कला

अभिनेता सनी देओल भाजपामा प्रवेश

मुम्बई– बलिउड अभिनेता सनी देओल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन्। 

भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत विभिन्न चरणमा मतदानहरु भइरहेका बेला देओलले मंगलबार भाजपाको केन्द्रीय कार्यालय पुगेर रक्षामन्त्री एवं भाजपा नेतृ निर्मला सीतारमनको हातबाट सदस्यता लिएका हुन्। 

चुनावको मुखमा भाजपाबाट राजनीतिमा प्रवेश गरेका देओलले पन्जाबको गुरदासपुरमा टिकट पाउने अनुमान गरिएको छ। गुरदासपुर विनोद खन्ना निर्वाचित हुँदै आएको क्षेत्र हो। उनको गत वर्ष निधन भएपछि यो क्षेत्र खाली छ। 

भाजपामा प्रवेश गर्दै देओलले आफ्ना पिता र परिवार अटल विहारी बाजपेयीसँग जोडिएको र आफू अहिले नरेन्द्र मोदीसँग जोडिन आएको बताए। ‘म चाहन्छु कि मोदी आगामी ५ वर्ष अझै प्रधानमन्त्री रहनुपर्छ। किनकी हामी अघि बढ्न चाहन्छौं। द्येशका युवाहरुका लागि मोदीजस्ता नेताको आवश्यकता छ’, उनले भने। 

सनीका पिता धर्मेन्द्र २००८ मा भाजपाबाट सांसद थिए। 

प्रकाशित: १० वैशाख २०७६ १०:१५ मंगलबार

बलिउड सनी_देओल भाजपा लोकसभा_निर्वाचन