कला

एन्जेलिनालाई स्क्रिप्ट चोरीको आरोप

न्युयोर्क – हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई फिल्मको कथा चोरीको आरोप लागेको छ। अभिनेत्री जोलीका दुई सन्तानलाई सांकेतिक भाषाको प्रशिक्षण दिइरहेकी प्रशिक्षक एन्टोनेट एब्बामोन्टेले आफ्नो विचार चोरेर अभिनेत्री जोलीले फिल्म बनाएको आरोप लगाएकी छन्। ‘अभिनेत्री एन्जेलिना जोलीले संसारलाई सहयोग गरेजस्तो गरेर मेरो विचारमा आधारित कथा चोरिन्,’ अभिनेत्री जोलीलाई सांकेतिक भाषा सिकाउने प्रशिक्षकले भने। सुपरहिरोमा आधारित ‘द इन्टर्नल्स्’ फिल्म आफ्नो कथा भएको दाबी उनले गरेका छन्।

प्रशिक्षक एब्बामोन्टेले अभिनेत्री जोलीका दुई सन्तानलाई सन् २०१६ देखि अमेरिकी सांकेतिक भाषाको प्रशिक्षण दिएका थिए। फिल्म निर्माता समेत रहेकी उनलाई अभिनेत्री जोलीले उनलाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरेको दाबी गरिन्। ‘मैले अभिनेत्री जोलीलाई सोधेको थिएँ यस्तो कसरी भयो ? उनले संसारमा रहस्यमय तरिकाले काम हुने प्रतिक्रिया दिइन्।,’ प्रशिक्षक एब्बामोन्टेले भनिन्। उनले सन् २०१८ मा अभिनेत्री जोलीसँग नियमित सुपरहिरोको कथामाथि छलफल भएको इमेल सार्वजनिक गरेकी छन्। ‘मलाई फिल्मको अधिकार चाहिएको छैन्। सुस्त श्रवणशक्ति भएका मानिसलाई संसारले घृणाको दृष्टिले हेर्ने शैली मनपर्दैन्,’ उनले भनिन्।

सन् २०२० को नोभेम्बरमा रिलिज हुने तयारीमा रहेको सुपरहिरो कथामा आधारित ‘द इन्टर्नल्स्’ फिल्मको कथामा अभिनेत्री जोलीको मात्र अधिकार नहुनुपर्ने तर्क उनले गरेकी छन्। गत सेम्टेम्बरमा प्रशिक्षक एब्बामोन्टेका वकिलले अभिनेत्री जोलीको कानुनी सल्लाहकारलाई बौद्धिक अधिकार चोरी गरेको आरोप लगाउँदै पत्राचार गरेको थियो। ‘तपाईले एन्टोनेटको अनुमति बिना उनको विचारमा आधारित मार्वल स्टूडियोको सुपरहिरो फिल्म निर्माण गरिरहनु भएको छ। एन्टोनेटलाई यसको क्षतिपूर्ति प्रदान नगरेसम्म यसलाई व्यवसायिक फिल्म बनाउन पाउनुहुन्न्,’ सो पत्रमा उल्लेख गरिएको छ।

सुस्त श्रवणशक्ति भएकी एब्बामोन्टेका अनुसार अभिनेत्री जोलीले बारम्बार संगीत सुनेर नाच्न सक्ने वा नसक्ने भनेर जिज्ञासा राख्ने गर्थिन्। ‘उनी मेरो वास्तविक जीवनशैलीमाथि अनुसन्धान गरिरहेकी हुँदा मेरो सामु रमाइलो शैलीमा प्रस्तुत हुने गर्थिन्,’ उनले भनिन्। अभिनेत्री जोलीले यस विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन्। अभिनेत्री जोली निकट स्रोतका अनुसार फिल्मको कपिराइटमा एब्बामोन्टेको कुनै अधिकार छैन्।

केही साताअघि स्पेनको क्यानरी टापुमा मार्वल स्टूडियोको ‘द इन्टर्नल्स्’ फिल्म सुटिङको दौरान बिस्फोट नभएको बम भेटिएपछि सुरक्षाको कारण देखाउँदै अभिनेत्री जोलीलाई सुटिङस्थलबाट हटाइएको थियो। अभिनेत्री जोलीसहित अभिनेता रिचार्ड म्याडन र फिल्म युनिटलाई निकालिएको थियो। अभिनेत्री जोलीको सिन खिचिरहेको अवस्थामा सो बम भेटिएपछि भागदौड भएको थियो।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त विशेष दूत समेत रहेकी अभिनेत्री जोली द्वन्द्व क्षेत्रमा हुने यौन हिंसा रोकथामको लागि बेलायतको पूर्व विदेशमन्त्री विलियम हेगसँग सहकार्य गरेर अभियान चलाइरहेकी छन्। गत अक्टोबरमा उनी अभिनित ‘मेलफिसेन्टः मिस्ट्रेस अफ ईभिल’ फिल्म रिलिज भएको थियो। ‘द इन्टर्नल्स्’ लाई क्लो झावोव्र्किनले निर्देशन गरिरहेका छन्। ‘द इन्टर्नल्स्’ सन् २०२० को नोभेम्बर ६ मा रिलिज हुनेछ।

प्रकाशित: २९ मंसिर २०७६ ०२:२१ आइतबार

एन्जेलिना स्क्रिप्ट चोरीको_आरोप