कला

रिडीमा माघे सङ्क्रान्ति मेला सुरु (फोटो फिचर)

पाल्पा- आज माघे सङ्क्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दानधार्मिक कार्य गरी मनाइदैछ। आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। जेठी, माइली र कान्छी सङ्क्रान्तिको रुपमा मनाइने माघे सङ्क्रान्ति मेला पाल्पा स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्रमा सुरु भएको छ।

नेपालकै चार धाममध्येको एक धामको रुपमा प्रसिद्ध रुरु क्षेत्र धाममा मेलाका लागि स्नान गर्न तथा मेला हेर्नका लागि आजदेखि नै भक्तजनहरुको घुइँचो लाग्न थालेको छ। मेलामा पाल्पा र गुल्मी क्षेत्रमा गुल्मी उद्योग वाणिज्य संघ, रुरु फेण्डस क्लव र विभिन्न संघ संस्थाहरुकोे आयोजनामा दोस्रो रुरु महोत्सव समेत सुरु भएको छ। मंगलबार नै महोत्सवको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरि महोत्सव सुरु भएको हो।

रुरु क्षेत्रमा कालीगण्डकी उत्तर बहेका कारण पनि उत्तरबाहीनी नदीमा स्नान गर्नाले पुण्यआर्जन हुने हिन्दू परम्परा र विश्वासका आधारमा हजारौं धर्मावलम्बीहरुका साथै स्वदेशी तथा विदेशी भक्तजनहरुको भीड लाग्ने गर्दछ। धार्मिक मान्यता अनुसार सूर्य उत्तरायण भएको समय यज्ञ, दान आदी धार्मिक विधिका लागि शुभ मानिने भएकोले शुभ कर्महरु पनि यसै बेला गर्ने परम्परा छ। माघे सङ्क्रान्तिको अवसरमा आज बिहानैदेखि भक्तजनहरु नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयमा मकर स्नान गरिरहेका छन्।

स्नान, दान तथा पूजा गरेपछि आ(आफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटीलगायतका परिकार खाने पनि चलन रहिआएको छ। रिडीको मेलामा डोको, नाङ्लो, सुपो, खुकुरी, हसिँया, खुदो तथा गुणका परिकारहरु प्रदर्शन गरिएका छन्।

शताब्दीऔंदेखि रिडी क्षेत्रमा लाग्ने गरेको यो धार्मिक मेला हो। रिडीमा मेलाको पहिलो दिनलाई जेठी सङ्क्रान्ति, दोश्रो दिनलाई माइली र तेश्रो दिनलाई कान्छी सङ्क्रान्ति भन्ने चलन रहेको छ। मेला भर्न देश भरबाट तिर्थ यात्रीहरु लाखौंको संख्यामा रिडी आउने गर्दछन्। यस दिन रिडी कालीगण्डकी नदीमा स्नान गरि हृशिकेश भगवानको दर्शन गरे पुन्य प्राप्त हुन्छ भन्ने मान्यता समेत रहेको छ।

रिडी माघे_सङ्क्रान्ति मेला