कला

इन्डोनेशियामा नेपाली कला प्रदर्शन

काठमाडौं – इन्डोनेशियाको बालीस्थित उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’ मा एक सातादेखि चलिरहेको नेपाली तथा इन्डोनेशियन कलाकारहरूको सामूहिक कला प्रदर्शनी आइतबारबाट सकिएको छ।

नेपालबाट उबुद पुगेका चार कलाकारहरू श्यामसुन्दर यादव, विभुषण ताम्राकार, जया शर्मा र अनिता भट्टराईका कलासँगै उनीहरूले लिएर गएका १७ जना नेपाली कलाकार र तीन इन्डोनेशियन कलाकारहरू गरी कुल २१ जना कलाकारहरूको तीन दर्जनभन्दा बढी कला सिर्जनाहरूको प्रदर्शनी गत मंगलबारदेखि सुरु भएको थियो।

काठमाडौंको ठमेलस्थित मिथिला यें आर्ट ग्यालरी तथा इन्डोनेशियाको विना ग्यालरीले ‘टुगेदर’ शीर्षकमा संयुक्त कला प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा कलाकार यादवले पाँच थान आधुनिक मिथिला कला, ताम्राकारले लोपोन्मुख नेपाली गहनाका चित्र तथा बोतल भित्र सिन्काले बनाइएका सिंहदरबार र जानकी मन्दिरको आकृति, शर्माले गणेशको डिजिटल आर्टका साथै मधेशको धार्मिक चलन र रहनसहन झल्किने पाँचवटा चित्रसहित छवटा चित्र र कलाकार भट्टराईले दुईवटा प्रिन्ट कलामार्फत बुद्ध र हरिततारालाई प्रदर्शनीमा राखेकी थिइन्।

उनीहरूबाहेक कलाकार प्रकाश मानन्धरको भक्तपुर दरबार, कान्छाकाजी भसिमाको बौद्ध भिक्षु, राकेश श्रेष्ठको कम्पोजिशन, प्रितम थापाको सगरमाथा, मञ्जु खड्काको तासको पत्तामा नारी वेदना, ज्योति खड्काको नारी सौन्दर्य, रसना बज्राचार्यको बाल मुहार, सुन्दर श्रेष्ठको गणेशलाई पौवामा उतार्नुअघि कोरिएको रेखा चित्र, विपना महर्जनको बुद्ध प्रिन्ट कला, किशोर नकर्मीको आधुनिक शैलीको बुद्ध, रेणु यादवको लोक मिथिला, रोशन प्रधानको टुँडालमा मानव आकृति, कविता प्रधानको छ्वाली कला राखिएको थियो।

त्यस्तै स्थानीय कलाकारहरू एन्टोनियस खोले इन्डोनेशियाको आदिवासी कला, केतुत जया र मेद सोमादिताले इन्डोनेशिया झल्कने आधुनिक कला प्रदर्शनीमा राखेका थिए। मिथिला येंका सञ्चालकसमेत रहेका कलाकार यादवले नेपालमा लोक, परम्परागत र आधुनिक कलाले अहिले स्थान एवं चर्चा पाइरहेकोले तीनै किसिमको कलालाई उबुदको आरमामा प्रदर्शन गरिएको बताए।

प्रकाशित: १७ वैशाख २०७६ ०३:०५ मंगलबार

इन्डोनेशिया कला_प्रदर्शनी