कला

माघीको उल्लास

धनगढी - सुदूरपश्चिममा माघी र मकर संक्रान्ति उल्लासमय शैलीमा मनाएइको छ। सो क्षेत्रमा बसोबास गर्ने थारू समुदायले माघी र पहाडी समुदायले मकर संक्रान्ति पर्व मनाएका थिए। यस अवसरमा कैलालीको गोदावरी, डडेल्धुराको परशुराम धाम, डोटीको सेती नदीलगायत तीर्थस्थलमा बुधवार स्नान गर्नेको घुइँचो लागेको थियो। गोदावरीमा बुधबारदेखि सुरु भएको मकर मेला १२ दिनसम्म चल्नेछ।

कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायले माघी पर्वलाई विशेष महत्वका साथ मनाएका थिए। उनीहरूले यसै पर्वबाट आफ्नो नयाँ नेता छनोट गरेका थिए। बिहानैदेखि थारू समुदायमा नाचगान भइरहेका छन्। ‘बिहान स्नान गरेलगत्तै तिलको आगो तापेर मान्यजनसँग चामलको सेतो टिका थापेर आर्शिवाद लियौं,’ स्थानीय भीम चौधरीले भने, ‘माघी पर्वले सबैतिर उल्लास बनाएको छ।’ यस क्षेत्रमा मास, नुन र चामलको मिसाएर बनाइएको ‘निस्राउ’ चेलीबेटीलाई दक्षिणा दिने चलन समेत रहेको छ। माघीको अवसरमा थारू समुदायका मानिसहरू झुम्रा, सकिया र मघौटा लगायतका नाचमा नाचेका थिए। विभिन्न टोलमा मौलिक थारू भेषभूषामा सजिएका युवा पुस्ताको नाचगानले बस्तीमा रौनक बढेको थियो।

‘थारू समुदायको बस्तीमा गएर माघीको रमाइलो हेरें,’ स्थानीय तीर्थ रावलले भने। यस अवसरमा थारू बस्तीमा जाने पाहुनालाई उनीहरूले अण्डीको भात, ढिक्री, जाँड, माछा, खसी र बंगुरको मासु लगायतका खानाका परिकार दिएर स्वागत गरेका थिए। माघ १ मा काँचो मासु हेर्नु हुदैन भन्ने मान्यता अनुसार पुस मसान्तको राति उनीहरूले मासुका परिकार बनाउने गर्छन। धनगढी उपमहानगरपालिका वडा नं–६ मा माघी महोत्सव सुरु भएको छ।

महोत्सव आगामी माघ ३ सम्म चल्नेछ। माघ २ मा प्रत्येक गाउँमा एक जना भलवन्सा चयन गर्ने गर्छन। गाउँभरमा मानिस जम्मा भएर भलवन्सा चयन गरिन्छ। सर्वसम्मत नभएमा मतदान गरेर भलवन्सा चयन गर्ने गरिन्छ। कयौं ठाउँमा मतदान समेत हुने गरेको छ। एक वर्षभर थारू समुदायको गाउँभरका स्थानीयले आफ्नो गाउँको भलवन्सालाई नेता मान्छन। गाउँको विकास, निर्माण र गाउँमा हुने स–साना झैझगडा र विवाद मिलाउने लगायतका काम भलवन्सा गर्ने गर्छन।

प्रकाशित: २ माघ २०७६ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App