कला

राष्ट्रकवि घिमिरे ‘१०१’ बर्षमा

काठमाडौं – फोटो खिचौं भनेपछि उनी(राष्ट्रकवि) उत्साहित भए। दौरा सुरुवालबाहिर इस्टकोट लगाएर दाँया हातले लठ्ठी र बाँयाले भ-याङको बार समाउँदै बगैंचामा जान तम्सिए। भ-याङ ओर्लिदै गर्दा भने, ‘भ-याङ् चढ्न र झर्न अलि गाह्रो हुन्छ।’ उनको पछिपछि पत्नी(महाकाली घिमिरे) पनि ओर्लिइन्। घरअगाडि प्रांगणमा पुगेपछि घिमिरेले फोटो खिच्न पत्नीलाई पनि सँगै उभिन आग्रह गरे। दुवै प्रांगणमा हिँड्दा जोडी ढुकुर झैँ देखिन्थे।

माथिको दृश्य सोमबार बिहान लाजिम्पाटस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेको घर पुग्दाको हो। जन्ममिति अनुसार आज(मंगलबार) उनले १०१औं जन्मोत्सव मनाउँदै छन्। उनले हामीसँग झन्डै एक घण्टा विगत र आफूले बाँचेको देश र समाज सम्झिए। भलाकुसारीपछि उनी बगैंचामा गएर फोटो खिच्न तयार भएका थिए।

आफ्नो सम्पूर्ण जीवन कला र साहित्यमा अर्पेका उनले समाजमा कला–साहित्यको भूमिका सकारात्मक नदेख्ने कुरै भएन। तर राजनीतिककर्मीले सकारात्मक भूमिका निभाउन नसकेकोमा भने उनी खिन्न छन्। कला र साहित्यलाई १३/१४ वर्षको उमेरदेखि अंगालेका उनी कुराकानीका क्रममा बेलाबेलामा राजनीतितर्फ मोडिन्थे। राणाकाल, प्रजातन्त्र, बहुदल र गणतन्त्रसम्म भोगेका उनको स्मृतिमा एउटा युग अटेको छ।

१९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका उनको स्मरण शक्ति पहिले जस्तै छ। उनी बाल्यकालदेखिको अनुभव सम्झी–सम्झी बताउन सक्छन्। कला, साहित्य, समाज र राजनीतिक क्षेत्रमा भएका घट्नाक्रम केलाउन सक्छन्। बिहान ओछ्यानमै कविताका लाइन फुराउँछन्। सर्जकले सकारात्मक भूमिका निर्वाह गरिरहँदा राजनीतिकर्मीले देशको बारेमा चिन्ता नगरेकोमा उनलाई दुःखी बनाएको छ। राजनीति व्यवस्था नसुध्रिएसम्म कुनै पनि क्षेत्रको विकास नहुने भन्दै उनी गम्भीर भएर राष्ट्रियताको निम्ति लड्न नेताहरूलाई आग्रह गर्दछन्। ‘मलाई यो देशले धेरै नै चिनेको छ, मलाई गरेको सम्मानप्रति आभारी/कृतज्ञ छु, तर देश र समग्र जनताको भविष्यमा राजनीतिककर्मीले गरेको काम पुग्दो छैन,’ उनले भने, ‘नेपाली भूभाग र नेपालीपनको जीवन्तताका निम्ति राजनीतिकर्मी र अहिलेको पुस्ताले चासो राखिरहोस्। म कोमल मनका असाध्यै मायालु हामी नेपाली मिलेर बसेको देख्न चाहन्छु।’

१०१औँ जन्मदिन रौनकपूर्ण ढंगले मनाउने उनको योजना छ। आफन्त र घिमिरेबन्धु समाज नेपालले उनको घरमै दुईवटा जन्मोत्सवका कार्यक्रम बिहानै राखेका छन्। केहीबेरको आरामसँगै दिउँसो विभिन्न साहित्यिक संघ–संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी राष्ट्रिय नाचघर जमलमा पुग्नेछन्।

घरको पहिलो तलाको एक कोठामा बसेर भलाकुसारी गर्दैगर्दा ‘कवि’ले खुसीमात्रै साटेनन्, शताब्दी बिताउँदाका केही तिता अनुभव पनि साटे। तर उनको अनुभव सानो बसाइमा समेट्न सक्ने कुरै भएन। उनको शताब्दी अनुभव स्यमं आफैंमा एउटा ‘संग्रहालय’ हो।

नेपाली कवितामा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली बढी प्रयोगमा ल्याउने घिमिरे गीतकार, गीतिनाटककारका साथै बालसाहित्यकारका रूपमा पनि चिनिन्छन्। नवमञ्जरी (१९९४), नयाँ नेपाल (२०१३), घामपानी (२०१०), किन्नर–किन्नरी (२०३३), राष्ट्रनिर्माता, राजेश्वरी आदि उनका कृति हुन्। तर अझै उनलाई लेख्न पुगेकै छैन, न त लेखेर थाकेका नै छन्। यसैले उनी यो वर्ष आफ्नो महाकाव्य ऋतंभरा पूरा गर्नेछन्। उनी भन्छन्, ‘मेरो विचारमा शताब्दी पार गरेको मान्छेको लक्ष्य दुईवटा मात्रै हुन्छन्, एउटा चाहिँ आफूले थालेको काम पूरा गर्ने अर्को आफ्नो कलाले दिएको सन्देशको प्रभाव परोस् भन्ने। म कवि हुँ, मैले कस्तो नेपाल देख्या छु मैले आफ्नो राष्टको लागि के गरेको छु, यो सुन्दर देश सुन्दर नै रहोस् लडाइँको भूमी नहोस्, मेरा बाँकी चाहना त्यही हो।’

उनी प्रजातन्त्रको स्थायित्व चाहन्छन्। आफूले रचेका रचनाले बोलेका कुरा पूरा होस् भन्ने इच्छा छ। ‘संक्षेपमा भन्ने हो भने प्रजातन्त्र प्रारम्भ भएको ६५ वर्ष नाघिसक्यो,’ उनले गुनासो गरे, ‘अरु देश कहाँकहाँ पुगिसके हामी अझै पछाडि छौं। मेरो देशको भाषा समृद्ध हुँदै जाओस्। स्वर्ग जस्तो देश साच्चै स्वर्गमा परिणत होस्।’

कविले चाहेको देश कस्तो हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘नेपाल शान्त भूमि हो, यहाँ होहल्ला र लडाइँ गरेको सुहाउँदैन, त्यसकारण सबै इमान्दार भएर बाचौं, देश र आगामी पुस्ताको लागि केही गरौं, मुलुक यसै राम्रो बन्नेछ।’ पछिल्लो समय धेरै युवा विदेशिएको पनि उनलाई मन परेको छैन। ‘अहिले सबै युवाहरु विदेश पलायन भइरहेका छन्। अमेरिका, वेलायत, अष्टे«लिया र अरबमा हाम्रा युवाले पसिना बगाइरहेको छन्,’ उनी भन्छन्, ‘गाउँघरमा बूढाबूढी मात्रै छन्। अहिलेको एकदम ठूलो चुनौती नै युवा पलायन रोक्नु हो। पहाडी क्षेत्रमा खेतबारी बाझिँन थालेका छन्। जोत्ने मान्छे छैनन्। बूढाबूढी मात्रै टुक्रुक्क घरमा बसेका छन्। यो सम्झँदा दुःख लाग्छ।’

राजनीतिक नेतृत्वमा उनको भरोसा छ। धेरै वर्ष पहिले पनि बिपीको पालामा बहुमतको सरकार बनेको र अहिले केपी शर्मा ओलीको सरकार पनि बहुमतकै भएकाले यो समयमा निश्चिन्त भएर देशको भविष्य निर्माणमा लाग्न आग्रह गरे। उनले यसअघि राजनीतिमा धेरै अलमलिएका कारण देश पछि परेकोले अब तीव्र गतिमा अघि बढ्ने बेला आएको बताए। ‘६०÷६५ वर्षका बीचमा जति विकास हुनुपर्ने हो त्यति भएन। बरु साहित्यमा भयो। प्रशस्त कवि जन्मिए। अरु क्षेत्रमा राम्रा राम्रा व्यक्ति जन्मिए, काम गरे। तर, राजनीतिक अवस्था ठिक नभएपछि सबै ओझेलमा परे,’ उनले सुनाए।

घिमिरे १२/१३ वर्षको हुँदा उनी कवि लेखनाथ पौडेलका कविता खुबै पढ्थे। लमजुङको पुस्तुनमा जन्मेका राष्ट्रकवि त्यहाँको प्रकृतिसँगै रमाउँदै सिर्जना गर्न थाले। डाँडापाखा र फूलहरु हेरेरै पनि उनले कैयौं सिर्जना रचे। उनी आफूले लेखेका केही कविता अझै छाप्न बाँकी रहेको र केही हराएको पनि सुनाए। ‘मेरा गीतमा हिमाल नाचेको हुन्छ। जुनेली रात धपक्क बलिरहेको हुन्छ। पहाड र हिमाल हासिरहेको हुन्छ। मयूर नाचिरहेको हुन्छ,’ उनले सुनाए।

के छ ऋतंभरामा ?
राष्ट्रकविले लेख्दै गरेको महाकाव्य ‘ऋतंभरा’ फरक विषयमा केन्द्रित छ। मानिसको मन र प्रविधिलाई यसमा घोल्न घोजिएको छ। प्रविधि र मानिसको मनको बेजोड्दाका कारण यसले आधुनिक र हिजोको समाजको यर्थाथतालाई कोट्याएको छ। महाकाव्यमा मानव जीवनमा प्रविधिले ल्याएको विनास र मानवीय भावनामाथि गरेको प्रहारलाई झल्काउन खोजिएको छ।

यद्यपि उनी प्रविधिका विरोधी बनेर यो महाकाव्य रचेका होइनन्। पुरानो परम्परित समाजको यर्थाथ अनभुव गरेका राष्ट्रकवि नयाँ प्रविधिको युगसम्म आफूलाई ल्याउन पाउँदा गौरव ठान्छन्। मानिसको मस्तिष्क पक्ष बढ्यो तर हृदय बढेन भन्ने पक्षलाई यसमा समेटिएको घिमिरेले बताए। ‘‘टेक्नोलोजी माइण्ड’ ले मानवको भावनात्मक महत्व कम गरायो, अहिले दुर्घटना भयो पहिले मानिसले मानवीय क्षति भन्दा भौतिक क्षतिमा बढी चिन्ता गर्न थालेका छन्। यही तरीकाले समाज अघि बढ्ने हो भने मानव मानव बीचमा मायाको खडेर पर्छ,’ उनले भने, ‘यो अवस्थाले जिन्दगी नै फिका भएर जान्छ। त्यसकारण मैले यो समाजमा मानवीय पक्ष सबैभन्दा बलियो बनोस् भन्ने पक्षलाई ख्याल गरेको छु।’

उनका अनुसार मानिसलाई जिउनको लागि प्रविधिले पनि ठूलो सहयोग गरोस् भन्ने सन्देश यस महाकाव्यले दिएको छ। कुनै जुनीमा कहिल्यै नभएको प्रविधिको विकास अहिले भएकोले यसले संसारभरका मानिसको दुरी यसले छोटो पारिदियो। प्रविधि हावी भएपछि मानवीय आपद् विपद्लाई कम महत्व दिन थालियो। विज्ञान मान्दा मानवीय नाता र भावनालाई बहिस्कार गर्न भएन भन्ने पक्षमाथि महाकाव्यले जोड दिएको छ। यद्यपी विज्ञानलाई अंगालेर अघि बढियो भने जीवन सहज बन्छ भन्ने आशय पनि ऋतंभराको हो। प्रविधिमय पक्ष मष्तिकका कारण हृदयपक्ष कसरी निस्क्रियतालाई घिमिरेले झल्काउन खोजेका छन्। ‘विज्ञान प्रविधिको चमत्कार त भयो तर यही निहुँमा मान्छेलाई मान्छेलाई भूलेको छ,’ उनले भने, ‘मेरो यो काव्यले हृदय पक्ष नगुमाउ, सबैको भित्री आत्मा थाहा भयो भने एकताको अनुभव हुन्छ भन्नेलाई जोड दिएको छ।’

प्रकाशित: ७ आश्विन २०७६ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App