कला

मेरो राजनीति कर्पोरेट क्षेत्र पोस्न हैन : कन्हैया कुमार

‘बेगुसरायको निर्वाचन धर्मयुद्ध हो।’ विहार बेगुसराय जिल्लास्थित बरौनी जिरो माइल नजिक रहेको कन्हैया कुमारको घरमा आएका एक मानिस भन्दै थिए। १७औ लोकसभा निर्वाचनमा होमिएको भारतको माहौल हेर्दा लाग्छ खास चुनाव त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कन्हैया कुमारबीच हुँदैछ। 
जहावरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी राजनीतिबाट चर्चामा आएका कन्हैया युवा जोश र बौद्धिक छविसहित मूलधारको राजनीतिमा उत्रिएका छन्। 
भारतीय कम्युनिष्ट पार्टीका उमेदवारका रुपमा कन्हैया यही अप्रिल २९ गते निर्वाचनमा प्रतिपस्धा गर्दै छन्। उनका प्रतिस्पर्धी हुन् भारतीय जनता पार्टीका नेता एवम् राज्यमन्त्री गिरिराज सिंहसँग। कन्हैयाको समर्थन आम आद्मी पार्टी र बहुजन समाजवादी पार्टीले गरेका छन्।
निकै सरल छन् कन्हैया कुमार। उति नै सरल छ उनको निर्वाचन प्रचारशैली पनि। दक्षिण एसियाको निर्वाचन झन् पछि झन् खर्चालु बन्दै गर्दा कन्हैया कुमार भने जनताको सहयोगमा चुनावी प्रचार गरिरहेछन्। 
कन्हैया कुमारको निर्वाचन क्षेत्रमा पुगेर नागरिक नेटवर्कका लागि पुरुषोत्तम पौडेलले गरेको कुराकानीः


तपाई विद्यार्थी राजनीतिमा भएको मान्छे मूलधारको राजनीतिमा कसरी आउनु भयो? के विद्यार्थी राजनीतिमै तपाईं मूलधारको राजनीतिका लागि तयारी गर्दै हुनुहुनथ्यो ? 
 

म योजनाबद्ध तरिकाले मूलधारको राजनीतिमा आएको होइन। यो बिस्तारै विकसित भएको हो। विद्यार्थी राजनीति पनि मुलधारकै राजनीतिको पाटो हो। तर त्यो मूलधारको राजनीति जस्तो बृहत थिएन। यद्यपी जेएनयूको विद्यार्थी राजनीति अन्य विद्यार्थी राजनीतिभन्दा फरक छ। जेएनयूमा राष्ट्रिय बहसका मुद्दामा पनि बहस र आन्दोलन हुने गर्छ। 
जेएनयुमा म र मेरा साथीमाथिविरुद्ध भएका घटनाबारे म धेरै बोल्न चाहँदिन। तर मेरो मूलधारको राजनीतिको एउटा आधार यो पनि हो। 

अर्थात्, जेएनयुमा भएका घटना नभएका भए तपाईं यो राजनीतिमा आउनु हुँदैनथ्यो ?
 

म राजनीतिमा त पहिला देखि नै थिए। तर, यदि त्यो घटना नभएको भए म चुनावी आउँथे, आउँदिनथेँ भन्न सक्दिनँ। मैले गर्दै गरेको राजनीतिले गर्ने बहस र राष्ट्रिय बहसमा कुनै फरक थिएन। मुद्दा उही हुन्थे, बहस त्यही विषयमा हुन्थ्योे तर फरक हिसाबमा। 

एउटा विद्यार्थी नेतालाई विश्वविद्यालयको कुनै एक झुटा मुद्दालाई आधार बनाएर जेल चलान हुन्छ। ऊ जेलबाट बाहिर निस्किन्छ। आरोप लगाएको मुद्दा सरकारले पुष्टि गर्न सक्दैन र फेरी पनि ऊ माथि निरन्तर राजनीतिक आक्रमण भई नै रहन्छ। यो भएपछि ऊ सँग आरोप लगाउने मानिससँग लड्नुको विकल्प नै हुँदैन। यसै क्रममा ऊ निवाचनको राजनीतिमा आईपुग्छ। 

एउटा विद्यार्थी नेतालाई विश्वविद्यालयको कुनै एक झुटा मुद्दालाई आधार बनाएर जेल चलान हुन्छ। ऊ जेलबाट बाहिर निस्किन्छ। आरोप लगाएको मुद्दा सरकारले पुष्टि गर्न सक्दैन र फेरी पनि ऊ माथि निरन्तर राजनीतिक आक्रमण भई नै रहन्छ। यो भएपछि ऊ सँग आरोप लगाउने मानिससँग लड्नुको विकल्प नै हुँदैन।
 

विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आउँदै गर्दाको तपार्इंको अनुभव कस्तो छ?
 

विद्यार्थी राजनीति र मूलधारको राजनीतिमा खासै फरक त छैन। तुलनात्मक रुपमा भन्नुपर्दा विद्यार्थी राजनीतिभन्दा मूलधारको राजनीतिको क्यानभास अलिक ठूलो छ। विश्वविद्यालयमा हुँदा क्यापस परिसारमा विद्यार्थीका मुद्दाबारे बहस, चर्चा, परिचर्चा हुन्थ्यो। यसका अलावा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक विषयमा पनि विश्वविद्यालयमा छलफल हुन्थ्यो। जेएनयूका मतदाता आठ हजार थिए यहाँ १९ लाख छन्। यसैले पनि यो राजनीतिको क्यानभास ठूलो छ। यसले गर्दा मानिससँगको पहुँचको तरिका फरक बनाउँछ। प्रचारशैलीमा फरक छ। फरक भए पनि विद्यार्थी राजनीतिमा हामीले जे मुद्दा उठाएका थियौं तिनै विषयलाई यो मैदानमा पनि कायम राख्ने प्रयास हुनेछ। चुनावी राजनीतिले आम मानिसको आधारभूत चासोलाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्नसक्छ।

तपाईको उम्मेदवारीले विद्यार्थी आन्दोलनलाई र बहसको संस्कृतिलाई कसरी फरक पार्छ?
 

आन्दोलनका विषयलाई मूलधारको निर्वाचनले बिसिदै आएको छ। चुनावी राजनीतिमा मैले तिनै मुद्दालाई निरन्तरता दिनेछु। हामीले जेएनयुमा  गरेको राष्ट्रियताको बहस र राष्ट्रिय बजेटमा शिक्षालाई छुट्याइएको खर्च घटाइएको बारेको बहस यो चुनावी मैदानको पनि बहसको विषय हो। त्यस्तै सामान्य मानिसले दैनिक जीवनमा भोगिरहेको समस्या, भारतीय प्रजातन्त्रमाथि निरन्तर भईरहेको आक्रमण, संविधानमाथिको आक्रमण सबैलाई मैले सँगसँगै लैजानेछु। 
विश्वविद्यालयमा भएको हमलाका कारण हैदरावास विश्वविद्यालयका विद्यार्थी रोहित बेमुलाको हत्या भयो। जेएनयूका एक विद्यार्थी नजिब अहिलेसम्म बेपत्ता छन्। यी सबै विषयलाई हामीले निर्वाचन प्रचारको क्रममा जोडतोडले उठाइरहेका छौं। 

भारतमा अहिले मुद्दामाथिको बहसमा कमी आइरहेको छ। मेरो राजनीतिक यात्राले यो अभाव पूर्ति गर्नेछ भन्ने मेरो विश्वास छ।

सिंगो विश्वले पूँजिवादको अभ्यास गरिरहँदा तपाईं भने कम्युनिष्ट राजनीति गर्दै हुनुहुन्छ। के कम्युनिष्ट राजनीतिको कुनै भविष्य छ?
 

पूँजिवादकै कारण कम्युनिजम्लाई अप्ठेरो भएको जस्तो मलाई लाग्दैन। बरु फाईदा नै भएको छ।

फाइदा कसरी भएको छ?

पुँजीवादभित्र रहेको विरोधाभाषकै कारण कम्युनिजमलाई फाइदा भएको छ।  पुँजीवादी समाजमा हामी उत्पादन भएको सामग्रीको उपभोगमा लागिपर्छौं। उत्पादित वस्तुलाई उपभोग गर्न मानिसलाई पे्ररित गछैँ। त्यसले समस्या जन्माउँछ। त्यो समस्या अतिरिक्त मुल्यको रुपमा आउँछ जसलाई पुँजीपति वर्गले झनै बढाउन चाहन्छ। यो बढ्दै जाँदा समाज वर्गीय हिसाबमा धुव्रीकरण हुँदै जान्छ। हुने र नहुनेबीचको खाडल यसैका कारण बढिरहेछ। समाज ध्रुवीकरण भएपछि वर्ग चेतनाको विकास हुन्छ। मानिसमा वर्ग चेतना बढ्नु कम्युनिष्ट राजनीतिका लागि फाइदा नै हो। यसले घाटा पु-याएको छैन।

त्यस्तै समाज पुँजीवादतिर बढ्दै जाँदा त्यसले एउटा निश्चित वर्गका मानिसलाई मात्रै फाइदा पु-याउँछ। एउटा मानिस धनी हुनु भनेको अरु सय गरिब थपिनु पनि हो। जसलाई हामी नहुने वर्गका रुपमा चिन्छौँ। यो वर्गलाई हाम्रो समाजले घटाउने प्रयास गरेको छैन। बरु बढाउँदै लगेको छ। यी व्यक्तिको आवाज प्रतिनिधित्व कम्युनिष्ट आन्दोलनले नै गर्छ।

तपाईंले एक ठाउँमा हामी सहभागीमूलक प्रजातन्त्रबाट प्रक्रियागत प्रजातन्त्रतर्फ गई रहेका छौँ भन्नुभएको छ। तपाईंको त्यो भनाईको आशय के हो?
 

मैले भारतीय प्रजातन्त्रबारे व्याख्या गर्दा यसो भनेको थिएँ। भारतीय निर्वाचनलाई हेरौं। निर्वाचनलाई प्रजातन्त्रको मुख्य अभ्यासको रुपमा लिइन्छ। तर यहाँ हुने निर्वाचनमा जनसहभागीता भने घट्दो क्रममा छ। 

आम जनतालाई लाग्न थालेको छ, सबै राजनीतिक दल, उम्मेदवार एकै हुन्। निर्वाचनको समयमा जनतामाझ गरिने वाचा झुट मात्रै हो। निर्वाचनको समयमा भोट माग्न आउँछन््, निर्वाचनपछि आफ्नो वाचा बिर्सिन्छन् भन्ने जनतालाई लाग्न थालेको छ।

आम जनताको नजरमा राजनीति एक करिअर भएको छ। नेताहरू शुरुमा आफ्नो करिअर बनाउन लाग्छन्। आफ्नो बनाएपछि आफ्ना छोराछोरीको बनाउन थाल्छन्। योबीचमा जनता कहाँ जान्छन् नेतालाई थाहै हुँदैन।
त्यसैले पनि निर्वाचन प्रक्रियामा जनताको उपस्थिति घट्दो छ। प्रजातन्त्रका विषयमा जनतामा यस्तो खालको निराशा आउनु पक्कै राम्रो होइन।

निर्वाचनमा भोट माग्न आउने, आफ्नो भविष्य बनाउने, सन्तानको भविष्यप्रति चिन्ता गर्ने तर जनतालाई बिर्सिने प्रक्रिया निरन्तर चल्दै आएको छ। सन् २०१४ को निर्वाचनपछि करिब ५ सय ४३ सांसदमध्ये एक सय ५० भन्दा बढी सांसदको सम्पति दोब्बर भएको आंकडा आएको छ। यो गएको पाँच वर्षमा मात्रै भएको होइन। यो प्रक्रियागत रुपमा हुँदै आएको छ।

यसै कारण जनताले निर्वाचनलाई गम्भिरतापूर्वक लिन छोडेका छन्। यो डरलाग्दो संकेत हो। यसको अन्त्यका लागि भारतको निर्वाचन प्रक्रियालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको हुन थालेको छ। प्रजातान्त्रिक प्रक्रियाप्रति जनताको विश्वास कायम राख्न पनि यो परिमार्जन आवश्यक छ।

नेताहरू शुरुमा आफ्नो करिअर बनाउन लाग्छन्। आफ्नो बनाएपछि आफ्ना छोराछोरीको बनाउन थाल्छन्। योबीचमा जनता कहाँ जान्छन् नेतालाई थाहै हुँदैन।
 

दिल्लीमा रहेको प्राज्ञिक जगतले भारतको प्रजातन्त्र नै खतरामा रहेको भन्न थालेका छन्।  खासगरि वर्तमान सरकारको कामले प्रजातन्त्रलाई नै खतरामा पार्दै गएको भन्ने उनीहरूको आशय छ। तपाईंलाई पनि प्रजातन्त्र नै खतरामा परेको जस्तो लाग्छ?
 

म भारतीय प्रजातन्त्र नै खतरामा छ भन्ने भनाईप्रति सहमत छैन। भारतमा हठात् प्रजातन्त्र आएको होइन। लामो समयको संघर्ष र धेरै मानिसको बलिदानसँग हाम्रो प्रजातन्त्र जोडिएको छ। त्यसैले एक व्यक्ति अथवा एउटा सरकारकै कारण हाम्रो प्रजातन्त्र खतरामा पुग्दैन।

तर, के कुरा हो भने भारतीय प्रजातन्त्रले धेरै झट्का भने खाएको छ, यो सरकारको पालमा त्यो झट्का अझ धेरै खायो। भारतीय समाजलाई साम्प्रदायिकतामा बदल्ने प्रयास प्रयास गर्नु, मुद्दाको विषयान्तरमा समय खर्च गर्नु त मोदी सरकारको विशेषता नै हो। 

भारतीय समाजको एकताको आधार यहाँ रहेका विभिन्न सम्प्रदायको एकता हो भन्ने तथ्य सरकारमा रहेकाले किन बुझेका छैनन् भन्ने मलाई आश्चर्य लाग्छ। 

भारतीय प्रजातन्त्रले निरन्तर झेल्दै आएको त्यो झट्का एकदिन अन्त्य हुन्छ। र, यो अन्त्य भएको दिन भारतमा नयाँ सुरुवात हुन्छ।

प्रजातन्त्रले व्यहोरेको झट्का अन्त्य हुन्छ भन्दै गर्दा आगामी निर्वाचनबाट वर्तमान सरकार र त्यसका प्रधानमन्त्री नरेन्द्र मोदीको पराजय हुन्छ भन्न खोज्नुभएको?
 

न त म राजनीतिक विश्लेषक हुँ, न भविष्यवेत्ता। म यो निर्वाचनमा कसको हार र कसको जित हुन्छ भन्न सक्दिन। मेरो आशय त्यस्तो होइन। प्रत्यक्ष अनुभव गरेकाले म मेरोबारे मात्र भन्नसक्छु। अप्रिल २९ गते बेगुसरायमा हुने निर्वाचनबाट मैले निश्चित रुपमा जित्छु।

तपाईं यस्तो दावी कसरी गर्न सक्नुहुन्छ?
 

आजको निर्वाचन प्रचार अभियानमा मसँगै तपाई पनि रहनु भयो। जनताको उत्साह देख्नुभएको छ। निर्वाचन जित्ने विश्वास किन पलायो भन्ने कुराको आजको दिनको साक्षी तपाई पनि हुनुहुन्छ। यो विषयमा मैले धेरै बोल्नु नै पर्दैन।

तपाईंको निर्वाचन प्रचारमा मानिसको सहभागीताको विषयलाई एक ठाउँमा राखौँ तर तपाईलाई त सरकारले राष्ट्रद्रोहीको सज्ञा दिएको छ।सरकारकै यस्तो प्रचारका बीच जनताले मतदान गर्लान् ?
 

अरु उम्मेदवार सरह मैले पनि निर्वाचन आयोगमा नै आफ्नो उम्मेदवारी दर्ता गराएको हुँ।  यदि म देशद्रोही नै हुँ भने भारतको निर्वाचन आयोगले के हेरेर बसिरहेको थियो ? के भारतको कानुन यति निस्क्रिय छ र जसले देशद्रोहीलाई पनि चुनाव लड्न दिन्छ ?

मलाई देशद्रोही करार गर्ने सरकारले भारतीय कानुनलाई किन यति कम्जोर बनायो जो देशहितमा नरहेको मान्छेलाई निर्वाचनमा सहभाागी हुनबाट रोक्न सक्दैन?

यो निर्वाचन अभियानमा मलाई देशद्रोही करार गर्नु त यो सरकारको बाध्यता हो। होइन भने बेगुसराय जिल्लाका जनतासँग उनीहरूले के भनेर भोट माग्ने ? मेरा विरुद्ध के प्रचार गर्ने ? मेरा विरुद्ध बोल्न उनीहरूसँग केही नभएकाले नै मलाई देशद्रोही भन्दै छन्। यो उनीहरूको बाध्यता हो।

जेएनयूका प्रध्यापक, विद्यार्थीसँग कुरा गर्दा तपाईलाई एक नेताका रुपमा तपाईको शालिन एक राम्रो वक्ता भएकाले स्थापित गरेको भन्ने बुझाई पाए। यही विशेषताले मात्रै तपाईलाई लामो समय भारतीय राजनीतिमा टिकाई रहन्छ जस्तो लाग्छ?

एक राजनीतिक नेताका रुपमा मैले आफ्नो यात्राा बल्ल सुरु गर्दै छु। आगमी यात्रालाई कसरी अघि बढाउने भन्ने सोचेको छैन। तथापी मेरो ध्येय समाजलाई आफू कसरी उपयोगी हुन सक्छु भन्ने हो। भारतीय राजनीतिले पछि पारेको मुद्दामा मेरो सधैँ ध्यान रहने छ। मेरो राजनीति कर्पोरेट क्षेत्र पोस्ने होइन, विपन्न नागरिकको हक स्थापित गर्ने हुनेछ।जेएनयूले बहसको एक सस्कृति सिकाएको छ। त्यही सस्कृतिलाई अगाडी बढाउने प्रत्यन्न गर्ने छु।

 

बहसमा भारत शृंखलाका अन्य सामग्री
 

१. चुनावको मुखमा के सोच्दैछन् भारतीय ?

२. ‘भारतमा बहुमतको सरकार बन्ने सम्भावना कम छ’ 

३. मोदीकालमा जेएनयूलाई कसरी बनाइँदैछ कमजोर?

प्रकाशित: ४ वैशाख २०७६ ०९:१४ बुधबार

बहसमा_भारत कन्हैया_कुमार भारतीय_निर्वाचन लोकसभा_निर्वाचन