोग हुन्छ। थाङ्का कला बजारका लागि समसामयिक बनाउन सकिए पनि परम्परागत विधालाई भने सुरक्षित राख्नुपर्छ,’ उनले भने। प्रदर्शनी माघ २८ सम्म चल्नेछ।
प्रकाशित: २६ माघ २०७६ ०२:४८ आइतबार