कला

सुदूरपश्चिमकी प्रियालाई पोखरेलीको पुरस्कार

काठमाडौंं– गजल सन्ध्या पोखराले हरेक वर्ष प्रदान गर्दै आएको ‘गजल प्रतिभा सम्मान–२०७६’बाट सुदूरपश्चिमकी गजलकार श्रेष्ठ प्रिया पत्थरलाई पुरस्कृत गरिने भएको छ। २१ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार कात्तिक ९ गते पोखरामा दिइनेछ।  

गजलकार दिपक समिपको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसमा सन्ध्याले उनलाई पुरस्कार दिने निर्णय गरेको हो। सन्ध्याकी सदस्य मैयाँ सुवेदीका अनुसार नेपाली गजलको विकास, बिस्तार र गुणस्तरीय लेखनमा सक्रिय गजलकारलाई सन्ध्याले सम्मान गर्दै आएको छ। 

‘कैलालीकी गजलकार पत्थरले नेपाली गजल विद्यालाई मर्यादित र ओजपूर्ण बनाउन विशेष योगदान गरेकी छिन्’, सुबेदी भन्छिन्, ‘नेपाली नारी गजलकारको पहिलो कृति प्रकाशित गर्ने श्रेय पनि उनैलाई जान्छ।’ उनको ०५३ सालामा ‘पग्लिएका ब्यथाहरू’ नामक पहिलो गजल संग्रह प्रकाशित भएको थियो। 

उनका अन्य गजल कृतिहरूमा  पत्थरका प्रलापहरु(२०५९), आँसुको सौगात (२०६०), ओभाएका छैनन् आँखा (२०६७) हुन्। उनले उपन्यास, कथा, कविता गरि १६ वटा पुस्तक प्रकाशन गरेकी छिन्।  

कवि ढाका थापाले स्थापना गरेको दुई लाख रुपैयाँ राशीको अक्षय कोषबाट पुरस्कार प्रदान गरिन्छ। यस अघि ज्ञानुवाकर पौडेल, प्रकट पगेनी ‘शिव’, ललिजन रावल, लक्ष्मण थापा, कृष्ण उदासी, दिलिप दोषी, सरस्वती श्रेष्ठ सरु, आरवी फ्लेम, ईश्वरमणि अधिकारी  र घनश्याम परिश्रमीलाई गजल प्रतिभा सम्मान प्रदान गरिएको थियो। 

गजल सन्ध्या पोखरालाई केन्द्र बनाएर गजल क्षेत्रमा काम गर्ने जागरुक संस्था हो। यसले हरेक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन र तेस्रो शनिबार देशका विभिन्न ठाउँमा पुगेर अक्षरयात्रा साहित्यिक अभियान चलाउँदै आएको छ। 

प्रकाशित: २९ आश्विन २०७६ ०९:५९ बुधबार

श्रेष्ठ_प्रिया ‘गजल_प्रतिभा_सम्मान–२०७६’