कला

कुम्मायकको काखमा साहित्य

पाँचथरको यासोकमा भएको साहित्यक कार्यक्रमपछि साहित्यकारहरू। तस्बिरः नागरिक

पाँचथर–कुम्मायक र कुसायक जिल्लाका प्रख्यात ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक इतिहास बोकेका ठाउँ हुन्। कुम्मायक र कुसायकको काखमा रहेको यासोक बजारमा शनिबार साहित्यका वान्कीहरू सुनिए। नेपाली भाषामा मात्र नभई विभिन्न भाषाका साहित्य र सांस्कृतिक प्रस्तुतिले माहोल रोचक बनाएको थियो।

साहित्यकारहरूले विभिन्न भाषामा कविता, गजल सुनाएका थिए भने साना नानीहरूले प्रतियोगितामा सहभागिता जनाए। माहोललाई रोचक बनाउन गीत तथा नृत्यका कार्यक्रम भएका थिए। ग्रामीण बजारको रूपमा रहेको यासोकमा उल्लेख्य सहभागितामा भएको कार्यक्रममा विभिन्न जातजातिमा आधारित सांस्कृतिक प्रस्तुति पनि राखिएका थिए।

कुम्मायक  गाउँपालिकाको सहयोगमा नौलो साहित्य बिहान प्रतिष्ठानको आयोजना तथा कुम्मायक–कुसायक साहित्य समाजको सह–आयोजनामा भएको कार्यक्रममा सो गाउँपालिकामा जन्मिएर साहित्य तथा कलाको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै दुई स्रष्टा सम्मानित भए। साहित्यकार बादलदेवी चाम्लिङ र कलाकार फगेन्द्र सम्बाहाफे सम्मानित भएका हुन्।

‘साहित्य संस्कृतिको प्रवद्र्धन तथा विकासका लागि यस्तो कार्यक्रम गरिएको हो,’ गाउँपालिका अध्यक्ष जय चेम्जुङले भने, ‘समग्र क्षेत्रको विकासका लागि हाम्रो भूमिका रहन्छ।’

विद्यालयस्तरीय कविता प्रतियोगितामा हिमा भण्डारी प्रथम, मदन आचार्य द्वितीय, योगिता लिम्बु तृतीय, रोजन कार्की सान्त्वना भए। कार्यक्रममा नेपाली, लिम्बु, बान्तवा, सुनुवार भाषाका कविता सुनाइएको थियो।

 

प्रकाशित: ८ असार २०७६ ०५:४१ आइतबार

साहित्यकार विभिन्न_भाषा कविता गजल