कला

धुलिखेलमा म्यूजिकल जात्रा २०७६

रमाइलो छत्रछाँया मुनि (आरसिसिएम)’ ले आयोजना गरेको म्यूजिकल जात्रा २०७६ मा आफूले गाउने गीत सुनाउँँदै फरक शारीरिक क्षमता(दृष्टिविहीन) विद्यार्थीहरुको समूह।

बनेपा - फरक शारीरिक क्षमता भएका व्यक्ति(दृष्टिविहीन)हरुलाई निःशुल्क साङ्गितिक प्रशिक्षणका लागि आर्थिक सहयोग जुटाउन धुलिखेलमा म्युजिकल जात्रा, २०७६ आयोजना हुने भएको छ। धुलिखेलका युवा फुटबलरहरुको संस्था ‘रमाइलो छत्रछाँया मुनि (आरसिसिएम)’ स्थानीय सञ्जीवनी स्कूल धुलिखेलको विशेष (दृष्टिविहीन शिक्षा) कक्षाका विद्यार्थीहरुलक्षित गर्दै यो अभियान थालेको हो।

‘स्कूलबाट दृष्टिविहिनहरुले औपचारिक शिक्षा त पाउनुहुन्छ। तर, उहाँहरुको शारीरिक अवस्थाअनुसारले जिविका चलाउनका लागि केही न केही सीप चाहिन्छ भनेर हाम्रो समूहले सङ्गीत सिकाउनका लागि सहयोग गरेका छौं’, आरसिसिएमका अध्यक्ष श्रेयबिक्रम ब्यान्जूले भने, ‘यतिखेर ३ जना दृटिविहीन र ३ जना विपन्न विद्यार्थीहरुलाई हाम्रै स्रोतले बाजागाजा किनिदिएका छौें र सङ्गीत शिक्षकको व्यवस्था गरिदिएका छौं। गत ३ महिनादेखि उहाँहरुले निरन्तर सङ्गीत सिकिरहनु भएको छ। आगामी शनिबार उहाँहरुले आफ्नो प्रतिभा म्यूजिकल जात्रामार्फत पहिलो पटक प्रस्तुत गर्दै हुनुहुन्छ’, उनले थपे।

जात्रामा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गरी सात वटा ब्याण्डको साङ्गीतिक प्रस्तुति रहने ब्यान्जूले पत्रकार सम्मेलनमा जानकारी दिए, ‘अन्तर्राष्ट्रिय ब्याण्डका रुपमा जर्मनीको दी नर्ट एण्ड ब्याण्ड रहनेछ। यस्तै, नेपालका तीन वटा राष्ट्रिय ब्याण्डहरु कबवेब, दी एक्स र दी एक्टको प्रस्तुति रहने छ। दुई वटा स्थानीय ब्याण्डहरु इलेक्ट्रिक एयर र दी सफ्ट टोन्स रहनेछन्’, उनले भने।

नेपाल भ्रमणमा रहेका जर्मनीको दी नर्ट एण्ड ब्याण्डका चार जना युवाहरु पनि ‘म्यूजिक फर द पोभर्टी एलिभिएसन प्रोग्राम’अन्तर्गत जात्रामा सहभागी हुने अवसर पाएकोमा र त्यहाँको च्यारिटी क्लबरमार्फत धुलिखेलमा विभिन्न सहयोगहरु गर्न पाएकोमा खुशी देखिन्थे।

म्यूजिकल जात्राकै क्रममा पहिलो पटक फरक क्षमता भएका(दृष्टिविहीन)हरुको समूहले चार वटा विधामा प्रस्तुति दिने समूहका अगुवा दृष्टिविहीन विद्यार्थी प्रवेग तामाङले जानकारी दिए। कक्षा १२ सकेर सञ्जीवनी स्कूलकै होस्टेलमा रहेका उनलाई कक्षा ९ मा अध्ययनरत अर्का दृष्टिविहीन शिवराज बिकले साथ दिइरहेका छन्। यस्तै, सुषमा सुनुवार, सरोज बिक, दिनेश परियार र साजन सोनार पनि जात्राकै क्रममा सामुहिक गानमा आउँदैछन्।

‘दृष्टिविहीन भएरै औपचारिक शिक्षा त लिइयो। तर, त्यसपछि जिविकाका लागि के गर्ने होला भनेर निराश थियौं। त्यही बेलामा आरसिसिएम, रोटरी र आरसिसि धुलिखेलका साथीहरुले अध्ययनपछिको जिउने सीपका रुपमा सङ्गीत सिक्ने हौसला दिनु भयो’, तामाङले भने।

संगीतकै हिसाबले खासै पोख्त हुन नपाएपनि स्रोतालाई निरास हुन नदिने उनले उद्घोष गरे, ‘गुरुसँग सिकिरहेका छौं। स्वः अध्ययन र अभ्यास पनि गरिरहेका छौं। फरक शारीरिक अवस्थाले अप्ठ्यारो त छ, तैपनि सकेसम्म राम्रो गर्नेछौं’ तामाङले हौस्सिदैं भने। एउटा सामुहिक, तीन वटा सोलो गीतमार्फत जीवनमा आशावादी हुनुपर्छ भन्ने सन्देशका गीतहरुले स्रोताहरुलाई मन्त्रमुग्ध बनाउने उनको भनाई छ।

आगामी शनिबार धुलिखेलस्थित मुलुककै पहिलो रेसिङ ट्र्याक ‘हिमालय मोटरल्याण्ड’मा आयोजना हुने म्यूजिकल जात्रा २०७६ बाट संकलित रकमले दृष्टिविहीनलगायत फरक शारिरीक क्षमता भएका युवाहरुलाई सङ्गीतका प्रशिक्षणहरुमा नियमित सहभागी बनाउने र आवश्यक बाजागाजा किन्नमा सहयोग गर्ने उद्देश्य रहेको आरसिसिएमका सदस्य रुपेश माकजुले जानकारी दिए।

संघीय सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० र धुलिखेल नगरको ‘धुलिखेललाई गिनेचुनेको पर्यटकीय गन्तव्य बनाउने’ अभियानमा गीतसङ्गीतको पनि मुख्य भूमिका रहेकाले यसलाई अगाडि बढाउने काममा तल्लीन युवाहरुलाई नगरपालिकाले पनि विभिन्न सहयोगहरु गर्दै आएको धुलिखेल–७ का वडाध्यक्ष रोमीप्रसाद ब्यान्जुले जानकारी दिए।

प्रकाशित: २२ भाद्र २०७६ ०३:४९ आइतबार

धुलिखेल म्यूजिकल_जात्रा शारीरिक